समाज

दार्चुला घटना

दार्चुला पुग्यो छानबिन समिति, संयोजक भन्छन् : कसैको डर छैन नजिकबाट अनुसन्धान गर्छौं

इकागज |
साउन २०, २०७८ बुधबार १८:३९ बजे

दार्चुला - व्यास गाउँपालिका–२ मालघाट घटनाको पारदर्शी रुपले छानबिन गरिने गृह मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जर्नादन गौतमले बताएका छन् ।

काठमाडौँबाट मंगलबार साँझ दार्चुला जिल्ला सदरमुकाम खलंगा पुगेको मन्त्रालयको टोलीले बुधबार पत्रकारहरूसँग घट्नाको विषयमा छलफल गरेको छ । छानबिनका लागि आवश्यक सूचना तथा प्रमाण संकलन गर्न घटनास्थल जानु पूर्व मन्त्रालयको टोलीले जिल्लास्थित पत्रकार, मानव अधिकारकर्मी, राजनीतिक दल र व्यास गाउँपालिकाका जनप्रतिनिधिहरूसँग छलफल गरेको हो । 


छलफलका क्रममा समितिका संयोजक गौतमले माल घटनालाई नजिकबाट अनुसन्धान गरी छानबिन गरिने बताए । टोलीले यसअघि बुधबार बिहान व्यास गाउँपालिका–२ मालघाट घटनाका तीनजना प्रत्यक्षदर्शीलाई सोधपुछ गरेको छ । उक्त घटनाका प्रत्यक्षदर्शी कल्याण सिंह धामी, अनिता धामी र विक्रम सिंह रङकोलीलाई टोलीले घटनाको वास्तविकता बारेमा सोधपुछ गरेको हो ।

प्रत्यक्षदर्शी, पत्रकार, मानव अधिकारकर्मी, राजनितिक दल र व्यास गाउँपालिकाका जनप्रतिनिधिको भनाई र घटनासँग सम्बन्धित प्रमाणहरू संकलन तथा विश्लेषण गरी घटनाको सत्यतथ्य बाहिर ल्याउने उनले बताए । ‘जागिरको उत्तरार्धमा छौं कसैको डरत्रास छैन्, छानबिनलाई निकै पारदर्शी र निष्पक्ष बनाउछौ’ संयोजक गौतमले भने ।

अनुसन्धानको क्षेत्रमा निकै लामो समय काम गरेका सुरक्षाकर्मीहरू छानबिन समितिमा रहेको भन्दै उनले घटनाको सत्यतथ्य बाहिर आउनेमा विश्वास पनि व्यक्त गरे । छलफलका क्रममा पत्रकार महासंघका अध्यक्ष कृष्ण सिंह धामीले घटनाको कारण भारतीय सीमा सुरक्षा बल (एसएसबी) भएको बताए । 

प्रत्यक्षदर्शी र स्थानीयको भनाइका आधारमा सबै जसो मिडियाहरूमा समाचार सम्प्रेषण भएको पनि उनले बताए ।  पत्रकार तथा मानव अधिकारकर्मी नरेन्द्र सिंह कार्कीले जनताले बोलेका कुरा मिडियामा लेखेको दाबी गर्दै प्रशासनले समाचार प्रति निकालेको विज्ञप्तिको कुनै अर्थ नहुने बताए । उनले प्रहरी प्रशासनले प्रत्यक्षदर्शीलाई अपराधी सरह राखेको भन्दै उनीहरूको मानव अधिकार र सुरक्षाप्रतिको जिम्मा सरकारले लिनुपर्ने बताए ।

व्यास गाउँपालिका–२ का जयसिंह धामी तुइन तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइनको डोरी फुकाइदिंदा महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । साउन १५ गते शुक्रबार बिहान महाकाली नदिमा खसेर बेपत्ता भएका धामी अझै भेटिएका छैनन् । उनको खोजी कार्य निरन्तर भइरहेको प्रहरीले जनाएको छ ।
 


Author

थप समाचार
x