समाज

मधेशमा १ हजार ६३ मतदानस्थल ‘अतिसंवेदनशील’ सूचीमा

सुभाष कर्ण |
बैशाख २९, २०७९ बिहीबार २०:८ बजे

जनकपुरधाम – स्थानीय तह निर्वाचन २०७९ का लागि मधेस प्रदेशका अधिकांश मतदानस्थल ‘अतिसंवेदनशील’ सूचीमा रहेकाे छ । जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले गरेको वर्गीकरण अनुसार अधिकांश मतदानस्थल अति संवेदनशील सूचीमा परेका हुन् ।

मधेस प्रदेशमा १ हजार ६३ मतदानस्थललाई अति संवेदनशील सूचीमा समावेश गरिएको छ भने संवेदनशील मतदान स्थल ८८८ वटा रहेकाे मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) मसाउद आलम खाँले बताएका छन् । त्यस्तै, सामान्य मतदानस्थलको संख्या २१२ रहेको छ ।


सप्तरीमा २०८, सिरहामा १७०, धनुषामा १८३, महोत्तरीमा ११०, सर्लाहीमा १०३, रौतहटमा ८३, बारामा ६२ र पर्सामा ६२ वटा मतदानस्थल अति संवेदनशील सूचीमा रहेका छन् ।

त्यस्तै, सप्तरीमा ८५, सिरहामा ४६, धनुषामा ११६, महोत्तरीमा १४५, सर्लाहीमा १८४, रौतहटमा ११९, बारामा १०८ र पर्सामा ८५ वटा मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको छ ।

सप्तरीमा ४, सिरहामा ५, धनुषामा २४, महोत्तरीमा ३, सर्लाहीमा ३१, रौतहटमा ७४, बारामा ५१ र पर्सामा २० वटा मतदानस्थल सामान्य सूचीमा रहेको छ । प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक खाँले विगतभन्दा अहिले सुरक्षा चुनौती बढी रहेको बताए ।

खुला सिमानाका कारण र स–साना हातहतियारले सुरक्षा चुनौती रहेको बताउँदै उनले यसका लागि सो क्षेत्रहरुमा मंगलबार राति १२ बजेदेखि नै पूर्णरूपले आवतजावत बन्द रहेको जानकारी दिए । उनले प्रदेशका सबै जिल्लाहरुमा प्रहरीले सतर्कतापूर्वक काम गरिरहेको बताए ।

स्थानीय तह निर्वाचनका लागि मधेस प्रदेशमा ३३ लाख ३१ हजार १७० जना मतदाता कायम भएका छन् । यस प्रदेशमा १७ लाख ९७ हजार ९४५ पुरुष, १५ लाख ३३ हजार १५८ महिला र अन्य ६६ गरी कूल ३३ लाख ३१ हजार १७० जना मतदाताले मतदान गर्न पाउने भएका छन् ।

प्रदेशभर २ हजार १६३ मतदानस्थल
मधेस प्रदेशभर २ हजार १६३ मतदानस्थल कायम गरिएको छ भने ४ हजार १८९ मतदान केन्द्र निर्धारण गरिएको प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी श्रीधर पन्तले जानकारी दिए ।

सप्तरीमा २९७ मतदानस्थल र ५३६ मतदान केन्द्र, सिरहामा २२१ मतदानस्थल र ४९८ मतदान केन्द्र, धनुषामा ३२३ मतदानस्थल र ५९३ मतदान केन्द्र, महोत्तरीमा २५८ मतदानस्थल र ४९७ मतदान केन्द्र निर्धारण गरिएको छ ।

त्यस्तै, सर्लाहीमा ३१८ मतदानस्थल र ५९९ मतदान केन्द्र, रौतहटमा २७६ मतदानस्थल र ५१८ मतदान केन्द्र, बारामा ३०३ मतदानस्थल र ५४१ मतदान केन्द्र तथा पर्सामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत १ जना, सहायक मतदान अधिकृत १ जना, सहायक कर्मचारी २ जना, सहयोगी कर्मचारी २ जना र मतदान अधिकृतले नियुक्त गरेका स्वयंसेवक ३ जना गरी कुल ९ जना कर्मचारी खटिसकेका छन् । यस हिसाबले धनुषामा मात्रै ५९६ मतदान केन्द्रमा ५ हजार ३६४ कर्मचारी खटेका छन् । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x