विचार

नेपाली फिल्म नचलेको दोष कसलाई दिने ?

सामीप्यराज तिमल्सेना |
साउन २२, २०७९ ११:५७ बजे

फिल्मकर्मी : नेपाली फिल्मलाई माया गरौँ
दर्शक : माया गरौँ भनेर मात्र हुन्छ , माया गर्ने लायक चैँ बनाउन पर्दैन ? 

धेरै वर्षदेखि चलिरहेका सवाल जवाफ हुन् यी । नेपाली फिल्मलाई माया गरौँ भनेर रटान दिने नेपाली चलचित्रकर्मी अधिकांश समय ‘माया पाउन’ गरिनुपर्ने न्यूनतम कर्म गर्न भने कष्ट गर्दैनन् । यसपछि सुरु हुन्छ दोषारोपणको शृंखला । चलचित्रकर्मी कहिले यसका लागि हलवालालाई सत्तो सराप गर्छन् त कहिले दर्शकलाई ।

आजभोलि धारेहाते लगाउनलाई चलचित्र विकास बोर्ड नामको बिचरो संस्था पनि छ । आफैँ सबलाङ्ग नभएको यो संस्थाले पनि विदेशी फिल्मको अतिक्रमण रोक्न केही नगरेको चलचित्रकर्मीको गुनासो छ । ‘कबड्डी ४’ले २३ करोडको ऐतिहासिक व्यापार गर्ने क्रममा हिन्दी फिल्मलाई पाहा पछारेझैँ पछारेको  ताजा उदाहरण नहुँदो हो त यो पालि विदेशी फिल्मको अतिक्रमण चलचित्रकर्मीको जीवनमरणको मुद्दा हुन्थ्यो । 


‘कबड्डी ४’ पछि रिलिज भएका कुनै पनि नेपाली फिल्मले अपेक्षित व्यापार गरेका छैनन् । यसमा दर्शक÷चलचित्रकर्मी दुवैले आश गरेका ‘चिसो मान्छे’, ‘दोख’, ‘पानीफोटो’आदि फिल्म छन् । यी फिल्म नचलेपछि कोही निर्देशक आफूले प्रयोग गरेका विम्ब दर्शकले नबुझेको टिप्पणी गरिरहेका छन् त कोही आफूले बनाएका फिल्म बुझ्न दुई चार वर्ष लाग्ने तर्क गरिरहेका छन् । कोही निर्देशक सिनेमा लिट्रेसीको अभावले पनि आफ्ना फिल्म नचलेको तर्क गरिरहेका छन् ।

सबै टिप्पणीमा सत्यका अंश होलान् तर आफूले बनाएको फिल्म कमजोर थियो  भनेर कुनै निर्देशकले स्वीकार्न चाहेको देखिँदैन । जबकि अहिले नचलेका फिल्मको सबैभन्दा ठूलो सत्य यही हो । भर्खरै असफल भएका फिल्मको एकसरो कथा त आकर्षक छ तर त्यसमा दर्शक लोभ्याउने प्रस्तुति छैन । दर्शकतिर चौर औँला ठड्याइरहँदा बाँकी औँलाले फिल्मकर्मीलाई प्रश्न गरिरहेको पनि बिर्सनुहुन्न । नत्र भने आरोप प्रत्यारोपको शृंखला त चलिरहन्छ तर नेपाली फिल्म जहाँको तहीँ झुण्डिरहन्छ । 

अहिले वा भविष्यमा पनि फिल्म चल्ने वा नचल्ने कुराको केन्द्रमा केवल दुई चिज रहन्छन्, दर्शक र फिल्म । अनि यसमा सर्वमान्य मान्यता के हो भने फिल्म राम्रो भए दर्शक आउँछन्, नभए आउँदैनन् । तर यो सामान्यीकृत भनाइमा अनेक आयाम छन् । राम्रा मानिएका कतिपय फिल्ममा दर्शक आउँदैनन् । हलले पर्याप्त सो दिन्नन् वा भनौँ हललाई प्रभावित गर्ने गरी प्रचारप्रसार गर्न निर्मातासँग पैसा हुन्न । दर्शक नआउने सम्भावना भएका फिल्मलाई हलले पनि सो दिन्नन् । आफूलाई पायक पर्ने समयमा फिल्म हेर्न नपाएपछि दु:ख गरी गरी कुनै पनि दर्शक फिल्म हेर्ने कष्ट गर्दैनन् । नेपालमा ग्यारेन्टी के छ भने यसरी छुटेका फिल्म एकाध महिनापछि युट्युबमा नि:शुल्क उपलब्ध भइहाल्छन् । 

तर यो सबै कुरा पर राखेर अहिलेको आयामलाई मात्र हेर्ने हो भने अलि कठोर भएर भन्नै पर्ने हुन्छ, दर्शकको सिनेमा लिट्रेसी मात्र अहिलेको फिल्मको असफलताका लागि जिम्मेवार हैनन्, धेरथोर फिल्म पनि जिम्मेवार हुन् । मास नआउने सिनेमा बनाएर मासको अपेक्षा गर्नु पनि फिल्मकर्मीको कमजोरी हो । सिनेमा लिट्रेसी नभएका दर्शक हेर्न नजानु एउटा समस्या हो तर लिट्रेसी भएका दर्शकले यस्ता फिल्मबाट आँत भर्न नपाउनु पनि उत्तिकै समस्या हो । 

नेपाली दर्शकले कहिल्यै पनि गम्भीर विषयमा बनेका फिल्मलाई उत्पात माया गरेका छैनन् । हल्काफुल्का मनोरञ्जन दिने फिल्ममा नै दर्शक ओइरिएका छन् । पछिल्लो समय रिलिज भएका फिल्म हुन् वा अब आउने केही दिनपछि रिलिज हुने केही फिल्म हुन्, तिनले भन्न लागि फरक कथा छानेका छन् । यस्ता फिल्मबाट बक्स अफिस सफलता आश गर्नुअघि विश्व सिनेमाको इतिहास वा आफ्नै इतिहास हेर्नुपर्ने हुन्छ । मनोरञ्जनको मतलब मान्छेअनुसार सापेक्ष हुन्छ । तर चलिरहेको ट्रेन्ड के हो भने ‘मसला पटबोइलर’मा दर्शकको रुचि धेरै छ । यो रुचिभन्दा पर रहेर बनाइएको सिनेमामा दर्शक संख्या उसै कमी हुन्छ ।

नेपालमा हामीले यो शैलीभन्दा पर रहेर फिल्म बनाउँदा यो कुराको हेक्का राख्नुपर्छ । विश्वभर नै नभएका दर्शक नेपाली हलमा खोजेर पाइन्न । तर यसको मतलब सधैँ दर्शकको रुचि जे छ त्यही सिनेमा मात्र बनाउँछु भन्नु पनि सर्जकको धर्म भित्र पर्दैन । यो हिसाबमा अहिले भइरहेका प्रयत्न धाप मार्न लायक छन् । तर यसैको भरमा दर्शकलाई तैँले बुझिनस् भनेर धागा धर्नु सर्जकका लागि सुहाउने कुरा हैन । अहिले दर्शकमा दोष देखिरहेका निर्देशकले बुझन् जरुरी छ, हिजो तिनै दर्शकले यिनै निर्देशकले, यसरी नै फरक कथामा बनाएका फिल्मलाई औधी माया गरेका थिए ।  

हामी उपभोक्तावादको यस्तो चरणमा छौँ जहाँ उपभोक्ताको निर्णय सर्वोपरि हुन्छ । पैसा तिर्नु परेपछि दर्शकलाई जे हेर्न मज्जा आउँछ, त्यही हेर्ने हो । मज्जा आउँदैन भने कसैले पनि उसलाई त्यो फिल्म हेर्न बाध्य पार्न सक्दैन । यो कसीमा हेर्दा नेपालमा रिलिज हुने अधिकांश फिल्म माया गर्ने त के हेर्नै नसकिने अवस्थामा हलमा पुग्ने गरेका छन् । यो समस्यामा कुनै ‘इफ बट’को गुन्जायस हुन्न । तर राम्रा भनिएका फिल्म पनि नचल्दा कसलाई दोष दिने ?

जसरी उपभोक्तालाई आफूसँग भएको पैसाले अधिकतम् सन्तुष्टि दिने सामान किन्ने अधिकार छ त्यसरी नै दर्शकलाई पनि रोज्जा फिल्म हेर्ने अधिकार छ । तर नेपाली भन्ने बित्तिकै नाक खुम्च्याउने र विदेशी भन्ने बित्तिकै वाह वाह भन्ने मनोविज्ञान कसरी निर्माण भइरहेको छ ? यसमाथि भने प्रशस्त बहसको खाँचो देखिएको छ । 

प्रदर्शकले नेपाली फिल्मभन्दा विदेशी फिल्मलाई महत्व दिने गरेको निर्माताको सदाबहार गुनासो छ । यो गुनासोलाई देशको फिल्म नीतिले पनि बलियो बनाएको छ । सरकारले स्थापना गरेको चलचित्र विकास बोर्ड यही हिन्दी फिल्म दर्शकले हेरिदिए वापत आउने करमा चल्छ । हिन्दी फिल्ममा दर्शकले मनोरञ्जन शुल्क शीर्षकमा तिर्ने पैसा नै विकास बोर्डको मुख्य कमाइ हो । यसैले प्रदर्शकको हिन्दी फिल्मको मोह र नेपाली फिल्मलाई नीतिगत सहजीकरणमा बोर्डले खेल्नुपर्ने भूमिकाको ‘ग्याप’को अर्थ स्पष्ट हुन आउँछ । अवस्था यस्तो छ कि हिन्दी फिल्म नचल्ने हो भने बोर्डले कुम्लो कुटुरो बोक्नुपर्छ । तर यस्तो विचित्रको व्यवस्थाविरुद्ध हामीले राज्यलाई ‘कन्भिन्स्ड’ गर्न सकेका छैनौँ । यसले हर तरहले विदेशी फिल्मको माहोल बनिरहेको छ । 

यो सबैको साझा सन्देश के हो भने राज्यले पनि नेपाली फिल्ममा दर्शक आउने वातावरण निर्माणका लागि पहल गर्न जरुरी छ । अनि यत्तिकै दायित्व प्रदर्शकको पनि छ । ठूलो बजेटमा बनेका र प्रचार प्रसारमै करोडौँ खर्च गरेका फिल्मलाई मात्र पायक पर्ने सो होइन सानो स्केलमा बनेका फिल्मलाई पनि यो जमिन दिन जरुरी छ । खेल्ने जमिन बराबर भयो भने मात्र हारजितको निर्क्योल गर्न सजिलो हुन्छ । यहाँ त नाच गाना र फाइट नभएका फिल्म देख्यो कि फरक धारका फिल्मको ट्याग भिराएर सो दिँदै नदिने वा दिए पनि कम दिने चलन छ । अण्डा पहिला कि चल्ला भनेझैँ पहिला राम्रो फिल्म बनाउने कि ठीकठाक  फिल्ममा दर्शक आइदिएर राम्रो बनाउन दबाब दिने ? बहसको एउटा कोण यो पनि हुनसक्छ ।

ठीक हो, राम्रा बनेको फिल्म पनि हेर्न नगएर नेपाली फिल्म गतिलै बन्दैनन् भनेर आलोचना गर्ने दर्शकको अलिकति झाँको झारौँ तर हलमा फिल्म हेरेर चित्त नबुझाएका दर्शकलाई भने तिमीहरूले फिल्म नै बुझेनौ भनेर उनीहरूको ज्ञानलाई पनि अवमूल्यन नगरौँ ।  शाहरुख खानले पनि बलिउड फिल्म ‘चेन्नई एक्सप्रेस’मा भनेका छन् ‘ डन्ट अन्डरस्टिमेट दि पावर अफ अ कमनमेन ।’


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
ad
x