समाज

मुख्यमन्त्री र मेयरलाई जनकारबाही गर्ने सिके राउतको धम्कीपछि जनकपुरमा सुरक्षा व्यवस्था कडा

धनुषाका सीडीओ भन्छन्– कर्मचारीलाई सुरक्षाको प्रत्याभूति दिइरहेका छौं

सुभाष कर्ण |
कात्तिक ७, २०७८ आइतबार १६:१२ बजे

जनकपुरधाम – राष्ट्रिय जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रदेश २ का मुख्यमन्त्री र जनकपुरधाम उपमहानगरपालिकाका मेयरलाई जनकारबाही गर्ने धम्की दिएपछि जनकपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । राउतको धम्कीपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको हो । 

बिहीबार जनमत पार्टीका कार्यकर्ताहरूले जनकपुरस्थित खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयका प्रमुख राजेश कुशवाहालाई कालोमोसो दलेर दुर्व्यवहार गरेका थिए । ‘यसपछि अब मेयर र मुख्यमन्त्रीको पालो,’ भन्दै राउतका कार्यकर्ताले धम्कीपूर्ण अभिव्यक्ति दिएपछि दुवै कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।


कुशवाहालाई दुर्व्यवहारको भोलिपल्ट समाजिक सञ्जाल फेसबुकमार्फत जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको सचिवालयले, ‘भ्रष्टाचारीहरूविरुद्ध जनकारबाहीको संकेत मात्र थियो जनतामा डिमाण्ड धेरै छ मेयर सुध्रेन, मेयर मात्रै होइन सांसद र मन्त्रीलाईसमेत जनकारबाही हुने,’ भन्दै धम्की दिएपछि आइतबारदेखि मुख्य दुई कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

डा. सिके राउतको धम्कीपछि जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय, मेयर लालकिशोर साहको निवास र मुख्यमन्त्री कार्यालय परिसरसहित नगरका विभिन्न चोकमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय र मेयर साहको निवासका साथै मुख्यमन्त्री कार्यालयअगाडि दर्जनौ संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी संयुक्त टोली परिचालन गरिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जनमत पार्टीको धम्कीकै कारणभन्दा पनि बिहीबार खानेपानी कार्यालयका प्रमुखमाथि दुर्व्यवहार भएको घटनाले सर्तकताका लागि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सम्भावित कार्यालय तथा पदाधिकारीहरूलाई सुरक्षा दिइएको बताए ।

‘पछिल्लो पटक खानेपानी प्रमुखमाथि भएको घटना नियोजित नभई छापामार शैलीमा अपराधिक प्रवृत्तिले घटाइएको घटना हो । तर अब कुनै पनि कार्यालयमा यस्ता घटना दोहरिन नदिन जिल्ला सुरक्षा समितिले आफ्नो रणनीति कडा पारेको छ, कर्मचारीहरूलाई हामी सुरक्षाको प्रत्याभूति दिइरहेका छौं,’ उनले भने ।

कर्मचारीद्वारा कामकाज ठप्प

यता सुरक्षाको प्रत्याभूतिको माग गर्दै जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीहरूले शुक्रबार कामकाज ठप्प राखे भने आइतबार दिउँसो १ बजेसम्म विरोधस्वरूप पेनडाउन गरी कामकाज रोक्का गरेका छन् ।

नेपाल नगरपालिका कर्मचारी एसोसिएसन इकाइ समिति जनकपुरधाम उपमहानगरपालिकाका अध्यक्ष शरद लाभले पछिल्लो पटक जनमत पार्टीका कार्यकर्ताद्वारा खानेपानीका प्रमुखमाथि गरिएको दुर्व्यवहार र उपमहानगरपालिकामासमेत तोडफोड गरिएका कारण शुक्रबार एक दिनका लागि कामकाज रोकिएको र आइतबार दिउँसो एक बजेसम्म पेनडाउन गरिएको बताए ।

जनकपुरधाम उपमहानगरपालिका मात्र नभई सो अन्तर्गतका वडा कार्यालयहरूका सचिवहरूसमेत आन्दोलनमा रहेका कारण शुक्रबार ती कार्यालयका सेवा ठप्प भए भने आइतबार पेनपाडन गरी कामकाज रोक्का गरेका हुन् ।

‘हामी कर्मचारीहरू सुरक्षाको प्रत्याभूतिको माग गर्दै नगरपालिकाका कर्मचारी युनियनको निर्णयअनुसार आज दिउँसो बजेसम्म कामकाज रोक्का छौं,’ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर चारका सचिव राजेश ढकालले इकागजसँग भने । 

सेवाग्राहीलाई सास्ती 

उपमहानगरपालिकाको कार्यालय र वडा कार्यालय बन्द रहेको कारण सेवाग्राहीले सास्ती भोग्नु परेको छ ।  विभिन्न कामका लागि कार्यालयमा आएका सेवाग्राही पुर्वसूचनाबिना कार्यालय बन्द भएका कारण रित्तै हात घर फर्किनु परिरहेको छ ।

सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा व्यवस्था कडा पारिए पनि कर्मचारीहरूमा जनमत पार्टीका कार्यकर्ताहरूको त्रास देखिएको छ । कर्मचारी श्रोतकाअनुसार उपमहानगरपालिकाका प्रशासकीय अधिकृत शुक्रबार नै काठमाडौं गइसकेका छन् भने इन्जिनीयर वीरेन्द्र यादव सोही दिनदेखि कार्यालय आउन छाडेका छन् ।

खानेपानी प्रमुख कुशवाहामाथि दुव्र्यवहारको घटनायता मेयर लालकिशोर साह न त कार्यालय गएका छन् न कुनै सार्वजनिक कार्यक्रममै जान सकेका छन् । सोही दिनदेखि उनी कडा सुरक्षाकाबीच आफ्नो निवासमै रहँदै आएका छन् । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x