संसद्मा देउवाको मन्तव्यको पूर्णपाठ
'मुलुक र नागरिकका हितमा काम गर्न प्रधानमन्त्रीलाई कसले, कहिले र कहाँ रोक्यो ?'
यो सरकार गठन भएदेखि संघीय, लोकतान्त्रिक गणतन्त्रको संविधान जोखिममा परेको छ
कोभिड-१९ को महामारीका कारण धेरै नेपाली दिदीबहिनी, दाजुभाइहरूले ज्यान गुमाउनु परेको छ । म यस दुःखद घडीमा दिवंगत आत्माहरूको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । विभिन्न अस्पतालहरूमा उपचारत रहेका र घरमा आईसोलेसनमा बसेका सबैको शीघ्र स्वास्थलाभको कामना गर्दछु ।
आज प्रतिनिधि सभाको यो बैठक बसिरहेको बेला देश अत्यन्त अप्ठ्यारो अवस्थामा छ । नेपाली जनताले दशकौंदेखि गरेको ठूलो त्याग, तपस्या र अतुलनिय बलिदान पश्चात हामीले देशमा संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्राप्त गरेका छौं ।
संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको व्यवस्था गरेको छ । संविधानले समानुपातिक समावेशीताको सिद्धान्तलाई अंगिकार गरी राज्यलाई समावेशी चरित्रको बनाएको छ । यस्तो राजनीतिक प्रबन्धसहितको यो संविधान नेपाली जनताको धेरै पुस्ताको रगत र पसिनावाट सिचिंत गरि हुर्काएको बिरुवा हो ।
म आजका दिनमा लोकतन्त्रका लागि जीवन आहुती दिएका प्रातः स्मरणीय शहिदहरूलाई सम्मानपूर्वक स्मरण गरिरहेको छु । लामो जेल यातना, प्रवासको कष्ट वा अन्य शारिरिक, मानसिक आर्थिक कष्ट व्योहोरेको आफूभन्दा पहिलेको र आफ्नो पुस्तालाई पनि सम्झिरहेको छु र नयाँ पुस्ता जसले संविधान बनाउन र लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि महत्वपूर्ण संघर्ष गरेको छ त्यो पनि मेरो मानसपटलमा ताजा छ ।
आज मेरो मनमा प्रश्न पनि उठीरहेको छ । के हामीले बलिदानवाट स्थापित गरेको लोकतान्त्रिक व्यवस्था र संविधान बमोजिम मुलुक चलेको छ ? के हाम्रा राजनीतिक गतिविधिहरू लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित, उच्च नैतिक र चारित्रिक धरातलमा उभिएका, देश र नेपाली जनताको हितका लागि केन्द्रित छन ? के आज सरकार संचालनको जिम्मा लिएकाहरूबाट संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान सुरक्षित छ ? वर्तमानमा उठेका यी प्रश्नबाट हामी भाग्न सक्दैनौ । इतिहासले पनि भोलि यी प्रश्नको जवाफ खोजीरहने छ ।
संविधान निर्माण भई सकेपछिको पहिलो संसदीय निर्वाचनमा तत्कालीन ने.क.पा. (एमाले) र ने.क.पा. (माओवादी) को गठबन्धनले झण्डै दुई तिहाई मत प्राप्त गरेर यो सरकारको गठन भएको हो । आज तीन वर्षमा नै प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत लिनका लागि आउनुपरेको छ । यसका लागि को जिम्मेवार छ ? यो परिस्थितिको लागि स्वयं प्रधानमन्त्री जिम्मेवार छन् । हाम्रो संविधानले प्रधानमन्त्रीलाई कार्यकारी प्रमुखको हैसियतले सम्पूर्ण अधिकार दिएको छ ।
देश र जनताका हितमा काम गर्न उहाँलाई कसले कहिले कहाँ रोक्यो ? हामीले प्रतिपक्षका रुपमा हमेशा रचनात्मक र सहयोगी भूमिका निर्वाह गर्यौं । आफू कार्यकारी प्रमुख प्रधानमन्त्री हुने अनि अरुमाथि दोष र गुनासा थुपारेर जिम्मेवारीबाट भाग्न पाउनु हुन्न । यो सरकार गठनपछि विगत तीन वर्षको मूल्यांकन गर्दा माननीय के.पी. शर्मा ओलीजीको सरकार पूर्ण रुपले असफल भएको छ । म मा. प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु । मानिस दुनियाबाट भाग्न सक्छ आफैबाट भाग्न सक्दैन । एक पटक छातीमा हात राखेर भन्नुस, आफैले आफैलाई सोध्नुस यो अवस्था तपाईले सृजना गर्नु भएको अंकगणितीय दम्भ, राजनीतिक अव्यवस्था, कुशासन र भ्रष्टाचार कारण होइन ?
हामी अहिले यो सदनमा छलफल गरिरहेको अवस्थामा बाहिर नेपाली दिदीबहिनी, दाजुभाइहरू कोभिड-१९ को महामारीमा परि घरमा, बाटोमा, एम्बुलेन्समा र अस्पतालमा अक्सिजन नपाएर छट्पटाएर मरिरहेको दयनीय अवस्था छ । अस्पतालहरूमा बेड, आइसीयू र भेन्टीलेटर नपाएर नागरिकले ज्यान गुमाउनुपरेको छ । कोरोनाको महामारी प्रारम्भ भएको एक वर्षभन्दा बढी समय भईसक्यो । सरकारले नियन्त्रण र रोकथामको कुनै व्यवस्था गरेन ।
हाम्रो पार्टीले कोभिड-१९ को प्रकोप प्रारम्भ हुँदा नै सरकारलाई सहयोग गर्ने प्रतिबद्धताका साथ समयमा नै नियन्त्रण र रोकथामका उपाय अपनाउन पटक-पटक ध्यानार्कषण गराउँदा पनि सरकार सचेत एवं गम्भीर भएन । विज्ञहरूले कोभिड-१९ को पटक-पटक लहर आउन सक्ने, जुनसुकै बेला जोखिम बढ्न सक्ने भनी दिएको चेतावनीलाई सरकारले सुनेन । समयमा कोभिड-१९ विरुद्धको खोपको व्यवस्था गरेन ।
फलस्वरुप अहिले नेपाल विश्वमा नै कोभिड-१९ को उच्च जोखिममा रहेका देशहरूमा गणना भएको छ । यस्तो अवस्था आउनमा यो सरकार पूर्णरुपमा जिम्मेवार छ । बेलैमा सरकारले गर्नुपर्ने काम नगरेको र सावधानी नअपनाएका कारण भयावह अवस्था सृजना भएको छ । दुई हप्ता अगाडि संक्रमितको संख्या निकै बढ्न थालेको अवस्थामा प्रधानमन्त्रीजी ठूलो तामझामकासाथ तयार हुन बाँकी नै रहेको धरहरा उद्घाटन गर्न जानुभयो ।
यो गैर जिम्मेवारीपनको नमूना हो । अहिलेसम्म थोरै मानिसलाई मात्र खोप दिन सकिएको छ । कमीसनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भइसकेको छ । जनताको जीवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनताविरुद्धको अक्षम्य अपराध हो । जनताको जीवन रक्षा गर्नुपर्ने सरकार स्वयं जिवनदायिनी औषधी (खोप) भ्रष्टाचारमा संलग्न हुनुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भएको छ ।
एक वर्षपहिले कोभिड-१९ को पहिलो लहर शुरु हुँदा सरकारले आयात गरेका स्वास्थ्य सामग्री पीपीई, कोभिड-१९ परीक्षणका सामग्री, मास्क, सेनेटाईजर र अत्यावश्यक औषधिमा भ्रष्टाचार भयो अहिले खोपमा भ्रष्टाचार भएको छ । योभन्दा निर्लज्जता के हुन सक्दछ ? व्यापारिक घरानाहरूलाई पोस्नका लागि तपाईंले नेपाली जनताको जीवन दाउमा लगाउनु भएको तथ्यलाई ईतिहासले बिर्सिन्छ ?
म यस सम्मानित सदनमार्फत माननीय प्रधानमन्त्रीलाई स्मरण गराउन चाहन्छु । औषधीमूलो नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनुपर्ने छैन भनी तपाईले भन्नुभएको होइन ? के आज ज्यान गुमाईरहेका नेपाली होइनन ? कहाँ गयो तपाईको प्रतिबद्धता ? आफ्ना जनताका लागि अक्सिजनको व्यवस्थासम्म गर्न नसक्ने, अक्सिजन, बेड, आईसीयू, भेन्टिलेटर र अस्पतालको अभावमा जनता मरिरहँदा टुलुटुलु हेरी बस्ने निरीह प्रधानमन्त्रीले भाषणमा आत्मरति र आत्मप्रसंशा गर्नु विडम्बनापूर्ण अवस्था हो ।
यो सरकार गठन भएका दिनदेखि संघीय, लोकतान्त्रिक गणतन्त्रको संविधान जोखिममा परेको छ । सरकार गठनसंगै संविधान भत्काउने काम शुरु भयो । प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण नगरीकन कुनै पनि माननीय सदस्यले यो सभा र समितिको समेत काम कारवाहीमा भाग लिन नपाउने व्यवस्था संविधानले गरेको छ तर माननीय प्रधानमन्त्रीजी प्रतिनिधि सभाको सदस्यको शपथ नलिई प्रधानमन्त्री नियुक्त हुनुभयो ।
प्रतिनिधि सभाको सभामुख र उप सभामुख फरक-फरक दलको प्रतिनिधि हुनु पर्ने संविधानको भावनालाई अपव्याख्या गरी दल एकीकरणपछि पनि एकै दलका प्रतिनिधि कायम राख्नुभयो । संविधानको यो बाध्यात्मक व्यवस्थालाई लत्याउने बदनियत राखी हालसम्म पनि प्रतिनिधि सभालाई उपसभामुखविहीन राख्ने काम भएको छ । प्रदेश सभामा पनि सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थालाई ठाडै ईन्कार गर्ने काम भएको थियो ।
उहाँले असंवैधानिक र अलोकतान्त्रिक तवरले प्रतिनिधि सभाको विघटन गर्नुभयो । प्रतिनिधि सभा विघटनलाई हामीले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम ठहर गर्यौं । देशमा क्रियाशील अधिकांश दलहरूको धारणा समान रह्यो । सर्वोच्च अदालतले प्रतिनिधि सभाको विघटन संविधान प्रतिकूल भएको हुँदा पुनर्स्थापना हुने ठहर गर्यो ।
प्रतिनिधि सभा पुनर्स्थापना हुने सर्वाेच्च अदालतको फैसलापछि नैतिकताको आधारमा राजीनामा गर्नुपर्नेमा प्रधानमन्त्रीले त्यो पनि आवश्यक देख्नुभएन । विगत तीन वर्षमा संविधानको भावनालाई निस्तेज गर्ने, संसदीय मूल्य, मान्यतालाई समाप्त गर्ने लोकतान्त्रिक विधि र पद्धतिलाई कुण्ठित पार्ने प्रशस्त कामहरू भएका छन् । अधिकारको विकेन्द्रीकरण संघीयताको मूल मर्म हो तर प्रधानमन्त्रीजी प्रारम्भदेखिनै अधिकारको केन्द्रीकरणमा लाग्नुभयो ।
राज्यका महत्वपूर्ण निकाय वा सरकारका विभागहरू आफू मातहत राख्ने अभिरुचि जाग्यो । हुकुमी शैलीमा शासन चलाउने कार्य भयो । संविधानको भावना विपरीत संविधानका मूल संरचनालाई नै भत्काउने, संसदीय मूल्य र मान्यता, विधि र पद्धतिलाई कमजोर गर्ने गरी संघीय संसदलाई छलेर अध्यादेशबाट शासन गर्ने चरित्र देखापर्यो ।
संवैधानिक परिषद्सम्बन्धी संविधानको विषेश व्यवस्थालाई खण्डित गर्दै संसदको वास्ता नगरी संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनलाई अध्यादेशमार्फत पटक-पटक संशोधन गरी संवैधानिक परिषद्को मर्यादा, गरिमा समाप्त गर्ने कार्यक्षेत्र संकुचित गर्ने, संवैधानिक परिषद्बाट आफू अनुकूल नियुक्ति गर्ने प्रपञ्च गरियो । यस्ता धेरै अध्यादेश जारी भए । जसको हामीले प्रतिवाद गरेका छौ ।
बहुदलीय व्यवस्थामा दलहरूलाई विभाजन गरी कमजोर पार्ने प्रयत्न भए । सांसद अपहरण गर्नेजस्ता घटना सुनिए । संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने सम्बन्धमा संविधानले विशिष्ट व्यवस्था गरेको छ । यसका राष्ट्रिय, अन्तर्राष्ट्रिय परम्परा पनि छन् जुन संसदीय व्यवस्थामा अनुकरणीय हुन्छन् । सरकारबाट माननीय सभामुखलाई जानकारीसमेत नहुने गरी संसद अधिवेशनको अन्त्य गर्ने काम भयो ।
यसले वर्तमान सरकार संविधान र संसदीय मान्यताप्रति प्रतिबद्ध नभएको प्रष्ट छ । संविधानबमोजिम अत्यन्त मर्यादित, गरिमामय र निष्पक्ष रहनुपर्ने, संविधानको मर्म र भावनाअनुरुप कार्य सम्पादन गर्नुपर्ने महत्वपूर्ण पद र संस्थालाई दुरुपयोग गर्ने तिनको महत्व र गरिमा कम गरी वर्तमान राजनीतिक व्यवस्थालाई नै कमजोर गर्ने गतिविधि भए । यी घटनाहरूले मा. प्रधानमन्त्रीजीमा संविधान म नै हुँ बरु संविधानभन्दा माथि हुँ भन्ने दम्भ विकसित भएको प्रमाणित हुन्छ ।
बितेका तीन वर्षमा देशमा भ्रष्टाचार मौलाएर गयो । भ्रष्टाचारका ठूला-ठूला काण्ड भए । सरकारका बहुमूल्य जग्गा र सम्पत्तिबिना मूल्य व्यापारिक घरानाहरूसंगको मिलोमतोमा लिजका नाममा दिइए । मन्त्री स्वयं कमीसनको खेलमा लागेका घटना सार्वजनिक भए ।
कोभिड-१९ को रोकथाम र नियन्त्रणसंग सम्बन्धित सामग्री, औषधी र खोप खरिदको अनियमिता सतहमा आयो । राष्ट्रिय गौरवका महत्वपूर्ण योजनाहरू आर्थिक अनियमितता र भ्रष्टाचारका कारण अलपत्र परेका छन् । यी कुनै पनि विषयमा विश्वसनिय छानबिन र कारवाही नभएको तथ्यलाई हेर्दा प्रधानमन्त्रीको भ्रष्टाचार नियन्त्रणमा रुचि भएको देखिएन । बरु प्रधानमन्त्रीले नै अनियमितताको बचाउ गरेको देखियो । सरकारले सुशासनको प्रत्याभूति गर्न सकेन ।
संविधानको कार्यान्वयनको सन्दर्भमा पनि सरकार असफल भयो । संघीयतालाई सुदृढ गर्न तत्काल बनाउनुपर्ने आवश्यक कानुन हालसम्म पनि बनेका छैनन् । फलस्वरुप प्रदेश सभा, प्रदेश सरकार र स्थानीय तहले संविधानबमोजिम आफ्ना अधिकारको प्रयोग गर्न सकेका छैनन । यसबीचमा बनेका कतिपय कानुन र संघीय संसदमा विचाराधीन विधेयक संघीय, लोकतान्त्रिक भावनाका विपरीत छन् ।
मौलिक हकको सही कार्यान्वयनका लागि गर्नुपर्ने कानुनी व्यवस्था पनि फितलो रह्यो । नागरिकका मौलिक हक र स्वतन्त्रता कुण्ठित गर्ने गरी विधेयक प्रस्ताव गरिए । सूचनाको हक, प्रेसको स्वतन्त्रतालाई कमजोर गर्ने प्रयास भए । नागरिकको सांस्कृतिक हक समाप्त गर्ने प्रयत्न भयो । शान्ति प्रकृयाका बाँकी काम अलपत्र परेका छन । नेपाली काँग्रेसको दवाव र सक्रियतामा आयोग गठन भए पनि कानूनको अभाव र सरकारबाट हुनुपर्ने अन्य आवश्यक सहयोग र समन्वय हुन नसकेका कारण आयोगका काम अगाडि बढेका छैनन् ।
आम जनताले सरकार हुनुको अनुभूतिसम्म गरेका छैनन् । म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु तपाईले चुनावका बेला गरेका वाचा र पछि पटक-पटकका भाषण सम्झना छ ? रेल यात्राका तथाकथित कथा, पानी जहाजको सफर, घर-घरमा ग्यासका पाइप, कोही भोको बस्नुपर्दैन, कोही भोकले मर्दैन, सडक बालक हुने छैनन, भीक माग्ने मानिस भेटिने छैन, कसैले रोजगारीका लागि विदेश जानुपर्दैन भन्ने उक्तिहरू, कहाँ गए यी सबै कुरा ? देशमा विकास निर्माणको अवस्था दयनीय छ । प्रधानमन्त्रीजीलाई मैले पूँजीगत खर्चको कमजोर अवस्था बारे बताउनुपर्दैन होला ।
यो सरकारको गठनपछि देशमा शान्ति सुरक्षाको अवस्था खस्किदै गयो । महिला बालबालिकाको बलात्कारका घटना बढ्दै गए । अन्य आपराधिक घटनामा पनि वृद्धि भयो । सरकार अपराधीलाई कानूनी दायरामा ल्याउन नितान्त असफल रह्यो । फलस्वरुप अपराधीको मनोबल बढ्दै थप अपराध हुन थाले । अबोध बालिका निर्मला पन्तको बलात्कार र हत्याका अपराधी पक्राउ परेनन ।
यो त एक प्रतिनिधिमूलक घटना हो । देश भरि यस्ता धेरै घटना भएका छन । महिला, बालबालिका सबैभन्दा बढी असुरक्षित भए । देशमा दण्डहीनताको अवस्था विद्यमान छ । देशको नागरिक प्रशासन, सुरक्षा निकाय, संवैधानिक निकायहरूमा सर्वत्र राजनीतिक दबाव र त्रास सृजना गरियो । सरकारले अधिनायकवाद र सर्वसत्तावादको अभ्यास गरिरह्यो ।
आम जनताको जीवनयापन कष्टकर भएको छ । खाद्य पदार्थमा मिसावट, कालो बजारी, कृत्रिम अभाव, खाद्य सामग्री र अन्य दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धिका कारण जनता कष्टमा छन् । अहिले देशमा आत्महत्याका घटना धेरै भइरहेका छन् । आम मानिस अभाव, चिन्ता र निराशामा छन् । यस्तो बेलामा सरकार जनताको अभिभावक बन्न सकेको छैन ।
अन्तर्राष्ट्रिय स्तरमा देशको सम्मान र स्वाभिमान कमजोर भएको छ । मित्र राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम हुन सकेको छैन । कोभिड-१९ को भयावह अवस्थामा अन्तर्राष्ट्रिय संघ, संस्था र मित्र राष्ट्रहरूवाट कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न र नेपाली नागरिकलाई कोभिडबाट बचाउन आवश्यक सामग्री, औषधी, खोपलागायत प्राप्त हुन सक्ने सहयोग पनि सरकारले लिन सकेको छैन ।
यसरी सहयोग लिनु पर्ने बेलामा प्रधानमन्त्रीजीले संचार माध्यमबाट नेपालमा कोरोना नियन्त्रण भइसकेको अभिव्यक्ति दिएर अन्तर्राष्ट्रिय समुदायलाई समेत गुमराह गर्नुभयो । नेपाली जनताका कारण नेपालमा कोभिड-१९ बढेको भनी माननीय प्रधानमन्त्रीले आफ्नो कमजोरीलाई ढाकछोप गर्ने काम गर्नुभयो । राष्ट्रको कुटनीतिक क्षमता निकै कमजोर भएको छ । मित्र राष्ट्रहरूसँग विगतमा भएका सहमति समझौताको कार्यान्वयन नभएका कारण देशको विश्वसनियतामा ह्रास आएको छ ।
अन्त्यमा, नेपाली जनताले गत निर्वाचनमा स्पष्ट बहुमत दिएको सरकार र सरकारका प्रमुख प्रधानमन्त्री माननीय के पी शर्मा ओलीजीले जनतासामु गरेका वाचा बिर्सिएकाे, देश र जनताको हितमा काम गर्न नसकेको, अधिनायक र सर्वसत्तावादी चरित्रको प्रदर्शन गरेको, सुशासनको प्रत्याभूति दिन नसकेको, देशको स्वाभिमान मर्यादा र गरिमा बढाउन नसकेको, कोभिड-१९ को रोगथाम र नियन्त्रणमा सर्वदा असफल भएको, शान्ति सुरक्षा कायम गर्न नसकेको र संविधान विधि र पद्धतिलाई नै समाप्त गरी संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई नै आँच पुग्ने कार्य गरेको हुँदा अहिले मुलुकमा जटिल अवस्था सृजना भएको छ । प्रधानमन्त्रीजी आफैले उत्पन्न गरेको समस्याका कारण विश्वासको मत माग्नुपर्ने अवस्थामा पुग्नुभएको छ ।
नेपाली कांग्रेस माननीय प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने जानकारी गराउँदछु । साथै प्रतिनिधि सभामा उपस्थित सबै राजनीतिक दल र माननीय सदस्यज्यूहरूलाई प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतले प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न आव्हान गर्दछु ।
आज माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष राखेको प्रस्ताव पारित नहुने भएको हुँदा नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम अर्को सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउन समेत आव्हान गर्दछु । (प्रधानमन्त्री के पी शर्मा ओलीले विश्वासको मतका लागि राखेको प्रस्तावमा नेपाली कांग्रेसका सभापति एवं संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता देउवाले प्रतिनिधि सभामा प्रस्तुत गरेको मन्तव्य)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया