समाज

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीले जलाए टिपर

इकागज |
असोज १०, २०७८ आइतबार १८:५५ बजे

जनकपुरधाम – जनकपुरधाममा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । आइतवार दिउँसो जनकपुरधामको पिडारी चोकमा ना ७ ख ४७४१ नम्बरको टिपरले ज ९ प १४९७ नम्बरको मोटरसाइलाई ठक्कर दिएको हो ।

घटनामा मोटरसाइकल चालक भारतीय नागरिक ३५ वर्षिय आनन्द किशोर दासको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जनकपुरतर्फ आइरहेको मोटरसाकइलले विपरीत दिशामा ढल्केबरतर्फ गइरहेको टिपरलाई साइड दिन गलत दिशामा गएपछि मोटरसाइकल टिपरमुनि परेको प्रहरी उपरिक्षक प्रकाश रानाभाटले जानकारी दिए ।


‘घटनाको स्थिति हेर्दा मोटरसाइकल चालककै गल्ती देखिन्छ । मोटरसाइकल आफ्नो साइडबाट नलगी उल्टोमा दिशामा लगेपछि  दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ उनले भने ।

दुर्घटनामा मोटरसाइकल किचिएर पुर्ण रूपमा क्षतिग्रस्त भएको छ । घटनालगतै आक्रोशित स्थानीयको भीडले टिपरमा आगजनी गरेको छ । स्थानीयले प्रहरीविरुद्ध नाराबाजीसमेत गरेका छन् । बिहान ९ बजेदेखि राति ७ बजेसम्म ठूला सवारी साधन नगरभित्र प्रवेश निषेध गरिए पनि कन्स्ट्रक्सन मालिकहरूसँग मोटो रकम लिई नगरभित्र ट्राफिक प्रहरीले गाडी प्रवेश गर्न दिइरहेको कारण दुर्घटना बढदै आएको आरोप लगाउंदै प्रहरी विरुद्ध नाराबाजी गरेका हुन् ।


Author

थप समाचार
x