समाज

पचास महिलालाई लेखापढी तालिम दिइँदै

इकागज |
भदौ २०, २०७८ आइतबार २३:६ बजे

वीरेन्द्रनगर – सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकाले महिला लेखापढी उत्पादनमा जोड दिएको छ । नगरपालिकाले ५० जना महिलालाई तालीम दिएर लेखापढी उत्पादनमा जोड गरेको हो । नगरपालिकाको न्यायिक समितिले आइतबारदेखि महिला स्वरोजगार कार्यक्रमसँग जोड्नका लागि महिलालाई सो तालीम दिन सुरु गरेको हो ।

तालीम सम्पन्न भएपछि जिल्ला अदालत सुर्खेतले लेखापढी परीक्षा सञ्चालन गर्ने र उक्त परीक्षा उत्तीर्ण गर्नेलाई प्रमाणपत्र उपलब्ध गराइने नगरपालिका उपप्रमुख मोहनमाया ढकालले बताइन् । महिलालाई लेखापढी व्यवसायमा सक्षम बनाउने उद्देश्यले कर्णाली प्रदेशमै पहिलोपटक यो तालीम दिइएको उनको भनाइ छ । ‘महिलाहरू पनि लेखापढी व्यवसाय गर्न सक्षम छन् भन्ने देखाउन हामीले यो तालीमको आयोजना गरेका हौं ।’ नगरउपप्रमुख ढकालले इकागजसँग भनिन्, ‘अहिले बेरोजगार रहेका नगरक्षेत्रका महिलाहरू तालीमपश्चात् स्वरोजगार बन्नुहुनेछ । यो तालीम महिला स्वरोजगारसँग जोडिएको हुँदा नगरपालिकाका महिलालाई आत्मनिर्भर बनाउन भूमिका निर्वाह गर्ने हाम्रो विश्वास छ ।’


नेपाल कानुन समाजका वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा, नगरपालिकाका कानुनी सल्लाहकार तथा वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल, वैतनिक वकिल गीता कोइरालालगायतले गराएको सो तालीम तीन दिनसम्म चल्ने नगरपालिकाले जनाएको छ । कर्णाली प्रदेशमै पहिलोपटक यो संख्यामा महिला लेखनदास बनाउन लागिएको नगरपालिकाको दाबी छ ।


Author

थप समाचार
x