समाज

बुटवलको चौराहादेखि चिडियाखोलासम्मका १५० बढी घरमा डोजर

बुटवल-बेलहिया सडक विस्तार आयोजनाले घर खाली गर्न जारी गरेको २४ घण्टे सूचनाको समयावधि सकिएलगत्तै डोजर चलाएको हो ।

बिक्रम खड्का |
पुस २६, २०७७ आइतबार १०:२८ बजे

बुटवल : बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्म सडक किनारमा सडक मिचेर बनाइएका घरमा आइतबार बिहान डोजर लगाएर भत्काउन सुरु गरिएको छ । बुटवल-बेलहिया सडक विस्तार आयोजनाले जारी गरेको २४ घण्टे सूचनाको समायावधि सकिएलगत्तै घर टहरा भत्काउन सुरु गरिएको आयोजना प्रमुख इन्जिनियर जयलाल मरासीनीले जानकारी दिए । 

बिहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरी बुटवलको ट्राफिक चोकबाट सडक मिचेर बनाएका घर टहरा भत्काउन सुरु गरिएको मरासिनीले बताए । अतिक्रमित क्षेत्रको मध्यखण्ड बुटवलको टाफिक चोकमा रहेको दुर्गा मन्दिरको सटर र त्यस आसपासमा रहेका घरहरूमा डोजर चलाइएको छ ।


पटक-पटक अदालतको आदेशले रोकिदै आएको सडकको विस्तारविरुध्द नारायणीदेवी प्रधानलगायत २४ जनाले दायर गरेको पछिल्लो रिट निवेदनमा यसअघि गत असार ९ गते दिएको अल्पकालिन आन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सर्वोच्च अदालतले गरेपछि  आयोजनालाई सडक विस्तार गर्ने बाटो खुलेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र डा. मनोज कुमार शर्माको संयुक्त ईजलासले आदेशलाई निरन्तरता दिनु नपर्ने फैसला गरेको हो । अदालतको आदेशसँगै बुटवल-बेलहिया व्यापारीक मार्ग विस्तार आयोजनाले सडक सिमा भित्रका घरटहरा तथा त्यहा बनेका संंरचना भत्काउने २४ घण्टे अल्टिमेटम दिएको थियो ।

सडक सिमा मिचेर निर्माण गरिएका घर टहरा हटाउन पटक-पटक सूचना गर्दा पनि स्थानीयबासीले नमानेपछि बाध्य भएर डोजर चलाउनु परेको प्रमुख मरासिनीले बताए । आयोजनाले सूचना जारी गरेसँगै कतिपय घरधनीले भने शनिबार दिनभर लगाएर घर टहरा भत्काएका थिए । 

अदालतको आदेश अनुसार निवेदकहरूका कागजात अध्यायन गर्दा १ सय ५६ जना निवेदकमध्ये १ सय ५० जनाको मुआब्जाका लागि प्रमाण नपुगेको र ६ जनाको हकमा थप कागजात हेर्नु पर्ने भएकोले १५ दिन भित्र आयोजनामा सम्पर्क राख्न सूचना जारी गरेको भएपनि उनीहरूले आफ्नो प्रमाण पेस गर्न नसकेपछि सर्वोच्च अदालत पुगेका थिए ।

सडकखण्डमा ३ सय १० घर र बाँकी ४७ खाली जग्गा गरी ३ सय ५७ जनाले सडक सिमा मिचेकोमा २ सय जनाभन्दा बढीले यसअघिनै घर भत्काइसकेका छन् । अहिले करिव १ सय ५० घर टहरा भत्काउन बाँकी छ ।
 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x