विचार

पुगीसरी आएकालाई मात्र कति पोस्‍ने ?

सबिना सिंह |
चैत २३, २०७७ १८:४ बजे

कोरोना महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात् धेरै परिवर्तन ल्याइदिएको छ । यसले सबैभन्दा बढी प्रभाव पारेको वर्गमा अपांगता भएका महिला पर्छन् । अपांगता भएका महिला भन्‍नाले शरीरको कुनै अंगमा भएको स्थायी क्षतिका कारण त्यसले पूर्ण वा आंशिक रूपमा कार्यसम्पादन गर्न नसक्ने अवस्थाका महिला भन्‍ने बुझ्नुपर्छ । 

नेपाल सरकारले ‘अपांगता भएका व्यक्ति भन्‍नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रीयसम्बन्धी दीर्घकालीन अशक्तताद्वारा सिर्जित विभिन्‍न अवरोधको अन्तर्क्रियाका कारण समाजमा अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढंगले सहभागी हुन बाधा भएको व्यक्तिसमेतलार्ई जनाउनेछ’ भनी परिभाषित गरेको छ । अर्कातिर आनुवंशिक संरचनामा आरएनए भएका विषाणुको एउटा समूहलार्ई कोरोना भाइरस भनिन्छ ।
 
२०१९ डिसेम्बरमा चीनको वुहान नजिकै पशुपन्छी व्यापार हुने एउटा बजारमा पहिलोपटक देखिएको कोरोना केही महिनामै विश्‍वभरि फैलियो । यो रोगबाट विश्‍वभरका मानिस त्रस्त बनिरहेका छन् । अधिकांश देशमा मानिसका गतिविधि अत्यावश्यक काममा मात्र सीमित भएका छन् । अप्रत्याशित रूपमा आएको र विश्‍वले नै पूर्वतयारी नगरेको क्रममा हाम्रो देशले पनि पूर्वतयारी नगर्नु स्वाभाविक थियो । 


अहिले प्रायः कोरोना संक्रमण कसरी हुन्छ, संक्रमण हुनबाट कसरी बच्‍ने, परीक्षण, रोकथाम तथा उपचारका लागि आविष्कार भएका भ्याक्सिन कत्तिको प्रभावकारी छन् जस्ता विषयमा बढी केन्द्रित भइरहेको छ । यससँगै कोरोनाले विभिन्न वर्ग खासगरी समाजको नाजुक र तल्लो तहका रूपमा चित्रित हामी अपांगता भएका महिलामा पारेको प्रभावबारे घरपरिवार, स्वास्थ्य उपचारमा संलग्न स्वास्थ्यकर्मी, सरोकारवाला र समाजमा चासोपूर्वक खुला छलफल गर्नुपर्ने बेला भइसकेको छ ।
 
कोरोनाले अपांगता भएका महिलाका विभिन्न पक्षमा पारेको प्रभावबारे चर्चा गर्दा अपांगता हुने कारण र यसभित्रको विविधतालार्ई पनि बुझ्नुपर्छ । मानिस आफ्नो इच्छा वा पूर्वजन्मको पापले अपांग हुने होइन । जन्मजात वा जन्मपछि रोग, दुर्घटना आदि कारणले जो कोही अपांग हुन सक्छ । यो एक प्रकारको अवस्था भएकाले व्यक्तिसँग जोडेर हेर्नुहुन्‍न । प्रवृत्ति र अशक्तताको गम्भीरताका आधारमा अपांगतालार्ई विभिन्‍न समूहमा वर्गीकरण गर्न सकिन्छ । 

नेपाल सरकारले अशक्तताका आधारमा पूर्णअशक्त, अतिअशक्त, मध्यम र सामान्य गरी चार वर्ग अनि प्रवृत्तिका आधारमा शारीरिक अपांगता, दृष्टिसम्बन्धी अपांगता, सुनाइसम्बम्धी अपांगता, श्रवण-दृष्टिविहीन, स्वर-बोलाइसम्बन्धी अपांगता, मानसिक अपांगता र बहुअपांगता गरी विभिन्‍न सात समूहमा वर्गीकरण गरेको छ । त्यस्तै विश्‍वभर र नेपालमा अपांगता भएका व्यक्तिको जनसंङ्ख्याबारे समान र आधिकारिक तथ्यांक नभए तापनि कुल जनसंख्याको १० प्रतिशतमा कुनै न कुनै प्रकारको अपांगता रहेको पाइन्छ । साथै अपांगता जनसंख्यामा पनि पुरुषभन्दा महिला अनुपात बढी देखिन्छ ।
 
कोरोना भाइरस तीव्र रूपमा फैलिन थालेपछि त्यसलार्ई रोक्ने उपायस्वरूप विश्‍वभर लकडाउन तथा निषेधाज्ञा अवलम्बन गरियो । बजार, यातायातजस्ता सम्पूर्ण सार्वजनिक तथा निजी क्षेत्र एवं सेवा बन्द हुँदा यसबाट गम्भीर सामाजिक प्रभाव पर्‍यो । जो जहाँ छ, त्यो त्यही रहनुपर्ने भयो । क्‍वारेन्टिन, आइसोलेसन तथा घरमै बस्नुपर्ने बाध्यताले अपांगता भएका महिलालार्ई नकारात्मक प्रभाव पारिरहेको छ । यसबारे सांकेतिक अध्ययन र सांकेतिक तथ्यांक सार्वजनिक भएका छन् । 

बन्दाबन्दीका कारण विकसित देशहरू  फ्रान्स, बेलायत, जर्मनी, अमेरिका, क्यानडामा समेत महिलामाथि ३० देखि ४० प्रतिशतले हिंसा बढेको छ । तपाईं यसको तुलना कम विकसित देश त्यसमा पनि समाजको नाजुक र सीमान्तीकृत वर्गका रूपमा रहेका अपांगता भएका महिलासँग गर्न सक्नुहुन्छ । जे होस् बन्दाबन्दीका कारण लैंगिक हिंसामा वृद्धि भएको छ । अपांगतासाथ जीवनयापन गर्न अवरोधमाथि अवरोध थपिएको छ । 

आमजनता नै राहत माग्‍न बाध्य भइरहेका बेला अपांगता भएकालार्ई भनेर कुनै छुट्टै राहत प्याकेज वितरण गरिएन बरु अतिअशक्तले विगतदेखि पाउँदै आएको भत्तासमेत ऐनका नाममा रोकियो । 

विभिन्‍न सर्वेक्षणका आँकडाले यसको पुष्टि गर्छन् । म आफैँ पनि सुस्तश्रवण अपांगता भएको र यस क्षेत्रबाट प्राप्त अनुभव र अनुभूतिका आधारमा भन्‍न सक्छु । लामो समय पीडकसँग थुनिएर बस्‍नुपर्ने, पारिवारिक कामको बोझ, अनि श्रीमान्बाट आउने डिमान्ड पूरा गर्नुपर्ने अवस्था छ । समाजमा आफूले चिनजान गरेकै अपांगता भएका महिला, किशोरीदेखि ससाना बालिका यौन दुव्र्यवहार, शोषण तथा बलात्कारमा परिरहेका छन् । हत्या र आत्महत्याका समाचार दैनिक रूपमा सार्वजनिक भइरहेका छन् भने कतिपय सार्वजनिक नै हुँदैनन् । सेवा प्रदायक तथा निकाय पनि बन्द रहेका कारण सम्पर्क गर्न खोज्दा अहिले लकडाउन छ, खुलेपछि हेरौँला भन्‍न खालको जवाफ दिने गरेका छन् । 

कोरोनाले अपांगता भएका महिलामा पारेको सबैभन्दा ठूलो प्रभाव भनेको शारीरिक र मानसिक प्रभाव नै हो । कोभिड-१९ को संक्रमणकै कारण अपांगता भएका धेरै महिलाले ज्यान गुमाइसकेका छन् । उपचारका क्रममा अस्पताल, आइसोलेसन र क्‍वारेन्टिनमा रहेका बिरामीको संख्या पनि ठूलो छ । हाल उपचारबिना पनि निको हुने बढेका छन् भने भ्याक्सिनको आविष्कारले आशा जगाइरहेको छ । तर, नियमित स्वास्थ्य चेकजाँच, औषधिउपचार, अप्रेसन, थेरापी, सहायक सामग्रीको मर्मत-सम्भारजस्ता सेवा लिनुपर्ने अपांगता भएका महिलालार्ई त्यस्तो सेवा दिने अस्पताल तथा स्वास्थ्य संस्था लामो समय बन्द रहँदा गम्भीर समस्या भइरहेको छ । 

अपांगता भएका गर्भवतीले समयमै प्रसूती सेवा नपाउँदा अकालमा जीवन गुमाउनु परेका घटना छन् । सरकारले कोरोनासम्बन्धी ब्रिफिङ, जनचेतनामूलक सूचना, सन्देशहरू प्रचारप्रसार गर्दा सांकेतिक भाषालार्ई समुचित प्रयोग गर्नु सकारात्मक पक्ष हो जसले बहिरा-अपांगता भएकालार्ई सूचनामा पहुँच पुर्‍याउन मद्दत गरिरहेको छ । तैपनि सांकेतिक भाषा नबुझ्‍ने सुस्तश्रवणका लागि क्याप्सनिङ, दृष्टिविहीनका लागि ब्रेल, श्रवण-दृष्टिविहीनका लागि स्पर्श सञ्‍चारको उचित प्रबन्ध हुन सकिरहेको छैन । 

निरन्तर अरूको सहयोग लिनुपर्ने अवस्था भएकालार्ई त सामाजिक दूरी पालना गर्नुपर्ने बाध्यताले झनै समस्या भइरहेको छ । अर्कोतिर टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जाल मानिसलार्ई जोड्न तथा मनोरञ्‍जन प्रदान गर्ने महत्वपूर्ण माध्यम बनिरहेका छन् तर तिनमा पनि अपांगता भएकालार्ई होच्याउने गरी बनाइएका श्रव्यदृश्य सामग्रीको ट्रेन्डले विभेदलार्ई बढावा दिँदै छ । 

अपांगता भएका महिलाको फरक आवश्यकतालार्ई विचार गर्दै प्राथमिकतासाथ उचित एवं आकस्मिक सेवा उपलब्ध गराइनुपर्छ । हिंसाको सुनुवाइ र त्यसको उपचारको सुनिश्‍चितता आवश्यक छ । 

कोरोना महामारीले अपांगता भएका महिलामा शारीरिक, मानसिक, सामाजिकसँगै आर्थिक प्रभाव पनि पारिरहेको छ । रोजगारीका अवसरको कमी, शैक्षिक र अपांगताकै कारण ९० प्रतिशतभन्दा बढी अपांगता भएका महिला बेरोजगार छन् भने १० प्रतिशतजति अनौपचारिक क्षेत्रमा कार्यरत छन् । अनौपचारिक क्षेत्रमा संलग्‍न हुनु भनेको सुरक्षा, बीमा नहुनु अनि काम नहुने बित्तिकै आय पनि नहुनु हो । विश्‍वव्यापी महामारीको विषम स्थितिमा सहयोग प्याकेज ल्याउनुपर्नेमा कोरोनाकै बहानामा थुप्रै अपांगता भएका महिला रोजगारीबाट निकालिएका छन् । 

खाईपाई आएको तलब कटौती भएको छ । यसको नजीर म आफैँ छु । आम्दानी हुने अन्य स्रोत नभएका पूर्णअशक्त र अतिअशक्तलार्ई सरकारले सामाजिक सुरक्षाभत्ता दिन्छ तर मध्यम र सामान्य अपांगता भएकालार्ई दिँदैन । दुःखद् कुरा त के भने आमजनता नै राहत माग्‍न बाध्य भइरहेका बेला अपांगता भएकालार्ई भनेर कुनै छुट्टै राहत प्याकेज वितरण गरिएन बरु अतिअशक्तले विगतदेखि पाउँदै आएको भत्तासमेत ऐनका नाममा रोकियो । 

स्थानीय तह, निजी तथा गैससहरूबाट पनि ज्याला मजदुरी गरी खाने, खास क्षेत्र र खास अपांगता भएकालार्ई मात्र राहत वितरणमा प्राथमिकता दिएकाले सबैको पहुँच पुगिरहेको छैन । यसरी जुनसुकै कोणबाट विश्लेषण गर्दा पनि अपांगता भएका महिलाहरू कोरोनाबाट प्रभावित भई संकटमा छन् । 

अतः निष्कर्षमा भन्नुपर्दा कोभिड-१९ र यसबाट सिर्जित बन्दाबन्दीले अपांगता भएका महिलामा शारीरिक, मानसिक, सामाजिक, आर्थिकलगायतका पक्षमा प्रभाव पारिरहेको छ । यी प्रभाव घटाउन मात्र नभई हटाउनका निम्ति अपांगता भएका महिलाको फरक आवश्यकतालार्ई विचार गर्दै प्राथमिकतासाथ उचित एवं आकस्मिक सेवा उपलब्ध गराइनुपर्छ । हिंसाको सुनुवाइ र त्यसको उपचारको सुनिश्‍चितता आवश्यक छ । 

(सबिना सुस्त श्रवण संघ बाँकेकी संस्थापक अध्यक्ष हुन् ।


 


Author

थप समाचार
ad
x