समाज

महोत्तरीमा विश्वकर्मा पूजाकाे मेलामा झगडा हुँदा एक जनाको मृत्यु

सुभाष कर्ण |
असोज ३, २०७८ आइतबार २१:३५ बजे

जनकपुरधाम – महोत्तरीको सोनमा गाउँपालिकामा विश्वकर्मा पूजाका अवसरमा आयोजित नाचगान कार्यक्रममा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।आकेष्ट्रा नाचगानमा बजेको गीतको विषयलाई लिएर भएको सो झडपमा दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जिल्लाको सोनमा गाउँपालिका २ तरहारी इमलिया टोलका ५० वर्षीय रामप्रसाद राय यादव छन् भने उनका छोरा २४ वर्षीय मोदनारायण राय यादव र २२ वर्षीय सरोज यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले बताए । शनिबार राति विश्वकर्मा पुजाको अवसरमा गाउँपालिका वडा नम्बर ७ मैनटोलामा आयोजित आर्केष्ट्रा नाचगानको क्रममा अश्लील गीतमा हो-हल्ला भएपछि यादव र अर्को पक्षबीच विवाद भएको थियो ।


सो विवाद बढ्दै जाँदा उत्तेजित दुवै पक्षले एकअर्काबीच हात हालाहाल गरेपछि उत्पन्न झडपमा परी यादव घाइते भएका थिए । घाइते यादवको उपचारको क्रममा गौशाला स्वास्थ्य चौकीमा आइतबार मृत्यु भएको प्रहरी एसपी आचार्यले जानकारी दिए ।

घाइते दुवैजनाको उपचार पनि सोही स्वास्थ्य चौकीमा जारी रहेको उनले बताए । झडपमा संलग्न रहेको आरोपमा स्थानीय ३५ वर्षीय मलेशी सदा र २८ वर्षीय नथु सदालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा यी दुई जनाबाहेक थप चार÷पाँच जनाको संलग्नता रहेको देखिएकाले तिनीहरूको पनि खोजतलास जारी रहेको एसपी आचार्यले जानकारी दिए । 

‘घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ, दोषीलाई कानुनबमोजिम कारबाही हुने छ,’ उनले भने । बिहीबार मात्रै जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ संक्रमणको जोखिमका कारण विश्वकर्मा पूजाको अवसरमा आर्केष्ट्रालगायत भीडभाड हुने खालका कुनै पनि कार्यक्रम आयोजना नगर्न सार्वजनिक सूचना जारी गरेको थियो । उक्त सूचना अटेर गर्दै महोत्तरी जिल्लाका विभिन्न ठाउँमा विश्वकर्मा पुजाको अवसरमा आकेष्ट्रा आयोजना गरिएको छ । महोत्तरी प्रहरीले विश्वकर्मा पुजाकै दिन जिल्लाको भिट्ठामोड नाकाबाट आर्केष्ट्राका लागि नेपाल प्रवेश गरिरहेका ३५ जना भारतीय युवतीलाई नियन्त्रणमा लिएको जनाएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x