विचार

रुस–युक्रेन युद्धको वैश्विक प्रभाव र नेपाल

रघुनाथ अधिकारी 'निलमशेखर' |
असोज १९, २०७९ १७:३ बजे

फाइल फोटो

नेपालमा प्रभाव

गत फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गर्नुभन्दा करिब डेड महिना अगाडि हुनुपर्दछ मलाई छोरीले प्रश्न गरिन् ‘बाबा साँच्चै रुस र युक्रेन बीच युद्ध भए त्यसको असर नेपालमा कस्तो पर्ला?’ मेरो पनि मस्तिष्कको अर्धचेतन मनमै युद्धको त्रासदीसँग सम्बन्धित भएर कुरा खेलिरहेको थियो तर छोरीको प्रश्नले मेरो चेतन मन मै रुस युक्रेन युद्धका सम्भावित प्रभावले औपचारिक स्थान बनायो।


छोरीको प्रश्नले म आपतमा परेँ। किनभने म अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति र परराष्ट्र मामिलाको विद्यार्थी थिइन। यद्यपि म जुन समाजमा हुर्किएँ र जसरी मेरो सामाजिक मनोविज्ञानको निर्माण भयो, त्यहाँ ‘म यो विषयमा जान्दिन छोरी तिमी र म भएर यसका बारेमा थप जानकारी खोजौँ’ भनेर भन्नुपर्ने गरीको आदर्श बाबा बनिसकेको छैन। बाबा भइसके पछि जान्नै पर्ने, र नजान्ने सुविधा नभएको हुँदा मैले उनलाई युद्ध भएमा यसका सम्भावित ५ वटा परिणाम हुन सक्लान् भनी बताएको थिएँ।

मैले उक्त प्रश्न उत्तर दिँदा युक्रेन र रसिया नेपाल भन्दा निकै टाढा भएको हुँदा सिधै हतियार, सेना र शरणार्थीहरूको प्रवेश हाम्रो भूभागमा नपर्ने तर केही पक्षहरूमा नेपाल अप्रत्यक्षरूपमा प्रभावित हुने कुरा बताएँ जुन निम्नानुसार थिए: 

१) युद्धले युरोपको अर्थतन्त्रमा प्रभाव पार्ने भएको हुँदा त्यहाँबाट नेपालका लागि प्राप्त हुने अनुदान र आर्थिक सहयोग कटौती हुन सक्ने,

२) युक्रेन, रुस र आसपासका देशहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरू र आप्रवासी कामदारहरूको वैयक्तिक सुरक्षा, अध्ययन र अर्थतन्त्र प्रभावित हुन सक्ने,

३) युद्धमा प्रयोग हुने गोलीगठ्ठा, बमबारुद, विस्फोट र आगजनीका कारण प्रदूषण बढ्न सक्ने र जैविक विविधतामा प्रभाव पर्ने,

४) अन्तर्राष्ट्रिय मञ्चहरूमा युक्रेन वा रुसमध्ये कुनै एकको पक्ष लिन नेपाल बाध्य हुनुपर्ने हुँदा तटस्थता र असंलग्न परराष्ट्र नीति प्रभावित हुने, र

५) शक्ति राष्ट्रबाट आफ्नो छिमेकमा गरिएको आक्रमण अन्य शक्तिशाली राष्ट्रहरूका लागि नजिर बन्ने सम्भावनाबाट उत्पन्न हुने मनोवैज्ञानिक असुरक्षा हामीलाई पनि हुने।

मैले छोरीलाई दिएका माथिका ५ सम्भावित उत्तरलाई युद्ध सुरु भैसकेपछिको करिब १ महिनाभित्रको अवस्थासँग तुलना गर्दा युद्धका कारण नेपालीको भान्सामा प्रयोग हुने भुटुन (खानेतेल) को अभाव हुने छ; पेट्रोलियम पदार्थको मूल्य झण्डै १०० प्रतिशतले बृद्धि भई आपूर्ति सञ्जाल (सप्लाईचेन) प्रभावित भई जताततै महँगी बढ्नेछ; नेपाली रुपैयाँ डलरको तुलनामा इतिहासकै सबैभन्दा कमजोर मुद्रा हुने छ; अनि बलिया राष्ट्रले नक्कली जनमतसंग्रह गराइ कमजोर राष्ट्रको भूभाग आफ्नोमा गाभ्नाले विश्वको शक्ति सन्तुलनमा फेरबदल आई विश्व व्यवस्था अन्योलपूर्ण हुनेछ; विश्व समुदायले युद्धरत राष्ट्रहरूको पक्ष र विपक्षमा प्रत्यक्ष र अप्रत्यक्षरूपमा उभिनुले यसले विश्वयुद्धको स्वरूप लिन सक्नेछ; हतहतियारमा ठूलो धनराशी खर्च हुनाले आर्थिक मन्दी र विश्वव्यापी गरिबी बढ्न सक्छ भनेर छोरीलाई जवाफ दिन युद्ध भएका करिब सात महिना पर्खनुपरेको छ; र अन्य असर त अहिले पनि थाहा छैन।

अझ कीभ र मस्कोबाट हजारौं किलोमिटर टाढा रहेको नेपालमा सञ्चारको पहुँच भित्र रहेको एक सचेत नेपालीले रुस र युक्रेन बीचको युद्धसँग सम्बन्धित समाचार माथि दिनमा कति पटक नजर डुलाउँदा हुन्? युद्धबारे अमुक देशको पक्ष र विपक्षका बहसमा विभाजित नेपाली बुद्धिजीवीहरू र त्यसले बढाउने अन्तरविरोधको लेखाजोखा छैन। युद्धबारे छिमेकका राष्ट्रहरूले लिने अडानमा आफ्नो विदेश नीति मिलान गर्ने मनोवैज्ञानिक दबाब के कति खेप्नु परेको छ; श्रीलङ्काको जस्तो अर्थव्यवस्था र ऊर्जा संकटको चिन्ता; हाम्रो सीमा समस्याका पुराना मुद्दा समाधानको अनिश्चितता; बढ्दो बेरोजगारी; आर्थिक परनिर्भरताको दुष्चक्रमा अनिश्चित भविष्य जस्ता पक्षहरू रुस युक्रेन युद्धका मसिना तर गम्भीर झट्का र तरंग हुन्। जसले भौतिक र मनोवैज्ञानिक दुवैरूपमा हामीलाई प्रभावित पारिरहेको कुरा हालै आएर मात्र मैले देख्न र महसुस गर्न सकें। यस अर्थमा छोरीले लिएको परीक्षा मान्ने हो भने म फेल भएँ।

पूर्वी युरोपको आकाशमा मिसाइल र बमवर्षक विमानहरू सल्बलाइरहँदा र जमिनमा विस्फोट का एक पछि अर्को धमाका चलिरहँदा रुस र युक्रेनबारे म सोच्न थालेँ। रुसलाई चिन्नुअघि दक्षिण एसियामा हाम्रो पुस्ताले सोभियतसङ्घलाई चिनेको हुनुपर्दछ। जसको विघटनको प्रक्रिया सुरुभए पछि क्रमश रुस भन्ने देश देखापर्न गयो र यो संसारको सबैभन्दा ठूलो देशको रूपमा परिचित थियो।

उता म्यक्सिम गोर्कीको आमा उपन्यास पढ्दा एउटा परदेशी बिम्ब बोकेको पात्र ‘युक्रेनी’ को नाम सँगै सोभियतसंघ भित्र एउटा युक्रेन भन्ने गणराज्य रहेछ भन्ने बुझेको थिएँ। यी देशहरू बारेको यो नै मेरो पहिलो जानकारी थियो। पछि गएर स्वअध्ययनको एउटा लहडमा मैले नक्सै हेरेर विश्वका सबै देशहरूको नाम, राजधानी र सीमा जोडिने तिनका छिमेकी देशहरूको समूह (क्लस्टर) नै आउँदो पारेको थिए। यसरी सोभियतसंघ विगठन प्रक्रियासँगै यिनीहरूको राजनीतिक भूगोलबारे थप जान्ने मौका पाएको थिएँ। 

युक्रेन रुस बदलिदो नक्सा

सन् २०२२ सेप्टेम्बरको अन्तिम हप्तामा रुसी प्रशासनको नियन्त्रणमा भएको जनमत सङ्ग्रहमा युक्रेनको डोनेत्स्क, खेरसोन, लुहान्स्क र जापोचरिजिया जस्ता भूभागहरूले रुसी सङ्घमा विलय हुने पक्षमा मतदान गरे भनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेप्टेम्बर ३० मा उक्त भूभागहरू रुस भित्र गाभिएको घोषणा गरेका छन्। अझ सन् २०१४ मा क्रिमिया प्रायद्वीप रुसमा गाभिएको घटना हालैको घोषणाले ताजा बनाएर दुनियाँ सामु ल्याइदिएको छ। यो घोषणा भइरहँदा करिब पाँच छ दशकको उमेर पार गरिरहेका दुनियाँका तन्नेरी र वयस्क पुस्ताहरू जसले दोश्रो विश्वयुद्धपछि, राष्ट्रसङ्घ देखे, अमेरिका र सोभियतसंघ शीतयुद्धको बाबजुद शान्तिपूर्ण दुनियाँ देख्नुका साथै सन् १९४५ मा राष्ट्रसंघको सदस्य बनेको युक्रेनको राजनीतिक भूगोललाई वर्तमानको आँखाबाट देखेका थिए क्रिमियासहित अन्य ४ क्षेत्रहरू रुसमा गाभ्ने निर्णय अन्यायपूर्ण र रुसको अत्याचारको रूपमा लिनु बिल्कुल स्वभाविकै हो।

राष्ट्रहरूको इतिहासतर्फ गहिरिएर हेर्दा प्राकृतिक भूगोल तुलनात्मकरूपमा स्थिर भए तापनि राजनीतिक भूगोल र देशहरूको नक्सा आकाशमा बादलका आकृतिहरू बदलिए झैँ विभिन्न आकारमा बदलिइरहँदो रहेछ। यसो हुनुमा धर्तीमा हरेक पटक भूकम्प जाँदा भूकम्पका केन्द्रहरू परिवर्तन भएर नयाँ केन्द्रबाट परिधितर्फ हल्लाए जस्तै विश्वमा आर्थिक र सामरिक केन्द्रहरूमा आउने फेरबदलका कारण उक्त शक्तिहरूले नियन्त्रण गर्ने क्षेत्रहरू बदलिनाले राजनीतिक सीमाहरू अस्थिर भएर वर र पर, तल र माथि सर्दा रहेछन्, नाच्दा रहेछन्।

युक्रेन सिन्थास्था प्रागैतिहासिक संस्कृतिको थलो हो जहाँ सिथियन र आदि स्लाब जातिहरूको बसोबास थियो। युक्रेन स्थित दनिपर नदीको दायाँ किनारदेखि रुसको भोल्गा नदीको बीचको भूभागलाई प्राकभारोपेली भाषाको मूल उद्गम थलो हो भनिन्छ। यहाँको कार्पाथियन पर्वतदेखि रुसको युराल पर्वत बीचमा पर्ने स्टेपको मैदानका जंगली घोडाहरू समातेर मानिस पहिलो पटक घोडामा दौडिन थालेको थियो भनिन्छ।   

सन् १९४५ मा राष्ट्रसंघको सदस्य बन्नु अगाडि युक्रेनको इतिहास अरु धेरै मुलुकहरूको जस्तै स्थिर थिएन। इतिहासमा युक्रेनको बायाँ किनारदेखि क्रिमिया प्रायद्वीपसम्मको भूभाग अधिकांश समय जारकालीन रुसको नियन्त्रणमा रहेको देखिन्छ भने दायाँ किनार पोल्याण्ड र लिथुआनियाली फेडेरेसनको नियन्त्रणमा रहेको यो भूभाग केही समय अस्ट्रियाको र त्यसैगरी काल सागर वरिपरि विकसित भएको टर्कीको अटोमान साम्राज्यको हिस्सा बनेको थियो। पछि यसको केही हिस्सा जर्मनको भूमिमा पनि गाभिएको थियो।

सन् १७९३ मा त रुसले वर्तमान युक्रेनको दनिपर नदी पश्चिमको दायाँ किनारा समेत आफ्नो साम्राज्यमा गाभेको देखिन्छ जसका लागि पोल्यान्डलाई रुसले क्षतिपूर्तिका लागि १,४६,००० रुबल दिने सम्झौता भएको कुरा इतिहासमा उल्लिखित छ।  

यसरी हेर्दा हाल रुसद्वारा आक्रमण गरिएको डोनेत्स्क, खेरसोन, लुहान्स्क र जापोचरिजिया र सन् २०१४ मा गाभेको क्रिमिया जस्ता क्षेत्रहरू सन् १९४५ यताको युक्रेनको राजनीतिक भूगोलका अखण्ड हिस्सा भए तापनि सोअघिको जारकालीन रुसी साम्राज्यका हिस्सा भएकाले उक्त भूभागहरूमा रुसी भाषी जातिहरूको बाक्लो उपस्थिति र ठूलो जनसंख्या भएको देखिन्छ। त्यहाँको जनसंख्या युक्रेनी र रुसी भाषी र युक्रेन र रुस समर्थकहरूबीच बाँडिएको र रुस समर्थक पृथकतावादी आन्दोलन समेत भइरहेको अवस्थामा रहेको थियो र छ पनि। 

रुसले युक्रेनमाथि हमला गर्दा युद्ध नभनेर विशेष सैन्य कारबाही भन्नु पछाडिको चुरो कुरो भनेको उसले वर्तमान युक्रेनको भौगोलिक सीमाभित्र पर्ने रुसी भाषी र रुस समर्थक जनताको संरक्षण गर्नु रहेको र त्यसका लागि सबै भन्दा उपयुक्त माध्यम ऐतिहासिकरूपमा रुसी आधिपत्यमा रहेको दनिपर नदी पूर्वको भाग रुसमा गाभ्नु रहेको देखिन्छ।  

इतिहासमा कैले टर्कीको अटोमान साम्राज्यबाट, लिथुआनिया र पोल्यान्डको फेडेरेसनबाट, कैले रसियाबाट र कैले जर्मनबाट कब्जा जमाइएको युक्रेन दोश्रो विश्वयुद्धपछि भने तुलनात्मकरूपमा स्थिर थियो। पछि सोभियतसंघ अन्तर्गतको एक गणराज्यका रूपमा उदाए पनि राष्ट्रसंघको सदस्यका रूपमा रही सोभियतसंघ विगठन पश्चात् पनि आफ्नो भौगोलिक अखण्डतालाई निरन्तरता मात्र दिएको हैन निखता ख्रुस्चेभ सोभियत सत्तामा भएको बेला क्रिमिया पनि युक्रेनमा मिलाइएको थियो। रुसले अहिले जारकालीन नजिर मात्र हैन रुसको भूभागका रूपमा रहेको क्रिमिया ख्रुस्चेभद्वारा युक्रेनको सार्वभौमिकता भित्र पर्ने गरी गाभिनु सोभियतसंघको विगठनपछि दक्षिणपन्थी बाटोमा दौडिरहेको रुसका लागि अस्वीकार्य देखिन्छ। पहिले गुप्तचर विभाग (केजिवी) को प्रमुखको जिम्मेवारीको अनुभव समेत सम्हालेका राष्ट्रपति पुटिन आफ्नै अगाडि सोभियत साम्राज्य ढलेर अन्तर्राष्ट्रिय समुदाय बीच शक्ति राष्ट्रबाट ओर्लिएर आफू निम्जो भएको किन देखाउन चाहन्थे !

साम्राज्यको साख फर्काउने रुसी अभिलाषा

जारकालीन रुसको जमिन युरोप, एसिया र उत्तर अमेरिकासम्म फैलिएको थियो। उत्तरअमेरिका अवस्थित अलास्का सन् १८६७ मा जार शासकले अमेरिकालाई ७२ लाख अमेरिकी डलरमा बिक्री गरेका थिए, त्यसपछि पनि रुस पूर्वमा सखालिन द्विप र उत्तरका स्केन्डेभियन देशका थुप्रै भूभागसम्म फैलिएको थियो भने दक्षिणमा आएर इरान र दक्षिण पश्चिममा टर्कीसँग टकराउने गर्दथ्यो।

रुस युरोपमा सारै ठूलो सैन्य संगठन भएको शक्ति थियो। त्यहाँ साम्यवादी क्रान्ति र सोभियतसंघको स्थापना मार्फत देखापरेको नयाँ साम्राज्यको हैसियत रुसी महत्वकाङ्क्षाका लागि ठिकै थियो। यद्यपि गोर्भाचोभका पालामा छिन्नभिन्न भएको सोभियतसंघ र कमजोर हुँदै आएको रुसमा आफ्नो अतीतको गौरव सम्झिएर गर्व गर्ने कुरा त थियो तर विश्व राजनीतिमा उसको साख गिर्दो थियो। युद्धको माध्यमबाट त्यो गिरेको साख उठाउने महत्वाकाङ्क्षाको प्रतिरूप बन्न पुगे पुटिन। 

हुन पनि पुटिनको पालासम्म आइपुग्दा रुसको अर्थतन्त्रमा निकै सुधार भयो। पहिले राजकीय अर्थतन्त्र निर्णायक रहेको रुसमा पुटिनको पालासम्म आइपुग्दा निजी उद्योगपति र व्यापारी वर्ग देखापर्यो र यसले आन्तरिक र बाह्य बजारमा अन्य पूँजीवादी देशहरूकै सिको गर्दै प्रतिस्पर्धा गर्न थालेको सन्दर्भमा यो आर्थिकरूपमा पनि निक्कै बलियो शक्ति बन्न पुग्यो।

बलियो अर्थतन्त्रका जगमा सामरिक क्षमतामा क्रमिक सुधार र विकासको परिणाम पनि हो रुसद्वारा गरिएको युक्रेनमाथिको आक्रमण  रुस एजोब सागर, क्रिमिया प्रायद्वीप हुँदै बाह्रैमास जहाज चलाउन मिल्ने बन्दरगाह कालासागर (ब्ल्याकसी) को क्षेत्रमा आफ्नो एकल आर्थिक तथा सामरिक वर्चस्व कायम गर्न चाहन्छ। तर त्यो क्षेत्रको स्थानीय खेलाडी शक्ति टर्की लगायत पश्चिमी युरोपीय मुलुकहरू तथा अमेरिका समेत युक्रेनको साथ लागेर त्यहाँ उनीहरूको भूमिका बढाउन चाहन्छन्। रुसका लागि यो मनपर्ने विषय हुन सक्ने कुरा नै हैन, आफ्ना आँगनमा आएर खलिफाहरूले तिघ्रा ठटाएको कसलाई मन पर्छ र?

अर्कोतर्फ युक्रेनको देब्रे किनारा अर्थात् दनिपर नदीको देब्रेतर्फको भूभागमामाथि उल्लेख गरिएझैं रुसी भाषी र रुस समर्थक जनसङ्ख्याको बाक्लो बसोबास हुनाले र युक्रेनमा खासगरी अमेरिकीहरूको बढ्दो प्रभाव र प्रवेश अनि पूर्व बाल्टिक देश इस्टोनिया, लात्भिया र लिथुआनियाले गरे जस्तै युक्रेनले पनि नेटोमा सहभागी भई दुस्मन सैन्य सङ्गठनमा सामेल हुनलागेको कारणले रुस युक्रेनको राज्यसत्ता नै परिवर्तन गरी रुसप्रति नरम सरकार ल्याउन चाहन्थ्यो तर जेलनस्कीको नेतृत्वमा रहेको युक्रेनी सरकार र सत्ता रुसतर्फ नभएर एटलान्टिक वरपरका आर्थिक तथा सैन्य गठबन्धनमा प्रवेश गरी रुसको प्रभावक्षेत्र बाहिर जान चाहन्थ्यो। यसैको परिणाम स्वरूप हाल रुसले युक्रेनी भूभागमा आक्रमण गरिरहेको छ भने युक्रेनले आफ्नो प्रतिरक्षाका निम्ति अमेरिका, बेलायत तथा जर्मनीसहित युरोपियन युनियन अन्तर्गतका देशहरूसँगको सहकार्य बाक्लो बनाएको छ। 

युद्धमा चुकाउनु परेको मूल्य

फलतः यो लडाइ चर्किएसँगै करिब १ करोड १० लाख मानिसहरू विस्थापित हुन पुगेका छन्। यिनीहरू मध्ये आन्तरिकरूपमा विस्थापित, छिमेकी मुलुकमा विस्थापित र अन्य टाढाका मुलुकसम्म विस्थापित हुनेहरू रहेका छन्। हाल सम्मको लडाइमा युक्रेनतर्फ करिव १० हजार सेन र ४०० जनसाधारण मारिएको भनाइ सार्वजानिक भएको छ भने रसियालीतर्फको हताहती यो भन्दा पनि धेरै भएको हुनसक्ने  अनुमान गरिए पनि त्यसको स्वतन्त्र पुष्टि हुने तथ्य बाहिर ल्याइएको छैन। यो युद्धको प्रत्यक्ष र अप्रत्यक्ष खर्चतर्फ विचार गर्दा यो अरबौँ डलरमाथि पुगिसकेको अनुमान हुन्छ।

सेप्टेम्बर २, २०२२ मा प्रकाशित स्टाटिस्टा डट कमको तथ्यांक अनुसार अमेरिकाले हालसम्म ४४.५३ करोड, युरोपियन युनियनले १६.२४ करोड, बेलायतले ६.५१ करोड, जर्मनीले ३.१ करोड युरो र क्यानडा लगायतका अन्य मुलुकहरूले करिब १० करोड बराबर युरो युक्रेनमा सहयोग गरिसकेका छन्।

यसरी युक्रेनका लागि औपचारिक रूपमा यी देशहरूबाट प्रदान गरिएको र गरिने सहयोग जम्मा ८० करोड युरो युद्धसँग सम्बन्धित भएर अनुदान सहयोग उपलब्ध गराइएको छ। यो तथ्यांकमा युक्रेन र रसियाले युद्धका निम्ति आजसम्म कति खर्च गरे ? युद्ध ग्रस्त भूभागमा भएको भौतिक संरचना र पूर्वाधारको क्षति कति मूल्य बराबर हुन गएको होला ? विस्थापितहरूको मानवीय सहायता र व्यवस्थाका निम्ति कति खर्च भएको होला? अनि यो युद्ध अब कति समयसम्म लम्बिएला र त्यसको मूल्य कति होला? अनि आमरूपमा यसले पारेको मानवीय क्षतिलाई कसरी मुद्रामा मापन गर्न सकिएला? यसरी हेर्दा यो युद्धको आर्थिक भार खर्ब डलर माथि त पहिले नै पुगिसकेको हुनुपर्छ, कति खर्ब पुग्ला भन्ने तथ्य अहिले अनुमान गर्न सकिन्न। युद्धमा छोराछोरी गुमेका, अङ्गभङ्ग भएका र विस्थापित भएका परिवारको पीडालाई मुद्रामा कसरी मापन गर्ने र ?

जेहोस् यो रुस युक्रेन युद्धमा गरिएको अरबौं डलरको लगानी र खर्बौंको खर्च अफ्रिकाको भोकमरी निर्मूलनका लागि मात्र हैन अफ्रिका, दक्षिण तथा दक्षिणपूर्व एसियाका मुलुकहरूमा रहेको निरपेक्ष गरिबीका रेखामुनिका जनताको जीवनस्तर आगामी १० वर्षको छोटो अवधिमै उकास्नका लागि पर्याप्त हुन्थ्यो भन्न सकिन्छ। कुकुरहरूले खोस्रिएर पिसाब फेर्दै आफ्नो चारकिल्ला कसे जस्तै साम्राज्यवादले जमिन, शक्ति, र प्रभावको सीमाना विस्तार गर्ने गर्दछ।

कमजोरलाई निचोर्छ वा बलियोलाई पछार्न दुब्लोलाई उचाल्छ। साम्राज्यवादले आफू बलियो भएको हुँदा आफूलाई मान्नुपर्ने हैकम स्थापित गर्न चाहन्छ, शक्तिका आधारमा सम्बन्ध परिभाषित गर्दछ, सार्वभौमिक समानताका आधारमा हैन। रुस वर्तमान सीमामा सन्तुष्ट छैन जारकालीन साम्राज्यको सपना देखिरहेको छ। उता अमेरिकी प्रशासन पनि विश्वव्यापी प्रभुत्व र आफ्ना निर्मित हतियारको यथार्थ अवस्थामा प्रयोग गरी परिष्कार गर्न चाहन्छ, र हतियारको विश्वबजारमा एकाधिकार स्थापित गर्न चाहन्छ।   

हामी खोर्सानी बेचेर एक रुपैयाँ कमाउनेहरूका तुलनामा उनीहरू फाइटर जेट, र सुपरसोनिक मिसाइलहरू बेचेर १ अरब डलर कमाउने देशहरू हुन्। ठूलो नाफाको बजार हो हतियार। रुसले ठूलो देश हुनुको नाताले मानवताका निम्ति लगानी गर्न सक्थ्यो एक कमजोर छिमेकी, त्यसमा पनि आफ्नै सजातीय स्लाब छिमेकीमाथि निर्मम आक्रमण गरिरहेको छ। प्राकृतिकरूपमा निहित प्रचुर तेल, ग्यास र कोइलाको व्यापारमा केही अंश छुट दिएर आर्थिक अन्तरनिर्भरतामा बाँधेर राखी आफ्ना वरिपरिका छिमेकीहरूलाई आफूतर्फ नरम र बफादार बनाउन सक्थ्यो तर आफ्ना परिपरिका प्राय: सबै छिमेकीहरू ऊसँग बिच्किएका छन् र लाग्छ सुमधुर सम्बन्ध स्थापना भई मन माझामाझ गरी सम्बन्ध सुमधुर बनाउन आधा शताब्दीको समय पनि अपर्याप्त हुने छ। खासगरी युक्रेनबाट विस्थापित भएका मानिसहरूका तीन पुस्तामात्र हैन कयौं पुस्तासम्मका मानिसहरू रुसप्रति घोर नकरात्मक बन्ने छन्।

त्यसैले अन्तर्राष्ट्रिय कानूनअनुसार पनि युद्ध आफैँमा मानवताविरुद्धको अपराध हो। यो प्रथम दृष्टिमै खारेजभागी छ। रुसले युद्धले होइन प्रेम र आर्थिक सहयोगले युक्रेनी जनताको मन जितेर आफूतर्फ नजिक बनाउन सक्थ्यो तर रुसीहरूको अहंकार र घमण्डले युक्रेनी भाइहरू टाढिएर, रुसतर्फ पिठ्युँफर्काए र अमेरिकासँग नजिकिए। हुन पनि रुसको अतीतको गौरव बोकेको घमण्ड त छँदैछ, छुट्टै भाषा र लिपिले पनि रुसी भन्दा बरु रोमन लिपिको प्रयोग गर्ने युरोपदेखि एट्लान्टिक वरपरका मुलुकहरू नजिक भए। जुन भाषा र संस्कृति बुझ्न सहज हुन्छ ती मानिसहरू बीच चाँडो अन्तरक्रिया हुन्छ र आत्मीयता पनि कायम हुन्छ। युक्रेनीहरू एटलान्टिक वरपरका सभ्यतासँग अब लोभिए, त्यहाँ व्यापार छ, नाफा छ, खुला समाज छ, पुँजीवादी (उदारवादी) लोकतन्त्रको प्रगतिशील संस्थागत अभ्यासका नमुनाहरू छन् तर रुस बन्द समाज जस्तो छ, अहंकार छ, हैकम छ, त्यसैले विमुख भए।

रुसद्वारा थोपरिएको अन्यायपूर्ण युद्धले ल्याउन सक्ने त्रासदीबाट मानवजातिलाई बचाउनका निम्ति अर्को महाशक्तिराष्ट्र अमेरिकाको वर्तमान प्रशासनले रुसलाई सुरुमै रोक्न सक्नुपर्ने थियो। कूटनीतिक प्रयासबाट यो युद्ध टार्न सक्ने सभावनालाई नकार्न सकिन्न, र यो कार्य सबैभन्दा प्रभावकारी रूपमा गर्न सक्ने राष्ट्र अमेरिका नै थियो। अहिले वर्तमान अमेरिकी प्रशासनले आफ्नो प्रतिद्वन्द्वी मुलुक रसियालाई विश्वरङ्गमञ्चबाट तल ओराल्ने र आफ्ना हतियारहरूको विज्ञापन गर्ने उपयुक्त अवसरबाट यो युद्धलाई लियो कि भनेर शंका गर्ने ठाउँहरू देखापरेका छन्। कुनै पनि राष्ट्र महाशक्ति हुन त्यो आफैँ नभएर दुनियाँका श्रमबाट अप्रत्यक्षरूपमा जम्मा भएको मुनाफाको जगमा उठेर महाशक्ति बन्ने भएको हुँदा त्यहाँ दुनियाँको लगानी हुन्छ र लगानी गर्ने दुनियाँप्रति शक्ति राष्ट्रको जिम्मेवारी पनि हुने गर्दछ। यो युद्ध विष्फोटमा शक्तिराष्ट्र अमेरिकाको वर्तमान प्रशासनले विश्वप्रतिको त्यो दायित्व इमान्दारीपूर्वक पूरा गर्‍यो? यो इतिहासमा एक बहसको विषय भएर रहने छ।

अर्कोतर्फ युक्रेनका केही भूभागहरू गाभिएको घोषणा पश्चात् अब कि रुसले हार्नुपर्छ र रुसी नेतृत्वलाई अन्तर्राष्ट्रिय अपराधको अदालतमा लगी सजाय गरिनु पर्छ होइन रुस आफ्नै स्थानमा र हैकममा रहन्छ भने विश्व व्यवस्था र राष्ट्रसंघको ढाँचामा परिवर्तन आउनुपर्छ। यदि रसियाको पक्षमा विश्व व्यवस्थामा परिवर्तन आएमा संसारका थुप्रै देशहरूको राजनीतिक भूगोल र नक्सामा परिवर्तन आउने देखिन्छ। त्यस्तो भएमा नेपाल जस्ता सानो र परनिर्भर अर्थतन्त्र भएका मुलुकहरूले आफ्नो प्रतिरक्षा कसरी गर्न सक्लान् यो एक गम्भीर प्रश्न उत्पन्न भइरहेको छ। हाम्रो राष्ट्रको आकारले, भौगोलिक अवस्थितिले, आर्थिक र सामरिक सामर्थ्यले निर्देश गरेको तटस्थता, असंलग्नता र सार्वभौमिक समानताका आधारमा मानवताको पक्षमा निरन्तर वकालत गर्नु नै हाम्रो राष्ट्रको जीवन शक्ति (इम्युनिटी) बढाउने एक मात्र विधि हो।  

-आइएनएस-स्वतन्त्र समाचार


Author

रघुनाथ अधिकारी 'निलमशेखर'

लेखक समाजशास्त्र तथा मानवशास्त्र विषयका अध्येता र भाषा विज्ञान विषयका अनुसन्धाता हुन्।


थप समाचार
ad
x