विचार

भाषाको रमाइलो

अमृता लम्साल |
बैशाख १४, २०८० बिहीबार १३:५३ बजे

गत वैशाख १ गते, देउखुरीमा भएको एउटा कार्यक्रममा, नेकपा (माओवादी क्रान्तिकारी) का महासचिव मोहन वैद्यले आदर्शवाद र भौतिकवादको विषयमा चर्चा भइरहँदा संस्कृत विज्ञानले अघि सारेका विषय वैज्ञानिक रहेको भनेर भाषण गरेको कुरा राससले समाचार बनाएको छ ।

सोही कार्यक्रममा उनले भनेको भनेर पत्रिकाहरूमा राससलाई उधृत गर्दै छापिएको छ, ‘संस्कृत विद्या भन्दा सबै कर्मकाण्डी भन्‍ने भ्रम छ । यो अकाट्य कर्मकाण्ड हो भन्‍ने बुझाइ छ, त्यो बिल्कुलै गलत हो । संस्कृत भनेको आदर्शवाद हो, भौतिकवाद पनि हो । यसको महत्व र गरिमा नबुझ्दा धेरैलाई गलत भ्रम परेको हो ।’ 


कमरेड मोहन वैद्य मात्रै होइन, आजकाल संस्कृतलाई स्कुलको पाठ्यक्रममा राखिनुपर्ने वकालत खुबै चल्दै छ । होला, यसलाई ऐच्छिक विषय बनायो भने कसैलाई केही फाइदा गर्ला । तर, संस्कृत पढ्नैपर्ने या पढाउनैपर्ने भन्‍ने बहसले कसलाई के पाइदा पुग्छ, थाहा भएन । 

सबैलाई थाहा छ, संस्कृत संसारकै पुरानो भाषामध्ये एक हो; तर, आजको दिनमा विश्वमै संस्कृत कति प्रतिशतले बुझ्छन्, बोल्छन् या कामकाजी भाषा बनाएका छन् ?

सबैभन्दा बढी संस्कृत बोलिने देश भारतमा सन् २०११ को जनगणनाअनुसार भारतीय जनसंख्याको शून्य दशमलव ००२ प्रतिशतले मात्रै संस्कृत बोल्ने रहेछन् । उक्त कुरा त्यहाँको गृह मन्त्रालय र सेन्सस कमिस्नरको अफिससँग भारतस्थित आग्राका सर्जन तथा सामाजिक अभियन्ता देवाशिष भट्टाचार्यले सूचनाको हकमार्फत मागेको सूचनामा जानकारी गराइएको थियो । अब, यस्तो भाषालाई पाठ्यक्रममा अनिवार्य गरेर विद्यार्थीलाई के कति फाइदा होला त ?

हुन त, हामीले पनि पुरानो शिक्षाअन्तर्गत एसएलसी दिँदा, आठ, नौ, दश कक्षा हो कि, नौ र दश मात्रै हो कि, संस्कृत पढ्नैपर्थ्यो; तर, जीवनको एक तिहाइ उमेर काट्दासम्म पनि त्यो संस्कृत पढेको कतै काम लागेको थाहा छैन ।

उल्लिखित विवरण लेख्नुको तात्पर्य, संस्कृतको विरोध गर्ने वा यसबारे बहस गर्न खोजेको पनि होइन, आफूले मन लागेको विषय जोसुकैले पढ्न पाउनुपर्छ; कसैलाई पढ या नपढ भन्‍ने कुरा कसैको पनि अधिकार क्षेत्रभित्र पर्दैन, पारिनुहुन्‍न ।
लेख्न खोजेको कुरा भाषासँगै सम्बन्धित भएको र भाषाले कति अप्ठ्यारो पार्ने रहेछ भन्‍ने भूमिका बाँध्न उप्काएको मात्रै हो ।

बूढापाकाले उखान हाल्ने गर्थे, ‘बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन”, हाम्रो जीवनमा भाषाको महत्व दर्शाउने योभन्दा बलियो उखान अर्को छैन होला ! आफूले बोल्ने भाषामाथि राम्रो पकड भएन भने कसरी आफ्नो कुरा राख्न सकिन्छ र ?

जीवनमा त्यस्तो घटना धेरैपटक भोगिएको छ । विविध कारणले, स्कूल जम्माजम्मी तीन वर्ष पढियो, कलेज पनि गइएन; बिएसम्मको पढाइ प्राइभेट जाँच दिएर सकाइयो । अंग्रेजी भाषामा पकड हुने त कुरै भएन कसरी मिलोस् र कुरा ? 
नब्बेको दशकमा केही वर्ष विकासे संस्थाहरूसँग सम्बन्धित भएर काम गर्दा भाषाको दबाब मात्रै होइन, भाषामा पकड नभएको कारणले सकस र दकस पनि उत्तिकै भोग्नुपरेको छ । दातृ संस्थाहरूलाई ख...र..र..र अंग्रेजी बोल्ने मान्छे चाहिने, काम होस् कि नहोस् फूलबुट्टा भरेर प्रतिवेदन तयार गर्ने मान्छे चाहिने, सरकारी स्कूलमा पढेर कनीकुथी अंग्रेजी बोल्नेहरू के काम ? उनीहरूलाई त, कन्भेन्ट पढ्नेहरूसँग काम गर्न पो सजिलो ! 

त्यसैले पनि, जतिसुकै मातृभाषा या अन्य भाषाको पक्षपोषण गरे पनि एउटा अन्तर्राष्ट्रिय भाषालाई सँगसँगै बलियोसँग पढाउनुपर्छ भन्‍ने लाग्दछ । भाषाकै कुरा गर्दा, यसले कहिलेकाहीँ ठूलै विवाद पनि उत्पन्‍न गरिदिन्छ भने कहिलेकाहीँ हदैसम्म लज्जित हुने गरी पछारेरै छाड्छ ।

एकपटक, अमेरिकी टेलिभिजनकी कार्यक्रम संचालक रोजी ओ’डनेलसँग ‘टक सो होस्ट” ओपरा विनफ्रेले लिएको अन्तर्वार्तामा, रोजी भन्दै थिइन् ‘शब्दहरू हतियार हुन् !” वास्तविकता यही हो; त्यो हतियार सही ठाउँमा प्रयोग भयो भने त्यसले शत्रुको शिर गिड्छ होइन भने मित्रु गुमाउँछ । आखिर शब्दहरूले नै हामीले बोल्ने भाषाको निर्माण गर्छ ।

मलाई कहिलेकाहीँ लाग्छ, यदि बोल्नुको साटो सान गरेर आफ्नो कुरा प्रस्ट्याउनुपर्ने भएको भए, नेताहरूको भाषण पनि कम हुन्थ्यो होला ! किनकि, त्यसका लागि उनीहरूलाई परिश्रम पर्थ्यो, र परिश्रमका आदि सबै नेता हुँदैन थिए अनि विश्वमा वाक्युध्द पनि कम हुन्थ्यो होला ! तर सबै कुरा सोचे जस्तो कहाँ हुन्छ र !

भाषाको समस्या यो पंक्तिकारले पनि धेरै पटक र राम्रो/नराम्रो सबै तरहबाट भोगेको छ । यसै सन्दर्भमा, सन् १९९५ मा चीनमा भएको ‘चौथो विश्व महिला सम्मेलन’मा भााग लिन जाँदाको घटना याद आयो । त्यतिबेलासम्म, आफूलाई, शुध्द नेपालीमा ‘चर्पी’ भनेर बुझाउने स्थानलाई डब्लु.सी. अर्थात् ‘वाटर क्लोजेट’ (Water Closet) भनिन्छ भन्‍ने थाहा थिएन । हामी, साथीहरूको समूह चर्पी खोज्दै थियौं, चिनियाहरू अंग्रेजी, नेपाली केही नबुझ्ने, हाम्रो समूह चाइनिज नबुझ्ने ! 

अब परेन के फसाद ! 
यो स्थान, बेइजिङभन्दा पैंतालीस मिनेट परको दूरीमा थियो । हाम्रो समूहले ‘बाथरुम’ भन्यो, ‘रेस्टरूम’ भन्यो, के के भन्यो । केही सीप लागेन अनि एकजना साथीले सुरुवालको इजार फुकालेर बसेको अभिनय गरेर देखाएपछि, एउटी चिनियाँ महिलाले अलिकति मात्रै पर रहेको ‘वाटर क्लोजेट’ देखाइदिइन् । 

त्यति बेलाको अर्को घटना पनि रमाइलो छ । त्यहाँ कुखुराको मासु मगाउँदा पनि घुँडामुनिबाट हात छिराएर कान समाउँदै कुखुराको अभिनय गर्नुपरेको थियो । त्यसैले, जब जब पट्यारलाग्दा भाषणहरू सुन्छु; भाषालाई परिश्रम गरेर बुझाउनुपर्ने भए पनि हुँदो हो जस्तो लाग्छ ।

यदि, त्यसो हुन्थ्यो भने, उनीहरूको भाषणको नाउँमा जथाभावी भट्टयाउँदै हिँड्ने बानीमाथि लगाम लाग्थ्यो कि ? 
कल्पना नै गर्ने त हो नि, कल्पना गर्न कसको के जान्छ र ?

लेख्दै गर्दा, अझै अर्को रमाइलो प्रसंगको याद आयो, एउटा साथी भर्खरै जोर्डनबाट अमेरिका आएका थिए । पढ्न आएको मान्छे, कामको खोजीमा, ‘एक्सएल साइजका’ र विशेष गरी अफ्रिकन अमेरिकी पुरुषहरूले लगाउने लुगाको पसलमा काम गर्न गएछन् । अंग्रेजी त राम्ररी आउँदैन थियो, तर पनि उनलाई उनको हाकिमले भनेछन्, ‘लुगा किन्‍न आउने ग्राहकहरूसँग धेरै नम्र हुनुपर्छ । त्यसैले उनीहरूले जे भने पनि ‘एस, सर् !’ अनि ‘थ्यांक्यु’ भन्‍न नभुल्नू ।’ ठीक हुने लक्षणै भएन ।

उनले केही सीप नलागेर, हात र अभिनयको माध्यमबाट अरु केही गर्न नसक्ने जानकारी गराए । आफूलाई ठीक हुने लुगा नपाएको झोकमा ग्राहकले ‘के तैँले म धेरै मोटो छु भन्‍न खोजेको ?’ भनेर प्रश्न गरेछन् । भर्खर अमेरिका आएको हुनाले उसलाई अरुलाई ‘मोटो’ भन्‍नुहुन्‍न, त्यो भनेको असभ्य हो भन्‍ने पनि ज्ञान नभएको अनि त्यसमाथि भाषाको पनि अल्पज्ञान भएको उनले, आफ्नो हाकिमले सिकाएको दुई शब्द ‘एस, सर् !’ भनेछन् । ती बबुरोले, भाषाकै कारण झन्डै, ग्राहकको मुक्का भेटेका । 

यी सबै घटनाहरूले, देशका ती सोझा साझा जनता जो, कुनै राजनीतिक प्रतिबध्दता नै नबुझी आफ्नो देश खाएर शेष भइसकेका नेताहरूको पछि लाग्दै ‘कार्यकर्ताको पगरी’ गुँथ्छन्, उनीहरूप्रति ‘च्वः च्वः’ लाग्छ । कहिलेकाहीँ भाषाले आफ्नो मजबुरीको पनि सम्झना दिलाउँछ । 

आफ्नो देशमा अंग्रेजीमा प्रगाढ नभएर हतोत्साही हुनुपर्थ्यो भने अमेरिका हुँदा अंग्रेजी बोलेकै भरमा कहिलेकाहीँ स्प्यानिस बोल्नेहरूको कोपभाजनको सिकार बन्‍नुपर्थ्यो । यही सन्दर्भमा, अमेरिकामा हुँदाको, एक दिनको घटना याद आयो, एउटी ल्याटिनो (ल्याटिन अमेरिकन) उनको भाषामा बोल्न आइन्; नम्र हुँदै जवाफ दिएँ, ‘मलाई स्प्यानिस आउँदैन !’ उनी त एक्कैपटक ‘सेम अन यु ! तैँले लाज मान्‍नुपर्ने, स्प्यानिस नबोलेकामा !)’ भन्छिन् बा !

मैले पनि आव देखे न ताव, जंगिँदै भनँे, ‘ह्वाई, सेम अन मी ? सेम अन यु ! (मैले किन लाज मान्‍नुपर्ने ? लाज त तिमीलाई हुनुपर्छ !) तिमीलाई मेरो भाषा बोल्न आउँछ ?’ अनि म नेपालीमा कराउन थालेँ ! ‘मातृभाषा’को प्रभाव, मन–मस्तिष्कमा भित्रसम्म यसरी गढेर बसेको हुने रहेछ कि, विदेशी भाषीको बीचमा छु भन्‍ने जान्दाजान्दै पनि, कहिलेकाहीँ, धेरै आक्रोशित हुँदा, अवचेतन मनबाट त्यो निस्किहाल्ने रहेछ ।

त्यस्तो अनुभव धेरैपटक गरेकी छु । उनलाई लागेको थियो, म, हिस्प्यानिक भएर पनि, उनीसँग स्प्यानिस भाषामा बोलिरहेकी थिइनँ । मेरो, त्यो आक्रोश देखेर, उनी अक्क न बक्क परेर बाटो लागिन् । मैले एउटा कुरा के महसुस गरेकी छु भने, जतिसुकै अर्काको भाषा सिके/जाने पनि, गाली गर्न र पैसा गन्‍न चाहिँ आफ्नै भाषामा सजिलो हुँदो रहेछ । यसैले होला, ‘आफ्नो भाषा, आफ्नो भेष !’ भनिने गरेको ।

फेरि पनि, भाषासम्बन्धी नै एउटा रमाइलो घटना; यो साँच्चिकै घटेको हो, बनाएको होइन । केही वर्ष पहिले, एउटा परिवार डिभी परेर अमेरिका आएको थियो । त्यो परिवारको मुलीलाई भूत–प्रेतमाथि धेरै विश्वासको साथसाथै डर पनि उत्तिकै लाग्दो रहेछ ।

अमेरिका आउने बेलामा कसैले भनिदिएछ, ‘त्यहाँ गएर अपार्ट्मेन्ट्मा कसरी बस्छौ ? त्यहाँ त कति मान्छे मरेका पनि होलान्, अनि शान्ति स्वस्ति पनि गरेको हुँदैन; डर लाग्दैन ?’ त्यो कुरोले घरमुलीको दिमाग साँच्चै चकराएछ, त्यसका लागि के उपाय गर्ने त भन्दा, एकजना धार्मिक प्रवृत्तिकी व्यक्तिले सुझाइछन्, ‘बाबू, त्यस्तो बेलामा गायत्री मन्त्र पाठ गरे भूत–प्रेत भाग्छन् !” तर, आफूलाई धेरै चतुर ठान्‍ने घरमुलीले उल्टै प्रश्न गरेछन्, ‘गायत्री मन्त्र त संस्कृतमा हुन्छ, अमेरिकाको भूतले कसरी बुझ्छ त ?’ 

अनि तुरुन्तै गायत्री मन्त्र अंग्रेजीमा अनुवाद गर्ने निधो भएछ र ती परिवार अंग्रेजीमा अनुवाद गरिएको गायत्री मन्त्र लिएर अमेरिकाको भूत भगाउन गएका थिए । तर के गर्नु र, अमेरिकन भूतलाई पनि अंग्रेजीमा अनुवाद गरिएको गायत्री मन्त्र हामीले संस्कृत बुझ्न खोजे जस्तै त भयो होला नि !

जसरी राम्रा राम्रा शब्द चयनका साथ हाम्रा नेताहरूले गरेको भाषणको ‘हाउ ...हाउ’ (भन्‍न खोजेको चाहिँ ‘हौवा’) सिधासाधा जनतालाई हुन्छ; होइन त ? अन्यमा एउटै कुरा, भाषालाई सम्मान गरौँ; तर, जबर्जस्ती नलादौँ ।


Author

अमृता लम्साल

लेखक लम्सालको पछिल्लो कृति ‘हजुरआमाका कथा’ हो ।


थप समाचार
x