विचार

चुनावी मैदानमा महिला उम्मेदवारलाई कति सहज ?

संगीता कुँवर |
कात्तिक २९, २०७९ मंगलबार १६:१९ बजे

राजनीतिक दलहरूले प्रत्येक निर्वाचनमा प्रत्यक्ष निर्वाचनतर्फ महिलालाई टिकट दिन कन्जुस्याइँ गर्छन् । यसपालि पनि कन्जुस्याइँ गरे । संविधानले प्रतिनिधिसभा र प्रदेशसभामा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरेको भए पनि प्रत्यक्ष निर्वाचनका लागि यसपालि पनि दलहरूले कममात्रै उम्मेदवार बनाएका छन् । अझै यीमध्ये कति जना जितेर आउलान् ?

मंसिर ४ को चुनाव आँगन मै आइसक्यो । देश पुरै चुनावमय बनेको छ । यसपाली प्रत्यक्षतर्फ चुनावी मैदानमा महिला प्रतिनिधि निकै कम छन् । केही दिनअघि गुल्मी क्षेत्र नम्बर २ का एमाले उम्मेदवार गोकर्ण विष्टले हाडहाडेमा आयोजित कार्यक्रममा महिला प्रतिनिधि रामकुमारी झाँक्रीप्रति लक्षित गर्दै भने, ‘जनजातिकी छोरीचेलीलाई घर पठाउँदा सोलीभरी रोटी र रक्सीको कोसेली बोकाएर पठाउने हो, भोट दिने होइन ।’


विष्टको अभिव्यक्तिपछि रामकुमारीले जवाफमा भनिन्, ‘रोटी र रक्सीको कोसेलीले त मलाई समाजसँग झन् नजिक बनाउने भो, जनताको झन् नजिकको चेली बनाउने भो, आफन्त बढेको झन् राम्रो हो तर मलाई भोट नदिनु भन्ने कुरा पराजित मानसिकता हो ।’

यो भनाइले चुनावी मैदानमा एजेण्डा बोकेर जानुको सट्टा महिला उम्मेदवारलाई कसरी विभेद गरिन्छ भन्ने उदाहरण पनि हो । केही दिनअघि  एमालेकै प्रचार गर्ने एक व्यक्तिले चुनावी प्रचारको क्रममा ‘झाँक्री भनेको लोग्ने मान्छे हो कि आइमाइ हो ? परार-परार त झाँक्रीको धार दिने भन्ने सुनिन्थ्यो अहिले त डर लाग्यो !’ भनेको भिडियो सामाजिक सन्जालमा आएको थियो । 

मतदातालाई बोल्न लगाएर महिला प्रतिनिधिमाथि व्यक्तिगत नामको विषयमा आक्षेप लगाएर भ्रम फैलाउन खोज्नु भनेको महिला प्रतिनिधिको अपमान हो । महिला प्रतिनिधिसँग डाराउनु हो । लैङिगक विभेद पनि हो । यस्ता उदाहरण हेर्दा पुरुषलाई जस्तो महिला प्रतिनिधिलाई चुनावी मैदानमा सजिलो छैन भन्‍ने देखाउँछ। 

केही महिनाअगाडि कान्तिपुर टिभीको एउटा बहस कार्यक्रममा काठमाडौँकी उपमेयर सुनिता ढंगोललाई सोधिएको महिला र पुरुषबीच चुनावी मैदानमा फरक के छ ? भन्ने प्रश्नमा भनेकी थिइन् ‘अहिले सोसल मिडिया धेरै स्ट्रोङ छ । चुनावका बेला सामाजिक संजालमा चरित्र हत्या गर्ने काम तुलनात्मक रूपमा पुरुषलाई भन्दा बढी महिलालाई भएको महसुस गरें।' 

पक्ष विपक्षका गाली गलौज र आरोप प्रत्यारोप गर्ने ठाउँ नै सामाजिक सञ्जाल बनेको छ । महिला र पुरुष उम्मेदवार एउटै मैदानमा हुँदा महिलालाई बस्तुको रुपमा या उसको अनुहार, नामको विषयमा शारीरिक बनावटको विषयमा बोल्ने लेख्ने र आक्षेप लगाउने गर्छन् । 

चुनावमा मतदातासम्म पुराना पुरा गर्न नसकेका आश्वसनको माफी र आगामी एजेण्डा बोकेर उम्मेदवार आ-आफ्नो क्षेत्रमा पुग्नुपर्ने तर आफ्ना एजेण्डा बोकेर जानुको सट्टा आरोप प्रत्यारोपसँगै महिला उम्मेदवारमाथि अनेक व्यक्तिगत आरोप लगाइन्छ ।

पाँच वर्ष अघिको निर्वाचनलाई हेर्दा उम्मेदवार छान्नेदेखि निर्वाचित हुनेसम्म पुरुष प्रतिनिधिकै हाबी देखिन्छ । यसको प्रमुख कारण राजनितिक दलहरूले महिला प्रतिनिधिलाई प्रतिस्पर्धाको मैदानमा नलैजानु हो । २०७४ सालमा एमालेबाट प्रत्यक्षमा जम्मा २ जना महिला संसद्‍मा पुगे । त्यस्तै कांग्रेसबाट प्रत्यक्षमा १ जना पनि महिला संसदमा पुगेनन् । नेकपा माओवादी बाट ३ जना महिला मात्रै संसद्‍मा टेके । यसपाली प्रत्यक्षतर्फ जम्मा २५ जना महिला मात्र चुनावी मैदानमा छन् । एमालेले ११, माओवादी केन्द्रले ७, कांग्रेसले ५, एकीकृत समाजवादी १ र  राष्ट्रिय जनमोर्चाबाट १ जना महिला छन् । यो महिलाको संख्या निकै न्यून हो । 

अझ हार्ने आँकलन गरिएको क्षेत्र या कमजोर क्षेत्रमा महिला उठाउने दलहरूको नयाँ चलन पनि होइन । प्रतिनिधिहरू प्रतिस्पर्धामै कम पुगेपछि जित्नेको संख्या बढि हुन्छ भनेर कसरी आशा गर्नुरुअझ राजनितिक पार्टीको पैसा खर्च नगरेसम्म चुनाव जितिँदैन या महिला प्रतिनिधिले पैसा खर्च गर्न सक्दैनन् भन्नु पनि महिला उम्मेदवारको संख्या कम हुनु अर्को कारण पनि हो । चुनावी मैदानमा एजेण्डा सही नियत भएका नेतालाई जनताले छान्न पाउने अधिकार मतदातासँग  छ । 

गुल्मी क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ प्रतिस्पर्धामा गरेकी झाँक्री एकीकृत समाजवादीबाट एक मात्रै महिला हुन् ।  यसपालीको चुनावमा सबैको आँखा परेका केही क्षेत्रमध्ये गुल्मीको क्षेत्र नम्बर २ पनि धेरैको ध्यान तानेको क्षेत्र हो । पूर्व सहकर्मी रहेका गोकर्ण विष्ट र राम कुमारी झाक्री यसपाली आ-आफ्नो पक्षमा जित पल्टाउने दाउमा छन् ।

विशेषगरी महिलालाई नाम, बस्तु या चेलिबेटी भनेर तल्लो स्तरमा दाजेर तर्क दिनु असल नेता-कार्यकर्ता होइनन् । समाजको प्रतिनिधित्व गर्ने राजनितिक दल र तिनका कार्यकर्ताले महिलाका व्यक्तिगत कुरासँग जोडेर चुनावमा भ्रम फैलाउनु आगामी दिनमा राजनीतिमा आउने महिला प्रतिनिधिलाई हौसला दिनुको सट्टा निरुत्साहित बनाउनु पनि हो । संघर्षशील महिला नेतृ, गलत शक्तिसँग सम्झौता नगर्ने उचित निर्णय लिन सक्ने राजनीतिमा राम्रो छबी बनाएका महिला नेतालाई शारिरीक या व्यक्तिगत र नामको आधारमा आरोप लगाउने नेता कार्यकर्ताले आफ्नो पार्टीभित्रका नयाँ महिला अनुहारलाई राजनीतिमा आउन कसरी प्रोत्साहन गर्न सक्छन् होला ?

आफ्नै पार्टीभित्रका गलत कामको विरोध गर्नसक्ने ठूलो हिम्मत भएकाले मात्र गर्छन् । गलत परिपाटीविरुद्व बोल्यो भन्दैमा महिला नेतालाई राजनीतिमा निरुत्साहित गर्नु गलत हो । विधार्थी राजननीतिबाट आफैँ संघर्ष गरेर राजनीतिमा बोल्ड नेता, गलतविरुद्व अडान लिन सक्ने क्षमता भएको छबी बनाएकी निडर रामकुमारी झाँक्री जस्ता महिलालाई त चुनावी मैदानमा यसरी निरुत्साहित गरिन्छ भनें अरु महिलाहरू चुनावी मैदानमा कसरी आउन सक्लान् ?

यस्ता खालका व्यवहार हुनु भनेको राजनीतिमा आउने नयाँ महिला अनुहारहरू कम होउन् भन्नु हो । लोकतन्त्रमा जित कसको पक्षमा छ भन्ने कुरा मतदाताको हातको फैसला हो तर नेता कार्यकर्ताले महिलाका तर्क गर्नै नमिल्ने व्यक्तिगत कुरा बोकेर भन्दा आफूले गर्न सक्ने कामका एजेण्डा बोकेर मतदातासम्म पुग्नुपर्छ ।


Author

संगीता कुँवर

कुँवर जापानस्थित इकागजकी प्रतिनिधि हुन् ।


थप समाचार
x