विचार-वार्ता

छातीमा हात राखेर भनौँ- देश बन्दै छ कि बिग्रँदै ?

कृष्ण सादगी |
माघ १७, २०७८ सोमबार ८:३४ बजे

देश प्राकृतिक सम्पदा र मानव स्रोतबाट भरिपूर्ण छ । तर पनि गरिब, कमजोर र निम्छरो रहनु भनेको त्यो देशको नीति र नेतृत्वको पूर्ण असफलता हो । उनीहरूले मानून् या नमानून् तर सत्य के हो भने, नेपाल देश गरिब रहिरहनुमा नेपालका विगत ५० वर्षयताका सम्पूर्ण शासकहरू जिम्मेवार छन् । र, त्यो उनीहरूकै असफलताका कारण आजको नयाँ पुस्ता यस्तो गति, मति र पद्धतिविहीन, दण्डहीनताको पराकाष्ठ अनि भ्रष्टहरूको रजगजबाट वाक्कदिक्क भएर निराश हुन पुगेका छन् । विकल्पको खोजीमा रहेका उनीहरूलाई विश्व श्रम बजारले आकर्षण गर्नु स्वाभाविकै हो । 

देश र जनतालाई ढाँटेर, लुटेर भ्रष्टाचारको आहालमा डुबुल्की मार्न तँछाड मछाँड गरिरहेका लालची मानिसहरू देख्दा मलाई साँच्चै टिठ लागेर आउँछ । यस्तो अद्भुत एवं विराट चैतन्यले भरिपूर्ण एकबारको अमूल्य मानव चोलालाई पनि किन भ्रष्टाचार जस्तो गलत दुव्र्यसनी र दुष्चक्रमा फसाएका होलान् ? परिकल्पना गर्नुहोस् त- तथाकथित उच्च भनिएका नेताहरू स्वार्थी र लालची भएर आफ्नो समाज र देशभर दुष्ट, अन्यायी, अत्याचारी र भ्रष्टचारीको पहिचान बन्‍नु भनेको कति दुःखद् पक्ष होला ? 


त्यसो त राष्ट्रिय जीवनका सबै अवयवहरूमा पारदर्शी पद्धति  बसाल्न सक्ने हो भने नेताहरूले पनि भ्रष्टाचार गर्नु र भ्रष्ट कहलिनुपर्ने थिएन । नेता र नेतृत्व नै भ्रष्ट नभएको अवस्थामा सुशासनमुखी राज्य प्रणालीको निर्माण र भ्रष्टाचारविरुद्धको लडाइँ धेरै नै सहज र सफल हुने कुरा निश्चित थियो । तर त्यस्तो हुन चाहिँ किन सकिरहेको छैन ? नेपाल देश भ्रष्टाचारको दुष्चक्रभित्र किन निरन्तर नराम्रोसँग फसिरहेको छ ? शासकीय जिम्मेवारीमा पुगेका कोही कसैले साँच्चै जिम्मेवार भएर यसबारे गम्भीर ढंगले सोच्ने गरेका छन् कि छैनन् होला ? 

अरुहरूले जस्तो शासकीय बागडोर सम्हालेकाहरूले बोलेर र सोचेर मात्र हुँदैन । उनीहरू आफैँ उदाहरण बनेर काम गर्न सक्नु पर्दछ । भ्रष्टाचार नियन्त्रण गर्ने सबैभन्दा ठूलो जिम्मेवारी जननिर्वाचित राजनीतिक नेतृत्वको हो । त्यसमा पनि खासगरी हाम्रो देश नेपालको सन्दर्भमा प्रधानमन्त्रीकै हो । तर नेपालका प्रमहरू किन यो सबैभन्दा महत्वपूर्ण अभिभारा पूरा गर्न सधैँ असफल हुँदै गइरहेका छन् । सोच्दैछु- एउटा प्रम एउटा तर यो महत्वपूर्ण काममा चुक्नु वा असफल हुनुले पनि कत्ति धेरै फरक पर्ने रहेछ राष्ट्र निर्माणको महाअभियानमा । 

घरीघरी त लाग्छ कोही त जन्मिएको होला नि यत्रो करोडौं मानिसहरूमा जसले हाम्रो नेपाल देशलाई निष्ठा, इमान र क्षमताका साथ नेतृत्व गरेर भ्रष्टाचारको यो भयावह भुमरी र दुष्चक्रबाट बाहिर निकाल्न सकोस् ! मनमा एउटा प्रश्नले सधैँ सताइरहन्छ । के आजभोलिको नेपाल देशको राजनीतिको मूलधारमा लागेर कोही अमुक मानिस सत्य र इमानपूर्वक अघि बढ्न खोज्दा शक्तिमा पुग्‍न सक्ला र ? वर्तमान परिवेश र तथ्यहरूले भन्दछ- मुस्किल छ । तर त्यही मुस्किलका बीचबाट सम्भव गराउन सक्ने मानिस मात्रै आखिर सही र सच्चा अनि सक्षम नेता हुनसक्छ । को कतिपटक प्रम भयो भन्‍ने अंकले केही पनि अर्थ राख्दैन । आम नागरिकहरूको जीवनमा त्यसले पटक्कै फरक पार्न सक्दैन । 

के इमान, निष्ठा र क्षमता नभएको वा त्यो गुमाइसकेको मानिस नेता भएर मुलुकको बागडोर सम्हाल्दा अपेक्षित परिवर्तन, सुधार र सुशासन सम्भव होला त ? वर्तमान नेपालका शीर्षस्थान ओगटेका राजनीतिज्ञ र तिनका कर्म, गति र शैलीका कारण एउटा फरक न्यारेटिभ तयार हुँदै छ । त्यो हो, ‘यिनीहरू शासनमा रहुन्जेल मुलुक बन्दैन ।’ के साँच्चै हाम्रो मातृभूमि देश नेपाल विकसित र सम्पन्‍न बनेको हामी र हाम्रो पुस्ताले अब साँच्चै देख्‍न नपाऔंला त ? 

हिजो मातृभूमिमा रहँदा होस् या आज कर्मभूमिमा मैले कहीँकतै कुनै पनि राजनीतिक दलको सक्रिय सदस्यता लिइन् । न त भविष्यमा राजनीतिमा प्रत्यक्ष संलग्‍न हुने योजना नै छ । यद्यपि म पूर्णतः राजनीतिक मानिस हुँ । यदि म राजनीतिक मानिस हुँ भने त्यो कसरी हुँ ? र हैन भने, के कति कारणले हैन ? र राजनीति र भ्रष्टाचार विरोधी अभियान कति धेरै अन्योन्याश्रित सम्बन्ध भएको विषय सवाल हो या होइन भन्‍ने सन्दर्भलाई केलाउन पनि जरुरी हुन्छ । 

राजनीतिक मानिस हुनलाई राजनीतिक दलको सदस्य बन्‍नैपर्छ भन्‍ने हुन्‍न । आधुनिक युगमा राजनीति त हरेक मानिसको जीवनको त्यो महत्वपूर्ण पाटो हो जो कसैले चाहेर वा नचाहेरै पनि सामना गर्न र व्यहोर्न पर्दछ । गर्भमा रहेदेखि चिहानमा नपुगुन्जेलसम्म हरेक गतिविधिमा मानिस तत्तत् देशको राजनीतिबाट कुनै न कुनै रूपमा प्रभावित भएकै हुन्छ । 

त्यसैले, ‘राजनीति नै मूल कार्य र कारण हो समाज र देश रूपान्तरणको भन्‍ने तथ्यलाई गहिरोसँग बुझ्न जरुरी छ । यो राजनीति नै सबैभन्दा सशक्त माध्यम हो भन्‍ने तथ्यलाई बुझिसकेपछि त्यसलाई नजिकैबाट बढो दृढता र निर्भयतापूर्वक त्यसको अनुगमन र निगरानी गर्नु पनि राजनीतिक प्राणीको विशेषता र परिचय हो भनेर बुझ्नुपर्दछ भन्‍ने लाग्दछ । 

राजनीतिप्रतिको बुझाइको सन्दर्भमा हाम्रो नेपाली समाज बडो विचित्रको छ । अज्ञानी छ, स्वार्थी छ, निर्मम छ, लालची छ, रहस्यमयी छ । र यस सन्दर्भमा नेपाली समाज एउटा ठूलो भ्रम र अन्धकारको भवसागरमै डुबिरहेको अवस्थामा छ । नत्र त किन भ्रष्ट, अयोग्य र अक्षम मानिसहरूलाई नै पटक पटक राजनीतिको मूलधारमा र उच्च नेतृत्वमा पुयाइरहन्छ यो समाज ? अब यो प्रश्न ममाथि पनि उठ्छ किनकि म त्यसै समाजको सदस्य हुँ । म, हामी र हाम्रै समाजको सामूहिक राजनीतिक विवेकमाथि पनि अब निर्मम प्रश्न गर्ने बेला आइसकेको छ । 

स्वतन्त्र र रेसनल मानिसले कुनै एक अमुक दलको सदस्य बनेकै कारण सत्य बोल्न र लेख्‍न डराउनु हुन्‍न । तर अफसोस नेपाली राजनीतिक दलका नेता कार्यकर्ताहरू सही र सत्य बोल्न डराउँछन् । भ्रष्टाचारको जगमा दलको नेतृत्व कब्जा गरेर बसेका मठाधीशहरूको हित र स्वार्थ विपरीत बोलेमा उनीहरू आफ्ना दलमा किनारा लगाइने भयको मानसिकताले त्यस्तो भएको हुनपर्छ ।

यहाँनेर के बुझ्‍न जरुरी छ भने गलत राजनीतिज्ञहरूले गरिबीको दुष्चक्र र अन्धकारमा डुबेको समाजलाई झन् गलत ढंगबाट गिजोलेर थिलथिलो बनाइरहेका छन् । राष्ट्रिय जीवनका हरेक क्षेत्रलाई अति दलीयकरण गर्न उद्दत राजनीतिक दलहरूको दुष्कृत्यबाट जोगाएर ‘स्वतन्त्र, रेसनल र निरपेक्ष हुन सिकाउने समाज निर्माण गर्नलाई अब हाम्रो शिक्षा पद्धतिमा आमूल परिवर्तनको खाँचो छ । 

भ्रष्टताको अवस्थाबाट व्यक्ति, समाज र देशलाई छुटकारा दिलाउने अवस्थामा पुर्याउनेतर्फ सानै किन नहोस् योगदान गर्ने मानिस हुनका लागि कम्तीमा पनि स्वतन्त्र ढंगबाट सोच्‍न सक्ने ‘ओपन माइन्डेड’ चेत विकास हुनै पर्दछ । अर्थात् आफ्नो देश र समाजप्रतिको दायित्व र जिम्मेवारी सही ढंगबाट निर्वाह गर्न पनि हरेक नागरिकहरूमा आधारभूत राजनीतिक ज्ञान र त्यसको स्वतन्त्र र तार्किक विश्लेषण गर्न सक्ने सुझबुझ हुन जरुरी छ । 

समाजमा स्वतन्त्र र तार्किक ‘रेसनल’ ढंगबाट वैचारिक बहस गर्न सक्ने मानिसहरूको बाहुल्य हुनासाथ राजनीतिका नाममा दलका मठाधीशहरू र ‘राजनीतिक दले दाइ’हरूको अनावश्यक हालिमुहाली स्वतः बन्द हुन थाल्दछ । स्वतन्त्र ढंगबाट सोच्न र व्यवहार गर्न चाहने मानिसहरू कोही पनि आजकालका वैचारिक बहस र अडानमा खरो उत्रन नसकेका निष्कामी नेतृत्वले भरिएका राजनीतिक दलहरूका सीमा र परिधिमा सीमित भइरहन सक्दैनन् । 

स्वतन्त्र र रेसनल मानिसले कुनै एक अमुक दलको सदस्य बनेकै कारण सत्य बोल्न र लेख्‍न डराउनु हुन्‍न । तर अफसोस नेपाली राजनीतिक दलका नेता कार्यकर्ताहरू सही र सत्य बोल्न डराउँछन् । भ्रष्टाचारको जगमा दलको नेतृत्व कब्जा गरेर बसेका मठाधीशहरूको हित र स्वार्थ विपरीत बोलेमा उनीहरू आफ्ना दलमा किनारा लगाइने भयको मानसिकताले त्यस्तो भएको हुनपर्छ । 

मठाधीशहरूले आफ्ना दुष्कृत्यको ढाकछोप गर्न कालोलाई सेतो र सेतोलाई रातो भन्‍न बाध्य बनाउँदै गर्दा मौन रहनुपर्ने बाध्यात्मक परिस्थिति बनुन्जेल दलहरूमा आन्तरिक लोकतन्त्र सुदृढ हुनै सक्दैन । मुलुकको लोकतन्त्रको जिम्मा लिएका दलभित्रै लोकतन्त्र जीवित हुन नसकेपछि परिणाम आउने त यस्तै न हो । त्यसरी दल कब्जा गरेर बसेका मठाधीशहरूले सिर्जना गरेको सानो उपगुट हाबी हुन थालेपछि त्यो साँघुरो घेराभित्र कोही स्वतन्त्र र रेसनल व्यक्ति कसरी कैद भइरहन सक्छ र ? 

स्वतन्त्र वैचारिक बहस र उडानमा सीमा कोर्ने दलभित्रका मठाधीशहरूका कैयौं अवाञ्छित गतिविधिमा आफूलाई मौन साक्षी नबनाई ‘पूर्ण स्वतन्त्र’ भई बाँच्ने लालसाले गर्दा मात्रै हो मैले दलको सक्रिय सदस्य बनेर रहन नसक्ने निष्कर्षमा पुगेको । तर दलको सदस्य नरहे पनि मेरो संलग्‍नता र क्रियाकर्मका कारण म पूर्णतः राजनीतिक मानिस हुँ भन्‍नेमा विश्वस्त छु । म मेरो यही विश्वासको धरातलमा उभिएर यहाँ तपाईंहरूसमक्ष केही विचार प्रस्तुत गर्ने जमर्को गरिरहेको छु । 

‘एब्सुलुट डेमोक्रेसी’ पक्षधर हुँ । जसरी डेमोक्रेसी राजनीतिक शब्द हो त्यसरी नै त्यसका प्रतिको अटल विश्वास पनि राजनीतिक प्राणी भएको एक महत्वपूर्ण प्रमाण र परिचय हो भन्‍ने लाग्दछ । मेरो अटल विश्वास छ कि विविधताले भरिपूर्ण भएको २१औं शदीको आधुनिक नेपाली समाजमा लोकतन्त्रविना ‘शान्ति र न्याय’ सम्भव छैन । र, जहाँ शान्ति र न्याय नै सम्भव हुँदैन भने त्यहाँ मानवाधिकारका कुरा धेरै परको विषय बन्‍न पुग्‍नेछ । र, संसारका धेरै देशहरूको शासन प्रणालीले त्यो प्रमाणित गरिसकेको अवस्था हो आजको विश्व समाज । 

त्यसैगरी मानवअधिकार, शान्ति, न्याय र सुशासनका प्रति मेरो रुचि, अध्ययन र झुकाव निक्कै गहिरो छ । आफू जन्मी हुर्किएको मुलुक र समाजमा त्यसका लागि भएका हरेक अभियान र आन्दोलनहरूमा तन, मन, वचन र कर्मले सक्रियतापूर्वक सहभागी भएँ र अझै पनि हुने गरेको छु । तर त्यतिकै भरमा कुरै नबुझी मानिसहरू सतही रूपमा मलाई यो वा ऊ दलको मान्छे भनेर बुझिदिने गर्दछन् । ममाथि त्यसरी टिप्पणी गर्नेहरूको पूर्वाग्रही चिन्तनबारे म बेखबर भने छैन । सायद यसैकारण म बेलाबखत यसरी पनि प्रस्तुत हुन मन पराउँछु । 

हो- म स्वदेशका हरेक राजनीतिक विषय र घटनाहरूमा गहिरो अभिरुचि र चासो राख्दछु । त्यसैले गर्दा होला राजनीतिमा लागेका हरेक दलभित्रका मेरो बुझाइमा तुलनात्मक रूपमा अलिक इमानदार, निष्ठावान् र क्षमता भएका नेता कार्यकर्ताहरू मलाई मेरा मानिस, सहकर्मी र साथीहरू हुन् जस्तो आभास हुने गर्छ । भलै- सबै दलभित्र त्यस्ता सीमित केही पात्र छन् र हुन्छन् । र, त्यस्तै केही विशेष पात्रहरूसँग वैचारिक रूपमा र व्यवहारमा आफूलाई हदैसम्मको नजिक रहेको छु भन्‍ने निजी अनुभूति हुने गर्छ । 

तर म नजिक भएका ती पात्र र नेताहरूको पनि कहिलेकाहीँ खुलेरै आलोचना गर्नुपर्ने अवस्था आइरहन्छ । यद्यपि म त्यसो गर्नुअघीकै निजी कुरा हो र के सार्वजनिक विषय हो भन्‍ने छुट्याउन जरुरी ठान्दछु । आलोचना गर्नुअघि आखिर के सार्वजनिक सरोकार र राजनीतिक विषय हो वा होइन भन्‍ने कुरा राम्रोसँग थाहा पाउनु पर्दछ । 

व्यक्तिको व्यक्तिगत छनौट र विषयहरूमा टीकाटिप्पणी गरेर अनावश्यक रूपमा समय खेर फाल्नुको कुनै अर्थ छैन । कसैलाई उसले गरेका सार्वजनिक काम र लिएका निर्णय वा समयमा सही निर्णय नगरेर वा अनिर्णयका कारण मुलुक र जनतालाई हुने हानीनोक्सानी वा क्षति पुग्छ भने आलोचना र टिप्पणी गर्नैपर्ने हुन्छ । र त्यसमा पनि सार्वजनिक जवाफदेहीको पदमा रहेर गैरजिम्मेवार काम कुरा र हर्कत गर्नेहरूका प्रति कठोर आलोचना गर्न पछि पर्नुहुन्‍न भन्‍ने लागिरहन्छ । 

मलाई राम्ररी थाहा छ कि मेरो न कुनै राजनीतिक वा धार्मिक समूहमा आबद्धता छ, न त कुनै जात-जातीय समूहमा । न त कुनै एक राजनीतिक दलप्रतिको अन्धभक्त प्रेम नै । बरु राम्रो नीति र नेतृत्व विकसित गर्न गराउन हरेक दलभित्रका तुलनात्मक रूपमा असल नेताहरूलाई सक्दो साथ, समर्थन र प्रोत्साहन गर्नु भनेको ‘राजनीतिमा आमूल सुधारको पक्षपोषण’हो भन्‍ने मान्यतामा म विश्वास राख्दछु । र, आजभोलि म लगायत यही विश्वास र विचारमा सहमत हुने साथीहरू मिलेर केही गरौं भनी जुर्मुराइरहेका छौं । हाम्रा यी परिकल्पना, प्रयास र योजनाहरूका सन्दर्भमा म फेरि अर्को आलेखमा विस्तृत प्रकाश पार्नेछु । 

त्यसैगरी कोही सत्ताको उच्च तहमा पुगेको व्यक्ति होस्, अप्सरा रूपवती होस् वा कोही खर्बौं धनपति कसैका प्रति पनि कुनै थप आकर्षण ममा कहिल्यै उत्पन्‍न हुँदैन । भौतिक चिजवस्तुहरू एवं कथित ऐश्वर्यप्रति पनि मेरो मोह वा आसक्ति छैन । न ठूलो राम्रो र खत्रा देखिने घर मेरो चाहना हो । न त नयाँ र महँगा गाडीहरू चड्ने सोख नै । मेरो बुझाइमा भौतिक चिजवस्तुहरूप्रतिको आसक्ति पनि एउटा ठूलो रोग र भ्रम हो । भ्रष्टाचारका धेरै कारणमध्येको एक मूल कारक तत्व नै त्यही लोभलालच र आडम्बर हो । मेरा लागि घरको मतलब एउटा पूर्णरूपले सुरक्षित सानो छानो मात्रै हो, जहाँ सहजरूपमा आफू र परिवारजन मीठो निदका लागि ओतलाग्‍न पाइयोस् । 

मेरो लागि गाडीको अर्थ यातायातको त्यो एउटा सानो साधन मात्रै हो जो काममा आउजाउ गर्न, अत्यावश्यक हिँडडुल र सामग्रीहरूको जोहो गर्न र विभिन्‍न ठाउँ घुम्‍न, देख्‍न, बुझ्नलाई सरक्षित र सहज होस् । कथित महँगा, गतिला र विलासी गाडी प्राप्त र उपभोग गर्ने चाहना पटक्कै छैन । र जीवनभर त्यस्तो चाहना उत्पन्‍न हुने पनि छैन । म शतप्रतिशत ढुक्क छु कि मलाई त्यस्तो मृगतृष्णाले कहिल्यै सताउने छैन । 

भ्रष्टाचार नै नगरी पनि आफूलाई राम्रोसँग खान लाउन पुग्‍ने मानिसहरूले पनि मुलुकको सम्पत्तिमाथि र्याल काढेर राज्य दोहन गरेर अकुत सम्पत्ति जोड्ने भगिरथ प्रयत्न गरिरहेको देख्‍नु र थाहा पाउनु पर्दा मलाई असाध्यै रिस उठेर आउँछ । त्यस्ता कंलकित लम्पट पात्रहरू एक नम्बरी भ्रष्टचारीहरू हुन् । तिनीहरूका प्रति म निक्कै असहिष्णु पनि छु । सही र सत्य बोल्नु पर्दा त्यस्ता खलपात्रहरूलाई म पूर्णतः बहिष्कार नै गर्न चाहन्छु । 

जो कोही मानिसहरूसँग उसको धर्म वा विचारका आधारमा मेरो कुनै आग्रह वा पूर्वाग्रह छैन । तर धर्म र विचार वा राजनीतिका कारण हुने अन्याय, अत्याचार, थिचोमिचो र मानवाधिकार हननका दुष्कृत्यपूर्ण घटनाप्रति भने म कठोर आलोचक हुँ । अनि आस्था र धर्मको आडमा मानिसलाई अन्धकार र भ्रममै सीमित गर्न चाहने प्रकृतिको कथित धार्मिक पद्धति, संस्कार, शिक्षा र प्रवृत्तिको पनि म खुलेरै आलोचना गर्न मन पराउँछु । 

राजनीतिक रूपमा आफूलाई एउटा कित्तामा उभ्याएको छु भन्‍ने तर फरक ढंगको नीति र व्यवहार गर्ने मानिसहरूको पनि म कट्टर आलोचक नै हुँ । ‘बोल्ने एक र गर्ने अर्कै’ एकाध अपवादबाहेक आम नेपाली राजनीतिज्ञहरूको मूल चरित्र र संस्कृति बन्दै गइरहेको कुरूप र दुर्दान्तकारी वर्तमान अवस्थाप्रति मेरो घोर निन्दा र आपत्ति छ । 

जस्तै : उदाहरण, नेपालमा केही तथाकथित कम्युनिस्ट भनिएका व्यक्ति र दलहरू गरिबी र अशिक्षा अनि अन्धकारमय समाजको फाइदा उठाउँदै आफूलाई कम्युनिस्ट भनाउन रुचाउँछन् तर नीति र व्यवहार चाहिँ पूर्णतः उल्टो र फरक गर्दछन् । हो त्यस्ता विकृत, ठग र झुट पात्रहरूको चाहिँ म कट्टर आलोचक नै हुँ । 

त्यस्ता भ्रष्टहरूलाई तुलनात्मक रूपले सज्जन र इमानदार मानिसहरूले चुपचाप भएर सहनुहुन्‍न । तिनीहरूलाई हरेक तह र क्षेत्रमा कठोर आलोचना गर्न सक्नु पर्दछ । समाजमा त्यस्ता भ्रष्ट र निस्कामीहरूलाई बहिष्कार गर्न सक्नु पर्दछ । भ्रष्टताको ट्याग अदालतले फैसला गरिदिए मात्रै प्रमाणित हुने विषय सवाल हैन । तिनीहरूको जीवनशैली, चालचलन, निर्णय, कार्यशैली र उठबस कहाँ कहाँ कसरी हुने गरेको छ अनि निर्वाचनमा तिनीहरूले गर्ने गरेका करोडौंको खर्चको स्रोत आदिले सजिलै प्रमाणित हुने कुरा हुन् । 

हाम्रो नेपालमा राजनीतिज्ञले कुनै पेसा व्यवसायमा संलग्‍न हुने चलन छैन । राजनीति मात्रै गरेर पनि विलासी जीवन चलाउनेहरू जस्ले राजनीतिलाई नै बाँच्ने पेसा बनाएका छन् त्यस्ताहरूबाट मुलुक कदापि बन्‍न सक्दैन । ती कथित नेता भनाउनेहरूको कथन एउटै हुन्छ । ‘जस्तो समाज त्यस्तै हामी नेता हुने हो ।’ यो न्यारेटिभलाई बदल्न नसक्ने मानिस मेरो दृष्टिमा नेता नै हैन । नेताले त समाजका विसंगतिहरूउपर परिवर्तनको प्रतिबद्धतालाई कार्यान्वयनमा लैजान आफू उदाहरण बन्‍न सक्नु पर्दछ । 

त्यसैले मेरो निष्कर्ष छ- कोही यदि जीवन चलाउन धान्‍नलाई राजनीति मात्रै गरेर बसिरहेको छ भने त्यस्तो पात्रबाट देश बन्‍नै सक्दैन । र, कस्तो नेता र नेतृत्वले मात्रै मुलुक बनाउन सक्ने नैतिक साहस अनि विश्वास बटुल्न सक्छ त्यो अब हरेक गाउँदेखि केन्द्रसम्मै व्यापक बहसमा ल्याउनुपर्ने विषय बन्‍नुपर्दछ । म यो कुरा लेखेरै भनिरहेको छु- भ्रष्ट, अक्षम र अयोग्य नेतृत्वबाट देश कदापि बन्‍न सक्दैन ।

कृष्ण सादगीका लेखहरू


Author

थप समाचार
x