समाज

वीरगन्जको सर्वोत्तम स्टिल उद्योगमा भट्टी पड्किँदा घाइते भएकामध्ये ५ मजदुरको मृत्यु

माधुरी महतो |
भदौ २५, २०७८ शुक्रबार १०:४३ बजे

वीरगंज - वीरगन्जको सर्वोत्तम स्टिल उद्योगमा फलाम गलाउने भट्टी पड्किएर घाइते भएका १५ जना मध्ये ५ जना मजदुरको उपचारका क्रममा मृत्यु भएको छ । भदौ १० गते उद्योगमा फलाम गलाउने भट्टी पड्किदा भएको आगलागीमा घाइते भई भारतको पटनास्थित एपोलो अस्पतालमा उपचाररत ६ जना मध्ये ५ जना मजदुरको मृत्यु भएको हो । 

मृतक पाँचै जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । भारत पटनाको एपोलो अस्पतालमा उपचारको क्रममा बिहारका ५२ वर्षीय विनोद पाण्डे , भारतकै उत्तर प्रदेशको खुशीनगरका ३२ वर्षीय धिरु सहनी, उत्तर प्रदेशकै लखनउका ३७ वर्षीय मानस परिदा ,बिहारका २७ वर्षीय गगन नायक बिहारी र लखनउकै ३० वर्षीय रामपुकार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।


उपचारका क्रममा ३ जनाको भदौ १६ गते र २ जनाको भदौ १८ गते मृत्यु भएको जानकारी बिहीबार मात्र पाएको पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले बताए । गम्भीर घाइते भएका ६ जना कामदारलाई उद्योग व्यवस्थापनले भदौ १० मै एम्बुलेन्समा राखेर थप उपचारका लागि वीरगन्जबाट पटना लगेको थियो ।

भट्टी विस्फोट प्रकरण ढाकछोप गर्न सुरुदेखि नै लागेको उद्योग व्यवस्थापनले ५ जना मजदुरको मृत्युको जानकारी समेत एक सातापछि मात्र प्रहरी प्रशासनलाई दिएको छ । वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरस्थित स्टिल उद्योगमा फलाम पगाल्ने भट्टीमा विस्फोट हुँदा सात जना भारतीयसहित १५ जना घाइते भएका थिए ।


Author

थप समाचार
x