खेलकुद

नेयमारविरुद्ध मेस्सी मात्रै होइन कोपा अमेरिका फाइनल

इकागज |
असार २६, २०७८ शनिबार १३:४६ बजे

काठमाडौँ : कोपा अमेरिकाको फाइनलमा आइतबार बिहान ब्राजिल र अर्जेन्टिना प्रतिस्पर्धा गर्दैछन् । यस प्रतिस्पर्धालाई प्राय समर्थकले नेयमार र लियोनल मेस्सीबीचको भिडन्तका रुपमा लिएका छन् । हुन पनि यी दुई खेलाडीले प्रतियोगितामा असाध्यै राम्रो खेल देखाइरहेका छन् । 

नेयमार र मेस्सी दुवैले अहिलेसम्म कोपा जितेका छैनन् । त्यसैले दुवै स्टार कोपा जित्न आतुुर छन् । र, दबाबमा पनि छन् । जारी महादेशिय प्रतियोगितामा दुवै टिम रक्षात्मक रुपमा पनि बलिया देखिएका छन् । ब्राजिलले ६ खेलमा दुई गोल खाएको छ । ब्राजिलको रक्षापंक्ति बलियो हुनुमा कप्तान थियागो सिल्भाको भूमिका अहम छ । अनि उनीसँगै खेलिरहेका मार्किन्योस र एडेर मिलिटाओले पनि चित्तबुझ्दो खेल देखाइरहेका छन् । 


अनि कासेमिरो र फ्रेडको उपस्थितिलाई पनि नजरअन्दाज गर्न सकिने अवस्था छैन । डिफेन्सिभ मिडफिल्डमा खेल्ने यी खेलाडीहरूले ब्राजिलको टिममा सन्तुलन ल्याएका छन् । उता दुई फुलब्याक डानिलो र रेनान लाडी रक्षापंक्तिमा मात्रै होइन, आक्रमण बुन्दा पनि सक्रिय देखिन्छन् । यस्तो लाग्छ यी दुई खेलाडी दौडेर थाक्दैनन् ।

यसपटकको कोपा अर्जेन्टिना र कोलम्बियामा आयोजना हुने तालिका थियो । तर अन्तिममा ब्राजिललाई नयाँ आयोजक चुनियो । यस निर्णयको स्वागत भएन । ब्राजिलियन नागरिकबाट मात्रै होइन, खेलाडीहरूबाट पनि विरोध भयो । किनभने ब्राजिल आफैँ कोभिड-१९ बाट पीडित छ । आयोजनाको विरोध गरे पनि खेलाडीहरूले प्रतियोगिता नै बहिस्कार गर्ने सोच भने बनाएनन् । बरु फाइनलसम्म आइपुग्दा उनीहरू कोपाको ट्रफी जसरी भएपनि घरमै राख्नुपर्ने मनस्थितिमा छन् । त्यसका लागि उनीहरूले मेस्सी र उनका साथीहरूलाई रोक्नुपर्ने हुन्छ ।

‘म र मेस्सी दुवै स्पेनी ला लिगा खेल्छौँ । जहाँ हामी धेरै पटक आमनेसामने भइरहेका हुन्छौँ । उनी कति बलिया खेलाडी हुन् भन्‍ने थाहा छ । तर म एक्लैले उनलाई रोक्न सक्दिन् । उनलाई मात्रै होइन कुनै पनि विपक्षी खेलाडीलाई रोक्न सकिँदैन । पूरै टिमले मिलेर विपक्षीलाई रोक्ने हो । फेरि एउटा खेलाडीलाई मात्रै रोकेर मात्रै पनि त पुग्दैन । टिममा एघार जनाले रक्षा गर्ने हो, एघार जनाले नै आक्रमण बुन्‍ने हो,’ कासिमिरोले फाइनल खेल अगाडि पत्रकारहरूसँग कुरा गर्दै भनेका छन् । 

हुन पनि मेस्सीले कोपामा चार गोल गरिसकेका छन् । अनि पाँच असिस्ट पनि उनको नाममा छ । उनी फल्स नाइन बनेर खेलिरहेका छन् । कतिपय अवस्थामा मैदानको अग्रभागमा मेस्सी होइन, लाउटारो मार्टिनेज र निको गोन्जालेज हुन्छन् । रोड्रिगो डे पाउल र जियोभानी लो सेल्सो भने मेस्सीका वरिपरी हुन्छन् । उनीहरू हरदम मेस्सीलाई बल उपलब्ध गराउने प्रयासमा हुन्छन् । 

मेस्सीले अहिलेसम्म कोपा जितेका छैनन् । न त पछिल्लो २८ वर्षमा अर्जेन्टिनाले कुनै मुख्य प्रतियोगिता जितेको छ । त्यसकारण मेस्सी सन्यास लिनुअघि नै अर्जेन्टिनाको जर्सीमा मुख्य प्रतियोगिता जित्‍ने दबाबमा छन् । कोपाको पछिल्ला तीन संस्करणमा मेस्सी उपाधि नजिक पुगे । तर अर्जेन्टिना दुई पटक उप-विजेतामै सीमित भयो भने पछिल्लो संस्करणमा तेस्रो बन्यो ।

करियरको उत्तर्राद्धमा पुग्दैगर्दा मेस्सी आफ्नो लक्ष्यमा अझै अडिग छन् । र, लक्ष्य प्राप्त गर्न त्यही प्रदर्शन पनि गरिरहेका छन् । वास्तवमा उनले बार्सिलोनाकै लय देखाइरहेका छन् । फ्रि-किक गोल गरिरहेका छन् । साथी खेलाडीहरूका लागि पास निकालिरहेका छन् । अन्य कौशल त छँदैछन् । त्यसैले त डे पौलले भनेका छन्, ‘यस प्रतियोगितामा मेस्सीको खेल हाम्रो भन्दा निकै राम्रो छ ।’ 

ब्राजिल र अर्जेन्टिना कोपाको फाइनलमा पुग्‍ने हकदार थिए । तर उनीहरूको खेल कमजोरीरहितको छैन । रक्षापंक्ति बलियो बनाउन सजग रहँदै गर्दा ब्राजिलको अग्रपक्ति केही सुस्त देखिएको छ । रिचारलिसन र रोबर्टो फरमिन्होले एक-एक गोल मात्रै गर्न सकेका छन् । गाब्रियल जिजसले त गोलको खाता नै खोल्न सकेका छैनन् ।

उता अर्जेन्टिनाका आक्रमक खेलाडीहरूले पनि आफ्नो स्तर अनुसारको खेल देखाउन सकेका छैनन् । उसका मिडफिल्डरहरूको ध्यान मेस्सीलाई बचाउनेमा केन्द्रित हुँदा उनीहरू कम ‘क्रिएटिभिटी’ देखिएका छन् । विशेषगरी दोस्रो हाफमा अर्जेन्टिनाको आक्रमण फितलो देखिने गरेको छ । उता ब्राजिलले भने आधिकांश गोल दोस्रो हाफमै गरेको छ । 

उपाधि भिडन्तका अघि खेलाडीहरूबाट एक अर्काप्रति लक्षित टिप्पणी पनि आइरहेका छन् । अझ मैदानमै पनि त्यसो गरिने ब्राजिलका रिचारलिसनको भनाइ छ । ‘हामी उनीहरूलाई उक्साउने छौँ,’ रिचारलिसनले भनेका छन् । हुन त अर्जेन्टिनाका खेलाडीहरूले पनि मैदानमा विपक्षी खेलाडीहरूलाई उक्साउने गरेका छन् । सेमिफाइनलमा भएको पेनाल्टी सुटआउट दौरान अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले कोलिम्बयाका खेलाडीहरूलाई उक्साइरहेका देखिन्थे । 

त्यसकारण दक्षिण अमेरिकाका दुई सशक्त टिम भिड्दा खेल तनावरहित हुने छैन । हुन त यी दुई टिम गत संस्करणको सेमिफाइनलमा पनि भिडेका थिए । जसमा अर्जेन्टिनाका पाँच खेलाडीले पहेँलो कार्ड प्राप्त गरेका थिए । दुई टिमबीचको प्रतिद्वन्द्वीता यति गहिरो छ कि, सरकार प्रमुखहरू समेत एक आपसमा व्यङ्ग्य गरिरहेका छन् । शुक्रबार मात्रै ब्राजिलका राष्ट्रिपति जयर बोलसोनारो उनका अर्जेन्टाइन समकक्षी बल्बर्टो फर्नान्डेजसँग कुरा गरिरहेका थिए । त्यहाँ पनि कोपा फाइनलको विषय उठ्यो । अनि बोलसोनारोले नतिजा अनुमान गर्दै भनिदिए, ‘ब्राजिलको पक्षमा ५-०’ जवाफमा फर्नान्डेज हाँसे मात्रै ।


Author

थप समाचार
x