विचार

राइट ब्रेन-लेफ्ट ब्रेनबारे विज्ञान र वेदको कुरो मिल्छ

नारायण घिमिरे |
चैत २३, २०७७ सोमवार ८:२२ बजे

संसारको तथ्यांकअनुसार झन्डै ९० प्रतिशत व्यक्ति देब्रेभन्दा दाहिने हात धेरै चलाउने भेटिन्छन् । यसको मुख्य कारण जेनेटिक वा आनुवंशिक रहेको छ । आनुवंशिक विकासको क्रममा देब्रे हातभन्दा उल्लेखनीय रूपमै अधिक संख्याका मानिसहरूमा दाहिने हात सबल रहने परिस्थिति कसरी विकास भयो भन्‍ने विषय आजसम्म पनि विज्ञानले यकिनसाथ उत्तर पाउन सकेको छैन ।

हाम्रो दैनिकीमा कतिपय अवस्थामा दायाँ हात राम्रो चलाउने व्यक्तिलाई बायाँ हात राम्रो चलाउने गरी तालिम दिन सकिन्छ । उदाहरणका लागि, कतिपय कोचहरूले दाहिने हातले टेबल टेनिस, गल्फ, भलिबल आदि खेल्ने बच्चाहरू लाई देब्रे हातले खेल्न सिकाएर अधिक सफल सर्ट हान्‍न सक्ने बनाउने गरेका छन् । 


उनीहरूलाई कस्तो तालिम दिएर यस्ता काममा पोख्त पर्न सकिन्छ भन्‍ने विषयको आफ्नै महत्त्वको रहँदा रहँदै यो प्राक्टिसमा देखिएको सफलताले आनुवंशिक रूपमा एक हात राम्रो चल्ने गरी जन्मेका मानिसलाई जरुरत अनुरूप अर्को हात कुशल चल्ने प्राथमिकतासाथ हार्ड-वायरिङ सम्भव रहेकोतर्फ सङ्केत गर्छ । हाल-सालै गरिएको एक अनुसन्धानबाट मानिसको ‘बायाँ-ब्रेन’ वा ‘दायाँ-ब्रेन’को क्षमताको सन्दर्भमा भने माथि बताइए जस्तो सजिलै एउटाले गर्ने काम अर्कोले गर्ने गरी हेरफेर वा हार्ड-वायरिङ गर्न सम्भव देखिएन ।

स्नायु विज्ञानअन्तर्गतको मेडिकल क्षेत्रमा काम गर्ने मानिसहरूले प्रत्यक्ष अनुभव गरेको कुरा के हो भने मानिसको मस्तिष्कको एक भागले गर्ने काम अर्को भागले गर्ने कामभन्दा फरक हुने गर्छ । जब दिमागको कुनै निश्चित भागमा रगतको आपूर्तिमा अवरोध आउँछ वा कम हुन्छ, तब मस्तिष्कका तन्तुहरूमा अक्सिजन र पोषक तत्त्वहरू प्राप्त हुनबाट रोकिन्छ । उक्त समयमा ब्रेनका सेलहरू मिनेटमै मर्न थाल्छ जसलाई हामी स्ट्रोक भन्‍ने गर्छौँ । स्ट्रोक एक चिकित्सकीय आपतकाल हो । 

उक्त समयमा जति छिटै उपचार गर्न सकियो त्यति दिमागमा हुने क्षति र अन्य जटिलतालाई कम गर्न सकिन्छ । स्ट्रोकले मस्तिष्कको जुन भागलाई असर गर्छ, त्यसको आधारमा शरीरको कुन-कुन अंगमा कस्तो प्रभाव पर्छ भनी यकिन गर्न सकिन्छ । उदाहरणका लागि, मस्तिष्कको दायाँतर्फको आधा भागमा पुगेको असरले बायाँतर्फका हात र खुट्टाको गतिमा असर गर्ने र बायाँतर्फको आधा भागमा असर पुग्दा दायाँतर्फको हात र खुट्टाको नियन्त्रणमा समस्या देखिन्छ ।

दायाँ-ब्रेनमा हुने स्ट्रोकमा मस्तिष्कको दाहिने आधा गोलार्धमा कमजोरी पैदा हुने गर्छ । फलत: दायाँ-ब्रेनले नियन्त्रण गर्ने शरीरको बायाँपट्टिको भाग दिमागको नियन्त्रणबाहिर जान सक्छ । जसले गर्दा कुनै वस्तु आफूबाट कति टाढा वा नजिक छ भन्‍ने जान्‍न अप्ठ्यारो पर्छ । शरीरले आफ्नो बायाँ भागको देख्‍न नसक्ने हुँदा उपेक्षा गर्ने, निर्णय क्षमता गुम्‍ने र अन्तर्दृष्टि क्षमतामा परिवर्तन वा कमसलपन आउने अवस्था बन्छ । निर्णय क्षमतामा ह्रास आउने हुँदा शरीरको सुरक्षामै गम्भीर चिन्ता आइलाग्छ । छिट्टै आवेगमा आउने, कुनै पनि कुरामा छोटो समय मात्र ध्यान जाने र नयाँ कुरा सिक्न निकै ढिलो हुने लक्षण देखिन्छ । अनुहारमा कमजोरपन देखिने, बोली अस्पष्ट हुने र खाना निल्न समस्या देखिने जस्ता विकृति आइलाग्छ ।

बायाँ-ब्रेनमा हुने स्ट्रोकमा भने मस्तिष्कको बायाँ आधा गोलार्ध कमजोर हुने हुँदा शरीरको दायाँ भाग मस्तिष्कको नियन्त्रण बाहिर पुग्छ । जसअन्तर्गत बोल्न समस्या हुने, लेखिएको वा भनिएको शब्द बुझ्ने क्षमतामा ह्रास आउने, बिस्तारै अत्यन्त सचेत बनेर मात्र हिँड्न सक्ने, दायाँतर्फको वस्तुहरू देख्न नसक्ने, आफ्नो दायाँ भागको भए नभएको महसुस नहुने, अनुहारमा कमजोरपन देखिने, बोली अस्पष्ट हुने र खाना निल्न समस्या हुने आदि समस्या आइलाग्छ ।

मस्तिष्कको अर्को सबैभन्दा ठूलो दुई गोलाकार भागमा विभक्त सेरेब्रमले शरीरको मांसपेशीका साथै बोली, विचार, भावना, पढ्ने, लेख्‍ने, र सिक्ने क्षमतामा नियन्त्रण गर्छ । सेरिबेलमले शरीरको सन्तुलन कायम गर्न ठूलो भूमिका खेल्ने हुँदा सेरेबेलर स्ट्रोकको समयमा चक्कर लाग्ने, शरीरले ब्यालेन्स गुमाएर अस्थिर बन्‍ने, पाखुरा, हात, खुट्टा अनियन्त्रित रूपमा चल्ने, बोली अस्पष्ट लरबराउने, वाकवाकी लाग्ने, बान्ता आउने, आँखा छिटो छिटो चल्ने जस्ता समस्या देखिन्छन् ।

मस्तिष्कको तल्लो भागलाई ब्रेन स्टिम भनिन्छ जुन मेरुदण्डसँग जोडिएर मेरुदण्डको न्युरोनहरूलाई मस्तिष्क वा केन्द्रीय स्नायु प्रणालीसँग जोड्ने काम गर्छ । मस्तिष्कको ब्रेन स्टिमले मुटुको दर, श्वास र रगतको चापको नियन्त्रण गर्छ । त्यसका अलावा ब्रेन स्टिमले आँखाको चाल, सुन्‍ने शक्ति, बोली, र निल्ने गतिविधिहरूको समेत नियन्त्रण गर्न मद्दत गर्छ । ब्रेन स्टिम स्ट्रोकको प्रभावले डबल भिजन हुने, धमिलो दृष्टि देखिने, चक्कर लाग्‍ने, निल्न समस्या आउने, बोली अस्पष्ट हुने, सास फेर्न समस्या देखिने, पाखुरामा र गोडामा कमजोरी हुँदै पक्षाघात निम्तने र सतर्कताको स्तर न्यून गरिदिने गर्छ ।  

परम्परागत मान्यतामा विश्वास गर्ने धेरै व्यक्ति हरेक मानिसको व्यक्तित्व, सोच, कार्यशैली तथा कार्य गर्ने तरिकामा उसको दाहिने दिमाग वा देब्रे दिमाग उपयोग गर्ने आनीबानीमा धेरै भर पर्ने ठान्छन् । परम्परागत विचारधाराअनुरूप दाहिने ब्रेन प्रयोग गर्ने मानिस सहज, रचनात्मक र स्वतन्त्र रहेर सोचविचार गर्ने प्रवृत्तिका हुने गर्छन् । उनीहरू गुणात्मक, बृहत् वैचारिक अवधारणायुक्त विचारकका रूपमा रहन्छन् । उनीहरूसँग विश्वलाई वर्णनात्मक र व्यक्ति वा वस्तुपरक हिसाबले अनुभूति गर्ने चरित्रको विकास भएको हुन्छ । जस्तै : आज बिहानै आकाश उघ्रिएको छ, तापक्रमसमेत धेरै छ, सायद साँझपख कालो बादल उठ्ने र भरी वर्षा हुने त हैन भन्‍ने जस्ता तार्किक प्रकृतिको व्यावहारिक सोच उनीहरूमा पैदा हुने गर्छ । 

बायाँ-दिमागको उपयोग गर्ने मानिस भने अधिक मात्रात्मक र विश्लेषणात्मक खुबीका रहने विश्वास गरिन्छ । तिनीहरू मूलत: कुनै पनि विषय वा वस्तुको विस्तृत विवरणमा गहिरिएर ध्यान पु¥याउने र तर्कका आधारमा निष्कर्षमा पुग्ने प्रवृत्तियुक्त भेटिन्छन् । कुनै पनि कुरामा उनीहरूमा तर्कका आधारमा यस्तो हुन्छ होला भनी अनुमान गर्ने बानी देखिन्छ । जस्तै : मौसमबारे पूर्वानुमान आज २५ प्रतिशत अनुमानमा वर्षाको सम्भावना छ भनियो भने आकाशमा देखिएको बादलले वर्षासमेत मेघ गर्जन हुने अनुमान निकाल्दछन् ।

सन् १९७९ मा पहिलो पटक मानिसमा बायाँ-ब्रेन र दायाँ-ब्रेन रहने अवधारणालाई प्रकाशित गर्ने लोकप्रिय पुस्तक ड्रोइङ अन द राइट साइड अफ ब्रेनमा उल्लेख भएअनुरूप दिमागको हार्ड-वायरिङ जसरीसुकै गरिएको होस्, दाहिने दिमागको सम्पर्कमा रहेर गरिने हरेक गतिविधिले कुनै पनि विषयवस्तुलाई भिन्‍न तरिकाबाट देख्न, बुझ्न र महसुस गर्न मद्दत पुर्‍याउने गर्छ । सन् २०१३ मा ऊथाह विश्वविद्यालयले मस्तिष्कको स्क्यान गरी गरेको अध्ययनमा फरक-फरक व्यक्तित्व भएका व्यक्तिहरूको बायाँ वा दायाँ दिमागको गतिविधिहरूमा खासै त्यस्तो कुनै फरक गतिविधिको पहिचान गर्न सकेन । 

ऊथाह विश्वविद्यालयका अन्वेषकहरूले सात र उनन्तीस वर्षबीचका एक हजारभन्दा बढी युवाहरूको मस्तिष्कको स्क्यान गरी हेरेर फरक-फरक व्यक्तित्व रहेको मानिसको दिमागको सञ्चालनको गतिविधिमा फरक रहने-नरहने यकिन गर्ने योजना गरे । मानिसको व्यक्तित्वअनुरूप मस्तिष्कको एक पक्ष अर्को पक्षभन्दा बढी सक्रिय रहने वा एकआपसमा दरिलो संयोजनमा रहेर गतिविधि सञ्चालन हुने-नहुने मापन गर्ने विधि विकास गरियो । जसअन्तर्गत दिमागलाई सात हजार क्षेत्रमा विभक्त गरी हरेक भागमा हुने गतिविधि मापन गर्ने व्यवस्था गरियो । 

अनुसन्धानको प्रोटोकलअनुरूप जब सहभागी व्यक्तिहरूमा उनीहरूको व्यक्तित्वअनुरूप फरक-फरक गतिविधि हुने नहुने परीक्षण गरियो, त्यहाँ हुने गतिविधिमा व्यक्तिको व्यक्तित्वअनुरूप खासै कुनै फरक प्रकृतिको पक्षपाती गतिविधि सञ्चालित हुँदै गरेका प्रमाण फेला परेन । अनुसन्धानबाट आफ्नो व्यक्तित्वअनुरूप रचनात्मक व्यक्ति फरक व्यक्तित्वको मानिसभन्दा बढी आफ्नो बायाँ-दिमाग वा दायाँ-दिमागको उपयोग गर्ने भन्‍ने अवधारणा वैज्ञानिक रूपमा पुष्टि हुन सकेन ।

वैज्ञानिक परीक्षणमा फरक-फरक व्यक्तित्व रहेको मानिसको दिमाग सञ्चालनको गतिविधि समान प्रकृतिको भेटिएकाले मानिसमा बायाँ-ब्रेन र दायाँ-ब्रेन फरक-फरक तरिकाबाट सञ्चालन हुने अवधारणा वैज्ञानिक रूपमा पुष्टि हुन नसकी अप्रमाणित सिद्धान्तमा सीमित रहेको निष्कर्ष नै न्युरो-वैज्ञानिक निष्कर्ष बन्यो । 

उपनिषद् र भागवत गीताको मान्यता अनुरूपको दिमाग वा मस्तिष्कबारे वैदिक अवधारणा व्याख्या गर्न रथको एक प्रख्यात उदाहरणको सहयोग लिइन्छ । जहाँ व्यक्तिको भौतिक शरीरलाई रथ मान्‍ने हो भने रथलाई विभिन्‍न दिशामा तान्‍ने घोडालाई व्यक्तिको इन्द्रिय ठानिन्छ । घोडाको लगाम हातमा लिएर रथ चलाउने चालकलाई दिमाग ठानिन्छ । पछिल्लो भाग मुख्य रथमा बसेर सवार गरिरहेको रथको मालिक उक्त यात्राको वास्तविक पर्यवेक्षक वा साक्षी हो । जो स्वयं उक्त यात्राको अवलोकन र अनुभूति दुवै गरिरहेको हुन्छ । त्यसलाई सबैले ‘म’ आफू भनेर सम्बोधन गर्ने गर्छन् । त्यो वास्तवमा आत्मा हो ।

तैत्तिरीय उपनिषद् २.७ अनुसार ‘म’ भनेर आफूलाई चिनाउने हरेक व्यक्ति पाँच अलग-अलग आवरण वा पञ्चकोश निर्मित रहन्छ । भौतिक शरीर (अन्‍नमय कोष), ऊर्जाको आवरण (प्राणमय कोष), मानसिक आवरण (मनोमय कोष), बौद्धिक आवरण (विज्ञानमय कोष) र आनन्द आवरण (आनन्दमय कोष)।

हरेक आवरण (तह) मतलब पत्र-पत्रहरूलाई मिहिन रूपमा केलाउँदा आत्मा सबैभन्दा उच्च तहमा रहेर आनन्दमय आवरणको सम्पर्कमा बस्छ । आत्माको संयोजनमा आत्मासँग प्रत्यक्ष सम्पर्कमा रहने आनन्दले (ब्लिस) मानिसको सबैभन्दा बाहिरी आवरण बनाउने गर्छ । आनन्दको तहभित्र बुद्धिमत्ताको तह (इन्टलेक्ट) रहन्छ । 

मानिसका सम्पूर्ण शारीरिक र मानसिक प्रक्रिया सञ्चालनका लागि ऊर्जाको अनिवार्यता रहन्छ, जसलाई प्राण भनिएको हो । बुद्धिमत्ता (इन्टलेक्ट) र आनन्दको (ब्लिस) तहमा समेत ऊर्जाको खपत हुन्छ । तसर्थ प्राणलाई बुद्धिमत्ताभन्दा भित्री तहका रूपमा लिइन्छ । प्राणभन्दा भित्रको तहका रूपमा हाम्रो आफ्नो भौतिक शरीर रहन्छ । 

आवरणगत रूपमा सबैभन्दा भित्री भौतिक शरीरको तह, त्यसबाहिरको ऊर्जाको तह र त्यो भन्दा बाहिर रहेको विचार समेतका तह मानव शरीरको मुख्य: तीन तहका रूपमा मानव शरीरका यी तीन तह अत्यन्त जटिल रूपमा एकअर्कासित जोडिएर शरीरको निर्माण भएको भेटिन्छ । तीन-तहबीचको जटिल अन्योन्याश्रित सम्बन्धका कारण फरक-फरक प्रकृतिको ऊर्जा आपूर्तिले मानिसमा फरक-फरक शारीरिक या मानसिक हबिगत पैदा गरिदिन्छ । 

शरीरको ऊर्जालाई शरीरको प्राण भनिन्छ । प्राणले भौतिक शरीर र मनोवैज्ञानिक प्रणाली (विचार) बीच नियमित संसर्गका लागि जरुरत पर्ने विनिमयको माध्यम वा मुद्राको काम गर्छ । मनोवैज्ञानिक प्रणालीभित्र बुद्धिमत्ता (इन्टलेक्ट), आनन्द (ब्लिस) र आत्मा (चेतना वा कन्ससनेस) गरी तीन उच्च आवरण पर्छ । उक्त तीन उच्च आवरणलाई संयुक्त रूपमा दिमाग वा मस्तिष्कको नामकरण दिइएको छ ।

मस्तिष्कमा जरुरत अनुरूपको तरंगयुक्त ऊर्जाको आपूर्तिले शरीरमा सन्तुलन कायम गर्छ । त्यो अवस्थालाई सत्व गुण भनिन्छ । जरुरतभन्दा अधिक रूपमा तरंगित ऊर्जाले मानिसमा उत्तेजना र बेचैनी पैदा गरिदिन्छ । जसलाई रज गुण भनिन्छ । जरुरतभन्दा कम तरंगको ऊर्जाले सुस्तता र अल्छीपन निम्त्याउँछ । जसलाई तम गुण भनिन्छ ।

संरचनागत रूपमा दिमाग पाँचवटा आधारभूत तत्त्व मिलेर बनेको हुन्छ । जसमा मन, अहंकार, चित्त, बुद्धि र आत्मा पर्छ । दिमाग यी पाँच तत्त्वहरूलाई आकाश, वायु (हावा), अग्नि (आगो), जल (पानी) र पृथ्वी जस्ता पञ्च तत्त्वमा पुन:विभक्त गर्न नसकिने हुँदा मन, अहंकार, चित्त, बुद्धि र आत्मालाई दिमागका आधारभूत तत्त्वहरू भनिएको हो ।

मन दिमागको पहिलो तह हो । मनले इन्द्रियहरू जस्तै श्रवण (कानमार्फत), स्पर्श (छालामार्फत), दृश्य (आँखामार्फत), स्वाद (जिब्रोमार्फत) र गन्ध (नाकमार्फत) हरूले हरेक क्षणमा प्राप्त गरेका अनुभूतिलाई सूचनाहरूको प्राप्तिका (इन-पुट) रूपमा ग्रहण गरी अनुभूति (महसुस वा बोध) गर्छ । मानिसका हरेक इन्द्रियहरू फरक-फरक प्रक्रियामार्फत शासित र सञ्चालित हुने गर्छन् । 

जोडित न्युरोनहरूमार्फत इन्द्रियहरूले फरक क्षणमा फरक प्रकारको परिवर्तित सूचना सम्प्रेषण गरिरहने हुँदा मनले नियमित रूपमा आफूलाई प्राप्त परिवर्तित सूचनाहरू जस्तो रूपमा प्राप्त भएको हो, त्यस्तै रूपमा अनुभूति वा बोध गर्ने कार्य गर्छ ।

हरेक व्यक्तिले आफूले आफूलाई ‘म’ भन्‍ने पहिचानबाट बुझ्छ । त्यसलाई अहंकार भनिन्छ । अहंकार मानिसले आफूले आफ्नो पहिचानबारे बनाएको व्यक्तिगत अवधारणा र अनुभवको मनोवैज्ञानिक रूप हो । म वा आफ्नै पहिचान जस्तो अहंकारबारेको संवेगात्मक निचोड निकाल्ने काम बुद्धिले गर्छ । बुद्धिले लिने हरेक निर्णयमा बौद्धिकता वा इन्टलेक्टको भूमिका रहन्छ । मन, अहङ्कार र बुद्धिलाई सामूहिक रूपमा मनका आन्तरिक उपकरणहरू वा छोटकरीमा अन्त:स्करण भन्‍ने गरिन्छ ।

चित्तलाई भने दिमागको स्मरणहरूको मौजाद राख्‍ने मेमोरी बैंक ठानिन्छ । दिमागमा रहने सम्झनाहरूले दिमागलाई नियमित रूपमा काम गर्ने आधार तयार गरिदिन्छ । चित्त केवल स्मरणहरूको मौजाद राख्‍ने एक निष्क्रिय मेमोरी बैंकका रूपमा नरहेर आफूले प्राप्त गरेका अनुभूति, पैदा भएका मनोभाव (गट-फिलिङ), इच्छा वा चाहना आदिको संयोजनबाट सिर्जित सक्रिय मेमोरी बैंकका रूपमा अस्तित्वमा रहन्छ ।

मानसिक जटिलताको सम्पूर्ण संरचना चेतनाको आवरणबाट घेरिएर रहेको हुन्छ । चेतनाको उक्त आवरणलाई आत्मा नामकरण गरिएको छ । आत्मा आफैँ ब्रह्माण्डको मूल तत्त्वको एउटा टुक्रा हो । जसले ब्रह्माण्डमा रहेको परको मूल आत्मा वा परमात्माको नियमित संसर्गमा रहेर मानवको जटिल मानसिक संरचना र ब्रह्माण्डबीच नियमित संसर्ग स्थापित गराउँछ ।

समग्रमा वैदिक तथ्यको मान्यताअनुरूप मानिसमा रहने बुद्धिमत्ता (इन्टलेक्ट) उसको आनन्दमय आवरण (ब्लिस) र बौद्धिक आवरणको (विज्ञानमय) संयोजनको हद र प्रभावकारिताले निश्चय गर्छ । चेतनाको रूपमा रहेको आत्माको बाह्य-आत्माको (परम-आत्मा÷परमात्मा) नियमित सम्पर्क/सञ्चारमा रहेर उक्त बुद्धिमत्ता (इन्टलेक्ट) निर्मित हुने गर्छ । 

यस सन्दर्भमा मानिसमा बायाँ-ब्रेन र दायाँ-ब्रेन फरक-फरक तरिकाबाट सञ्चालन हुने तथा दाहिने दिमाग प्रयोग गर्ने मानिस देब्रे दिमाग उपयोग गर्नेभन्दा अधिक संज्ञानात्मक कौशलयुक्त हुने भनाइ वेदको अवधारणाको आधारमा समेत पुष्टि हुँदैन । उक्त मान्यतामा हालसम्म विज्ञान वा वेद दुवैको एकै प्रकारको निचोड भेटिन्छ ।

गोलो आकारको बायाँ र दायाँ मस्तिष्क आपसमा सेतो खरानी रङको स्नायु तन्तुहरूको मोटो बन्डलले जोडिएको हुन्छ, जसलाई कर्पस क्यालोसम भनिन्छ । बायाँ र दायाँ मस्तिष्कबीच कर्पस क्यालोसममार्फत सूचना आदान-प्रदान हुने र दैनिक मनोवैज्ञानिक कार्य सुचारु हुने सुनिश्चित हुने गर्छ । सन् १९८१ मा स्प्लिट-ब्रेन अनुसन्धानमा नोबेल पुरस्कार विजयी रोजर स्पाइरीको परीक्षणको निक्र्याेलबाट व्यक्तिको उच्च सृजनात्मकता विकासमा राइट ब्रेन मात्रको होइन कि राइट-लेफ्ट सम्पूर्ण दिमागबीचको प्रभावकारी संयोजन क्षमताले निश्चय गर्छ । 

लगभग २०० मिलियन नर्वफाइबर युक्त कर्पस क्यालोसमले जति मजबुत रूपमा राइट र लेफ्ट ब्रेनबीचको सम्पर्क मजबुत बनाउन सक्दछ, त्यति धेरै मानिसमा सृजनात्मकताको विकास हुने गर्छ । सन् २०१३ मा रचनात्मक प्रतिभायुक्त महान् भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइनको मस्तिष्कको विस्तृत तस्बिर जब बाहिरियो, त्यसमा समेत न्यूरोसाइन्टिस्टहरूले खैरो खरानी रङको बाक्लो दरिलो कर्पस क्यालोसममार्फत नितान्त बलियोसँग राइट-लेफ्ट ब्रेनलाई अविश्वसनीय रूपमा जोडिएको फेला पारे ।

सन् २०१२ मा कोलजाटो लगायतका डच मनोवैज्ञानिकहरूको एउटा टोलीको अध्ययनले मेडिटेसनले मानिसमा रचनात्मकताको विकास गर्न महत्त्वपूर्ण ठानिएका उत्प्रेरकहरूलाई सक्रिय पार्ने निचोड निकाल्यो । मेडिटेसनले मूलत: बहुआयामिक संज्ञानात्मक क्षमता वृद्धि गर्ने, नयाँ विचार र अनुभवमा खुलापन ल्याउने, स्मरण शक्ति बढाउने र सकारात्मक निर्णय गर्ने क्षमता वृद्धिमा सहयोग पुर्‍याएको भन्‍ने निचोड निक्लिएको थियो।

वर्षौं वर्ष लगाएर स्मरण प्रशिक्षणका रूपमा चालीस हजारदेखि एक लाख शब्दसम्मका संस्कृतका पाठ मौखिक रूपमै कण्ठस्थ गर्ने वैदिक संस्कृत पण्डितहरूमा सन् २०११ मा इटालीको ट्रेन्टो विश्वविद्यालयले उनीहरूको दिमागको एमआरआई स्क्यान प्रविधिमार्फत भौतिक संरचनामा आएको असरबारे उन्‍नत अनुसन्धान गर्‍यो ।

उक्त अनुसन्धानले पण्डितहरूको दिमागको धेरै भागको भौतिक संरचनाहरू उल्लेखनीय रूपमा विकसित बनेको, दुवै गोलाकार सेरेब्रल भागमा खरानी रङको ग्रे म्याटर दसप्रतिशत भन्दा धेरै भेटिएको र कर्पस क्यालोसमको मोटाइमा समेत पर्याप्त वृद्धि भएको भेटेको थियो ।

निचोडमा राइट ब्रेन र लेफ्ट ब्रेनबारे विज्ञान र वेदको सम-धारणा देखिन्छ । कुनै पनि व्यक्तिको उच्च सृजनात्मकता विकासमा उसको राइट ब्रेनको भूमिका हुने विषय आजसम्म न त विज्ञान, न त तर्क, न वेदको अवधारणाबाट नै प्रमाणित हुन सकेको छ । हालसम्म उपलब्ध प्रमाणित तथ्यअनुसार राइट र लेफ्टलगायत समग्र दिमागबीचको प्रभावकारी संयोजन क्षमताले मानिसको सिर्जनशीलताको हदको निश्चय गर्छ । 

योग तथा मेडिटेसन गर्दा अथवा आफूलाई मन पर्ने कार्यमा लगातार अनुशासित रूपमा लागिरहँदा मस्तिष्क आफैँ ब्लिस जोनमा पुगी मस्तिष्कका सबै भाग आपसमा उच्च संयोजनमा रहेर काम गर्ने अकल्पनीय हार्मोनीको विकास हुने हुँदा उनीहरूमा उच्च सृजनात्मकता विकास हुने यथार्थ नै आजसम्मको तथ्य र तर्कसंगत रूपमै प्रमाणित चुरो यथार्थ हो ।


Author

नारायण घिमिरे

घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन् ।


थप समाचार
x