खेलकुद

महान् म्याराडोना

विजय, विवाद र वियोग : खास्साको खेलाडीका दर्जनौँ किस्सा

इकागज |
मंसिर १२, २०७७ शुक्रबार ७:२७ बजे

काठमाडौँ : डिएगो म्याराडोना, यस्तो व्यक्ति जसको प्रत्येक शब्द र क्रियाकलाप प्रेसको हेडलाइन बन्थे । कमसेकम अर्जेन्टिना र इटालीको नेपोलीमा पुजिने उनै म्याराडोना बुधबार ६० वर्षको उमेरमा बिते । म्याराडोनाको व्यावसायिक खेल जीवन अर्जेन्टिनाको घरेलु लिग प्रिमेरा डिभिजनबाट सुरु भयो । उनी खेल्दाखेल्दै इटालीको सिरी एदेखि स्पेनको लालिगासम्म पुगे । अनि विश्वकप लगायतका अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा त उनले राष्ट्रिय टिमको नेतृत्व पनि गरे ।

दक्षिण अमेरिकीदेखि युरोपियन लिगसम्म अनि विश्वकप जस्तो महत्वपूर्ण प्रतियोगितामा पनि, म्याराडोनाको जादु चलेकै हो । धेरै अर्थमा उनी विश्व फुटबलकै पहिलो ‘सुपरस्टार’ थिए । असाधारण प्रतिभा भएका म्याराडोना समस्यारहित थिएनन् । तर विश्वभर नै फुटबल खेल्न चाहानेले उनलाई प्रेरणाको स्रोत बनाउने गरेको तथ्यलाई भुल्न मिल्दैन ।


सुरुवात 
म्याराडोनाको जन्म सन् १९६० मा भयो । म्याराडोनाको पिताको नाम डिएगो म्याराडोना नै भए पनि उनलाई ‘डन डिएगो’ भनेर चिनिन्थ्यो । म्याराडोनाले, डन डिएगो र डाल्मा साल्भाडोरा टोटा फ्रान्को पाँचौ सन्तान (पहिलो पुत्र) का रूपमा धर्ती टेके । म्याराडोनाका मातापिता अर्जेन्टिनाको ग्रामीण भेग कोरिएनटेसबाट राजधानी ब्युएनोस आइरिस बसाइ सरेका थिए ।

म्याराडोना जन्मिँदाको रोचक घटना छ । स्थानीय अस्पतालमा एकै रात ११ बच्चाको जन्म भयो । तीमध्ये म्याराडानो मात्र बालक थिए । दुई महिनापछि शिशु म्याराडोनालाई चर्च पुर्‍याइयो । जहाँ भविष्यका ग्लोबल आइकनको पहिलो तस्बिर खिचियो ।

म्याराडोनाका प्रत्येक शब्द, वाक्य रोचक रहन्थे । ‘हाम्रो घर बाहिरभन्दा घरभित्र धेरै पानी पर्छ,’ म्याराडोनाले आफू बस्ने घरको वर्णन गर्दै भनेका थिए । त्यस घरमा जम्मा तीन कोठा थिए । जहाँ म्याराडोना, उनका मातापिता, चार दिदी र तीन भाइ अटाउँथे । अन्य दक्षिण अमेरिकी बालकहरू जस्तै म्याराडोनाको पनि मिल्ने साथी फुटबल नै थियो । उनी सडकमा फुटबल खेल्थे । तर वर्षायाममा सडक खहरे खोलामा परिणत हुन्थ्यो । अनि म्याराडोनाको घर छाएको जस्ताबाट झरेको पानीले भेललाई उर्लिन मद्दत गर्थ्यो ।

म्याराडोना आफ्ना काकासँग खुबै मिल्थे । उनै काकाले म्याराडोनालाई फुटबल उपहार दिए । जुन म्याराडोनाका लागि जीवनकै पहिलो फुटबल थियो । म्याराडोनाका काकाले आफ्ना भातिज र टोलका अन्य बच्चालाई धुलाम्मे सडकमा फुटबल खेल्न सिकाउँथे ।

एकदिन, म्याराडोना बल पछ्याउने क्रममा सेप्टिक ट्याङ्कीभित्र छिर्न पुगे । म्याराडोनाले आफ्नो आत्मकथामा लेखेका छन्, ‘बल निकाल्न खोज्दा म झन् भासिँदै गए । तर त्यही समय मेरो काका आइपुग्नुभयो र मलाई बचाउनुभयो । उहाँ नहुनु भएको भए, बल पछ्याउँदै पुगेको म त्यहीँ भासिन्थेँ । र मर्थें ।’

म्याराडोना १० वर्ष पुग्दा नपुग्दै उनको कौशलबारे चर्चा सुरु भइसकेको थियो । डिएगो सिनियरले सञ्चालन गरिरहेको स्थानीय टिमबाट खेल्दाखेल्दै म्याराडोनाले अर्जेन्टिनाको पहिलो श्रेणीको क्लब अर्जेन्टिनोस जुनिर्यसका लागि ट्रायल दिने मौका पाए । ट्रायल दिन ब्युएनोस आइरिस पुग्नुपर्ने थियो । म्याराडोनाले पितालाई मनाउन धेरै बल गर्नुपर्‍यो । म्याराडोना दुई बस परिवर्तन गर्दै ब्युएनोस आइरिस पुगे । तर उनलाई दुखद् खबर दिइयो । लगातारको वर्षाका कारण, ट्रायल रोकियो भनेर भनियो ।

ट्रायल दिन अर्जेन्टिनोस जुनिर्यस पुगेका किशोर खेलाडीहरू निराश भएर घर फर्किनै लागेका थिए । जुनिर्यसका ‘युथ स्काउट’ फ्रान्सिस कोर्नेखोले ती खेलाडीलाई नजिकैको पार्कमा खेलाउने भए । त्यो खेल र किशोर म्याराडोनाबारे रोखोले आफ्नो पुस्तकमा लेखेका छन्, ‘भनिन्छ, प्रत्येक मानिसले आफ्नो जीवनकालमा कुनै न कुनै दिन चमत्कार देख्छन् । मैले त्यो दिन म्याराडोनालाई देखेँ ।'

किशोर म्याराडोनाको खेल देखेर सबै छक्क पर्थे । उनीहरूको प्रश्न हुन्थ्यो, यति सानो उमेरमा यस्तो कुशलतासाथ कसैले कसरी खेल्न सक्छ ? कतिसम्म भने, अर्जेन्टिनोस जुनिर्यसको ट्रायल सकिएपछि म्याराडोनाको परिचयपत्र नै मागियो । प्रश्न उही थियो । आठ वर्षको म्याराडोनाले कसरी यो स्तरको खेल्न सक्छ ? के म्याराडोनाको उमेर साँच्चै आठ वर्ष मात्र हो त ?

म्याराडोनाले मलिनो स्वरमा आफूसँग परिचयपत्र नभएको जवाफ दिए । ‘मैले उनको आँखामा हेर्दै उनको उमेर सोधैँ । यदि उनले आफ्नो उमेर ढाँटेका थिएनन् भने, मैले सानो उमेरका हिराको पहिचान गर्दै थिएँ । हुन त उनले उमेर ढाटेकै हुन्थे भने पनि हामी उनलाई क्लबमै राख्थ्यौं,’ कोर्नेखोले भनेका छन् ।

अन्ततः म्याराडोनाको उमेरमाथि गरिएको शंका हरायो । सन् १९७१ मा उनले अर्जेन्टिनोसको किशोर टिममा प्रवेश पाए । अनि म्याराडोनाको जादू सुरु भयो । सन् १९७३ देखि ७४ को बीचमा म्याराडोना सम्मिलित अर्जेन्टिनोसको अन्डर-१४ टिमले लगातार १३६ खेल जित्यो । अनि त्यसै उमेर समूहमा च्याम्पियन बन्यो ।

उनले अर्जेन्टिनोसको किशोर टिमका लागि गरेको प्रदर्शन अर्जेन्टिनाको प्रेसको नजरमा पर्‍यो । १९७१ सेप्टेम्बर २८ मा अर्जेन्टिनाको क्लारिन नाम गरेको पत्रिकाले म्याराडोनाबारे लेख्यो । खबर संक्षेपमा थियो । तर त्यो म्याराडोनाको प्रसिध्दिको सुरुवात थियो ।

अर्जेन्टिनाको ‘मोस्ट वान्टेड’
किशोर म्याराडोनालाई ‘क्याराडानो’ भनिन थालियो । अर्जेन्टिनोसको किशोर टिमका लागि खेल्न सुरु गरेको पाँच वर्षभित्रै म्याराडोना सिनियर टिमका लागि बढुवा भए । उनी १६ वर्षका मात्र थिए, जब उनले अर्जेन्टिनोसको सिनियर टिमका लागि डेब्यु गरे । २० वर्ष पुग्दा म्याराडोनाले अर्जेन्टिनोसका लागि १ सय ५० खेल खेल्दै १ सय गोल गरिसकेका थिए । त्यस दौरान उनलाई अर्जेन्टिनाकै प्रतिभाशाली युवा खेलाडीहरूको सूचीमा राख्न थालिसकिएको थियो ।

त्यति बेलादेखि नै म्याराडोना अर्जेन्टिनाको राष्ट्रिय टिमका लागि बोलाइन थाले । तर उनको सुरुवाती अनुभव मीठो भएन । सन् १९७८ मा अर्जेन्टिनामै हुन लागेको विश्वकपका लागि बनाइएको घरेलु टिमबाट म्याराडोना अन्तिम क्षणमा हटाइए । तर त्यसको एक वर्षपछि भएको अन्डर-२० विश्वकपका लागि म्याराडोनाले अर्जेन्टिनाको जर्सी लगाउने मौका पाए । म्याराडोनाले आफ्नो राष्ट्रलाई च्याम्पियन त बनाए नै, साथै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए ।

सन् १९८०, म्याराडोनाका लागि उपलब्धिमूलक रह्यो । उनले अर्जेन्टिनोसको जर्सीमा अर्जेन्टिनाको घरेलु फुटबलमा विभिन्न पाँच फरक प्रतियोगिता जितेर कीर्तिमान कायम गरे । कुनै पनि युवा खेलाडी स्टारमा परिणत भएपछि क्लब छाड्ने हल्ला चल्न सुरु हुन्छ नै । म्याराडोनाले अर्जेन्टिनोस छाड्ने पक्का थियो । तर त्यहाँबाट कता जाने भन्ने पत्तो थिएन ।

त्यसैबीचमा इङ्ल्यान्डको सेफिल्ड युनाइटेडले म्याराडोनालाई अनुबन्ध गर्ने इच्छा देखायो । तर अन्तिममा, एजेन्ट शुल्कमा कुरा नमिल्दा म्याराडोनाको सेफिल्ड स्थानान्तरण सफल भएन । यता, अर्जेन्टिनामा म्याराडोनालाई आ-आफ्नो क्लबमा भित्र्याउन त्यहाँको फुटबलका पारम्परिक शक्तिहरू रिभर प्लेट र बोका जुनियर्सको प्रतिस्पर्धा सुरु भयो । बाजी मार्‍यो बोका जुनियर्सले । म्याराडोना बोका जुनियर्स पुग्दा, अर्जेन्टिनोसले २.५ मिलियन अमेरिकी डलर प्राप्त गर्ने भयो । सम्झौताअनुसार, बोका जुनियर्सबाट ६ खेलाडी अर्जेन्टिनोसतर्फ जाने भए । तर बोका जुनियर्सले कबोल गरेअनुसारको पैसा तिर्न नसकेपछि म्याराडोना एक वर्षमै अर्जेन्टिनोस फर्किए । त्यही बीचमा म्याराडोनाले स्पेनिस क्लब बार्सिलोनासँग सम्झौता गरे । अनि अर्जेन्टिनियन ‘नम्बर दस’ स्पेनतर्फ हानिए ।

म्याराडोनाको पतनको सुरुवात
म्याराडोना ३० वसन्तमा प्रवेश गर्दै गर्दा, उनी विश्व फुटबलकै सवार्धिक ठूलो नाम थिए । म्याराडोनाले इटालियन क्लब नेपोलीलाई सन् १९८६-८७ र १८८९-९० सिजनका लिग जिताए । नेपोलीका सर्मथकहरूले म्याराडोनालाई यतिसम्म अपनाए कि सन् १९९० को विश्वकपमा उनीहरूले अर्जेन्टिनाले इटलीसँग खेल्दा, म्याराडोना नेतृत्वको दक्षिण अमेरिकी टिमलाई सर्मथन गरे । अनि सन् १९८६ को विश्वकपमा म्याराडोनाले कस्तो प्रदर्शन गरे भन्नेमा त संसार नै जानकार छ ।

बार्सिलोनामा छँदादेखि नै म्याराडोना कुर्कुच्चाको चोटको समस्याबाट ग्रस्त थिए । त्यही बेलादेखि नै उनी घाइते हुने सिलसिला सुरु भयो । सन् १९९० को विश्वकपको एक हप्ता अघि म्याराडोनालाई चोट लाग्यो । कुर्कुच्चामा फेरि समस्या देखियो । तर उनले हार मानेनन् । टिम डाक्टरले म्याराडोनाले त्यस्तो अवस्थामा खेल्न नसक्ने भने पनि अर्जेन्टिनाका कप्तान किन मान्थे र ? 

सन् १९९०-९१ मा म्याराडोनाका नेपोली बसाइको अन्त्य भयो । सिरी ए-मा बारीसँगको खेलपछि म्याराडोनालाई ‘ड्रग-टेस्ट’का लागि छानियो । परीक्षणपछि म्याराडोनाले कोकिन प्रयोग गरेको पुष्टि भयो । त्यस नतिजाका कारण म्याराडोनाले १५ महिनासम्म इटलीमा खेल्न नपाउने भए ।

म्याराडोनाको नेपोली बसाइ जे जस्तो कारणले अन्त्य भए पनि नेपोली सहरका लागि उनी सधैँ महान् व्यक्तिका रूपमा रहिरहे । सिरी ए-मा उत्तरी क्लबहरूको वर्चस्व रहिरहेका बेला, म्याराडोनाले नेपोलीलाई लिगमा बलियो शक्तिका रूपमा स्थापित गराए । त्यसकारण पनि नेपोली सहरले म्याराडोनालाई बिर्सन सक्दैन थियो ।

हराएको दशक 
सान पाओलोमा भएको लागु पदार्थ परीक्षणमा असफल भएपछि म्याराडोनाको जीवनमा अन्धकारको सुरुवात भयो । यस्तो लाग्थ्यो, म्याराडोनाले आफूलाई नियन्त्रणमा राख्न सकिरहेका छैनन् ।

१५ महिने प्रतिबन्ध सकिएपछि म्याराडोना मैदानमा फर्किए । तर स्पेनको सेभिया र अर्जेन्टिनाको नुएल्स ओल्ड ब्याइजमा उनको बसाइ खासै सम्झनलायकको रहेन । म्याराडोनालाई सन् १९९४ को विश्वकपका लागि अर्जेन्टिनाको टिममा बोलाइयो ।

तर विश्वकप पनि उनका लागि निराशाजनक रह्यो । उनी फेरि डोपिङमा असफल भए । अमेरिकामा भएको त्यो विश्वकपमा उनले अर्जेन्टिनाका लागि दुई खेल मात्र खेल्न भ्याए । फक्सर्बोमा भएको नाईजेरियाविरुद्धको खेल नै म्याराडोनाले अर्जेन्टिनाका लागि खेलेको अन्तिम खेल बन्यो । 
 
खेलाडीका रूपमा करियर औपचारिक रूपमा नसकिँदै म्याराडोना प्रशिक्षणतर्फ लागे । उनी छोटो समयका लागि डेर्पोटिभो मान्डियु र रेसिङ क्लबका प्रशिक्षकको भूमिकामा रहे । तर उनी ती क्लबमा पूर्णरूपमा असफल भए । सन् १९९५ मा म्याराडोना  बोका जुनियर्स फर्किए । तर त्यहाँ फर्किंदा म्याराडोना विगतको सफलताको धङधङीमा थिए । अनि फेरि म्याराडोना डोपिङमा परे । डोपिङको असफलतासँगै उनको खेल करियरले विश्राम लिने नै भयो ।

सन् १९९७ को अक्टोबर २५ मा भएको बोका जुनियर्स र रिभर प्लेटको खेल नै म्याराडोनाका लागि खेलाडीका रूपमा अन्तिम खेल रह्यो ।  सन् २००० मा म्याराडोना आफ्ना साथी गुइर्लेमो कोप्पोलाका साथमा उरुग्वे घुम्न गएका थिए । बिदा मनाउन रिसोर्ट पुगेका म्याराडोना दुई दिनसम्म उठ्नेनन् ।

म्याराडोनाको साथी कोप्पोलाले म्याराडोना निदाएको भन्ने ठाने । र डाक्टरलाई फोन गरेर म्याराडोना दुई दिनदेखि सुतिरहेको र आफूले उठाउन नसकेको भन्ने जानकारी गराए । होर्गे रोमेरो नाम गरेका डाक्टर रिसोर्ट पुगेर जाँच गरेपछि म्याराडोना दुई दिन अघिदेखि नै कोमामा रहेको पत्ता लाग्यो । पछि म्याराडोना थप उपचारका लागि क्युबा पुगे । जहाँ उनी फिडेल क्यास्ट्रोको पाहुना भएर बसे । म्याराडोना चार वर्षसम्म उपचार र ‘रिहाबिलेसन’का लागि क्युवा जाँदै आउँदै गरे । 
 
दक्षिण अमेरिकीको दक्षिण अफ्रिकाको यात्रा 
म्याराडोनाले क्रमशः स्वास्थ्य समस्या भोग्दै गए । क्युबाबाहेक उनको उपचार  कोलम्बियामा पनि गरियो । वजन घट्ने, बढ्ने सिलसिलाले म्याराडोनालाई सताइरह्यो । त्यसबीचमा उनी अर्जेन्टिनाको टेलिभिजन च्यानलमा ‘टक-शो’ चलाउने गर्थे । जसमा उनले पेले, माइक टाइसन र फिडेल क्यास्ट्रो जस्ता व्यक्तित्वलाई पाहुना बनाए । टेलिभिजनमा संलग्न रहे पनि म्याराडोना फुटबलको दुनियाँबाट टाढा थिएनन् ।

सन् २००८ मा म्याराडोनालाई अनपेक्षितरूपमा अर्जेन्टिनाको प्रशिक्षकका रूपमा नियुक्त गरियो । उनले अर्जेन्टिनाको टिमलाई सन् २०१० मा दक्षिण अफ्रिकी भूमिमा भएको विश्वकपसम्म प्रशिक्षण दिए । अर्जेन्टिनाको प्रशिक्षकका रूपमा रहँदा म्याराडोना प्रेसमा छाइरहे । तर टिमको खेल प्रदर्शनलाई लिएर होइन, उनको मैदान बाहिरको क्रियाकलापले । त्यसबखत, म्याराडोनाले पत्रकारहरूलाई दिने जवाफ पनि रोचक हुनेगथ्र्यो । अनि टिमका लागि उनले गर्ने खेलाडी छनौट पनि कम अचम्मलाग्दो हुँदैन थियो ।

म्याराडोनाले अर्जेन्टिनाका लागि दुई क्याप मात्र जितेका एरियल ग्रेसलाई विश्वकप खेल्ने टिममा समावेश गरे । राष्ट्रिय टिममा पर्ने स्तर नभएका ग्रेसलाई म्याराडोनाले छान्नुमा अचम्मलाग्दो कारण थियो । त्यो के भने, म्याराडोनाले सपनामा गे्रसले विश्वकप ट्रफी उचालिरहेको देखेका थिए ।

दक्षिण अफ्रिका पुगेको अर्जेन्टिनाको टिममा स्थापित स्टारहरूको वर्चस्व थियो । लियोनल मेस्सी, सर्जियो अग्वेरो, गोन्जालो हिगुवाइन, म्याक्सि रोद्रिगेज जस्ता आक्रामक खेलाडी टिममा थिए । तर टिममा सन्तुलन मिलाउन मिडफिल्ड र रक्षापंक्तिमा आवश्यक खेलाडीको कमी थियो । समूह चरणमा १० गोल गर्दै अन्तिम १६ मा पुगेको अर्जेन्टिना सेमिफाइनलमा जर्मनीसँग ४-० ले पराजित हुँदै घर फर्कियो ।

विश्वकपमा अपेक्षित प्रदर्शन गर्न नसकेको अर्जेन्टिनाको टिमले घर फर्किंदा भने भव्य स्वागत पायो । तर प्रशिक्षण टोलीमा सहायकहरूसँगै खटपट परेपछि, म्याराडोनाले अन्ततः प्रशिक्षकको भूमिकाबाट राजीनामा दिए । 


 
अन्तिम वर्ष
सन् २००० ताका, म्याराडानो १० वर्षपछि अर्जेन्टिनाको टिमलाई प्रशिक्षण दिनेछन् भनेर कमैले अनुमान गरेका थिए । तर म्याराडोना जीवनको उत्तरार्धसम्म पनि प्रशिक्षणमा व्यस्त भए । म्याराडोना बित्नुअघि अर्जेन्टिनाकै पहिलो श्रेणी खेल्ने जिम्नासिया डे ला प्लाटासँग आबद्ध थिए । 
 
त्यसो त, म्याराडोनाले अर्जेन्टिना वा दक्षिण अमेरिकी क्लबबाहेक हरू क्षेत्रका क्लब नसम्हालेका होइनन् । उनी संयुक्त अरब इमिरेट्स (युएई) का अल वासल र अल फुजैइराहमा केही केही वर्ष संलग्न रहे । अनि बेलारुसको डिनामो ब्रेस्टल पनि पुगे । तर त्यहाँ उनको भूमिका प्रशिक्षकको नभई क्लबको मानार्थ अध्यक्षको थियो ।

ला प्लाटासम्म आइपुग्दा म्याराडोनाको यात्रा सधैँ सहज भएन । विश्वकै सर्वकालीन महान् खेलाडीमध्येका एक म्याराडोनाले जीवनमा अप्ठ्यारा र समस्या नभोगेका होइनन् । कतिपय घटनाले त खेलाडीका रूपमा उनले हासिल गरेको उपलब्धि र सफलता नै धरापमा पर्ने अवस्था आयो ।

तर विभिन्न उतारचढावका बाबजुद पनि म्याराडोनो सधैँ आकर्षक व्यक्तित्वका रूपमा रहिरहे । हो, म्याराडानाले आफ्नो जीवनकालमा धेरै गल्ती गरे । तर, ती गल्तीले उनी महान् फुटबल खेलाडी थिए भन्ने तथ्यलाई छोप्न सक्दैनन् । तिनले, म्याराडोना पनि आखिरमा एक मानव नै थिए भन्ने तथ्य मात्र प्रमाणित गर्न सक्छन् ।

अबका वर्षहरूमा म्याराडोनालाई गल्तीका लागि होइन, उनले विश्व फुटबलमा देखाएको जादूका लागि मात्र सम्झिइनेछ । अनि, आउँदा दशकमा पनि उनी कति महान् खेलाडी थिए भन्नेबारे फुटबल खेल्न चाहने किशोरकिशोरीहरूलाई पढाइने नै छ । (गोल डटकमबाट प्रबिनबिक्रम कटवालको अनुवाद ।)

र, यो पनि
- सम्झनामा म्याराडोना : जसले प्रशंसाका लागि मृत्यु कुर्न परेन
- रहेनन् चर्चित अर्जेन्टिनी फुटबलर म्याराडोना


Author

थप समाचार
x