समाज

दार्चुला तुइन प्रकरण

दाहसंस्कारका लागि २५ हजार रुपैयाँ पाइयो, तर जयसिंहको शव पाइएन

बुवा भन्छन्, ‘मेरो चेलो त गयो, अब कसैको ज्यान नजाओस्’

पूजा बस्‍नेत |
साउन २८, २०७८ २१:१४ बजे

काठमाडौँ - साउन १५ गते शुक्रबार  । खीर खाने दिन । दार्चुला व्यास गाउँपललिका–२ का जयसिंह धामी एकाबिहानै झोला बोकेर काठमाडौँ आउन घरबाट निस्के । घरबाट निस्किने बित्तिकै उनले परिवारसँग भनेका थिए, ‘फर्कँदा गौरा पर्वका लागि मालसामान र कपडा पनि किनि ल्याउँला है ।’

३३ वर्षका धामी वैदेशिक रोजगारीमा कहाँ जाने भन्‍ने ठाउँ हेर्न काठमाडौँ आउन घरबाट खुसी-खुसी हिँडेका थिए । तर, त्यही बिहान ९ बजे महाकाली नदीमा हेलिए, बेपत्ता भए । नेपाली भूमि मालघाट र भारतीय भूमि गास्कु-पाङ्गला जोड्ने तुइन तरेर भारतको धार्चूला हुँदै फेरि नेपालकै दार्चुलातर्फको सदरमुकाम खलंगा आउने सोचमा थिए, उनी । 


खलंगाबाट भने काठमाडौँ आउन सजिलो छ । सिधै गाडी पाइहालिन्छ भन्‍ने आशमा उनी तुइन चढे । तर, भारतको भूमिमा पुग्न ३ मिटर जति मात्रै बाँकी हुँदा जयसिंह तरेको तुइन चुडियो । तुइनसँगै चुडियो उनको विदेश गएर परिवार खुसी राख्ने सपना । फर्केर ‘घरै आउँछु है’ भनेको दिएको वचन पनि कालीमा नै हेलियो ।
उनी चढेको तुइनको डोरी भारतीय सुरक्षा बल एसएसबीका २ सुरक्षाकर्मी अघिपछि गर्दै आएर फुकालीदिएका थिए ।

तुइनको डोरी फुकालेपछि तार लत्रिँदै नदीमा पर्‍यो । जयसिंह अतालिए । हारगुहार मागे । नदीको बहाव कहालीलाग्दो थियो । उनको गुहार सुने पनि बचाउन जाने हिम्मत कसैले गरेनन् । वारि मालघाटमा निरिह बनेका स्थानीयले देख्दादेख्दै जयसिंह महाकालीमा हेलिए । अनि त्यही विलिन भए । जयसिंहलाई  महाकालीले लगेपछि हस्याङफस्याङ गर्दै भारतीय २ सुरक्षाकर्मी पनि त्यहाँबाट भागे ।

आफ्नै मुलुकको राजधानी आइपुग्न अर्काको भूमि कुल्चिनुपर्ने जस्तो दुखदायी अवस्था अरु के होला ? तर वर्षौंदेखि यस्तै गर्दै आएका दार्चुलावासीको वास्तविकता बल्ल सतहमा आएको छ । त्यो पनि जयसिंहको कारण ।

नदीको बहाव बढी  भएकोले होला, जयसिंहलाई पानीले हुत्याइहाल्यो । एकै नजरले महाकालीले बगायो । ‘हामीले गाउँलेहरू बोलायौँ ।  खोज्यौँ तर कँही भेटाउन सकिएन, प्रत्यक्षदर्शी कल्याण सिंह धामी घटना सम्झिछन् । 

मालघाटबासीदेखि त्यहाँ आउनेलाई २० वर्षदेखि उनै कल्याणले भारतको भूमि पुर्‍याउँछन् ।  त्यसदिन पनि जयसिंहभन्दा अघि चारजनालाई नदी  पार गराइसकेका थिए, उनले । 

भन्छन्, त्यो दिन ४ नेपाली नागरिकले तुइनबाट नदी पार गरिसकेका थिए । पाँचौँ व्यक्तिका रूपमा उनी पारी पुग्‍न २/३ मिटर बाँकी रहदा अगाडि पछाडि गर्दै भारतीय सुरक्षाकर्मी आए । बारीबाट देख्दा बाँधिएको तार घुमाएको जस्तो देखियो । अनि तार लत्रिएर हेर्दाहेर्दै उनलाई नदीले लग्यो ।’ 

घटना भएको आधा घण्टापछि घटनास्थलमा पुगेका रानीस्थान आधारभुत विद्यालयका प्रधानध्यापक सुकुन्द्रसिहं धामी तुइन काटिएको नकाटिएको केही अत्तोपत्तो नपाएको बताउँछन् । ‘जयसिहंलाई निकै परसम्म पनि खोज्ने कोशिस गर्‍यौँ भेटिएनन्,’ उनी भन्छन्, ‘तुइन काटेपछि अब यहाँ नुन, तेल लगायतका खाद्यान्‍न संकट हुन थालेको छ ।’

वडा नं. ३ का अध्यक्ष उपेन्द्रसिहं धामी भने घटनापछि भारतमा एसएसबी क्याम्प पुगेका थिए । तर एसएसबीले तुइन भएको ठाउँमा कसैलाई ड्युटी नपठाएको जवाफ दियाे  । तुइन खोल्ने एसएसबीका जवानहरूको अन्तै सरुवा भैसकेको जानकारी पाएको प्रअ धामी बताउँछन् । 

जयसिहं धामीलाई महाकालीले बेपत्ता बनाउँदा सबैभन्दा बढी विक्षिप्त उनका परिवार छन् । गौरा पर्वका लागि नयाँ लुगा र खानेसामान ल्याइदिन्छु भनेर गएका  दाइ अलि पर नपुग्दै नदीमा डुबे रे भन्‍ने खबरले भाइ नरेन्द्र धामीले पत्याउनै सकेनन् ।  

‘राजनीतिक प्रभाव गलत भयो, हामी त्यसका सिकार भयौँ’ नरेन्द्र आक्रोश पोखे 'सुनसेरा चौकी र धुम्लिङ चौकीको प्रतिनिधि आए तर मुचुल्का बनाएनन् ।’ सहयोग गर्नुको साटो उल्टो भारत बलियो छ, हामी निरिह छौँ भन्‍ने प्रतिनिधीको जवाफले नरेन्द्रको न्याय पाउने आश पनि मरेको छ । 

महाकालीमा छोरो डुबेको वियोगमा बसेका बाबु दली धामी बोल्नसमेत नसक्ने गरी टोलाएका छन् । ‘मेरो चेलो त गयो–गयो तर  दुई देश हल्लाएर गयो’ दलीको  प्राथना छ, ‘अब यो समस्या नदोहोरियोस् ।’ 

दली मात्रै होइन, पतिको विलौनामा आँशु नखसाली एकोहोरो रोइरहेकी जयसिहंका श्रीमति र आमा पनि उतिकै पीडामा छन् । जयसिंहको घरमा शोकले नछोए जस्ता देखिने पाँच वर्षको  नाति र १३ महिनाकी नातिनी मात्रै हुन् । नभए गाउँ नै उनका लागि रोइरहेको छ । 

गाउँपालिकाको तर्फबाट काजकिरिया गर्न जयसिंहका ‘बा’ लाई २५ हजार दिइएको छ ।  दाहसंस्कारको लागि पैसा, सरसामान भए पनि के गर्नु ? जलाउनका लागि शव नै नभएपछि ’ उनका बुबा भक्कानिन्छन्,' तर स्थानीय निकाय र सरकारबाट केही सहयोग मिलेको छैन, मेरा नाति, नातिनीको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्छ । '

मालघाट विकट छ । झोलुङ्गे पुल बन्नका लागी शिलान्यास भयो तर बन्न सकेको छैन  । ठेकेदार धनबहादुर कुँवरको अत्तोपत्तो छैन । वस्तीको सीमा सुरक्षाको विषय जटिल छ । दार्चुला टिंकर सडक १२ वर्ष अघिदेखि सुरु भएको । तर, विडम्वना ४० किलोमिटर पनि ट्रयाक खोलिएको छैन । 

त्यसो हुँदा मालघाटवासीलाई व्यापार गर्न, खाद्यान्न किन्नका लागि पारि गस्कुखोला वा भारतको धारचुला नगई सुखै छैन । विगतमा पनि भारतीय सुरक्षाकर्मीले नेपालीका सामान जफत गरेर महाकालीमा बगाइदिने, सामान लिलाम गरिदिने हातपात गर्ने जस्ता ज्यादती खेप्दै आएका हौँ, नरेन्द्र समस्याको बेलीबिस्तार लाउँछन् । 

जयसिहं धामी बेपत्ता भैसकेपछि गृहमन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा प्रहरी नायब महानिरीक्षक पुरुषोतम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका वरिष्ठ उपरिक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य छन् ।

दार्चुलाकी सहायक जिल्ला अधिकारी ज्योत्सना राज्यको उपस्थिति कमजोर भएको बताउँछिन् । ‘अनुसन्धानको विषयमा छानबिन समितिको प्रतिवेदन नआउन्ज्ेल केही भन्न सक्दिन,'उनी भन्छिन्,’ ‘नैतिक रूपमा भने घटनाको जिम्मा लिन्छु ।’

सुदुरपश्चिमका नेता पूर्णा जोशी पनि यस घटनापछि अहिले आफूहरू प्रदेश सरकारको अस्तित्व खोजिरहेको बताउँछन् । 'भारतसँग विगतमा गरेका असमान सन्धि सम्झौतासमेत पुनरावलोकन गर्नुपर्ने ठाउँसमेत पुग्न सकिन्छ,' नेता पूर्णा सुनाउँछन्, ‘केन्द्रले ध्यान दिओस् ।’ 

सुदुरपश्चिम प्रदेशका नेता मानबहादुर धामी भने प्रदेशको पनि संवैधानिक बाध्यता भएको खण्डन गर्छन् । एसएसबीको चरम लापरवाही छदैँछ हामीले संघीय सरकारमाथि हस्तक्षेप गर्न मिल्दैन । बोल्दा अन्तरार्ष्ट्रिय प्रभावमा ख्याल राख्नुपर्ने हुन्छ, उनी भन्छन्, 'छानबिन समितिको प्रतिवेदन आए पनि धारणा बनाउँला ।’

उता दार्चुलाका सांसद ग्याल्बो सिंह बोहोरा कोभिड र अन्तराष्ट्रिय सीमाको विषय भएकोले मालघाट गस्कु पङ्गला जोड्ने झोलुङ्गे पुल बन्न नसकेको बताउँछन् । ‘जब कालापानी, लिपुलेक र लिम्पियाधुराको कुरा आउँछ तब यो क्षेत्रका जनताले दुख पाउँछन्,' सांसद बोहोरा भन्छन्, ‘यो विषय राजनीतिक इस्यु नबानाइयोस् ।’ संघ, प्रदेश र स्थानीय सरकारले एकअर्कोलाई दोष दिएर पन्छिने काम भयो ।' 

(अधिवक्ता सन्तोष कोइराला र मानवअधिकारकर्मी ललित विकको सहयोगमा)

 

 



Author

पूजा बस्‍नेत

सामाजिक राजनीतिक विषयमा रुची राख्‍ने बस्‍नेत प्रशिक्षार्थी संवाददाता हुन् ।


थप समाचार
ad
x