विचार

काठमाडौँमा भूमिगत पानीको दोहन, जमिन भासिने खतरा

व्यवस्थापन गर्न जाने वर्षातकै पानीले पुग्ने

गोविन्द शर्मा पोखरेल |
भदौ २, २०८० शनिबार १८:१० बजे

करिब ६६५ बर्ग किलोमिटर क्षेत्रमा फैलिएको काठमाडौँ उपत्यकामा सधैं खानेपानीको हाहाकार नै हुन्छ । के वास्तवमै यस्तो हाहाकार हुनुपर्ने स्थिति छ त ? काठमाडौँको खानेपानी व्यवस्था धेरै हदसम्म भूमिगत जलश्रोतमा आधारित छ, जसका कारण काठमाडौँका विभिन्न क्षेत्रहरू विभिन्न गतिमा भासिँदै गएको आंकडाहरूले देखाउँछन् । अब अलि सोच्ने बेला भएन र ? कि दुर्घटना नहुँदासम्म कुर्ने नै हो ? यो विषयमा खास अध्ययन नपुगेर वा साधारण जनसमुदायको पहुँचमा आवश्यक तथ्यांकहरू नभएकाले यस्तो देखिन आएको हुन सक्छ । किनभने, तथ्यांकहरूले त्यस्तो अवस्था देखाउँदैनन् । त्यसैले, काठमाडौँ उपत्यकाको वार्षिक पानीको सन्तुलन (वाटर ब्यालेन्स) प्रस्तुत गरिएको छ ।

काठमाडौँ उपत्यकामा कति पानी पर्छ ?


काठमाडौँ उपत्यकाभित्रका विभिन्न स्थानहरूमा वर्षात् मापन यन्त्रहरू जडान गरिएका छन् । तीमध्ये पहाडका टाकुरामा र उपत्यका वरिपरिका पर्वतीय इलाकाहरूमा जडान गरिएका मापन यन्त्रहरूले वार्षिक सालाखाला २,०८०.०८ मिलिमिटर वर्षा भएको देखाउँछन् । उपत्यकाको तल्लो भागमा –भ्याली फ्लोर) जडान गरिएका यन्त्रहरूले वार्षिक सालाखाला १,३६८.२२ मिलिमिटर वर्षा भएको मापन गरेका छन् । यसको आधारमा, काठमाडौँ उपत्यकामा वार्षिक सालाखाला १,८३०.९३ मिलिमिटर वर्षा भएको अनुमान गरिएको छ ।

यो पारिमाणको वर्षातको पानीमध्ये करिब ८०% पानी वर्षातको १०० दिनमा पर्छ भने बाँकी करिब २०  प्रतिशत पानी हिउँदका ८ देखि साढे ८ महिनामा पर्दछ । वर्षातको समयमा परेको पानीमध्ये करिब १५ प्रतिशत पानी भूमिगत जलभण्डारलाई भर्नमा खर्च हुने अनुमान गरिएको छ । यसरी जल भण्डारमा जाने वर्षातको पानी वर्षा सकिएपछि पनि उपत्यकाका विभिन्न स्थानमा रहेका पानीका मूलमार्फत उपत्यकालाई सिञ्चित गरिराख्छन् । हुन त वर्षातको समयमा पनि भूमिगत जलभण्डारको पानी पानीका मूलमार्फत बाहिर निस्की नै रहन सक्छन् तर वर्षातको समयमा मूलहरूबाट निस्कने पानीको परिमाणको हिसाब गर्न असजिलो हुने भएकाले सुख्खायामको पानीलाई मात्र यस १५ प्रतिशतमा समावेश गरिएको छ ।

कति पानी बाहिर निस्कन्छ ?

वर्षातको सय दिनमा वार्षिक सालाखाला आकाशबाट पर्ने कूल १,४६४.७४ मिलिमटरमध्ये करिब २५ प्रतिशत वाष्पोत्सर्जन (उडेर जाने) मा खर्च हुन्छ भने थप करिब १० प्रतिशत पानी माटोको चिस्यान बढाउने कार्यमा खर्च हुन्छ । यसबाहेक, करिब १५ प्रतिशत पानी उपत्यकाका भूमिगत जलभण्डार भर्न खर्च हुन्छ । त्यसैले परेको पानीको कुल ५० प्रतिशत पानी मात्र उपत्यकाका नदीहरूमार्फत बगेर जान्छन् । यसरी वर्षातको समयमा बगेर उपत्यकाबाहिर जान सक्ने पानीको परिमाण करिब ४८.७ करोड घनमिटर हुन्छ । तर, यसमा काठमाडौँ उपत्यकामा वर्षातको समयमा खानेपानी, ढल निकास आदिमा खर्च हुने थप पानीको अनुमानित परिमाण ५.५४४ करोड घनमिटर पानीलाई घटाउँदा बगेर जाने पानीको कुल परिमाण ४३.१६ करोड घनमिटर हुने अनुमान गरिएको छ । यसरी बगेर जाने पानीको प्रवाह दर ४९.९५ घनमिटर प्रतिसेकेन्ड हुन्छ ।

त्यसैगरी, हिउँदका २६५ दिनमा वार्षिक सालाखाला ३६६.१९ मिलिमिटर पर्नेमध्ये केही पानी वाष्पोत्सर्जन तथा माटोको चिस्यान बढाउने कार्यमा खर्च हुन्छ भने वर्षातको समयमा जलभण्डारमा गएको पानी हिउँदको समयमा विभिन्न मूलहरूमार्फत निस्किन्छन् । यसरी हिउँदका महिनामा सालाखाला वार्षिक ३०.४ करोड घनमिटर पानी उपत्यकाका खोला तथा नदीहरूमा बग्ने अनुमान लगाइएको छ । यस परिमाणको पानीमा हिउँदका महिनामा खानेपानी, ढल निकास आदिमा वार्षिक सालाखाला खर्च हुने परिमाण घटाउँदा करिब ६.८६ घनमिटर प्रतिसेकेण्डको प्रवाह दरले पानी उपत्यका बाहिर निस्कने देखिन्छ ।

यसरी सालबसाली रुपमा उपत्यकाबाट बाहिर निस्कने पानीको कुल परिमाण ५८.८७ करोड घनमिटरमध्ये हिउँदका महिनामा पानीका मूलहरूबाट सालबसाली रुपमा प्राप्त हुने कुल पानीको परिमाण १४.६१ करोड घनमिटरलाई घटाउँदा ४४.२६ करोड घनमिटर वर्षातको पानी सिधै खोलामा गई उपत्यकाबाहिर जाने देखिन्छ ।  

पानीको व्यवस्थापन

माथि प्रस्तुत गरिएको पानीको सन्तुलनले काठमाडौँ उपत्यकालाई पानीको अपुग भएको होइन अपितु पानीको अधिशेष भएको उपत्यका देखिन्छ, व्यवस्थापन गर्न नसकेर मात्रै नपुगेको हो । काठमाडौँ उपत्यकाको भूगोल तथा हालको जनसंख्यालाई आवश्यक पर्ने करिब २०.२४ करोड घनमिटर पानी मुख्यतया उपत्यकाका पानीका मूलहरूबाट बग्ने १४.६१ करोड घन मिटरमध्येबाट मुख्य रुपमा व्यवस्थापन गरी नपुग वर्षातको पानीको संरक्षण व्यवस्थापन पहाडका खोंचहरूमा नै गर्न सके परिणामतः काठमाडौँ उपत्यकामा बाहिर अन्यत्रबाट पानीको पूर्ति गर्न आवश्यक पर्ने ठाउँजस्तो देखिँदैन । साथै, काठमाडौँ उपत्यकामा पानीको आपूर्तिका लागि भूमिगत जलश्रोतको दोहन एकदमै अनावश्यक छ । त्यसैले, काठमाडाैँ उपत्यकाका शहरहरू केवल प्रभावकारी व्यवस्थापन नभएका कारण मात्र पानीको दुःख झेल्न बाध्य भएको देखिन्छ ।

(पोखरेल नेपाल पानी सदुपयोग फाउन्डेशनका सिनियर फेलो हुन्)


Author

थप समाचार
x