समाज

च्यातिएको पालभित्रको दसैं

‘पहिले जमरा पहेलो हुन्थ्यो, अहिले हरियो’

लक्ष्मी भण्डारी |
असोज २८, २०७८ १६:३५ बजे

सुर्खेत - लिपपोत गरि चिटिक्क बनाएको घरको आँगनमा लटरम्म फुल, घरभित्र कुनामा पहेलो जमरा अंकुराएको छ । अनि आफन्तहरुको चहलपहलले दशैंको रौनक छाएको हुन्थ्यो । परदेश गएका आफन्तहरु आउने कुराले घरमा छुट्टै उमंग छाएको हुन्थ्यो । दसैंको लागि सबै परिवार बसेर मिठो खाने अनि राम्रो लगाउनको लागि पनि उत्तिकै जोहो भइसकेको हुन्थ्यो । सुर्खेत इत्राम खोला किनारमा रहेको सानै घरमा पनि श्रीमान् र छोराछोरीको साथ उमंगका साथ दशै मनाउँथिन्, मनरुपा थापाले । 

तर, विगत आठ वर्षदेखि उनको दशैंको रौनक बाढीसँगै बगेर गएको छ । न त दसैं मनाउने तयारी छ । न त आफन्तहरुको चहलपहल । च्यातिएको पालमुनि सुनसान दसैं छ, मनरुपाको । २०७१ साल साउन २९ गते राती इत्राम खोलामा आएको बाढीले मनरुपाको घरपरिवारको उठिबास बनायो । उनको परिवार अहिले अस्थायी शिविरमा छ ।


‘सातवटा दशैं यही च्यातिएकै पालमा बित्यो, यो वर्ष पनि यस्तै जाने भयो, विगतका दशैं सम्झदै उनी भन्छिन्, ‘उहिले पहेला जमरा लगाउँथ्यौ, अहिले हरिया हुन्छन् । जमरा राख्नलाई राम्रो ठाउँ पनि छैन’ त्यसैगरी शिविरमा बस्दै आएयता आफन्तहरु टिका थाप्न आउन छोडेको उनले सुनाइन् । ‘हाम्रो विजोग देखेर आफन्तहरु आउँदैनन अनि हामीलाई पनि जान मन लाग्दैन, अरुलाई दुःख देखाएर के गर्नु’ गहभरी आँसु पार्दै पीडा पोखिन् । 

अहिले राम्रो लगाउने र मिठो खाना त परै जाओस् भरि पेट खान पनि मुस्किल छ यो परिवारलाई । शिविरमा आएसँगै खोलामा बालुवा चालेर गुजरा चलाउँदै आएको उनको परिवारलाई गत असार यता बालुवा निकासीको काम बन्द भएपछि साँझ बिहान दुई छाकको जोहो गर्न पनि मुस्किल परेको छ । 

‘त्यही बालुवा निकालेर त दशैंमा पेटभरी खान पाउँथ्यौ तर अहिले भोको पेटमै दशैं जाने भयो’ उनले भनिन्, ‘हुनेलाई पो दशैं आउँछ हाम्रो लागि त दशा हो ।’ मनरुपाको जस्तै भोको पेटमै दशैं मनाउने परिवारहरु शिविरमा अरु पनि छन् । अस्थायी शिविरमा बस्दै आएकी सुशिला नेपालीको परिवारको अवस्था अझै विजोग भएको छ  । कोभिड महामारीका कारण काम नपाउँदा उनलाई परिवार पाल्ने चिन्ताले सताएको छ ।

यसपालिको दशैं मात्र होइन विगत तीन वर्षयता उनले कुनै चाडपर्व राम्ररी मनाएकी छैनन् । आफन्तको अभावमा चाडपर्वरु खल्लो अनुभव भएको छ उनीसँग ‘घर छैन, हातमुख जोर्नै मुस्किल छ, न सबै परिवार एकठाउँ हुन पाइन्छ,’ उनले भनिन्, ‘हाम्रा लागि न तीज आउँछ, न दसैं न तिहार ।’

६१ वर्र्षीया कालीबहादुर शाहीलाई पनि शिविरमा आएदेखि कुनै चाडबाड आएकोमा उमंग छैन । ‘भोको पेटमा कसरी दशैं मनाउनु, सबै आफन्त बसेर मनाएको दशैं हो, बोलाउ भने अन्नपात नै छैन’ विगत सम्झदै उनले भने, ‘पहिले बुढो घरमा सम्झिएर सबै आफन्त टिका थाप्न आउँथे तर अहिले  पालमुनि सुनसान हुन्छ ।’

अस्थायी शिविरमा बस्न थालेको आठ वर्ष आफ्नो जीवनकै सबैभन्दा पीडादायी भएको बताउँछिन् ४५ वर्षीया लक्ष्मी नेपाली । मध्यरातमा बाढीले घर बगाएपछि छोराछोरी च्यापेर निस्किएकी उनको पीडादायी जीवन सुरु भयो । छ वर्ष अघि श्रीमानको मृत्युसँगैको पीडालाई फेरी बाढीले बल्झायो । ‘खुसी सबै बाढीले लग्यो, हाम्रो त बेहाल भयो, न बस्नलाई घर छ न आम्दानीको स्रोत, अहिलेसम्म यस्तो भोग्नुपरेको थिएन ।’ 

बाढीले भएको झुपडी पनि बगाउँदा धरधरी रोएकी उनकोे आँसु अझै थामिएको छैन । उनी भन्छिन् ‘बाढीबाट पो बाँचियो, त्यो भन्दा गाह्रो त अहिले साँझ र बिहानको छाक टार्न भएको छ ।’

बाढी प्रभावित युवाहरु भारततिर

बाढीले घर बगाएसँगै पीडितहरुको परिवार खर्चको जोहो गर्दै भारत जाने गरेका छन् । अस्थायी शिविरमा महिला, बालबालिका र वृद्धवृद्धा मात्रै भेटिन्छन् । आम्दानीको कुनै स्रोत नभएपछि अधिकांश पुरुष रोजगारीको खोजीमा भारत पसेका छन् ।

काम खोज्न हिँडेको छोरा दशैं मान्न फर्किएका छैनन् । ‘न घर रह्यो न परिवार,’ च्यातिएको त्रिपालतिर हेर्दै मैसरा थापा भन्छिन्, सबै परिवार सँगै भइदिएको भए भोकै बसे पनि सन्तुष्टिले बाँच्न सकिन्थ्यो ।’ 

कमाउने श्रोतहरु नदेखेपछि तिज लगतै भारत गएका राजकुमार नेपाली पनि भारत गएका छन् । श्रीमान यसपालिको दशैंमा नआउने भएपछि निर्मला नेपालीलाई पनि कुनै उमंगले छाएको छैन । त्यस्तै छोराकै पर्खाइमा छिन् मैसरा नेपाली । 

फुलपातीको बिहान वीरेन्द्रनगरस्थित बाढीपीडितहरुको अस्थायी शिविरमा भेटिएकी वसन्ती नेपाली निरास मुद्रामा थिइन् । यसरी लामो समय अस्थायी शिविरमा बस्दा पनि सरकारले बाढीपीडितहरुको पुनःस्थापनामा बेवास्ता गरेको गुनासो उनको थियो । ‘सरकारले हाम्रो कष्टकर जिन्दगी देखेन,’ उनले भनिन्, ‘कि हामीलाई नेपाली हौ भन्न सक्नुपर्छ यदि हैन भने हामीहरुलाई व्यवस्था गरिदिनुपर्छ ।’

बाढी आएको बेला राहत बाँडे पनि त्यसपछि पुर्नवास र पुर्नस्थापनाको काममा भने बेवास्ता गरिएको उनको भनाई छ । शिविरमा बस्दा सर्पको कारण बालबच्चा जोगाउन पनि समस्या भएको रुपा सिंहले बताइन् । ‘सुतेको बेला सिरानीमा र माथि पालको छानामा हेर्दा सर्प हिडेको हुन्छ’ उनले सुनाइन् । 

सरकारको ढिलासुस्ती र बेवास्ताका कारण उनीहरुले थप पीडा भोग्नु परिरहेको छ । पीडितलाई राहतका नाममा करोडौं खर्च भइसकेको छ । तर उनीहरुको पुनःस्थापना हुन सकिरहेको छैन । जिल्लामा आठ वर्षदेखि वर्षदेखि विभिन्न स्थानमा अस्थायी शिविर बनाएर बसिरहेका पीडित परिवारको संख्या ९ सय ७० रहेको छ । 
 


 



Author

थप समाचार