विचार

जनकलाल शर्मा-४

कुभिण्डाको मुरब्बा, ठूलो खसीको थलथले र मिठाईको बिर्को

जनकलाल शर्मा |
बैशाख १७, २०७८ शुक्रबार १५:१ बजे

पाश्चात्य साहित्यका आलोचकहरू कवि वा साहित्यकारको व्यक्तिगत जीवनको अध्ययनलाई बढी महत्त्व दिन्छन्, उसका रचनाको महत्त्व बुझ्न । उनीहरूको नाइमा कवि वा साहित्यकारको साहित्यमा उसको समाजको प्रभाव परेको हुन्छ र त्यसको अध्ययनद्वारा नै रचनाको भित्री मर्मसम्म पुग्न सकिन्छ । तर पूर्वी  रणाअनुसार कवि वा साहित्यकारका दुई व्यक्तित्व हुन्छन् । उसको साहित्यिक व्यक्तित्व र सामाजिक व्यक्तित्व अलगअलग हुन्छन् ।

कुनै राजाले कुनै गरीबको चित्र आफ्नू साहित्यमा ल्यायो भने त्यो गरीब नै होला भन्ने अन्दाज गर्नु हुन्न । कवि द्रष्टा मात्र हो, भोक्ता होइन । यी वादविवादका विषय भए पनि व्यावहारिक अर्थमा आज हामीले पाश्चात्य कसी नै लाउने परम्परा बसालेका छौं, पूर्वीय परम्परालाई अँगालेको अँगाल्यै।


महाकवि लक्ष्मीप्रसाद देवकोटालाई हामी कुनै समय छुवाछूत मान्ने कट्टर अन्ध–विश्वासी देख्छौं भने कहीं रामनवमीमा घडीचरी उडाउने र चषक दिने–लिने पनि देख्छौं । तर उनलाई त्यसैमा भूत लागेझै लागि–रहने व्यक्ति पनि पाउँदैनौं । सात सालपछि उनी कट्टर अन्धविश्वासी थिएनन् भन्न पनि गाह्र पर्छ। एउटा उदाहरण त मलाई याद छ आजसम्म।

सात सालपछि देवकोटा जीवित हुँदै महापण्डित राहुल सांकृत्यायन अनेक बार नेपाल पाए । यस्तै अवसरमा कवि चित्तधर उपासकको आयोजनामा राहुलको  म्मानार्थ एउटा प्रीतिभोजको व्यवस्था भयो। यो भोज भोगेन्द्रमान स्मारक पुस्तकालय, रक्तकालीको माथिल्लो तलामा भयो। यसमा प्रायः सबैजसो नाम चलेका साहित्यक र साहित्यप्रेमी व्यक्ति आमन्त्रित थिए। भोजन पूर्णतया नेवारी परम्पराअनुसार बनेको थियो र खाने ठाउँ पनि पलेटी कसेर बस्ने पाराको थियो। टेबुल–कुर्सीको गन्धसम्म पनि थिएन यहाँ । 

मानिसहरू क्रमैसँग दुई पंक्तिमा पलेटी कसेर बसेका थिए। थप्ने र पस्किने मान्छे पंक्तिको बीचबाट हिंडेर सबैलाई इच्छाभोजन गराइरहेको थियो। भोजनमा अरू वस्तु त मलाई चिन्न त्यति गाह्रो परेन तर एउटा वस्तमा म पनि एकछिन अलमल्ल परें। किन्तु मेरो अलमल धेरै बेर रहेन र एउटा निष्कर्षमा पुगें–’यो कुभिण्डाको मुरब्बा हो ।’ 

कसैले यहाँ जिज्ञासा गर्ला त्यो कस्तो थियो भनेर, म पूरा भन्न लागिरहेछु । मैले खाएको कुभिण्डाको मुरब्बा पारदर्शक, ठूला–ठूला चाना थिए । तर अलि बढ्ता गलेका, हातमा लिदा भाग्न खोज्ने । हामी कुभिण्डाको मुरब्बामा चीनी हाल्छौं भने यसमा नून हालिएको थियो। हामी कुभिण्डाको मुरब्बा गर्मी मौसममा रुचाउँछौं
भने यहाँ जाडो–महीनामा प्रयोग भएको थियो । यो त आफ्नो–आफ्नो समाजको रीतिअनुसार हुन्छ । 

मुरब्बा मैले २–३ चोटि थपिसकेको थिएँ। मेरो छेउमा बस्ने महाकवि देवकोटाले पनि अनेक बार थपिसकेका थिए। पस्किनेले पुनः थप्न ल्यायो । मानिस अघाएपछि घरका डाँडाभाटा गन्न थाल्छ भन्छन्, हामीलाई पनि त्यस्तै भयो यहाँ । 

महाकविले सोधे–“हन भान्जा, यो के हो?” मैले उत्तरमा भन्नैपन्यो–“कुभिण्डोको मुरब्बा, अलि बढ्ता पाकेको र नून हालेको ।” 

मैले भनेका कुरामा विश्वास नहोला भन्ने मलाई लागेको थिएन । देवकोटाले चन्द्रमान मास्केज्यूलाई सोध्न पुगे यो के हो भनेर । तर त्यसको सही उत्तर मास्केबाट मिलेन उनलाई। मास्केज्यूले उत्तरमा हे हे हे हे मात्र गरेर टार्नुभयो । 

हाम्रो भोज खान बसाइको क्रम थियो एउटा पंक्तिमा सबभन्दा माथि महापण्डित राहुल सांकृत्यायन, लक्ष्मीप्रसाद देवकोटा, लेखक, चन्द्रमान मास्के इत्यादि
इत्यादि र अर्को पंक्तिमा कथाकार विश्वेश्वर कोइराला, इतिहासकार बालचन्द्र शर्मा, सुन्दरराज चालिसे इत्यादि इत्यादि । 

मास्केको उत्तर–बाट निराश भएका देवकोटाले कथाकार र इतिहासकारबाट मुस्कुराहट–बाहेक अरू केही पाएनन् र सुन्दरराज चालिसेलाई सोध्न पुगे उनी ।
बल्ल देवकोटाले सही उत्तर पाए–“ठूलोखसीको थलथले भनेको त्यै हो भिनाजु ! “

बल्ल मेरा पनि घै‌टामा घाम लागे। सबै गललल हाँसे एक छिन भोजन समाप्त भयो, सबै आफ्ना–आफ्ना घरतिर लागे। देवकोटा र म पनि बाटो लाग्यौं ।

डिल्लीबजारमा पुगेर महाकविले मलाई एउटा मिठाईपसलमा पुड्याए । हामी भित्र पस्यौं । देवकोटाले दुई ठाउँमा मिठाई ल्याउने अडर दिए । अहिले मात्र त्यत्रो पेटभर भोजन खाएर आएको एक घुट्को पानी अटाउने ठाउँ थिएन पेटमा। त्यसकारण पनि मैले मिठाई लिन प्रतिवाद गरें तर मेरो केही लागेन । उनले उत्तरमा–
“धत्, खानुहोस् मिठाई। राँगाको मासुलाई मिठाईले छोपेर बिर्को लाउनु–पर्छ र सम्पुटित पार्नुपर्छ ।” मैले पनि ठट्टाको उत्तर ठट्टैमा दिएँ, “बुद्धिमा
त बिर्को लाग्दैन ?“ 

हामी खूब हाँस्यौं । यसबाट हामी विचार गर्न सक्तछौं–महाकवि देवकोटा आस्तिक हुन् वा नास्तिक ? वास्तवमा भन्ने हो भने उनको लौकिक जीवन अध्ययन गरेर सीङपुच्छर केही हात लाग्दैन ।

उनी कहिले कांग्रेसको विधिविधान तयार पार्ने प्रमुख व्यक्ति देखिन्छन् भने गोरखादलको मेनिफेस्टो पनि बनाउन थाल्छन् । अर्कातिर पोखरामा के. आई. सिंहको पार्टीको महाधिवेशनको उद्घाटन गर्न पनि उनै पुग्छन् । यसबाट यो कुरा सिद्ध हुन्छ– उनको न कुनै कुरामा आसक्ति छ न विरक्ति नै। त्यस कारण पनि देवकोटालाई कमलको पातमा अडेको निर्मल जलकणको समूह सम्झनुपर्छ । 

अथवा एउटा स्वच्छ दर्पणसित तुलना गर्न सकिन्छ, जसमा जुन रङ्ग सामने पन्यो त्यो रङ्गमा रङ्गिएको देखिएर पनि वास्तवमा ऊ रङ्गिएको हुँदैन र दर्शकलाई मात्र भ्रान्ति पैदा भएको हुन्छ । 

त्यसैकारण उनका रचना पनि पाठकलाई पहेली बन्न पुग्छन् । तैपनि केही आलोचक आँखा चिम्लेर उनको पुच्छर समाउन पुग्छन् कुरै नबुझी । यसको मतलब यो पनि होइन– उनका रचनामा उनका व्यक्तिगत जीवनको प्रभाव नै परेको छैन । अधिकांश रचनामा उनका व्यक्तिगत जीवनको प्रभाव पनि देखिन्छ । यस अवस्थामा उनी के हुन् त्यो छुट्टयाउन अझै कठिन पर्छ ।

(‘महाकवि देवकोटा : एक व्यक्तित्व, दुई रचना’ पुस्तकबाट ।) 

 

र, यो पनि
जनकलाल शर्मा-१ : छुवाछुत प्रथा हट्न असम्भव छ

जनकलाल शर्मा-२ : जनकलाललाई राहुल सांकृत्यायनका दुई चिठी

- जनकलाल शर्मा-३ : जब विक्रमशाही सुनकेसराको रूपलावण्यमा भुले...
 


Author

थप समाचार
x