विचार

२० वर्ष पहिले प्रधानमन्त्री शेरबहादुर देउवा

सभापति गिरिजाप्रसादको आलोचनामा शेरबहादुरको त्यो भाषण

सभापतिले प्रतिपक्षसँग नाटकीय गठबन्धन गर्नुभयो

इकागज |
साउन ४, २०७९ बुधबार १८:९ बजे

'गिरिजाप्रसाद कोइराला आफूबाहेक अरू पदमा बसेको, अन्य कसैले काम गरेको देख्नै नसक्ने प्रवृत्तिले  माओवादी नाम गरेका आतङ्ककारीहरूबाट नेपाली काँग्रेसका कार्यकर्ताहरू सबैभन्दा बढी पीडित छन् । आफैँ नेतृत्वमा बस्नैपर्ने तर शासन गर्न पनि नसक्ने  पार्टीमा समेत छलफल नगरी अकस्मात् संविधान संशोधनको प्रस्ताव अघि सार्नुभएको थियो ।'


साथीहरू,
सर्वप्रथम म यस भेलामा सहभागी हुन आउनु भएका नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक स्वागत गर्दछु । गाउँमा आतङ्ककारीहरूको धम्की, काँग्रेस संस्थापन पक्षबाट सिर्जना गरिएको अवरोध र मौसमको प्रतिकूलता तथा खेतीपातीको व्यस्तताका बावजुद तपाईंहरू मेरो निमन्त्रणा स्वीकार गरेर राजधानी आउनु भएको छ । शुभेच्छुकहरूसित हामी तमाम काँग्रेस कार्यकर्ता साथीहरू आज पार्टीमा चर्केको विग्रहबाट चिन्तित छौं । वास्तवमा विग्रहबाट निस्केर एउटा तार्किक निष्कर्षमा पुग्नका लागि यस भेलाको आयोजना गरिएको हो । 


तपाईंहरूलाई थाहै छ, यस बीच मैले पार्टी एकताका निम्ति भरमग्दुर कोशिश गरें । साथीहरूले पनि गर्नुभयो । तर, सभापति गिरिजाप्रसाद कोइरालाद्वारा नेतृत्व गरिएको पार्टी संस्थापन पक्ष एकताका निम्ति राजी भएन, भएको छैन । साथीहरू, महाधिवेशन हाम्रो पार्टीको सर्वोच्च निकाय हो । यस निकायले गरेका निर्णयहरू नै पार्टीका निर्णय हुन्छन् । यसर्थ, वर्तमान अवस्थाबारे छलफल, परामर्श र त्यसबाट तात्विक निष्कर्षमा पुग्नका लागि महाधिवेशन प्रतिनिधिहरूको यो भेला बोलाइएको हो । यस भेलामार्फत् हामीले दूरगामी महत्वका केही नयाँ निर्णयहरू गर्नु पर्ने हुन्छ । हाम्रो पार्टीमा पार्टी र प्रजातन्त्रका प्रति लामो लगानी भएका साथीहरू हुनुहुन्छ । त्यस्ता साथीहरूसित म विशेष अनुरोध गर्दछ– नेपाली काँग्रेसमा एकता र सदभावको आवश्यकता छ ।  

साथीहरू,
संसदीय निर्वाचनको घोषणासँगै हामी नयाँ चरणमा प्रवेश गरिसकेका छौं । यद्यपि, यसलाई काँग्रेस संस्थापन पक्षले असाध्यै पूर्वाग्रही विवेचना गरेको छ । तर, संस्थापन पक्षको द्वैध चरित्रबाट उत्पन्न जटिल परिस्थिति र राजनीतिमा देखा पर्न लागेको सैद्धान्तिक विचलन समाप्त गर्नका लागि योभन्दा अको युक्तिसंगत उपाय नै थिएन । तपाईंहरूलाई अवगत छ, तात्कालिक सत्तास्वार्थका लागि देश र जनताको सुरक्षामाथि ठूलो खेलबाड हुन थालेको थियो । संकटकालीन अवस्थाको म्याद बढाउने प्रस्तावमा मेरै पार्टीको केन्द्रीय कार्यसमितिको बहुमत र नेकपा (एमाले)को निर्णयका कारण अवरोध खडा हुन गयो अनि, लागि सार्वभौम शक्तिसम्पन्न जनमतसमक्ष जाने निर्णय गरिएको कुरा म यहाँ खुलासा गन चाहन्छु ।

जब संस्थापन पक्ष विधिसम्मत बाटो छोडेर सत्ताप्राप्तिका लागि सिद्धान्तबाट पूरा विचलित भएको अवस्था आयो । त्यति बेला प्रजातान्त्रिक मूल्यको रक्षाका लागि, प्रधानमन्त्रीय पद्धतिको मर्यादाका हितमानै विकल्प शेष थिएन । यसर्थ, यस संवैधानिक कदमको तार्किक परिणाम निर्वाचन नै हो । निर्वाचन सम्पन्न गराउन सरकारले निर्वाचन आयोगलाई पूरा सहयोग गर्नका साथै मुलुकमा सुरक्षाको प्रत्याभूतिका निम्ति सशक्त उपायहरू अबलम्बन गर्ने प्रारम्भ गरिसकेको छ ।

निर्वाचन हुन्छ यसमा कुनै दुविधा छैन र यसमा कुनै दुविधा राख्नु पनि हुँदैन । तर यस बीच, सबैभन्दा दुःखदायी पार्टी संस्थापन पक्षबाट केही अनर्गल कुराहरू प्रचारमा ल्याइएका छन् । ती कराहरू कल्पित हुन् । तिनमा कुनै सार छैन । म ती सारहीन कुराहरूको व्यक्तिगत उत्तर दिन चाहन्नँ, फगत यति भन्छु, नेपाली जनता सार्वभौम शक्तिसम्पन्न छन् । राजनीतिमा आएको विचलनमा विराम लगाउन र प्रजातन्त्रको संवर्द्धनकै लागि मैले जनतामा जाने निर्णय गरेको हुँ । साथीहरू, 
आउँदो आम निर्वाचनमा शान्ति स्थापनाको पक्षमा आतङकका विरुद्धको जनमत सङ्ग्रह हो । आगामी निर्वाचनको मुख्य एजेण्डा यही हो । प्रजातन्त्रको रक्षा गर्न आतङ्कवादलाई पूर्णरूपमा परास्त गर्नु जरूरी छ । त्यसका लागि आज हाम्रो संवैधानिक राजसंस्था र प्रजातन्त्रवादी शक्तिहरूका बीच एकता, आपसी विश्वास र समझदारीमा अभिवृद्धि हुनु जरुरी छ । 

साथीहरू,
नेपाली काँग्रेस निकै असजिलो अवस्थामा छ । आज यसका सामु गम्भीर चुनौतीहरू उपस्थिति भएका छन् । आम कार्यकर्ताहरूप्रति पार्टीको संस्थापन पक्ष अत्यन्त असहिष्णु ढङ्गले प्रस्तुत भइरहेको छ । एकपछि अर्को घटनाको शृङ्खला हेर्नुहोस्, आज वास्तवमा काँग्रेस संस्थापन पक्षको असहिष्णुता चुलिइसकेको छ । अवस्था अत्यन्त कठिन छ । तर, कठिन अवस्था नै निर्णायक पनि हुन्छ भन्ने कुरा हामीले कहिल्यै बिर्सनुहुँदैन । यसर्थ, यस निर्णायक घडीमा हामी रत्ति पनि विचलित नभई पार्टीका निम्ति नयाँ मार्ग प्रशस्त गर्न एकजुट हुनुपरेको छ । 


साथीहरू, यो निर्णायक घडी हो । यस अवसरमा हामीले नेपालको भविष्य, नेपालीहरूको सामूहिक कल्याणका लागि काँग्रेसमा अन्तर्निहित ऊर्जालाई रचनात्मक दिशातर्फ उन्मुख गराउनुपरेको छ । मैले तपाईंहरू सम्मुख नेपाली काँग्रेसको गौरवशाली पृष्ठभूमिको पुनर्वाचन गरिरहनु जरूरी छैन । तपाईंहरू स्वयं नै यसको राम्रो ज्ञाता हुनुहुन्छ । तापनि, जननायक विश्वेश्वरप्रसाद कोइरालाको उर्वर विचार शक्तिको प्रतीक यस पार्टीका नायकहरूलाई म यहाँ स्मरण गर्न चाहन्छु ।

किन चाहन्छु भने, अनेक निष्ठावान् र प्रतिभाशाली सपूतहरूको बलिदानका जगमा हामी उभिएका छौं र भविष्यका पुस्ताले पनि उहाँहरूका कीर्तिको स्मरण गर्दै पार्टीको गौरवको दीप प्रज्ज्वलित गरिराख्नुपर्नेछ । आदरणीय सुवर्ण समशेरलगायतका नेताहरूको विशिष्ट योगदान पनि म यहाँ सम्झन चाहन्छु श्रद्धेय गणेशमान सिंहको नायकत्वमा नेपाली जनताले गरेको प्रजातान्त्रिक संघर्षकै परिणाम स्वरूप नेपालमा २०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापना भएको हो । 

यस अवसरमा म वहाँसहित प्रजातान्त्रिक आन्दोलनको जगमा रहनुभएका दिवंगत अग्रजहरू र शहीदहरूको स्मृतिमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । यसका साथै कांग्रसका संस्थापक नेता आदरणीय कृष्णप्रसाद भट्टराईको मार्गदर्शन, जो हामीलाई अझै उपलब्ध छ । उहाँका प्रति  हार्दिक कृतज्ञता व्यक्त गर्दै पुनः वहाँबाट आशीर्वादको याचना गर्दछु ।

अतीतको गौरव, पूर्ववर्ती नेता र कार्यकर्ताहरूको असीम समर्पणको भावना जम्मा भएकाले काँग्रेस पार्टी जीवन्त रहेको छ । यसका विचार र आदर्श नै पार्टीका मूलभूत तत्व हुन् । यसका साथै यसले निर्दिष्ट गर्ने भविष्य–दृष्टिमा आउने समयको रूपरेखा हुनुपर्छ । नेपाली काँग्रेस गौरवशाली अतीत भएको पार्टी हो, तर आउने समयको भूमिकाको निर्धारण पनि त्यत्तिकै जरूरी छ । त्यस्तो भूमिकाको निर्धारण गर्नका लागि हामी यहाँ भेला भएका छौँ । 

काँग्रेसको नवनिरूपणको समय यही हो । यसमा कनै लाभ वा पक्षको स्वार्थ हाबी हुनु हुँदैन । किनभने, कुनै एउटा पक्ष वा व्यक्तिको तुलनामा पार्टी ठलो दल संस्था ठूलो हुन्छ । अनि, यो संस्था, यो नेपाली काँग्रेस, नेपालका तमाम प्रजातन्त्र पक्षधरहरूको साझा घर हो । यस घरको धनी–पूर्जा सामूहिक छ । कुनै परिवार वा व्यक्तिका अधीनमा यसको स्वामित्व सीमित छैन । हामी सम्पूर्ण काँग्रेसजन यही मान्यता र विश्वासका आधारमा काँग्रेसमा आबद्ध छौं ।

प्रजातन्त्र स्थापनाको क्रान्तिको संवाहक, मातृभूमिको स्वतन्त्रता तथा जनताका हक र अधिकारका निम्ति समर्पित यो पार्टीमा आज एकथरी अतिवादीहरूको वर्चस्व स्थापित भएको छ । निश्चय नै पार्टीमा यसभन्दा पहिला पनि उतार–चढावहरू नआएका होइनन् तर यस किसिमको दुःखदायी अतिवादको उत्कर्षबाट उत्पन्न पीडा हामीले देखेका, भोगेका थिएनौं । आज मलाई अत्यन्त अप्ठ्यारो लागिरहेको छ, म कसरी र कुन शब्दमा वर्तमान दुष्चक्रको वर्णन गरूँ ?

तपाईंहरूलाई थाहै छ सभापति गिरिजाप्रसाद कोइरालाद्वारा नेतृत्व गरिएको पक्ष काँग्रेस–भावनाको, यसका मूल्य र मान्यताहरूको खुल्लम खुल्ला अवज्ञा गरिरहेको छ । नेपाली जनताको स्वतन्त्रताको रक्षा, सुरक्षा र समृद्धिका प्रयत्नहरूलाई निष्फल तुल्याउने कोशिश गरिरहेको छ । वर्तमान संस्थापन पक्ष असैद्धान्तिक, अव्यावहारिक र अशोभनीय निर्णयहरू गरेर पार्टीलाई विभाजनतर्फ उन्मुख गराई रहेको छ ।

साथीहरू,
तपाईंहरूलाई थाहै छ, प्रधानमन्त्रीका रूपमा, केही अपवादबाहेक, मलाई पार्टीको नेतृत्व र नेतृत्व पोषित व्यक्ति र प्रवृत्तिहरूले सँधै असहयोग गरेका छन् । सरकारलाई काम गर्न बाधा र व्यवधान खडा गरेका छन् । जनहितमा गरिएका नीति–निर्णयहरूको कार्यान्वयन नगर्न दबाब दिएका र दिन गरेका छन् । यस क्षणमा म तपाईंहरूलाई स्मरण गराउन चाहन्छु– गिरिजाप्रसाद कोइराला अन्तिम पटक प्रधानमन्त्री हुँदा संसद्को एउटा सिंगै अधिवेशन ५७ दिनसम्म अवरुद्ध भयो, उहाँ संसदीय कार्य संयोजन गर्न असमर्थ हुनु भएको थियो ।

उहाँ आतङ्कारीलाई निरस्त पार्न वार्ता पनि गर्न नसक्ने र सुरक्षा निकायहरूलाई समझदारीका साथ परिचालन पनि गर्न नसक्ने अवस्थामा पुग्नुभएकाले प्रधानमन्त्रीबाट बाहिरिनुभएको थियो । अनि, गत साउनमा मलाई साथीहरूले प्रधानमन्त्रीमा निर्वाचित गर्नुभएको हो । त्यसपछि मैले आठ–सूत्रीय कार्यक्रमको घोषणा गरेको थिएँ । ती कार्यक्रमहरूको देशभरि स्वागत भएको थियो । तर, काँग्रेसको संस्थापन पक्षले जनताको हितमा घोषणा गरिएका ती कार्यक्रममा अकुश लगाउने काम गर्यो ।

यहाँ सम्म कि भूमिसुधार जस्तो क्रान्तिकारी कार्यक्रमको विरोधमा पार्टी नेताहरू नै खुलेर प्रस्तुत भए । जबकि, सरकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा प्रतिपादित र २०१५ सालको आमनिर्वाचनको सामाजिक न्याय सुनिश्चित गर्ने कार्यक्रमको भावनालाई साकार पार्न खोजेको थियो । यो देश किसानहरूको बाहुल्य भएको देश हो ।  किसानहरूको हित नगरी सामाजिक न्याय सम्भव हुँदैन । नेपाली काँग्रेसको सन्दर्भमा, समाजवादलाई यही मान्यताले निर्देशित गरेको छ । तर, पार्टीको संस्थापन पक्षले समाजवाद शब्दलार्ई नारामा सीमित राखेर जनतालाई झुक्याउने कार्यनाति अबलम्बन गर्यो ।

सरकारले पूर्णगतिका साथ भूमिसुधार कार्यक्रम लागू गर्ने निधो गरेर भमिसम्बन्धी विधेयक ल्याएको थियो तर पार्टीभित्रैबाट त्यसको मर्ममा प्रहार भयो । समाज–सुधार र सामाजिक न्याय सुनिश्चित गर्ने महिला अधिकार, जनजाति र दलितको उत्थान सम्बन्धी नीति निरूपणमा समेत संस्थापन पक्षले अनुदार रवैया अपनायो, आफ्नै सरकारलाई असहयोग गयो नेपाली समाजको रूपान्तरण र सर्वांगीण उन्नतिको मार्ग प्रशस्त गर्न मैले जे जति पहल गरेँ, काँग्रेसको संस्थापन पक्षले विपक्षले पनि नगर्ने शैलीमा विरोध गर्यो । निश्चय नै यसका पछाडि संस्थापनको यथास्थितिवाद र अनुदार प्रवृत्तिले काम गरेको छ । यसभन्दा पनि प्रष्ट के छ भने सत्तामा गिरिजाप्रसाद कोइराला आफूबाहेक अरू बसेको, अन्य कसैले काम गरेको देख्नै नसक्ने प्रवृत्तिले काम गरेको छ ।

यस प्रसङ्गमा तपाईँहरूलाई अघिल्लो पटक म प्रधानमन्त्री भएका बेला सरकारका प्रति पार्टी संस्थापनबाट गरिएका अशोभनीय कार्यहरूको सम्झना गर्न अनुरोध गर्दछु । त्यसपालि, जबकि हाम्रो बहुमतको सरकार थिएन तापनि संसद्मा दुई दिहाईभन्दा बढी मतले दूरगामी महत्वको एकीकृत महाकाली सन्धिको अनुमोदन भएको थियो । त्यसले कोइरालाको प्रधानमन्त्रीत्व कालमा पार्टीमाथि लागेको टनकपुरको दोषलाई मेटेको कुरा सबैले मानेका छन् ।

तीनचार दिशातिर फर्केका पार्टीहरूलाई एक ठाउँमा ल्याएर राष्ट्रिय सहमतिका आधारमा गरिएका कार्यहरूका बाबजुद त्यतिबेला पनि पार्टी संस्थापन मेरो विस्थापनका निम्ति सक्रिय थियो । अनि, अन्ततः तपाईंहरूलाई थाहा छ, काँग्रेसकै दुई जना सांसदहरूलाई लुकाएर मलाई प्रधानमन्त्रीबाट हटाइएको थियो । फलस्वरूप, स्थानीय निर्वाचनमा नेपाली काँग्रेस नराम्ररी पराजित हुनु परेको थियो ।

साथीहरू, माओवादी नाम गरेका आतङ्ककारीहरूले नेपाली जनजीवनलाई आक्रान्त पारेका छन् । त्यसमाथि पनि नेपाली काँग्रेसका कार्यकर्ताहरू सबैभन्दा बढी पीडित छन् । आतङ्कको पीडा र दुष्प्रभाव तपाईंहरू प्रत्यक्ष भोगिरहनुभएको छ । मुलुकलाई आतङ्कबाट त्राण दिलाउनका लागि मैले आफू प्रधानमन्त्री हुनासाथ वार्ताद्वारा शान्ति स्थापनाका निम्ति पहल गरेको कुरा सबैलाई थाहा छ ।

आदरणीय किसुनजी प्रधानमन्त्री भएका बेला माओवादी समस्या समाधान गर्न गठित समितिको संयोजकका हैसियतले मैले यो समस्याको शान्तिपुर्ण समाधानका लागि प्रशस्त प्रयत्न गरेको थिएँ । अनि, तपाइँहरूलाई यो पनि वार्ता भइरहेका बेला सभापतिको पक्ष वार्ता छिट्टै टुङ्ग्याउन दबाब दिइरहेको थियो । वार्ताको विकल्प नै प्रयोग नगरी सेना परिचालन गर्नुपर्दछ भनेर पार्टी सभापतिको पक्षले गरेको प्रचारका तुमुल ध्वनिहरू हामी सबैका कानमा गुञ्जेका हुन् । उनीहरू वार्ता भङ्ग होस् भनिरहेका थिए तापनि सरकार इमानदारीसाथ समाधान खोज्ने यत्न गरिरहेको थियो । 

कथित माओवादीसँग तीन चरण वार्ता भयो । तर चौथो चरणको तयारी गरिरहेका बखत ती कथित माओवादीहरू वार्ताबाट भागे । शाही नेपाली सेना लगायतका सुरक्षा निकायमाथि आक्रमण गर्न थाले । त्यसैका फलस्वरूप, मंसिर ११, २०५८ मा अवस्थाको घोषणा गरी सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरूको परिचालन गरिएको थियो । 

आतंकवादविरुद्ध सरकारको यस कदमकाप्रति आम नेपाली, छिमेकी मित्रराष्ट्रहरू भारत लगायत सम्पूर्ण मित्रहरू संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य, युरोपका मुलुकहरू तथा जापानको समेत पूरा समर्थन रहेको तथ्यसित तपाईंहरू राम्ररी परिचित हुनुहुन्छ । प्रजातन्त्रवादी मुलुकहरूमा आतङ्कवादका विरुद्ध त्यहाँका सबै राजनीतिक पार्टीहरू एकजुट हुन्छन् ।

नेपाललाई आतंकवादका विरुद्ध लड्न विश्वको जनमतले समर्थन र सहयोग दिएको छ । तर, मेरै आफ्नै पार्टीको नेतृत्वले साथ दिएन । तपाईंहरूलाई थाहै छ, सुरक्षा निकायहरूको परिचालनको लगत्तै काँग्रेसको संस्थापन । सुरक्षा निकायहरूको मनोबलमा प्रतिकूल असर पर्ने क्रियाकलाप र प्रचार गर्न थाल्यो । सुरक्षा फौजहरू मनोयोगका साथ आतङ्ककारीहरूलाई परास्त गर्न खटेका बेला काँग्रेसको संस्थापन पक्ष सुरक्षा फौजको अभियानलाई निस्तेज पार्ने प्रचारमा संलग्न भयो ।

तपाईंहरूलाई राम्ररी थाहा छ, संकटकालीन अवस्थाको अनुमोदनका लागि संसद्मा राखिएको प्रस्ताव अनुमोदन गर्न सभापति कोइरालाले सानो बाधा सिर्जना गर्नुभएको थिएन । उहाँले प्रमुख प्रतिपक्षसँग नाटकीय गठबन्धन गरेर पार्टीमा समेत छलफल नगरी अकस्मात् संविधान संसोधनको प्रस्ताव अघि सार्नुभएको थियो । सरकारलाई अप्ठ्यारो पार्ने अनि विफल बनाउनमै वहाँले पार्टी संयन्त्र प्रयोग गर्नुभएको थियो ।

आतंककारीहरूबाट काँग्रेसका कार्यकर्ताहरू, निर्दोष नागरिकहरू सुरक्षाकर्मीहरू मारिइरहेका तर सभापति कोइराला भने आफ्नै पार्टीको सरकारलाई विफल बनाउन सदैव सक्रिय रहिरहनुभयो । प्रत्यक्षमा सरकारलाई सहयोग गर्ने बाचा गर्ने तर नेपथ्यमा आफ्नै पार्टीको सरकारलाई असहयोग गर्ने हरसम्भव कोशिश गरेका अनेकन् प्रसंग, प्रमाण र उदाहरण छन् ।

म यहाँ ती सबैको बेलीविस्तार लगाउन चाहन्न, हरेक घटना र घटना–क्रमका तपाइँहरू स्वयं साक्षी हुनुहुन्छ । समग्रमा उहाँ आफ्नै पार्टीको सरकारलाई कमजोर बनाई प्रधानमन्त्रीलाई हटाएर आफू प्रधानमन्त्री बन्न क्रियाशील रहनुभएको हो । यसर्थ साथीहरू यथार्थमा हाम्रो राजनीतिक परिदृश्यमा देखा परेका अस्थिरताका कारक सभापति कोइराला नै हुनुहुन्छ । शासनमा आफै बस्नैुपर्ने तर शासन गर्न पनि नसक्ने उहाँको विशेषता हो । काँग्रेस वहाँको यसै प्रवृत्तिको शिकार भएकोले हतमनोबल हुन पुगेको छ । देशको सबैभन्दा ठूलो, सबैभन्दा लामो इतिहास भएको पार्टी भएर पनि हाम्रो पार्टी गिरिजाप्रसाद कोइरालाका उच्च आकांक्षाको बन्धक बनेको छ । 

साथीहरू,
हालै वितेका घटनाहरूबारे मैले तपाईंहरूलाई सविस्तार वर्णन गरिरहनुपर्छ जस्तो लाग्दैन । घटनाक्रम र श्रृङ्खलाहरूसित तपाईहरू स्वयं परिचित हुनुहुन्छ । संकटकालको म्याद बढाउने प्रस्ताव मेरा एकल निर्णय थिएन । सभापति कोइरालासित परामर्श गरे पश्चात् र वहाँको अनुमतिले सर्वदलीय बैठक बोलाएको थिएँ । बैठकमा छलफल गरी कसैले विरोध नगरेपछि संसदको २२ औं अधिवेशनको आह्वान र संकटकालीन अवस्थाको म्याद बढाउने प्रस्ताव दर्ता गरिएको थियो ।
तर, संस्थापन पक्षबाट एकाएक प्रस्ताव फिर्ता लिन दबाब आउन थाल्यो ।

यस दबादले आतङ्ककारीहरूको मनोबल बढाउने तर सुरक्षाकर्मीहरू र आम नागरिकहरूको मनोबल गिराउन चेष्टा गर्यो । संकटकालीन अवस्थाको म्याद बढाउने प्रस्ताव आतङ्ककारीहरूलाई परास्त गर्न नै  ल्याइएको थियो । सुरक्षा निकायहरूसँग विशद् विचार–विमर्श तथा उनीहरूले दिएका सूचनाहरूको विश्लेषण गरेर सरकारले पार्टीहरूसँग छलफल गरेको र सुरक्षालाई सुदृढ पार्न संकटकालीन अवस्थाको म्याद बढाउने प्रस्ताव दर्ता गरेको हो । 

के जनताको सुरक्षाका लागि आतंकारीहरूलाई परास्त गर्न जरुरी छैन ? के संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको रक्षाका लागि खटेका सुरक्षा निकायहरूलाई हामीले साथ दिनुपर्दैन ? के नेपाली काँग्रेसका कार्यकर्ताहरूलाई मारेर रगतको होली खेलिरहेका आतंकारीहरूलाई निसस्त्र गर्नु  मेरो गल्ती हो । के प्रजातन्त्र मास्न अघि सरेका आतंककारीहरूबाट मुलुकलाई त्राण दिलाउने काम गर्नु मेरो गल्ती हो । 

साथीहरू, श्रीमान् मारिएर तिनका श्रीमतीहरूको पुछिएको सिउँदो र चुरा फुटेका हातहरू सम्झनुहोस् । बाबु मारिएर अनाथ बनेका बालबालिकाहरूको दुर्दशा सम्झनुहोस् । तपाईंहरू स्वयं गाउँ–घर छोडेर लुकीछिपी अनेक कष्ट साथ विस्थापित भइरहेका मर्मान्तक अवस्थाको भुक्तभोगी हुनुहुन्छ ।

साथीहरू भन्नुहोस्, जनता र प्रजातन्त्रका शत्रुहरूलाई परास्त गर्ने अभियानमा लाग्नु के पाटी विरोधी कार्य हो । साथीहरू, श्रीमान् मारिएर तिनका श्रीमतीहरूको पुछिएको सिउँदो र चुरा फुटेका हातहरू सम्झनुहोस् । बाबु मारिएर अनाथ बनेका बालबालिकाहरूको दुर्दशा सम्झनुहोस् । तपाईंहरू स्वयं गाउँ–घर छोडेर लुकीछिपी अनेक कष्ट साथ विस्थापित भइरहेका मर्मान्तक अवस्थाको भुक्तभोगी हुनुहुन्छ । यस्तो अवस्थामा सरकार संकटकालको म्याद थप्ने निष्कर्षमा पुगेको हो । के जनता र प्रजातन्त्रको हितमा काम गर्दा प्रधानमन्त्रीलाई पार्टीले पुर्जी काट्नुपर्छ ? के पुर्जी काट्ने मानिसलाई प्रधानमन्त्री संस्था हो भन्ने कुराको ज्ञान छैन ? यसले के आभास दिएको छ भने काँग्रेसको वर्तमान संस्थापन पक्षलाई प्रधानमन्त्रीय पद्धतिको अर्थ पनि थाहा छैन । उसको व्यवहार अधिनायकवादी जस्तो छ ।

साथीहरू,
यो भेला डाक्नुको उद्देश्य, नेपाली काँग्रेसको अन्तरात्मालाई जगाएर पार्टीभित्र प्रजातान्त्रिक क्रान्ति गर्नु हो । हाम्रो पार्टी क्रान्ति जन्माउने र त्यसलाई निष्कर्षमा पु¥याउने पार्टी हो । देशमा परिवर्तन ल्याउने, नेपाली जनतालाई स्वाभिमानको मन्त्र दिने पार्टी हो । राणाशासन फ्याँकेर मुलुकमा स्वतन्त्रताको उज्यालो भित्र्याउने पार्टी हो । स्वतन्त्रता, प्रजातन्त्र र राष्ट्रियताका निम्ति आफ्नो प्राणको आहुति दिने वीर शहीदहरूको बलिदानको जगमा उभिएको पार्टी हो । तर संस्थापन पक्षबाट संघर्षले, बलिदानले र क्षमताले प्रकाशमा आएका प्रतिभाहरूको तेजोबध गर्ने दुष्कार्य भइरहेको छ ।

हामीमाथि पार्टी सभापति पक्षको कोपदृष्टि त्यसैको एउटा कडी हो । पार्टीमा पार्टीका निष्ठावान, इमान्दार कार्यकर्ताहरूलाई पन्छाएर अन्धभक्तहरू भर्ना गर्ने काम भइरहेको छ । काँग्रेसबाट काँग्रेस पन्छाउने दुष्चक्र रचिएको छ । काँग्रेसको वर्तमान विचलनका पछाडि यही नै प्रमुख कारण हो भन्ने मेरो मत छ । काँग्रेस प्रजातान्त्रिक पाटी हो, तर यसको संस्थापन पक्षको आचरण त्यसका विरुद्ध छ । काँग्रेस स्वतन्त्रताको योद्धा हो, तर सभापतिको पक्षले पार्टीका सदस्यहरूलाई निस्तेज बनाउने तानाबाना बुनेको छ । काँग्रेस अग्रगामी पार्टी हो, तर संस्थापन पक्षले पार्टीलाई यथास्थितिको भासमा हालेको छ ।

यहाँनेर स्पष्ट पार्न चाहन्छु, म सँधै पार्टी एकताको पक्षमा छु । तर, महामन्त्रीबाट २४ घण्टे पुर्जी कट्ने काम भयो । मलाई अनुशासन समितिले पहिला निलम्बन, त्यसपछि पार्टीको साधारण सदस्यबाट निष्कासन गर्यो । मैले विधान बमोजिम केन्द्रीय समितिमा गरेको पुनरावेदनको वेवास्ता गर्दै मेरो नाउँ हटाएर निर्वाचन आयोगमा जेठ २४ गते नै पार्टी दर्ता गर्ने काम भयो । अझ केन्द्रीय कार्यसमिति नै नबसी कथित अवधारण–पत्रका नाउँमा मेरा विरूद्ध पर्चाबाजीका कामहरू भए । संस्थापन पक्ष दुई दुई जना प्रतिनिधिहरू जिल्ला जिल्ला पठाएर मेरा विरूद्ध जबर्जस्ती हस्ताक्षर गराउने अभियानमा लाग्यो । संस्थापन पक्ष पार्टी एकताको विरोधी हो भन्ने कुराको पुष्टि गरेको छ ।

साथीहरू,
सभापति कोइरालाका विचित्र मान्यता छन् । वहाँ आफू प्रधानमन्त्री भएका बेला प्रधानमन्त्रीय पद्धतिलाई बलियो बनाउनुपर्छ भन्नु हुन्थ्यो तर सभापति भएका बेला प्रजातन्त्र सभापतीय पद्धति भएझै गरेर प्रस्तुत भइरहनुभएको छ । वहाँले बनाएका परिभाषाहरू संस्थालाई केन्द्रमा राखेर किमार्थ बनेका हुँदैनन् । आफूलाई केन्द्रमा राखेर बनेका हुन्छन् । यस घडीमा म हाम्रो पार्टीका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई गिरिजाबाबुले प्रधानमन्त्रीबाट हटाएको दृश्य झल्झली सम्झिरहेको छु । संवत् २०५६ सालको आमनिर्वाचनपूर्व गिरिजाबाबुले किसुनजीलाई भावी प्रधानमन्त्रीको रूपमा घोषणा गर्नुभएको थियो ।

फलस्वरूप, चुनावमा काँग्रेसले बहुमत ल्यायो, किसुनजी प्रधानमन्त्री बन्नुभयो । तर, वहाँ एक दिन मात्र पनि सञ्चले बस्न पाउनु भएन । साता दिन नपुग्दैदेखि गिरिजाबाबु निहुँ खोज्न थाल्नु भयो । तपाईंहरूलाई थाहा छ, किसुनजीको प्रधानमन्त्रीत्वका बेला वहाँले देशमा मुर्दा शान्ति छाएको भनेर असन्तोष व्यक्त गर्नुभएको थियो । तर, वहाँको असन्तोषको कारण शान्ति–अशान्ति केही होइन । आफ्नो नामको प्रारम्भमा प्रधानमन्त्री थप्नु मात्र हो ।

साथीहरू,
पाँचदशक प्रजातान्त्रिक आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्दै २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर हुनुभएका आदरणीय गणेशमान सिंहलाई गिरिजाबाबु प्रधानमन्त्री हुँदा गरिएको अपमान इतिहासमा अंकित भइसकेको छ । प्रधानमन्त्रीको पदमा बस्नसमेत अस्वीकार गर्ने त्यागी, तपस्वी नेताले त्यसरी पीडाको आँसु झार्नुपरेको कुरा हरेक कार्यकर्ताको मन र मुटुमा बिझेर बसेको छ ।

साथीहरू, 
अब यस्तो अवस्थामा के गर्ने ? हामीसित यसको उत्तर छ । नेपाली काँग्रेसलाई स्वाभीमानीहरूको पार्टी बनाउन झुकेका शिरहरू उठ्नु र उठाउनुपर्छ । पार्टीलाई हुकुम र हैकमबाट मुक्त गर्नुपर्छ र अब त्यो काम हामी आफैँले गर्नुपर्छ । काँग्रेस निष्ठावान प्रजातन्त्रवादीहरूको पार्टी हो । यसमा आज एकाधिकारवादीहरू पसेका छन् । तिनलाई चिन्न सक्नुपर्दछ । काँग्रेस उँचो शिर गरेर हिँड्ने निर्भय कर्मयोद्धाहरूको पार्टी हो । यसको संस्थापन पक्ष आज प्रजातान्त्रिक मर्यादा विपरीत चलेको छ । तिनलाई निस्तेज पारेर त्यहाँ काँग्रेसजनहरू बस्नुपर्छ ।

आजको यस भेलामा कतिपय साथीहरू उपस्थित हुन नसक्नुभएको हुन सक्छ । मैले उल्लेख गरेका यथार्थ र सत्य तथ्यहरूलाई अनुभव गरी निष्ठावान साथीहरूले पार्टीलाई विकृति र विसंगतिबाट मुक्त गराउने हाम्रो अभियानमा पूरा साथ दिनुहुन म हार्दिक अनुरोध गर्दछु यहाँ अझ, दोहो¥याएर के भन्न चाहन्छु भने, म पार्टी एकताकै पक्षमा छु तर प्रतिक्षाका लागि समय अत्यन्त कम छ । अनेक वाधा र व्यवधानहरू पार गर्दै यस भेलामा उपस्थित हुन आउनु भएका साथीहरूप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु । जय नेपाल !

(स्रोतः  नेपाली काँग्रेस ऐतिहासिक दस्तावेजहरू)


Author

थप समाचार
x