समाज

यो देशमा नानीहरू थुप्रै कुमुद म्याम खोजिरहेछन्

कापी-कलम हैन, गुडिया र गोलभेँडा अगाडि राखेर पढाउने गुरुआमा

सृजना खड्का |
असार २३, २०७८ बुधबार १५:४७ बजे

काठमाडौँ : अनलाइन कक्षा सुरु गर्नुअघि जब उनी ल्यापटप अगाडि बस्छिन्, बालबालिकाकालाई पढाउन केही न केही लिएरै आएकी हुन्छिन् । सोच्नुभएको होला कापी, कलम वा नोटबुक । यो त हुन्छ नै साथमा हुन्छन्, गिटार, गुडिया, गोलभेँडा वा यस्तै कुनै चिज । 

उनी हाइड एन्ड सिक किन्डरगार्टेनकी प्रिन्सिपल कुमुद भट्ट हुन् । जो यतिबेला आफ्नो शिक्षण शैलीका कारण सामाजिक सञ्जालमा निकै लोकप्रिय बनेकी छिन् । प्रि–स्कुलका बालबालिकालाई अनलाइनमा पढाउने ४४ वर्षीया कुमुदको स्टाइललाई  धेरैले मन पराएका छन् । भर्चुअल कक्षा लिइरहेको भिडियो टिकटकमा हाल्न थालेपछि त उनलाई धेरैले फलो गर्न थालेका छन् । टिकटकमा उनलाई पछ्याउँदा उनले घरेलु सामानको प्रयोग गरेर बालबालिकालाई रमाइलोसँग सिकाइरहेको देख्न सकिन्छ ।  


@kumudbhatta

Vegetable topic virtual class # rhymes fun # Hide and Seek Kindergarten ##fyp ##foryoupage ♥️👩‍💻👩‍💻👩‍💻👩‍💻

♬ original sound - Relaxing minutes

 

उनलाई कहिले गोलभेँडा र साहुजीको कथा पढाइरहेको पाइन्छ भने कहिले उनी प्लेटलाई पोखरी बनाएर माछा र भ्यागुताबारे वर्णन गरिरहेकी हुन्छिन् । उनको कक्षामा बालकालिकाहरू रमाइरहेको देखिन्छ । टिकटकका भिडियोमा उनी कहिले बालकालिकासँगै हाँस्छिन्, कहिले बालबालिकासँगै नाच्छिन् ।

यसअघि उनी टिकटक खासै चलाउँदिनथिन् । टिकटकलाई मनोरञ्जनात्मक एपका रुपमा मात्र उनले बुझेकी थिइन् । एकदिन उनकी साथीले कुमुदका क्रियाकलाप टिकटकमा राख्ने सल्लाह दिइन् । साथीको सल्लाह उनलाई ठीकै लाग्यो । तर, उनलाई टिकटकमा अकाउन्ट कसरी खोल्ने र कसरी चलाउने भन्ने थाहा थिएन ।

कुमुदकै छोरीले यो चिन्ता दूर गरिदिइन् । छोरीले नै अकाउन्ट खोलिदिइन् अनि भिडियो पोस्ट गर्ने काइदा पनि सिकाइदिइन् । यसपछि भने कुमुदले आफ्ना शैक्षिक क्रियाकलाप टिकटकमा राख्न थालिन् । ‘अनलाइन कक्षा पढाइरहेको भिडियो टिकटकमा राख्नेबित्तिकै फलोअर्स बढ्न थाले,’ उनले भनिन्, ‘धेरैले पर्सनल्ली मेसेज गरेरै ‘कुन स्कुलमा पढाउनुहुन्छ भनेर सोध्न थाले ।’

साना बालबालिकाको हकमा धेरै अभिभावकको गुनासो हुन्छ— एकै ठाउँमा चुप बस्दैनन्, अनलाइन कक्षामा बस्नै मान्दैनन् । टिकाउनै गाह्रो हुन्छ । तर, उनको कक्षा पढ्न पाउँदा बालबालिकाहरू फुरुङ्ग हुन्छन् । कुमुदको कक्षामा केटाकेटी चुम्बकझैं टाँसिन्छन् । यसका लागि सहयोगी बनेको छ, सिकाइमा उनले प्रयोग गर्ने अनेक सिर्जनात्मक उपाय । ‘विद्यार्थी मात्रै नभएर धेरै अभिभावकले मेरा उपाय मन पराइदिनुभएको छ,’ उनले भनिन्, ‘क्लास नभएको दिन पनि कुमुद म्यामको क्लास पढ्ने भनेर हैरान लगाउँछन् भनेर अभिभावकहरूले फोन गरेर भन्नुहुन्छ ।’

वैशाखमा बन्दाबन्दी सुरु भएपछि धेरै शिक्षक–अभिभावकझैं कुमुद पनि अन्योलको भूमरीमा थिइन् । स–साना बालबालिकालाई अनलाइन कक्षामा कसरी पढाउन सकिन्छ, उनलाई थाहापत्तो थिएन । अनलाइन कक्षाबाहेक अरु उपाय पनि थिएन । ‘डु अर डाइको अवस्था थियो,’ कुमुदले सुनाइन्, ‘मैले अनलाइन कक्षाका लागि खाका कोर्न थालेँ । योजना बनाउन थालेँ । यही गर्दागर्दै सिर्जनात्मक शैली फुर्न थाले । ’साढे दुई वर्षदेखि ६ वर्षका बालबालिकालाई अनलाइनमा पढाउनु सजिलो थिएन । तर, कुमुदलाई जापानको सात वर्षे शिक्षण अनुभवले धेरै सघायो । बालबालिकाको क्षेत्रमा लगानी गरेको २१ वर्ष यतिबेला उनको सारथि बन्यो । ‘भर्चुअल कक्षाबाट विद्यार्थीले मात्रै होइन, हामीले पनि धेरै कुरा सिकिरहेका छाँै,’ उनले भनिन्, ‘भौतिक कक्षाभन्दा भर्चुअल कक्षाले मलाई झन् बढी सिर्जनशील बनाइरहेको छ । यसलाई मैले अवसरका रुपमा लिएको छु ।’

अनलाइन कक्षाले उनलाई जुमलगायत विभिन्न एप चलाउन सिकायो । घरभित्रकै सामानबाट सिकाइ हुन्छ भनेर उनले अनलाइन कक्षा पढाउन थालेपछि थाहा पाइन् । बालबालिकाको मनोविज्ञानलाई नजिकबाट बुझ्ने मौका पनि अनलाइन कक्षाले नै जुराएको उनले महसुस गरेकी छिन् । नर्सरी, एलकेजी र युकेजीमा दिनमा ९ वटा कक्षा लिने उनी बालबालिकालाई पढाउँदिनन् मात्रै, उनीहरूका अनुहार र क्रियाकलाप पनि पढ्छिन् । ‘म बालबालिकाको आँखामै हेरेर उनीहरू खुसी छन् कि दुःखी, पढ्न मन गरिरहेका छन् कि छैनन् थाहा पाउँछु,’ उनले भनिन् । 

साना बालबालिकालाई अनलाइनमा पढाउन हातको मुभमेन्ट बढी गर्नुपर्ने उनको बुझाइ छ । पाँच मिनेटभन्दा बढी एउटै क्रियाकलाप गर्दा उनीहरूले मन नपराउने उनको अनुभव छ । ‘उनीहरूलाई सक्रिय बनाइराख्न पाँच मिनेटभन्दा बढी एउटै क्रियाकलाप गरिरहन हुँदैन,’ उनले भनिन्, ‘उनीहरूले अल्छी मान्न थालेपछि उठाउने, नचाउने, जनावरको आवाजमा कराउन लगाउने जस्ता क्रियाकलाप गराउनुपर्छ । म मेरा शिक्षकलाई यही उपाय सिकाउँछु ।’

जापानमा बालबालिकालाई पढाउन सुरु गर्दा उनले यसैलाई करिअर बनाउनेबारे सोचेकी थिइनन् । सफ्टवेयर इन्जिनियरिङ पढेकी उनलाई लामो समय बालबालिकाको क्षेत्रमा काम गरेपछि यसैमा करिअर बनाउन मन लाग्यो ।  ‘आफूलाई थाहै नभई मलाई बालबालिकाको बानी पर्न थालिसकेको थियो,’ उनले भनिन्, ‘उनीहरूबाट टाढा मैले अर्को दुनियाँ देखिनँ ।’ 

जापानको प्रि–स्कुलमा उनी इन्चार्जसम्म भइन् । गैरजापानी भाषीका लागि त्यो उपलब्धि पनि कम गौरवपूर्ण थिएन । त्यसबाहेक कुमुद जापानमा धेरै अभिभावक र बालबालिकाको प्रिय भइसकेकी थिइन् । केही वर्ष अझै काम गर्न उनलाई त्यहाँ आग्रह गरिएको थियो । तर, उनी नेपाल फर्किइन् । विदेशमा भन्दा आफ्नै भूमिमा बालबालिकाका लागि केही गर्ने अठोट बोकेर । ‘त्यहाँको डाइरेक्टरले मलाई तिमीलाई वर्क–पर्मिट दिलाउँछु यहीँ बस भन्नुभएको थियो,’ उनले भनिन्, ‘श्रीमान्को पीएचडीको सिलसिलामा हामी त्यहाँ गएका थियौँ । केही वर्ष अनुभव बटुलेपछि मलाई त्यहाँ बस्न मन लागेन ।’

नेपाल फर्किएपछि उनले रोजबर्ड स्कुलमा प्रि–स्कुल इन्चार्जका रूपमा सन् २००७ बाट २०१३ सम्म काम गरिन् । त्यसपछि प्रि–स्कुलको १३ वर्षे अनुभव बोकेर उनले काठमाडौँस्थित सानो भर्‍याङमा हाइड एन्ड सिक किन्डरगार्टेन सुरु गरिन् । कुमदले आफूलाई बालबालिकाबाट सकारात्मक ऊर्जा मिल्ने बताइन् । ‘मलाई उनीहरूसँग कुराकानी गरिरहन मन पर्छ,’ उनले भनिन्, ‘उनीहरूको इनोसेन्स मलाई असाध्यै मन पर्छ । बच्चाहरू देखेपछि म सबै कुरा बिर्सिन्छु ।’

बालबालिकाको हकमा अभिभावकलाई उनको सल्लाह छ- उनीहरूबाट धेरै आश नगर्नुहोस् । आफ्नो जस्तै अक्षर होस्, खुबी होस्, सीप होस् भनेर सोच्न छाडिदिनुहोस् । उनीहरूलाई उनीहरू जस्तै बन्न दिनुहोस् । सिकाइलाई सधैँ रोचक बनाउने, नानीहरूलाई सधैँ उत्सुक बनाउने कुमुद म्यामको पढाउने शैली देखेपछि भन्न मन लाग्छ— यो देशमा नानीहरू थुप्रै कुमुद म्याम खोजिरहेछन् । 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x