समाज

भगरथीका भावुक ‘स्टाटस’

नवराज पनेरु |
माघ २९, २०७७ बिहीबार १७:८ बजे

धनगढी : ‘घमण्ड नगर्दा हुन्छ पृथ्वीको पाहुना हो हामी । मालिक होइन,’ १९ माघमा बैतडी दोगडाकेदार–७  चडेपानीकी १७ वर्षीया भागरथी भट्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन् । त्यसको ४८ घण्टा नपुग्दै चडेपानीमा भागरथी वेपत्ता भएको खबर फैलिएको थियो । 

दोस्रो दिन भागरथीले स्टाटसमा लेखेको जस्तै भयो । पाहुनाको रुपमा पृथ्वीमा आएकी उनले मानवचोला त्यागिन । १७ बर्षको कलिलो उमेरमै भागरथीको बलात्कारपछि विभत्स हत्या गरियो र त्यो स्टाटस भागरथीकै जीवनसंग मेल खायो । 


त्यसअघि १३ माघमा भागरथीले फेसवुमा लेखेकी थिइन्, ‘खुसी मात्र देखिन्छु । कति टुटेको छु, त्यो त म आफैँलाई थाँहा छ ।’ यो स्टाटसले भागरथी निराश भएको दर्शाउँछ । तर त्यो निराशा के–को थियो ? सोध्नलाई उनी नै छैनन् । 

२९ पुसमा लेखेको स्टाटसले पनि भागरथीकै जीवनमा मेल खान्छ । उनले लेखेकी थिइन्, ‘आजकालका मित्र पनि के बिचित्र, मुखमा रामराम बलगीमा छुरा ।’ उनले स्ट्याटसमा लेखेको जस्तै अहिले प्रहरीले पनि भागरथीको बलात्कार र हत्यामा परिचित व्यक्ति नै संलग्न रहेको आशंका गरेको छ । 

भागरथीका नजिकका साथी, घटना भएको दिन उक्त बाटो भएर हिँडडुँल गर्ने परिचित व्यक्ति र सो दिनदेखि भारत गएका भागरथीका परिचित व्यक्तिसंग प्रहरीले सोधपुछ गरिरहेको छ । मुखमा रामराम र बलगीमा छुरा कसले प्रहार गर्‍यो प्रहरी खोजीमा छ ।

२८ असोजमा भागरथीले सामाजिक सञ्जालमा लेखेको स्ट्याटसले भने उनको लक्ष्य र सपनालाई दर्शाउँथ्यो । हसिलो अनुहारसहितको आफ्नै फोटो हालेर उनले लेखेकी छिन्, ‘धेरै ठूलो सपना छैन् मेरो । बस यो मुस्कान जस्तै सुन्दर जीवन बनाउन सकू ।’ तर उनको सुन्दर जीवन बनाउने सपनामाथि २१ माघमा बज्रपात भयो । डेढ महिनाअघि श्रीमान गुमाएर एक्ली भएकी आमालाई जीवनभर सहारा दिने सपना पनि चुडियो । बुवाको देहावसान भएपछि घर मूलीको जिम्मेवारी काँधमा लिएर बिचलिन नहुने उनको स्वभावमाथि पनि तुषारापात भयो । 

सनातन माध्यमिक विद्यालयमा व्यवस्थापन सङ्काय अन्तर्गत १२ कक्षामा लेखा विषय लिएर अध्ययनरत गर्ने गाउँकी एक्ली थिइन् भागरथी । सरकारी जागिरे बन्ने सपना थियो उनको । तर त्यो सबै असफल बनाइदिए अपराधिक मानसिकता बोकेका व्यक्तिले । 

गत बुधबार विद्यालयबाट घर फर्किदा हराएकी भागरथी दोस्रो दिन विद्यालयबाट साढे दुई किलोमिटर र घरबाट डेढ किलोमिटरको बीचमा वीभत्स हत्या गरिएको अवस्थामा फेला परिन् । घटनाको आज ८ दिन भईसकेको छ तर प्रहरीले दोषीलाई कानुनी दायरामा ल्याउन सकेको छैन् । उनको शव अस्पतालमै राखिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले अनुसन्धान साँघुरिदै गएको  र छिट्टै परिणाम सार्वजनिक हुने दाबी गर्दै आएको छ ।


Author

थप समाचार
x