खेलकुद

सूर्य नेपाल च्यालेन्ज सुरु, पहिलो दिन रामे मगरलाई अग्रता

इकागज |
फागुन २१, २०८० सोमबार २०:१७ बजे

काठमाडौँ- सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको पाँचौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको पहिलो दिन ३-अन्डर ६५ को स्कोरमा भेट्रान प्रो रामे मगर शीर्ष स्थानमा रहेका छन् ।

रामेले एमेच्योर युवा गल्फर तथा डिफेन्डिङ्ग च्याम्पियन सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारे । २-अन्डर ६६ सहित सदभाव आचार्य दोस्रो स्थानमा रहँदा १-अन्डर ६७ सहित भुवन नगरकोटी र धन बहादुर थापा संयुक्तरुपमा तेस्रो स्थानमा रहे । इभन-पार ६८ खेलेका टंकबहादुर कार्की पाँचौं र १-ओभर ६९ सहित रवि खड्का छैटौं स्थानमा छन् ।


२-ओभर ७० को स्कोरमा पहिलो दिनको खेल सकाएका रमेश अधिकारी, सूर्यप्रसाद शर्मा र दिनेश प्रजापतिले संयुक्तरुपमा सातौं स्थानमा रहेका छन् । यसैगरी पशुपति शर्मा, जयराम श्रेष्ठ, दीपक मगर, तोरण विक्रम शाही तथा एमेच्योर गल्फरद्वय राहुल बिके र टासी छिरिङले ३-ओभर ७१ को नतिजामा संयुक्तरुपमा १०औं स्थान बाँडे ।

लामो समयपछि शीर्ष स्थानमा रहन सफल रामेले उत्कृष्ट प्रदर्शनमा फ्रन्ट नाइन ३-अन्डर ३१ मा पूरा गरे । उनले पहिलो, दोस्रो र चौथो होलमा बर्डी प्रहार गरे । ब्याक नाइनमा पनि १०औं, १२औं र १३औं होलमा एक-एक सट बचाउँदा ६-अन्डरको स्थितिमा पुगिसकेका थिए । तर, ४-पारको १६औं होलमा डबल बोगी र १८औं होलको बोगीले ब्याक नाइन इभन-पार ३४ मा सकाए ।

राष्ट्रिय टिमका सदस्य एमेच्योर गल्फर सदभावले फ्रन्ट नाइनमा ३-अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरे । छैंटौं होलको बोगीविरुद्ध चार बर्डी प्रहार गरे । उनले पहिलो, दोस्रो, सातौं र आठौं होलमा एक-एक सट बचाए । ब्याक नाइनमा तीन बर्डी र चार बोगी प्रहार गरे । ११औं, १३औं र १६औं होलमा बर्डी प्रहार गरे पनि १२औं, १४औं, १५औं र १७औं होलमा एक-एक सट खेर फाल्दा ब्याक नाइन १-ओभर ३५ मा पूरा गर्न बाध्य भए ।

सिजनको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन विजेता भुवनले चौथो र पाँचौ होलको बर्डीको सहायताले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए । यसपछि १०औं होलमा एक सट बचाए भने १३औं र १६औं होलको बोगीले ब्याक नाइन १-ओभर ३५ मा पूरा गरे ।

धनले सुरुवात राम्रो गर्न सकेनन् । दोस्रो, पाँचौ र सातौं होलमा बोगी खेप्दा नवौं होलको बर्डीले फ्रन्ट नाइन २-ओभर ३६ मा सकाए । ब्याक नाइनमा भने लय समाते । १०औं, ११औं, १३औं र १५ औं होलमा बर्डीको सफलता प्राप्त गरे भने १७औं होलको बोगीले ब्याक नाइन ३-अन्डर ३१ मा पूरा गरे ।

चार दिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीको सहभागिता रहेको छ । ३६ होलको समाप्तिमा कट लागू हुनेछ । जहाँ उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनको लागि स्थान सुरक्षित गर्नेछन् । एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्नेछ ।

कुल ५ लाख ७२ हजार २ सय ५० नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश: ६७ हजार र ४८ हजार हात पार्नेछन् । यसैगरी चौथो हुनेलाई ४० हजार र पाँचौ हुनेलाई ३६ हजार प्रदान गरिनेछ । कट बनाउने २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।


Author

थप समाचार
x