समाज

धनुषाका एसपीको नाममा फ्रेन्ड रिक्वेस्ट आएपछि...

नक्कली फेसबुक आइडी बनाएर ठगी सुरु

इकागज |
भदौ १३, २०७८ आइतबार २१:४४ बजे

जनकपुरधाम – धनुषाका प्रहरी उपरीक्षक (एसपी) प्रकाश रानाभाटको नाममा नक्कली फेसबुक आइडी बनेको पाइएको छ । आफ्नो नक्कली फेसबुक आइडी बनेको पाएपछि उनले सबैमा सचेत रहन आग्रह गरेका छन् ।

एसपी रानाभाटको नामबाट विभिन्न व्यक्तिहरूसँग रकम मांग्नेलगायतका काम भएको पाएपछि उनले यसविषमा सचेत रहन जिल्लाबासी तथा सम्पूर्णमा आग्रह गरेका हुन् । नक्कली आइडीबाट जनकपुरधामका केही व्यक्तिहरूसँग रकम माग भएको गुनासो स्थानीयबाट आएकाले यसबाट सचेत रहन एसपी रानाभाटले सर्वसाधारणमा सूचित गरेका छन् । 


एसपी रानाभाटको नामबाट बनेको नक्कली फेसबुक आइडीमा, ‘लिभ इन पुने महाराष्ट्र,’ लेखिएको छ । उनको आफ्नो सक्कली आइडीमा, ‘लिभ इन काठमाडौं, नेपाल,’ लेखिएको छ ।  एसपी रानाभाटले दुई, तीन वर्षअघि आफ्नो फेसबुकमा पोस्ट गरेका फोटाहरूसमेत नक्कली आइडीमा पोस्ट भएको पाइएको छ ।

‘मेरो नामबाट कुनै व्यक्तिले नक्कली आइडी बनाएर मेसेन्जरमार्फत रकम माग गरेको जानकारी आएको छ । अहिलेसम्मको अनुसन्धानबाट ती फर्जी व्यक्ति भारतीय नागरिक हुनसक्ने र भारतबाटै नक्कली आइडी चलाइरहेको कुरा खुल्न आएको छ,’ ती व्यक्ति भारतमै रहेको हुनसक्नेबारे स्पष्ट पार्दै एसपी रानाभाट भन्छन्, ‘फर्जी व्यक्तिले गुगल पेमार्फत पैसा पठाउन भनिरहेको छ । नेपालमा गुगल पेको व्यवस्था नभएकोले ती व्यक्ति भारतमै रहेको हुनसक्छ ।’ 

फेसबुकमा नक्कली आइडी बनाएर सोझासाझा जनता ठग्ने प्रवृत्ति मौलाउन थालेकाले यस्तो अपराधबाट बच्न एसपी रानाभाटले आग्रह गरेका छन् । 

उक्त नक्कली आइडीबाट जनकपुरधामका केही व्यक्तिहरूलाई फ्रेण्ड रिक्वेस्ट आएकोसमेत बुझिएको छ । एसपी रानाभाटकै नक्कली आइडी बनाएर यस्तो साइबर क्राइम भइरहेको अवस्थामा सामाजिक सञ्जालमा कोही सुरक्षित नरहेको स्थानीयहरूको भनाइ छ ।

यस प्रकारका क्रियाकलाप साइबर अपराध नियमनका लागि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही हुने व्यवस्था रहेको छ । सो ऐनको दफा ४७ अनुसार कम्प्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चारमाध्यममा नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई एक लाख जरिवाना वा पाँच वर्षसम्म कैद अथवा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ । 


Author

थप समाचार
x