विचार

शासकीय शैली, राजनीतिक पात्र र पद्धतिमा प्रश्‍न

श्याम मैनाली |
बैशाख १२, २०७८ आइतबार १७:४८ बजे


संघीयतामा संस्कृति, जातजाति, भाषा, धर्म इतिहासलाई उच्च सम्मान दिई सबैलाई पहिचानको प्रत्याभूति गर्न सक्नुपर्छ, यसलाई हाम्रो संघीयताले राम्ररी सम्बोधन गर्न सकेको छैन ।
०००
नेपालमा २०४६ सालबाट नेपाली कांग्रेस र नेकपा एमालेकै विशेष गरी सत्तामा प्रभुत्व रहन पुग्दा प्रजातन्त्रको विकास उल्लेखनीय रूपमा हुन सकेन, विकास निर्माणका कार्यहरूको गुणस्तरमा समेत प्रश्नचिन्ह खडा भयो । यही अवधिमा दुइवटा आम निर्वाचनहरूमा जनताको विश्वास प्राप्त गर्न नसकी नेकपाको सानो टुक्रा विध्वंसात्मक क्रियाकलापमा सहभागी भई देशमा द्वन्द्वको आमन्त्रण गर्दै समानान्तर सरकारसमेत गठन गर्ने हैसियतमा पुग्यो ।

देशमा व्याप्त भ्रष्टाचार र आतंकवादबाट जनता आजित भइराखेको अवस्थामा तत्कालीन राजा ज्ञानेन्द्रले आफैँ प्रधानमन्त्री बनी संसद्वादीहरू र द्वन्द्वरत पक्ष सबैलाई आतंकित बनाउँदै गर्दा यी आतंकित राजनीतिज्ञहरू आफ्नो अस्तित्व र भौतिक रक्षाका लागि छिमेकी राष्ट्रको सहयोग र समन्वयमा १२ बुँदे समझदारी गरी संयुक्तरूपमा दोस्रो जनआन्दोलन २०६३ मा उत्रिए । सफल जनआन्दोलनले देशलाई संघीय लोकतान्त्रित गणतन्त्रको दिशातर्फ अभिमुख बनाई संविधान सभामार्फत गणतन्त्रात्मक लोकतन्त्र र अन्तरिम संविधानमा प्रथम संशोधनमार्फत संघीयतामा देश प्रवेश गर्‍यो ।


देश संघीय, लोकतान्त्रिक गणतन्त्र बनेपश्चात्का समयमा लोकतन्त्र र जनताका पक्षमा खासै प्रगति हुन सकेन । परिणामस्वरूप वर्तमान अवस्थामा देशले अवलम्बन गरिआएको राजनीतिक प्रणालीप्रति नै जनतामा वितृष्णाको अवस्था सृजना भइराखेको स्थिति छ । देशको राजनीतिले सामना गर्नु परिराखेका चुनौती र यसको समाधान कसरी गर्न सकिन्छ ? यही विषयमा केन्द्रित रहेर यो आलेख तयार पार्ने प्रयास गरिएको छ । 

आपसी सहयोग र सहकारितामा आधारित हुँदै शान्ति र लोकतन्त्रलाई सुदृढ बनाउँदै संघीयतालाई संस्थागत गर्नु नेपालको वर्तमान समयको सर्वोपरि प्राथमिकताको विषय हो । देशमा उपलब्ध हुने स्रोत-साधनको संघीय मूल्यअनुरूप उपयुक्त प्रकारले वितरण गर्दै सबै तह र प्रकारका सरकारहरूबीच सहकारिता, समन्वय र सहअस्तित्व कायम गर्नु यसको मूल उद्देश्य हो । देश संघीयतामा गइसकेपछि सार्वजनिक सेवा प्रवाहमा उल्लेखनीय सुधार गर्नु जरुरी हुन्छ, देशले अवलम्बन गरिआएको समावेशीकरणको नीतिलाई नतिजामा देखिने गरी कार्यान्वयनमा जानुपर्ने अवस्था छ । स्थानीय र आम निर्वाचनको नतिजाबाट खास गरी दुई नम्बर प्रदेशमा प्राप्त अभिमतलाई दृष्टिगत गर्दा संघीय संरचनामा नै परिवर्तन गर्नुपर्ने अनूभूति हुनपुगेको छ । देश आन्तरिक र बाह्य दुवै प्रकारको द्वन्द्वबाट गुज्रिराखेको छ । वर्तमान समयको राजनीतिले यसलाई उपयुक्त प्रकारले सम्बोधन गर्न सकिराखेको देखिँदैन । 

देशमा लोकतन्त्रलाई व्यवहारमै आत्मसात् गरी शान्ति कायम गर्न सक्नु नै सर्वाधिक महत्वको विषय बनेको छ । सबै क्षेत्रमा राजनीतीकरण गरिँदा समस्याग्रस्त बन्दै गएको र यसले गर्दा शान्ति प्रक्रिया छायाँमा परिराखेको छ, संक्रमणकालीन न्याय देशको प्राथामिकतामा छैन । देशमा सुरक्षाको अवस्था सन्तोषजनक देखिँदैन, वर्तमान संविधान जारी गर्दाकै समयमा देशका नागरिकहरूको एक हिस्साले अस्वीकार गरी दिएकाले संविधानमा सबैको स्वामित्व रहेको अवस्था देखिँदैन ।

यस शक्तिले न्यायोचित प्रतिनिधित्व र नागरिकताका मुद्दाहरूलाई सम्बोधन गर्न नसकेको, संघीय संरचना तयार पार्दा क्षमता र पहिचानलाई समेट्ने पक्षमा प्रश्नचिह्न खडा भएको, जनसंख्या र भूगोललाई सन्तुलन कायम गर्न नसकेको, धेरै मत ल्याउने विजयी हुने र समानुपातिक प्रतिनिधित्वको अनुपात न्यायोचित नभएको, राष्ट्रिय सभामा मनोनयन हुने सन्दर्भमा समावेशीकरणलाई गौण आँकलन गरिएको, प्राकृतिक स्रोत साधन र राजस्वको बाँडफाँट गर्ने प्रयोजनका लागि गठित आयोगले निर्धारण गरेका आधारपश्चात् भएका वितरण संघीय मान्यतालाई आत्मसात् गर्न नसक्ने देखिएका र यसमा आयोगको प्रभावकारितामा प्रश्न रहेको स्थितिले गर्दा असन्तुष्टिको अवस्था सृजना भएको छ, यसबाट अन्ततः देशको शान्ति प्रक्रिया प्रभावित बन्न पुग्छ र नागरिकहरूको सुरक्षाको प्रत्याभूति गर्न नसकिने हुन्छ । 

देश संघीयताको कार्यान्वयनमा गइँरहदा लामो समयदेखिको केन्द्रीकृत मानसिकताबाट हाम्रा राजनीतिज्ञहरू र समग्र सार्वजनिक संयन्त्रमाथि उठ्न सकेका छैनन्, प्रक्रिया र कार्यशैली केन्द्रीकृत देखिँदै छ, तर संविधानले सबै तहका सरकारहरूलाई अधिकार प्रदान गरेको छ । राजस्वसम्बन्धी अधिकारका सम्बन्धमा कार्य क्षेत्रमा दोहोरोपन छ, राजस्व संकलनका दृष्टिले सबल र दुर्बल सरकारहरूबीचको द्वन्द्वलाई संघीय सरकारले निराकरण गर्न महत्वपूर्ण भूमिका प्रदान गर्नुपर्नेमा संघीय सरकार आफैँ द्वन्द्व सृजनाको कारण बन्ने प्रकारका क्रियाकलापहरूमा अभ्यस्तता दिइराखेको उदाहरणसमेत प्रशस्त छन् । संघीयताको कार्यान्वयनलाई सहजतासाथ निरन्तरता दिन आवश्यक पर्ने कानुनसम्म पनि सबै दिन सकेको अवस्था छैन, यस अवस्थामा देश गुज्रँदै जाँदा नेपालको संघीय संयन्त्रमा अपेक्षित क्रियाशीलता महसूस गर्न सकिएको छैन । संघीय सरकार नै तल्लो तहका सरकारहरूलाई सहजीकरण गर्न तत्परता नदेखाई राखेको अवस्थामा हामी संघीयताबाट अपेक्षित प्रतिफलको आशा गरिराखेको स्थिति छ ।

नेपालको राजनीतिले देशलाई लोकतन्त्रको स्थायित्व प्रदान गरी आर्थिक समृद्धिका दिशामा अग्रसर हुनुपर्ने समय हो, तर दलहरूभित्र आन्तरिक लोकतन्त्र प्रायः समाप्त हुँदै गएको छ, लोकतान्त्रिक विशषताहरूलाई समेटेर सरकार र जिम्मेवार दलहरू प्रस्तुत हुनसकेका छैनन् । लोकतान्त्रिक स्थायित्वका लागि देशको संविधानप्रति सबै जनताको स्वामित्वभाव प्राप्त गर्नु अत्यावश्यक हुन्छ, तर देशको जनसंख्याको सानो अंग यसलाई आत्मसात् गर्न नसकी आफ्ना माग प्रस्तुत गरिराखेको छ । यसलाई सम्बोधन गर्न उनीहरूका मागबारे गहन रूपमा छलफलमा बसेको अवस्था प्रस्ट हुन सकेको छैन । यसले गर्दा संविधानको समर्थन गर्ने र विरोध गर्ने दुई समूह देशभित्र कायम रहिरहेकाले राजनीतिक स्थिरताको प्रश्न अलमलमा परेको छ ।

सरकारलाई समर्थन गर्न र सरकारमा सहभागिता दिन आफ्ना माग पूरा हुनुपर्ने आवाज यो दलले उठाइराखेको छ, यद्यपि व्यक्तिगत अभीष्ट पूरा गर्न लालायित हुँदै समय-समयमा सरकारमा सहभागिता दिने गलत संस्कारको विकास यी दलहरूमा देखिँदा संविधान संशोधन जरुरी हो वा होइन ? द्विविधाको अवस्था छ, तर यो जनसंख्याको हिस्सामा देखिएको असन्तुष्टिलाई तार्किक निष्कर्षमा पुर्याउन जरुरी हुन्छ । यो विषयलाई गौण आकलन गरिँदा राजनीतिक स्थिरताको प्रश्न उठिरहने अवस्था छ । यसका अतिरिक्त हरेक राजनीतिक दलभित्र देखिएको चरम गुटबन्दीले देशको राजनीतिक अस्थिरतालाई नै सहयोग पुगिराखेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संघीयताको मर्मअनुसार राष्ट्रमा उपलब्ध भएको स्रोत-साधनहरूको बाँडफाँट गर्दा समानुपातिक र सन्तुलित विकासलाई पर्याप्त प्राथमिकतामा राख्न सक्नुपर्ने थियो, आयोग र सरकार दुवै यस मामिलामा आलोचित बनिराखेका छन्, प्रत्येक वर्षको बजेट रकमको विनियोजनको अवस्थालाई अध्ययन गर्ने हो भने शक्ति केन्द्रका नजिक रहेकाहरूका विधान क्षेत्रहरूमा ठूलो रकम गएको देखिन्छ, स्रोत-साधन कम हुने वर्गमा रहेका सरकार यसबाट नराम्ररी प्रभावित बन्न पुगेका छन् ।

यो शैली केन्द्रीकृत शासनमा समेत उपयुक्त हुन्न तर हामीले संघीयतामा जाँदा यस प्रकारको गलत अभ्यास गरिराखेको अवस्था छ । संघीयतामा प्रत्येक सरकार आफैँले कर्मचारीहरूको व्यवस्थापन गर्न पाउने अधिकार प्रदान गरिएको हुन्छ, हामी केन्द्रबाटै कर्मचारीहरूको खटनपटन गर्न अभ्यस्त रहेकाले कर्मचारी व्यवस्थापन होइन, समायोजन भएको छ, सरकारहरूले आफ्नो आवश्यकताअनुसारका कर्मचारी प्राप्त गर्न नसकेको गुनासो गरिराखेका छन् । संघीयतामा संस्कृति, जातजाति, भाषा, धर्म इतिहासलाई उच्च सम्मान दिई सबैलाई पहिचानको प्रत्याभूति गर्न सक्नुपर्छ, यसलाई हाम्रो संघीयताले राम्ररी सम्बोधन गर्न सकेको छैन ।

२१औँ शताब्दीमा लोकतन्त्रको बहुमतको शासनको मान्यतामा समेत परिवर्तन आई सबैको साझेदारीमा गरिने शासनले मान्यता पाइराखेको छ । पछि परेका र पछि पारिएकाहरू समेतलाई सामाजिक न्याय प्रदान गर्दै समावेशीकरणको नीतिलाई आत्मसात् गर्नुपर्ने र यथार्थमा नै समानता कायम गर्न सक्नुपर्ने स्थिति छ, राजनीतिक क्षेत्रमा ३३ प्रतिशत आरक्षण दिएर महिलाहरूलाई उचित अवसर प्रदान गरेको उदाहरण नेपालले अन्तर्राष्ट्रिय जगत्मा पस्किराखेको छ, तर अध्ययन र विश्लेषणका कमीका कारण यस नीतिको व्यावहारिक कार्यान्वयनमा असहजता देखिँदै छ ।

समानुपातिक प्रतिनिधित्वका आधारमा न्याय प्रदान गर्ने विषय प्रभावकारी हुन सकेन किनकि नेपालको जनसंख्याको १३.८ प्रतिशत हिस्सा दलितहरूको भएकामा राजनीतिमा सात प्रतिशतको मात्र प्रतिनिधित्व देखिएको छ, यसै गरी उनीहरूका लागि छुट्याइएको १७५ स्थानमा दलितकै अभावका कारण उम्मेद्वारी नै नपरी रिक्त रहेको अवस्था छ । समावेशीकरणले लक्षित गर्ने समूह विपन्न वर्गको ब्राह्मण हो वा होइन, धनी सम्पन्न दलितलाई सम्बोधन गर्नुपर्ने हो वा होइन अथवा यी दुवै समूहलाई सम्बोधन गर्नुपर्ने हो हामी प्रस्ट छैनौँ, त्यसैले लक्षित वर्गबारे पुनरावलोकन हुनुपर्ने अवस्था छ । सबैतिर प्रतिस्पर्धाले तीव्र रूपमा मान्यता पाइराखेको अवस्थामा समावेशीकरणबाट गुणस्तरमा समझदारी गरिँदै आएको आलोचना भइराखेको छ । यी सबै विषयलाई सम्बोधन गर्दै उचित व्यवस्थापनसहितको समावेशीकरण नीति अवलम्बन नभएमा यसले थप द्वन्द्व आमन्त्रण गर्छ । नेपालको राजनीतिले यस सम्बन्धमा विशेष ध्यान दिनु जरुरी छ । 

देशमा संघीयताले प्रादेशिक असन्तुलनलाई प्रोत्साहन गर्दै जाँदा संघीय शासन प्रणालीप्रति नै निराशा उत्पन्न हुने स्थिति छ त्यसैले आयोगले स्रोत-साधनको संघीय मर्मअनुसार कम विकसित क्षेत्रमा धेरै र विकसित क्षेत्रमा थोरै रकम पठाउने सम्बन्धमा सरकारले अन्यथा निर्णय लिन नसक्ने गरी आधारहरू तयार गरिदिनु पर्छ । शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै दण्डहीनतालाई समूल नष्ट गर्ने सम्बन्धमा सबै दलबीच मतैक्य आवश्यक छ । अपराधीहरूलाई राजनीतिले प्रयोग गर्ने गरीआएको वर्तमान अवस्थामा सुधार अत्यावश्यक छ । कानुनको समान प्रयोग सबैका लागि हुने परिस्थिति व्यवहारमा निर्माण गर्नुपर्छ । भ्रष्ट देशका रूपमा बनाएको पहिचानलाई समाप्त गर्न प्रधानमन्त्री, राष्ट्रपतिलगायत सबैलाई भ्रष्टाचारको कसुरमा अनुसन्धान गर्न पाउने अधिकार नियन्त्रक निकायलाई दिनुपर्छ र प्रगतिशील कारबाहीको व्यवस्था गर्नुपर्छ । संवैधानिक परिषद्को संरचनामा स्वतन्त्र विज्ञहरूको बाहुल्य रहने गरी पुनरावलोकन गर्नुपर्छ ।

सामाजिक समावेशीकरणका लागि खुला छलफल गरी यसमा विज्ञको सहयोग भरपुर लिई प्राप्त सुझावलाई राज्यले ग्रहण गर्नुपर्छ । विकासोन्मुख देश नेपालका लागि दाताहरूले राख्ने सर्तहरूको स्वीकार गर्ने विषयले राष्ट्रिय प्राथमिकता र नीतिगत विषय विवादित बन्दै गएका छन् । यस प्रणालीमा सुधारको स्थिति नआउँदासम्म देश समृद्धिको दिशामा अघि बढ्न सक्दैन, सबैभन्दा ठूलो समस्या सर्वत्र राजनीतीकरण भइराखेको वर्तमान अवस्थामा सुधार जरुरी छ, न्यायपालिका, सुरक्षा संयन्त्र, निजामती संयन्त्र सबैमा हुँदै आएको राजनीतिको अस्वस्थ प्रतिस्पर्धालाई शून्यमा राख्न सक्नुपर्छ । नागरिक समाज र प्रबुद्ध वर्गलाई स्वतन्त्र अस्तित्वमा आई प्रभावकारी भूमिका प्रदान गर्न सक्ने अवस्था सृजना गर्न कानुनी र संस्थागत व्यवस्थापनको आवश्यकता पर्छ । संघीय संरचना स्वीकार गरेपश्चात् राष्ट्रियता, क्षेत्रीय अक्षुण्णता, वैदेशिक नीतिजस्ता विषयमा अन्य सरकारहरूको राय लिई संघीय सरकारले निर्णय लिन सक्छ, बाँकी विषयमा सरकारहरूलाई स्वतन्त्र रूपमा कार्य गर्न दिनुपर्छ ।

यी सबै विषयमा सक्रिय राजनीतिक दलहरूबीच उच्च स्तरको मतैक्यसहित संकल्प आउनु अपरिहार्य भएको छ, संघीयताको अभ्यासका प्रारम्भिक दिनहरूमै देखिएका असहज परिस्थितिले गर्दा देशले संगीन समस्याको सामना गरी राख्नुपरेको छ । प्रारम्भकै दिनहरूमा सबै प्रकारका सरकारहरूलाई सुशासनका दिशामा अभिमुख बनाई कार्यान्वयनमा जान सक्नुपथ्र्याे तर हामी यसमा चुक्दै गएका स्थिति छ । यही कारणहरूले गर्दा नेपालमा आर्थिक समृद्धिको विषयले जटिलताको अवस्थाको सामना गर्नु परिराखेको छ । समग्र कार्य प्रक्रिया र शासकीय शैलीमा ठूलो परिवर्तनको आवश्यकता देखिएको छ । यदि अब यस दिशामा नेपाली राजनीति अभिमुख हुन सकेन भने यहाँ अमूक राजनीति दल र व्यक्तिभन्दा राजनीतिक प्रणालीमा नै प्रश्न उठ्ने देखिँदै छ । यी सबै चुनौतीहरूको उपयुक्त प्रकारले सामना गर्दै सबै प्रकारका समस्याको लोकतान्त्रिक शैली र विज्ञहरूको सहयोगबाट समाधान खोजिनुपर्छ, अन्यथा देशको राजनीति र समग्र अवस्थामा नै नकारात्मक प्रभाव पर्ने सुनिश्चित छ ।


Author

श्याम मैनाली

(लेखक मैनाली नेपाल सरकारका पूर्वसचिव हुन् ।)


थप समाचार
x