विचार

दुई सय वर्षदेखि अपमानको विरासत बोकिरहेका हामी

सरोज भट्टराई |
माघ १८, २०७९ बुधवार ७:४४ बजे

सन् १८१५ को मलौन सन्धिबाट आजसम्म दुई सय वर्षको इतिहास हामीले भोगेका छौं । हामी अपमानको रछ्यानमा जीवनयापन गर्न बाध्य छौं । त्यस समयदेखि आजसम्म हाम्रा युवाहरू विदेशी भाडाका सेना बनेर ‘राष्ट्रको स्वाभिमानका विरुद्धविदेशमा क्रियाशील छन् ।’

विदेशीको सीमाना रक्षा गर्नु हाम्रो नियति बनेको छ । हामी स्वतन्त्र राष्ट्रका रूपमा संयुक्त राष्ट्रसंघको सदस्य छौं; तर हाम्रो स्वाभिमानमा विदेशीको बुटले यथावत् कुल्चिरहेको छ । हाम्रा आमाहरू अहिले पनि ‘स्वतन्त्र नागरिक होइन विदेशीका भाडाका सेना जन्माउँछन्’ वा श्रमिक जन्माउँछन् । 


सन् १९४७ मा त ‘नेपाली शासकले त्रिपक्षीय सम्झौता नै गरेर नेपाली युवाहरू भारत र ब्रिटिस शासकलाई बिक्री गर्ने व्यवस्था मिलाए । आजसम्म आइपुग्दा नेपाली युवाहरू भारत, बेलायत, ब्रुनाई, सिंगापुरमा नेपाल सरकारको कुनै सहमति र संलग्नताबिना भर्ती हुन्छन्’ । यो अपमानको क्षतिपूर्ति के हो ? नेपाली शासकहरूलाई कुनै चासो छैन । यस अपमानका अनेकौँ आयाम छन् ।

हाम्रो भूमिमा हाम्रा नागरिक भर्ती गर्ने विदेशीका कार्यालयहरू छन् । हाम्रो राष्ट्रको कुनै निकायलाई थाहा नदिई उनीहरू हाम्रा नागरिकलाई ‘भाडाका सैनिकमा नियुक्ति गर्दछ’ र आफ्नो देशमा लान्छन् । विदेशी सेनाका कार्यालयहरू हाम्रो भूमिमा ‘विदेशी सेनाको पोसाक लगाएर उपस्थित हुन्छन् । ‘हाम्रो युवाहरू’ विदेशी राष्ट्रिय धुन गाउँदै युद्ध लड्छन् ।

बेलायती सेनामा अहिलेसम्म आठ लाख युवाहरूले सेवा गरेका छन् । त्यसमध्ये ९५ प्रतिशत असमान तलब, पेन्सन र सुविधा लिएर निवृत्त भए र मरिसकेका छन् । उनीहरूले पाएको तलबले उनीहरू बाँच्न सक्ने अवस्था थिएन । जवानी विदेशी सेनालाई दिए र गरिबीको तोडमा देशभित्र मर्न बाध्य भए । पहाडका जनजाति यस गलत परम्पराका सिकार भएका छन् । ‘नेपालको गरिबी विदेशीको सेवाले जन्मायो’ भनी तर्क राख्न सकिन्छ ।

यस प्रचलनबाट विदेशीको सेवामा रमाउने संस्कार समाजमा विकास भयो । यस संस्कारलाई ‘लाहुरे संस्कार’ भनिन्छ । जन्मेर अलिअलि कुरा बुझ्न थालेदेखि नेपाली युवा विदेशीका फौजको खोजीमा हुर्कन्छ । ऊ वैज्ञानिक होइन ‘लाहुरे’ बन्छ । त्यही कारणले नेपाल आज पनि गरिब छ । हामी हाम्रो सार्वभौमसत्ता खुम्च्याएर बाँच्न विवश छौं ।

के हामी हाम्रो नियति बदल्न सक्दैनौं ?
हामी हाम्रो नियति बदल्न सक्छौं, तर हामीमा ‘राष्ट्रिय स्वाभिमानको चेतना जागृत हुनु आवश्यक छ’ । हामीलाई हाम्रो राष्ट्र हृदयमा अनुभूत हुनुपर्दछ । हाम्रो हृदयमा नेपालको ‘चित्र’ अंकित हुनुपर्दछ । हामीलाई आफ्नो देशको स्वाभिमानको अनुभूति हुनुपर्दछ । त्यसैले हामीले हाम्रो ‘गौरवपूर्ण इतिहासमा लागेको’ धमिरालाई चिन्न सक्नुपर्दछ, र त्यसका विरुद्ध लड्नुपर्छ ।

रसियन लेखक लियो टोल्सटोय भन्छन्, ‘यदि हामीले भोलि मैले के भोग्नुपर्छ भन्ने ठानेनौँ र वर्तमानको सरोकारमा मात्र जीवन गुजार्‍यौं भने हामीले हाम्रो भविष्यलाई बिगार्छौ ।’ हामीले इतिहासबाट सिकेर वर्तमानलाई निर्माण गर्नुपर्दछ । हामीले वर्तमानलाई निर्माण गर्‍यौं भने हाम्रो भविष्यको निर्माण हुन्छ । हामीले हाम्रो इतिहासलाई विस्मरणको अँध्यारोमा छोपेका छौं, त्यसैले हामी हाम्रो वर्तमानलाई चिन्न सकिरहेका छैनौं ।

हाम्रो इतिहास अपमानको विरासतमा खडा भएको छ । इतिहासको त्यस दुर्भाग्यले वर्तमानलाई समेत दुर्भाग्यको बन्दी बनाएको छ । नेपालको वर्तमान अवस्था सन् १९११ को चीन, सन् १८९० को रसिया र सन् १९४३ को भारतको जस्तै दुर्दान्तपूर्ण छ । आजपनि नेपालीहरू अन्धविश्वासको सहरामा जीवनयापन गर्दछन् ।

आज पनि नेपाल विज्ञानविहीन छ । आजपनि नेपालीसँग प्रविधि छैन, र उत्पादकत्व जीर्ण छ । आज पनि हामी ‘लाहुरे छौं’ । ‘लाहुरे सस्कार’मा हामीले सिकेको अल्पज्ञान/अर्धज्ञानले हाम्रो जीवनलाई निर्देशित गर्दछ । त्यसैले विरोध गर्ने र कुरा काट्ने हाम्रो संस्कृति बनेको छ । त्यसैकारण हामी हाम्रो श्रम हाम्रो बारीमा खन्याउनु भन्दा हाम्रो ‘ज्यान’ मरुभूमिमा खन्याइरहेका छौं । हाम्रो प्रगतिको दिशा अन्यौलपूर्ण छ, त्यसैले हाम्रो यात्रा पनि अनिश्चित छ । 

अहिले त हामी कतिसम्म निराश भइसकेका छौं भने, हामीलाई आफ्नो देश नै घिन लाग्न थालेको छ । एउटा नेपाली बच्चा बुझ्न थालेदेखि विदेश पलायनको सपना देख्छ । ऊ नेपालले केही नदिएको गुनासो गर्छ । ऊ भन्छ ‘एउटा मर्दै गरेको रुखमा पातहरू पलाउँदैन्’ । कसले सिकायो यो निराशा उसलाई ? उसलाई सिकाएको ‘शिक्षाले’ !

उसलाई सिकाएको ‘शिक्षाले’ यो देशको ३५०० वर्ष पुरानो गौरवको इतिहास सिकाएन । उसलाई सिकाएको शिक्षाले ’यो देश सानो छ, यो देश भारत र चीनको बीचमा चेपिएको छ, यो देश सतीले सरापेको देश हो, यो देश गरिब बस्ने देश हो’ भन्ने सिकाएका छन् । तर यो देश उपनिवेशहरूलाई फिरंगीको नाम दिएर उनीहरूलाई दक्षिण एसियाबाट लखेट्नुपर्छ भन्दै ‘उपनिवेशवाद विरुद्ध शंखघोष गर्ने एसियाको पहिलो देश हो’भन्ने सिकाएन ।

यो देश ७२ वर्षका भक्ति थापाले ‘युद्ध लडेको देश हो’ भन्ने इतिहास शिक्षाले विस्मरणमा फ्याँकिदियो । युद्धमा भाग्नु भन्दा शत्रुसँग लड्ने हिम्मत गर्नुपर्छ भन्ने पुर्खाहरूको स्वाभिमान भएको देश हो भन्ने शिक्षाले सिकाएन । ‘बरु मर्छु तर उपनिवेश स्विकार्दैन’ भन्ने नायकहरूको देश हो भन्ने शिक्षाले सिकाएन ।

किनकि हाम्रो शिक्षामा विदेशीको अधीन कायम भयो । उनीहरूले हाम्रो दिमागमा उनीहरूका स्वार्थ भरिदिए । त्यसैले हामी ‘मातृभूमिको स्वाभिमान त्यागेर डिभी भर्ने रोबर्टमा परिणत भयौ’ । जीवन उपन्यासमा गरिएको कल्पना होइन, समस्याहरूसँग जुध्दै समाधान गर्ने प्रणाली हो’ भन्ने हाम्रा अनुभूति विदेशी आख्यानले विनास गरिदिए । हामी पश्चिमी ‘प्रोपोगान्डा’ का शिकार भयौं भन्ने हामीले थाहा पाउन सकेनौं । हाम्रो प्रकृतिले हामीलाई शुद्ध पानी, हावा र वातावरण दिएको छ भन्ने हामीलाई ख्यालै भएन ।

हाम्रा जंगलमा प्रकृतिले हामीलाई सबै कुरा दिएको छ भन्ने थाहै पाएनौं । हाम्रा बारीमा बिउ फ्याँकिदिएपछि अन्न फल्छ भन्ने हामीलाई कहिल्यै हेक्का भएन । त्यो मानिस जसको घर छ, जसको परिवार छ, त्यसलाई गरिबीले पछार्दैन भन्ने हामीले कहिल्यै बुझेनौं । सबैभन्दा महŒवपूर्ण त ‘एउटा उन्नत युवाले मात्र देशलाई उन्नत बनाउँछ’ भन्ने कुरा हामीले सोच्नै चाहेनौं ।

हामीले हाम्रो नैतिकतालाई फ्याकिदियौं । हामीले हाम्रो देशभक्तिको घाँटी निमोठ्यौ । अनि हामी ‘सुनको कचौरा बोकेर कनिका माग्ने’ भिखारी भयौं । हामी विदेशीका मानसिक गुलाम भयौं । अहिले हामी ‘भाँडामा तैरिने माछा बनेका छौं’ । तर हामीलाई विश्वास छ’ एकदिन हाम्रो चेतना जागृत हुनेछ ।’

भट्टराईका अन्य लेख


Author

थप समाचार
x