विचार

काकाकुल काठमाडौंलाई यसरी आत्मनिर्भर गराउन सकिन्छ

गोविन्द शर्मा पोखरेल |
भदौ ५, २०८० मंगलबार १४:५६ बजे

काठमाडौं उपत्यकाका टडकारो रुपमा देखिने जलभण्डारहरु उपत्यकाको बीच भाग वा भ्याली फ्लोर मा देखिन्छन भने उपत्यकाको वरिपरिका पहाडहरुमा पनि जलभण्डारहरु रहेको कुरा बिज्ञहरुले समय-समयमा बताउने गरेको भए पनि तिनीहरुबारे खास अध्ययन अनुसन्धान नभएकाले केवल आकलन गर्न सकिन्छ । किनभने, काठमाडौंका सम्पूर्ण प्रायः नदीनालाहरुको श्रोत तिनै पहाडीभागमा अवस्थित छन् । काठमाडौं उपत्यकाका सवैजसो नदीहरु वरिपरिका पहाडहरुमा विभिन्न प्रकारका पानीका मूलका रुपमा उत्पन्न भई आफ्नो बग्ने मार्ग र सो मार्गका छेउछाउमा पर्ने अन्य मूलहरु तथा अन्य ससाना खोला खोल्सीहरुमा बग्ने पानीलाई समेत आफूमा मिसाई बग्दछन् । यसरी ससाना मूलका रुपमा उत्पन्न भएका नदीहरु तल बग्दै जाँदा साधारणतया बढदै जान्छन् । यो क्रम निरन्तर चलिरहन्छ ।

बर्षातको समयमा यस्ता नदीका श्रोत, नदीका जलाधार क्षेत्र तथा मूलहरुका मूलाधार क्षेत्रहरुमा हुने बर्षातका कारण नदीहरुले तुलनात्मक रुपमा धेरै ठूलो आकार लिन्छन् तर वर्षातको अन्त्य भएपछि सानातिना मूलहरु तथा खोला खोल्सीहरु सुक्ने हुँदा तथा तल्लो समथल भागमा भूमिगत जलभण्डारको सतह अधिक दोहनका कारण निरन्तर तल झर्ने हुनाले तिनीहरुबाट प्राप्त हुने पानीको मात्रा न्यून हुँदै जान्छ र नदीको वहावमा धेरै कमी आउँछ ।


साधारणतया, नदीका वरिपरिका क्षेत्रहरुबाट नदीमा केही न केही मात्रामा पानी हरमौसममा उपलब्ध हुनु प्राकृतिक प्रक्रिया भए पनि काठमाडौंजस्तो अत्यधिक जनसंख्या भएको अव्यवस्थित र कुविकासले ग्रस्त उपत्यकाका लागि यो प्रक्रिया वर्षातको समय र वर्षातपछिको केही समय मात्र कायम रहन्छ । त्यसपछिका अधिकांश महिनाहरुमा वरिपरिका जलभण्डारबाट नदीलाई पानी प्राप्त हुनुको सट्टा उल्टो प्रक्रियासमेत हुन गई नदीलाई अस्वस्थ बनाउँछ । यस्तो प्रक्रिया सो नदी अर्को नदीमा नमिसिएसम्म चलिरहन्छ ।

तर बिडम्वना के भने यसरी काठमाडौं उपत्यकालाई जीवन्त बनाई राख्ने यस उपत्यका वरिपरिका पहाडी मूल भएका क्षेत्रहरुको जलश्रोतको परिमाण अझै अनुसन्धानको विषय बनेको छैन । अझ ती क्षेत्रहरुको पुनःपूर्तीयोग्य पानीको परिमाणबारेको अनुसन्धान त झनै टाढाको कुरा भयो । काठमाडौं उपत्यकाका वरिपरिका पहाडहरुका खोंचहरुमा बर्षातको केही पानी जम्मा गरी साना-साना जलाशयहरुको निर्माणबाट उपत्यकाको पानीको आपूर्ती गर्ने सम्भाव्यता अध्ययन कार्य अझै सोचबाहिरको कुराजस्तो देखिन्छ । यस्तो कार्यले उपत्यकाको पानीको आपूर्ती मात्र होइन अपितु उपत्यकाको वातावरणमा समेत उल्लेख्य सुधार गर्ने यो एउटा कम खर्चिलो तर बहुउद्देश्शीय कार्य हुन सक्छ ।

काठमाडौं उपत्यकाका वरिपरि छरिएका यस्ता पुनर्भरण पोखरीले एकदमै कम लागतमा उपत्यकामा आवश्यक खानेपानीको श्रोतका रुपमा खेपानीको पूर्ती गर्नुका साथै अन्य कार्यका लागि आवश्यक पानीको आपूर्तीमा समेत कायापलट गर्न सक्छन् । यस्ता पोखरीहरुको कारण नदीहरुको प्रवाहमा उल्लेख्य सुधार आउनेछ तथा सो पोखरीहरुको तल्लो तटीय क्षेत्रहरुमा अवस्थित भूमिगत जलभण्डारहरुमा थप पुनर्भरण भई उपत्यकामा पानीको उपलब्धतामा व्यापक सुधार हुन सक्नेछ ।

काठमाडौं उपत्यकाको वरिपरि अवस्थित पहाडी क्षेत्रहरुमा वार्षिक सालाखाना २,०८०.०८ मिलिमिटर पानी पर्ने कुरा अघिल्लो आलेखमा नै उल्लेख गरिएबमोजिम यसरी वर्षातको करिव सय दिनमा सालाखाला १,६६४.०१ मिलिमिटर पानी पर्ने आंकलन गरिएको छ । सो वर्षातको समयमा पर्ने कुल पानीमध्ये १० प्रतिशत वा ७ करोड १९ लाख २७ हजार घनमिटर पानी मात्र वरिपरिका पहाडी खोंचहरुमा वर्षातको समयमा संचित गरी हिउँदको समयमा आवश्यकताअनुसार नियमन गर्न सकिन्छ । यस परिमाणको पानीले काठमाडौं उपत्यकाको कूल आवश्यकताको करिव ३५ प्रतिशत पानी आपूर्ती गर्न सक्छ र यसै परिमाणको पानीले हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)  ले वार्षिक रुपमा वितरण गर्ने गरेको करिव ४ करोड ४० लाख घनमिटर पानी भन्दा झन्डै २ गुणा पानी आपूर्ती गर्न सक्छ ।

केयूकेएलका अनुसार काठमाडौंमा पानीको दैनिक आवश्यकता ४ लाख ३० हजार घनमिटर छ । यस हिसाबले यहाँको वार्षिक आवश्यकता १५ करोड ७० लाख घनमिटर हुन जान्छ । यसमध्ये केयूकेएलले वार्षिक केवल सालाखाला ४ करोड ४० लाख घनमिटर पानी मात्र आपूर्ती गर्न सकेको छ । सुख्खायाममा पानीको आपूर्तीमा ज्यादा समस्या रहेको केयूकेएलका तथ्यांकहरुले देखाउँछन् । यसरी काठमाडौं उपत्यकाको वरिपरि अवस्थित जलभण्डारबाट ७ करोड १९ लाख घनमिटर पानी व्यवस्थापन गर्न सके प्रथमतः काठमाणडौंको तल्लो भाग वा भ्याली-फ्लोरको भूमिगत जलभण्डारमा आश्रित खानेपानी आपूर्ति व्यवस्थामा व्यापक सुधार गर्न सकिनेछ । यस्तो व्यवस्थाले काठमाडौं उपत्यकाको पानीको आपूर्तिमा आगामी केही समयमा नै उल्लेख्य सुधार गर्न सकिने छ । यी जलभण्डारहरु भविष्यका लागि समेत उपत्यकाको सम्भाव्य पानीको श्रोत बन्न सक्नेछ ।

केयूकेएल ले देखाएका तथ्यांकहरु उसले खानेपानी वितरण गर्न स्वकृति पाएको क्षेत्रको मात्र को हो भने माथि उल्लेख गरिएका माग र वितरण गरिनु पर्ने परिमाणहरु पूरै काठमाडौं उपत्यकाको हो । त्यसैले ती दुवै तथ्यांकहरुलाई अलग अलग रुपमा हेरिनु पर्दछ । तर, केयूकेएलले सबै मुख्य शहरी इलाकाहरुमा वितरणको कार्य गर्ने हुनाले केयूकेएलबाट उपलव्ध तथ्यांकहरुमा केही मात्र थप गरे पूरै उपत्यकाको तथ्यांक भनी हिसाब गर्दा तथ्यबाट धेरै टाढा रहिदैन भन्ने यो लेखकको धारणा छ । त्यसैले काठमाडौं उपत्यकाको पानीको वार्षिक आवश्यकता करिब २० करोड घनमिटर र हालको वार्षिक आप‍ूर्ति करिव ५ करोड घनमिटर भएको अनुमान गरिएको छ । यस हिसाबले काठमाण्डौं उपत्यकाको लागि कुल अपुग पानीको परिमाण करिव १५ करोड घनमिटर भएको समेत अनुमान गरिएको छ ।

अपुग भएको परिमाण करिव १५ करोड घनमिटर पानी आपूर्ति गर्ने विभिन्न विकल्पहरुमध्ये मेलम्ची खोलाबाट केही पानी ल्याउने विकल्प लक्ष्यको नजिकै भएको देखिन्छ । तर, त्यसबाट पनि पानीको अपुग हुने निश्चित नै छ । त्यसैले, सो अपुग भएको वा अपुग हुन सक्ने परिमाणको पानीको आपूर्ति व्यवस्थाको लागि माथि प्रस्तुत गरिएझैं उपत्यकाको वरिपरि पुनर्भरण पोखरी जस्तै साना ठूला पोखरीमा वर्षातको पानी संचित गरी हिउँदका महिनाहरुमा वितरण गर्ने विकल्पबारे गम्भीर योजना बनाई अध्ययन अनुसन्धान गर्न तथा काठमाडौं उपत्यकालाई सकेसम्म पानीमा आत्मनिर्भर बनाउन सकिने मेरो निष्कर्ष छ ।

(लेखक नेपाल पानी सदुपयोग फाउण्डेशनमा आवद्ध छन् ।)


Author

थप समाचार
x