खेलकुद

एआइपीएसको कोषाध्यक्षमा निरञ्जन राजवंशीको ह्याट्रिक

इकागज |
असोज १८, २०७९ मंगलबार १८:४६ बजे

काठमाडौँ- एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को कोषाध्यक्षमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का पुर्व अध्यक्ष निरञ्जन राजवंशी पुनः निर्वाचित भएका छन् ।

इटालीको रोममा जारी अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआइपीएस) को ८४ औँ विश्व सम्मेलनको अवसरमा भएको एसिया महादेशको निर्वाचनमा राजवंशी कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।


उनका प्रतिद्वन्द्वी मंगोलियाका चुल्तेन ओड्गोनबाटार साटोले अन्तिम समयमा नाम फिर्ता लिएपछि राजवंशी निर्विरोध भएका हुन् ।

एनएसजेएफका पुर्व अध्यक्ष राजवंशीको कोषाध्यक्षको रुपमा यो तेस्रो कार्यकाल हो । यसअघि उनी २०१६ मा बहराइनमा भएको निर्वाचनमा पहिलो पटक कोषाध्यक्ष भएका थिए । त्यसपछि अर्को साल पाकिस्तानको इस्लामावादमा भएको निर्वाचनमा उनले सिरियाका प्रतिद्धन्दीलाई पराजित गर्दै कोषाध्यक्ष भएका थिए ।

मंगलबार भएको निर्वाचनमा बाँकी प्रतिस्पर्धीहरुले नाम फिर्ता लिएपछि १७ सदस्यीय कार्यसमिति नै निर्विरोध भएको छ ।

एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी सम्मिलित तीन सदस्यीय निर्वाचन समितिले एसियाको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

अध्यक्षमा दक्षिण कोरियाका हि डोन जुङ निर्वाचित भए । सो पदका प्रतिस्पर्धी मलेसियाका अहमद खवारी इशाले नाम फिर्ता लिएका थिए ।

त्यसैगरी प्रथम उपाध्यक्षमा साउदी अरेवियामा अदिल अल जहरानी, पाँच उपाध्यक्षहरुमा मलेसियाका खवारी इशा, भारतका सबा नायकन, कतारका मुबारक बल बोइनिन, कुवेतका खलिल हैदर र इरानका मैजम जमानवादी निर्वाचित भए भने महासचिवमा पाकिस्तानका अमजद अजिज मलिक निर्विरोध भए ।

त्यसैगरी ८ सदस्यिय केन्द्रीय सदस्यहरुमा ओमानका अहमद शैख अलकाबी, मकाउका निम फोङ, बंगलादेशका सनत बाब्ला, चाइनिज ताइपेईका हेलन ची, जापानका हिरोकी शोदा, कजाकिस्तानका इलियास ओमारोभ, प्यालेस्टाइनका सफ्वान अबु सनाब र यमनका अब्दुलसलाम हमोद अलि अलसाउदी निर्वाचित भए ।

सदस्यमा १५ जना प्रतिस्पर्धामा थिए । निर्वाचित भएपछि कोषाध्यक्ष राजवंशीले नेपाल एनएसजेएफ को दरिलो साथले गर्दा एसियाली पत्रकारहरुको माझमा आफु उभिन सकेको बताएका छन् ।

नयाँ कार्यसमितिले अर्को वर्ष एआइपीएस एसियाको कंग्रेस दक्षिण कोरियाको सोलमा अर्को वर्ष आयोजना गर्ने निर्णय गरेको छ ।


Author

थप समाचार
x