विचार

तीजमा रत्यौली खेलिँदैन दिदीबहिनी हो !

महेश्‍वर आचार्य |
भदौ १०, २०७९ शुक्रबार २०:२३ बजे

हिजोआज सामाजिक सञ्जालमा महिलाहरूका अनौठा नाच सार्वजनिक भइरहेका छन् । ती नाचहरू स्वयं तिनै नर्तकीहरूले पनि आफ्ना परिवारका सम्पूर्ण सदस्यसँग बसेर हेर्न नसकिने खालका छन् । कतिपयले माफी मागेका खबर पनि आइरहेका छन् । जोसमा वा नशामा नाचिदिए, नाचेको मात्र भए केही बिग्रिएको थिएन, सामाजिक सञ्जालमा पनि राखिदिए । पछि सोचेभन्दा बढी फैलियो अनि आफैँलाई हीनताबोध उत्पन्न भयो अनि माफी माग्नुपर्यो । 

कतिपय जसरी पनि चर्चा कमाउन खोज्ने व्यक्तिहरूलाई भने हीनताबोध हुँदैन । चर्चाभित्र उनीहरूको निहित स्वार्थ लुकेको हुन्छ । उनीहरू आफ्नो अधिकारका कुरा गर्छन् । स्वतन्त्रताको कुरा गर्छन् । आधुनिक युगका कुरा गर्छन् । तिनीहरूको लक्ष्य व्यावसायिक हो भनेर अन्य सर्वसाधारणले बुझ्न जरुरी छ ।


संस्कृति कि विकृति ? 

यो विकृति हाम्रो आफ्नो संस्कृति परम्परालाई हामीले नमान्दा नै उत्पन्न भएको हो । उहिलेका महिलाहरू सधैँभरि घरभित्र सीमित रहने हुँदा कहिलेकाहीँ पूर्णरूपमा स्वतन्त्र रहून भनेर त्यस्तो अवसर पनि दिनुपर्ने कुरा हाम्रो इतिहास र परम्पराले स्वीकार गरिसकेको छ । त्यसैले हाम्रा अग्रजहरूले ‘रत्यौली’ भन्ने एउटा पर्व नै स्थापित गरिदिएका छन् । 

के हो रत्यौली ?

रत्यौली दुलहाले दुलही लिन जन्ती लिएर हिँडेको दिनकै राती दुलाहाको आमा, दिदीबहिनी तथा अन्य महिला नातेदार र छरछिमेकका महिलाहरूको सहभागितामा दुलाहाको घरमा नाचिने एउटा उच्छृंखल नाच हो । जुन नाच हेर्न पुरुषलाई बन्देज गरिएको हुन्छ भने महिलाहरू विभिन्न छाडा शब्दमा गीत रचेर गाउने र त्यही अनुसारको हाउभाउ गरी नाचेर एउटा स्वतन्त्रताको उच्चतम अभ्यास गर्दछन् । हाल सामाजिक सञ्जालमा देखिएका दृश्यहरू रत्यौलीसँग मिल्दाजुल्दा छन् ।

घरमा गरिने कार्यक्रम पार्टी प्यालेसमा गर्नुसम्मलाई स्वीकार्नुपर्ने हुन्छ । खानपिनको प्रकृति तथा परिकारको संख्या थपघट हुन सक्छ । यद्यपि तीजलाई रत्यौली बनाउन पाइँदैन

हाल आएर हाम्रा धेरै परम्परा र रीतिरिवाज ओझेलमा परेजस्तै रत्यौली पनि ओझेलमा पर्यो । जन्तीमा महिला पुरुष सबैको सहभागिता हुन थाल्यो । बिहे पार्टी प्यालेसमा हुन थाले । दिउँसै बिहे सुरु हुने र बेलुका सकिने गर्न थाले । फलतः महिलाहरूले कहिलेकाहीँ आफूलाई अनमत्त गर्न सकेनन् । यो अनमत्त एक प्रकारको थेरापी रहेछ जुन हाम्रा अग्रजहरूले पहिचान गरिसकेका थिए । हामी जतिसुकै आधुनिक युगका कुरा गरे पनि यो युगमा जन्मनुमा हाम्रो कुनै रोजाइ र योगदान छैन । मान्छे पुरानो युगमा जन्मिनु र नयाँ युगमा जन्मनुमा स्वयं उसको कुनै भूमिका नै छैन भने किन घमण्ड गर्ने म आधुनिक युगमा जन्मिएको भनेर ? फेरि अबको सय वर्षपछि जन्मिने मानिसले पनि आफूलाई आधुनिक भन्दै सबै जानेबुझेको स्वघोषणा गर्ला अनि आजका हामीलाई पुरानो जमानाका केही नजानेका चेतनाहीन लठैत भनिदेला । स्वीकार्य छ हामी चेतनाहीन लठैत हौँ त ?

शरीर र आधुनिकताको सम्बन्ध 

हाम्रो आविष्कार के रह्यो ? हाम्रो सिर्जना के रह्यो ? देश र समाजप्रति हाम्रो योगदान के रह्यो ? अर्थात् आफैँले आविष्कार गर्न सिर्जना गर्न नसके पनि पूर्वजले रचेका रचनाको जगेर्ना के रह्यो ? केही पनि छैन भने हामी दुःखी बन्नुपर्दछ । आफ्नो शरीरका अंगहरूको प्रदर्शन, उत्तेजक हाउभाउ र कथित भाइरल नै आधुनिकताको परिभाषा होइन । 

शरीर र त्यसमा निहित अंगहरू त मानवको मात्र होइन पशुपक्षी र किराफट्यांग्राले पनि पाएका छन् र तिनलाई प्रदर्शन गरेर आफू अब्बल हुँ भन्नुको कुनै तुक छैन । यौन क्रियाकलापमाथि उल्लिखित सबै जीवजन्तुले गर्दछन् । यो जन्मजात प्राप्त प्राकृतिक प्रक्रिया हो र प्राचीन कालमा पनि मानिसहरू यौन सम्पर्क गर्दथे । त्यसैले यस्ता हाउभाउ देखाएर कस्तो आधुनिक मानवको परिचय दिन खोजिएको हो ? जब कि शरीर र यौन सम्पर्कको आधुनिकतासँग कुनै सम्बन्ध छैन । 

आधुनिकता भनेको समयानुकूल बन्नु हो । समयानुकूलता भनेको इतिहासको संरक्षण, वर्तमानको सन्तुलित आत्मसात् र भविष्यको सुन्दर योजनाको एउटा अनुपम मिश्रण हो । अधिकार र दायित्वको सन्तुलन हो । आफ्नो क्रियाकलापले अर्कोलाई के प्रभाव पर्छ भन्ने चेतनामूलक कदम हो । समाजमा बसेपछि सामाजिक पनि बन्नुपर्छ । आफ्नो मात्र मर्जी जंगलमा मात्र चल्छ । एकान्तमा वा आफ्नो कोठाभित्र मानिस जे पनि गर्न मिल्छ तर त्यसैलाई भिडियो बनाएर सामाजिक सञ्जालमा राख्नेबित्तिकै त्यो भिडियो सामाजिक बन्दछ । त्यसको हेक्का राख्न जरुरी छ । 

सामाजिक सञ्जालमा उठेका प्रश्नहरू 

समाज कस्तो छ भने यकातिर जानी नजानी यस्तो हर्कत गर्नेहरूपछि पश्चात्ताप गरिरहेका छन् अर्कोतिर कतिपय स्वघोषित आधुनिक नारीहरू सामाजिक सञ्जालमा तिनै माफी मागिसकेकाहरूको समर्थनमा जोड्तोडले बहस गरिरहेका छन् । उनीहरूको प्रश्न छ, ‘तीज भनेको उहिले जे गरिन्थ्यो त्यति मात्र हो ?’ ‘आफ्नो इच्छाले बाँच्न नपाउने ?’ महिलालाई स्वतन्त्रता नै छैन ।’ आदि इत्यादि । त्यसैमा ‘हो हो र छ छ’ भन्नेहरू पनि भेटिन्छन् । त्यति भएपछि त झन् उनीहरू आफूलाई नेता नै ठान्ने भइहाले । 

प्रश्नका उत्तर पनि हुन्छन् ।

यी प्रश्नहरूका उत्तर पनि छन् । हो तीज भनेको उहिले जुन मर्म र भावनाअनुसार मनाउनु भनेको छ त्यति नै हो । समय काल परिस्थितिले तपसिलका विषयमा परिवर्तन आउलान् यद्यपि मर्म र भावना उही बाँच्नुपर्छ । घरमा गरिने कार्यक्रम पार्टी प्यालेसमा गर्नुसम्मलाई स्वीकार्नुपर्ने हुन्छ । खानपिनको प्रकृति तथा परिकारको संख्या थपघट हुन सक्छ । यद्यपि तीजलाई रत्यौली बनाउन पाइँदैन । त्यसो भए कुकुर तिहारको दिन भाइ पुज्ने र भाइटिकाको दिन कुकुर पुज्ने गर्न मिल्छ त ? दसैँमा नवदुर्गा भवानीको पूजा गर्न र ठूलाबडाको हातको टिका लगाउन छोडेर दिदीबहिनीले दाजु भाइलाई टिका लगाउन मिल्छ त ? 

समग्रमा भन्ने हो भने अहिले पुरुषलाई भन्दा महिलालाई धेरै स्वतन्त्रता छ, सहुलियत छ । स्वतन्त्रता भनेको छाडापन होइन

त्यसरी युगौँदेखि चलि आएको परम्पराको विनाश गरेर चाडपर्व मनाउनुभन्दा बरु नमनाएकै जाती । कम्तीमा यिनीहरूको मर्म त मर्दैन । हाम्रा हरेक चाडपर्वका आफ्नै मूल्य–मान्यता छन् । जस्तो रत्यौली महिलाको एक थेरापी भनेर अग्रजले पहिचान गरेका छन् । त्यसैले संस्कृतिको जगेर्ना गरौँ । जगेर्ना गर्न सकिँदैन भने विनाश गर्ने अधिकार कसैलाई छैन । ‘तीज’ तीज नै हो रत्यौली बनाउन पाइदैन । रत्यौलीको आफ्नै तालिका छ । तालिकाको पालना गरौ । 

आफ्नो हिसाबले मात्र बाँच्न पाउने उद्देश्य बोकेर समाजमा बस्न सकिँदैन । समाजमा बसेपछि सामाजिक बन्न जान्नुपर्छ । हो, त्यस्ता हर्कतले कसैलाई केही आर्थिक, बौद्धिक वा सम्मानमा योगदान गर्दछ भने पनि एउटा बहसको पाटो रहन सक्थ्यो यद्यपि यी हर्कतले केही समयपछि आफैँलाई हीनताबोध पैदा गराउँछ । आफ्नो सासूससुरा, सम्धीसम्धिनी, मामामाइजू तथा देवरजेठाजुसँगै बसेर ती भिडियो तिनै नर्तकीले हेर्न सक्छन् ? एउटी शिक्षिका आफ्ना विद्यार्थीसँगै बसेर त्यस्ता आफ्नै नाचका भिडियो हेर्न सक्छिन् ? सक्दैनन् भने त्यो नाच सामाजिक होइन । गोप्य रूपमा गर्नुपर्ने क्रियाकलाप हो । जसको हेक्का राखेरै हाम्रा पुर्खाले रत्यौलीको सुरुवात गरे र पुरुषलाई बन्देज गरे । 

भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने कस्ता विषय हुन् भन्ने जनचेतनाको पनि कमी देखिन्छ । हिजोआज जता पनि अधिकारका मात्र कुरा हुन्छन्, कर्तव्यका कुरा हुँदैनन् । नैतिकताका कुरा हुँदैनन् । हाम्रो शिक्षा प्रणाली नै गलत छ त्यसैले पढेलेखेका मानिस समेत यस्ता उच्छृंखल गतिविधिमा संलग्न छन् वा त्यस्ता गतिविधिको प्रवद्र्धन गरिरहेका छन् । नैतिक शिक्षा हटाएर राज्यले ठूलो गल्ती गरेको छ । अधिकारसँगै कर्तव्यको बोध नैतिक शिक्षाले सिकाउँथ्यो । 

महिलालाई स्वतन्त्रता छ कि छैन भनेर विस्तृतमा जान थाल्यो भने यो आलेख धेरै लामो बन्न सक्छ । समग्रमा भन्ने हो भने अहिले पुरुषलाई भन्दा महिलालाई धेरै स्वतन्त्रता छ, सहुलियत छ । स्वतन्त्रता भनेको छाडापन होइन । यी हर्कतहरूको धेरै महिलाहरूले नै कडा विरोध गरेको सामाजिक सञ्जालमै देखिन्छ । यसको मतलब धेरै महिलाहरू वास्तविक रूपमै आधुनिक छन्, सचेत छन् । अधिकांश महिलाहरूले नै विरोध गर्ने र पचाउन नसक्ने हर्कत प्रस्तुत गरेर त्यसलाई महिला अधिकारसँग जोडेर लैंगिक विभाजन र साम्प्रदायिक स्वार्थ लुट्न मिल्दैन । गल्ती कमजोरी व्यक्तिको हुन्छ यद्यपि यहाँ त्यसलाई ढाकछोप गर्न लैंगिक, जातीय, धार्मिक र साम्प्रदायिक मुद्दा बनाइदिने गलत बाटोबाट समाज घस्रिरहेको छ । यो स्वस्थ समाज होइन रोगले जीर्ण बनेको घाइते समाज हो । 

आफूले नयाँ र उपलब्धिमूलक चीजको आविष्कार गरेर स्वतन्त्रताको फाइदा लिनु बुद्धिमानी हो । विदेशीको वा कुनै अर्को व्यक्तिले गरेको कुनै हर्कतको नक्कल गरेर कथित भाइरल बन्नु स्वतन्त्रताको दुरुपयोग हो । कुनै व्यावसायिक फिल्म भ्युज बढाएर पैसा कमाउने दाउमा हुन्छ । कुनै नेतागिरी गर्नुपर्ने वा चर्चा बटुल्नुपर्ने व्यक्ति कसरी भाइरल बनु भनेर हर्दम मौका कुरेर बसेको हुन्छ । तिनीहरूको निहित स्वार्थमा लागेर तिनीहरूको नक्कल गरेर आफू उल्लु बन्नु स्वतन्त्रता होइन, बहकाउ र भड्काउ हो । 

अन्त्यमा, 

स्वतन्त्रता पनि लगामसहितको हुनुपर्छ । त्यो लगाम भनेको समाज हो । समाजमा बस्नलाई आफ्नो अधिकार मात्र खोजेर हुँदैन कर्तव्यको पनि पालना हुनुपर्छ । अधिकार र कर्तव्यलाई सन्तुलनमा राख्न सक्ने व्यक्ति नै समयानुकूल चल्न सक्ने आधुनिक व्यक्ति हो, शिक्षित व्यक्ति हो । 

हाम्रा हरेक परम्पराका आफ्नै सामरिक महत्व छन् । हाम्रा पुर्खा कथित आधुनिक नरहे पनि हामीभन्दा धेरै दूरदर्शी, बुद्धिमान् र सृजनात्मक रहेछन् भन्ने पुष्टि हुँदै गइरहेको छ । त्यसैले आफूले केही जोड्न सकिँदैन भने तोड्ने काम पनि नगराैँ । रत्यौलीलाई पुनःस्थापना गरौँ, तीजलाई तीज नै रहनदिऊँ । 


Author

थप समाचार
x