समाज

बाघ दिवसः संख्या बढ्दै, बासस्थान मासिँदै

घाइते बाघको उपचारमा सबैभन्दा बढी समस्या

अतिन आचार्य |
साउन १४, २०७८ बिहीबार १८:३२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपालमा बाघको संख्या बढेसँगै बासस्थानको चुनौती थपिँदै गएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पनि  भविष्यमा बाघको बासस्थान अभाव हुन सक्ने चिन्ता व्यक्त गर्न थालेको छ ।

बिहीबार काठमाडौँमा बाघ दिवसको अवसरमा आयोजित सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित भएका थिए । पहिलोपटक वन्यजन्तुको कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्रीलाई बोलाइएको हो । उनले बाघको बसोबासको क्षेत्र बढाउनुपर्ने सुझाव दिएका थिए ।


'अब बाघको बासस्थानलाई सुरक्षित बनाउने तर्फ ध्यान दिनुपर्छ,' प्रधानमन्त्री देउवाले भने,'बाघको बासस्थानका लागि जंगल आवश्यक रहेको र जंगल जोगाउनेतर्फ ध्यान दिनुपर्छ ।' पछिल्लो १० वर्षको तथ्यांकलाई अध्ययन गर्ने हो भने मुलुकभर विभिन्न निकुञ्जमा बाघको संख्या बढ्दै गइरहेको छ ।

जसरी बाघको संख्या बढ्यो त्यसरी नै बाघको बासस्थान कमी हुँदै गएको छ । वन्यजन्तुलाई सबैभन्दा बढी जरूरी बासस्थानको हुन्छ । बाघको संख्या अनुसार बासस्थानको क्षेत्रफल कमी हुने जस्तै देखिएको छ । बाघको जनसंख्या बढ्दा उनीहरूका लागि बासस्थानको क्षेत्रफल कम हुने चुनौती थपिन थालेको विभागका सूचना अधिकारी हरिभद्र आचार्यले बताए । घना जंगल चाहिने र ठूलो क्षेत्रफलमा चरण गर्नुपर्ने भएकाले ठाउँको अभाव हुँदा मानवबस्तीमा बाघ प्रवेश गर्न थालेको उनले बताए ।

'बाघ बढनु नेपालका लागि सुखद पक्ष  हो तर, उनीहरूका लागि उचित बसोबासको व्यवस्थापन गर्न नसक्नु ठूलो चुनौती बन्ने छ,' आचार्यले भने,' क्षेत्रफलको अभाव हुँदा मानवबस्तीमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुने जोखिम बढ्छ ।' बाघको संरक्षण गर्नलाई तत्कालै निकुञ्‍ज थप्‍न समस्या हुने आचार्यले जानकारी दिए । मुख्य कुरा घना जंगलको अभाव भइरहेको उनले बताए ।

जंगलभित्र निर्माण भएका सडकका कारण दुर्घटनामा परेर बाघको मृत्यु हुने गरेको आचार्यले बताए । विकास पूर्वाधार निर्माण गर्नेक्रममा जंगल क्षेत्रलाई विशेष ध्यानमा राखेर बन्यजन्तु ओहोरदोहोरमा समस्या नहुने अवस्था सृजना गर्न आवश्यक रहेको उनले प्रस्ट पारे । वर्षेनी सडक दूर्घटना बाघ मर्ने क्रम जारी छ ।  जंगलको सडकमा तीव्र गतिमा सवारीसाधन चलाउन नहुने उनले तर्क गरे । 'सबैभन्दा ठूलो चुनौती घाइते बाघलाई उपचार गर्न समस्या हुन सक्छ । उपचार व्यवस्था कठिन बन्दै गइरहेको छ,' उनले भने ।

विभागका अनुसार पछिल्लो समय बाघको गणना गर्दा मुलुकभरका निकुञ्जमा २ सय ३५ बाघ छन् । पर्सा निकुञ्जमा १८, चितवन ९३, बाँकेमा २१, बर्दिया निकुञ्जमा ८७ र शुक्लाफाँट कञ्चनपुरमा १६ बाघ छन् । बाघका कारण मृत्युमा भएमा सरकारले मृतकका परिवारलाई १० लाख रुपैयाँ, घाइते भएमा २ लाख र सामान्य घाइते भएमा ५० हजार रुपैयाँ दिने व्यवस्था विभागले गर्दै आएको छ ।

जंगलमा तीव्र गति, वन्यजन्तु क्षति

वन्यजन्तुको बासस्थान जोखिममा परेकाले पनि अहिले उनीहरू बढी घुमफिर गर्न निस्कँदा सडकमा दुर्घटनामा पर्ने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका अनुसन्धान अधिकृत डा. बाबुराम लामिछानेले बताए । सडक र वस्तीका कारण जंगल पनि सानो-सानो क्षेत्रमा विभाजन भएकोले बाघको बसोबासमा संकट आएको उनको भनाइ छ । 

'वन्यजन्तुको बासस्थान भएको क्षेत्रमा विकास  निर्माण र वस्ती वसाउँदा अन्य प्राणीको पनि बसोबास त्यही क्षेत्रमा  भन्ने ख्याल गरिएन, त्यसैले यस्तो घटना बढ्दै गएका हुन,' लामिछानेले भने, 'जंगलमा सडक बनाउँदा वन्यजन्तुका लागि अन्डर र ओभर पास अनिवार्य छ ।' जंगल क्षेत्रका सडकमा प्रतिघण्टा ४० किमीको गतिमा सवारी हाँक्दा यस्ता घटना नहुने उनको दाबी छ । 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x