विचार

नेपाली समाजको असमान आर्थिक व्यवस्था

सरोज भट्टराई |
असोज ५, २०८० शुक्रबार ११:११ बजे

सन् १९४५ मा दोस्रो विश्व युद्धको समाप्ति पछाडि मानव समुदायले गरेको समग्र विश्वको समृद्धि समानताको आकांक्षा विपरीत, पश्चिमा पूँजीवादी, पूर्व उपनिवेशवादी तथा उदीयमान साम्राज्यवादी शक्तिले पालनपोषण गरेको र ‘रेगन–थ्याचर युग’ पछि भद्दा कुरूप विषमताको प्रवृत्ति अँगाल्दै खडा भएको नवउदारवाद नाम दिइएको वित्त पूँजीवादले विश्वको समग्र पूँजीमा आफ्नो एकलौटी अधिन कायम गरेको छ ।

अध्ययनहरूले के प्रमाणित गरेका छन् भने, ‘विश्वभरी नै उदारवादी–पूँजीवादी देशहरूमा’ गरिब र धनी बीचको असमानताको खाडल अकल्पनीय ढंगले फराकिलो भएको छ । एक प्रतिशत धनी मानिसले समग्र मानव जनसंख्याको भन्दा बढी सम्पत्ति एकत्रित गरेको छ । सन् २०१७ को विवरण अनुसार एक प्रतिशत जनसंख्याको प्रतिनिधित्व गर्ने धनी मानिसले आफ्नो सम्पत्तिमा ८२ प्रतिशत वृद्धि गरेका छन् ।


यही समयमा विश्वको गरिब जनसंख्यामध्ये आधाभन्दा ठूलो हिस्साले आफ्नो सम्पत्तिमा एक पैसा थप्न सकेको छैन् । चीन लगायत केही ‘समाजवादी वा सामाजिक समाजवादी’ देशमा गरिबी उन्मूलनका उपलब्धिहरू हासिल भएपनि ‘संसदीय–पूँजीवादी’ देशमा असमानताको खाडलले जनताको आर्थिक समृद्धि वा सम्पत्ति वृद्धिको बाटो पुरै छेकिदिएको छ ।

एक प्रतिशत धनीले ८२ प्रतिशत आय वृद्धिमा आफ्नो एकलौटी हक जमाएबाट ‘गरिबी घट्ने’ अवस्था सिर्जना हुनै सक्तैन । एसियाली विकास बैंकले प्रक्षेपण गरेको थियो– सन् १९९० र २०१० का बीचमा दक्षिण एसियामा २४ करोड मानिसलाई गरिबीबाट मुक्त गर्न सकिने छ । तर त्यसो हुन सकेन । विश्व बैंक, एसियाली विकास बैंक जस्ता बैंकहरूलाई यस्तो ‘चमत्कार’ हुँदैन भन्ने थाहा हुन्छ । किनभने उनीहरू ‘तिनै धनी मानिसको स्वार्थ पूर्ति गर्ने नवउदारवादी वित्त पूँजीवादका पक्षपाती संस्था हुन् । यो असमानताले निर्माण गरेको चरम गरिबीको सबैभन्दा ठूलो मार महिलाहरूमाथि परेको छ । 

औपचारिक तथ्यांकहरूले नेपालमा ८१ लाख मानिसको जीवन चरम गरिबीमा रहेको देखाएका छन् । तर यथार्थमा यो संख्या दोब्बर ठूलो छ । यस यथार्थलाई थुप्रै तथ्यले पुष्टि गर्दछन् । डिपार्टमेन्ट अफ हेल्थ सर्भिस, २०७७–७८ (२०२०–२१) को वार्षिक प्रतिवेदन (पृष्ठ ८३) ले उल्लेख गरे अनुसार ३२ प्रतिशत बालबालिका कुपोषणको चपेटामा छन् । प्रतिवेदनमा उल्लेख छ, कुपोषण नेपालमा एउटा गम्भीर समस्याका रूपमा रहेको छ ।

‘नेसनल माइक्रोन्युट्रियन्ट स्ट्याटस सर्वे (२०१६)’ ले नेपालमा ६–२३ महिनाका बालकमा ६९ प्रतिशत एनिमिया रहेको र ५ वर्ष मुनीका बालबालिकामध्ये यो समस्या ५३ प्रतिशतमा रहेको देखाएको छ । त्यस्तै कुमारी केटीहरूमा ४४ प्रतिशतमा, सन्तान उत्पादन गर्ने उमेरका ४१ प्रतिशतमा र गर्भवती महिलाहरूमा ४६ प्रतिशतमा यो समस्या रहेको जनाएको छ । यी तथ्यांकले नेपालमा व्यापक रुपमा चरम गरिबी छ भन्ने देखाउँछ ।

सरकारी तथ्यांकमा ‘धनीका धन कागजमा भाग लगाएर’ गरिबलाई धनी बनाइएको छ । र, गरिबी घटेको तथ्यांक निर्माण गरिएको छ । पूँजीवादी ‘धोका र ढाँटशास्त्र’ पढेका नवउदारवादी अर्थशास्त्रीहरूले आम जनताका आँखामा धुलो हाल्न मिथ्या धनीको प्रतिवेदन तयार पारेका छन् । 

नेपालमा यसबेला जुन फराकिलो आय–असमानता छ, त्यसैबाट चरम गरिबीको अवस्था व्यापक छ भन्ने प्रमाणित हुन्छ । सन् २०१० पछि आय असमानता व्यापक रूपमा बढेको छ । आजका दिनमा माथिल्लो १० प्रतिशत गरिब जनसंख्याको भन्दा तेब्बर धेरै रहेको छ । २०१० पछाडि माथिल्लो २० प्रतिशत (धनी) को मात्र आय वृद्धि भएको छ । दुर्भाग्य, यी १० वर्षमा आफूलाई कम्युनिष्ट दाबी गर्ने पार्टीहरूधेरै समय सत्तामा बसेका छन् । नव धनाढ्यहरूको ठूलो संख्या ‘कम्युनिष्ट पार्टीका नेता र कार्यकर्ता रहेका छन् ।’धनमा पनि व्यापक असमानता छ । माथिल्लो १० प्रतिशतसँग तलको ४० प्रतिशत जनसंख्याको भन्दा २६ गुणा बढी सम्पत्ति छ ।

नेपालमा बैंकका कार्यकारीणीहरू सामान्य कर्मचारी भन्दा १०० गुणा बढी तलब पाउँछन् । केही धनी मानिसको सम्पत्तिसँग गरिबको सम्पत्ति तुलना गर्दा भयावहपूर्ण अवस्था देखिन्छ । नेपालमा सन् २०१८ मा एकजना धनीको एकवर्षमा ‘बीस करोड डलर’ (२५ अर्ब नेपाली रूपैयाँ ) सम्पत्ति बढ्यो । उसको एक अर्ब ५ करोड डलरको सम्पत्तिमा १४.५ प्रतिशत वृद्धि थियो । धनी मानिसको बढोत्तरी भएको त्यो सम्पत्ति (२५ अर्ब) ले नेपालको आधा भन्दा बढी सामाजिक सुरक्षा खर्च बराबर रहेको छ ।

'निजीकरणले कुनै उपलब्धि हासिल गरेन’ भनेर सन् २००० को डिएफआइडीको प्रतिवेदनमै उल्लेख छ । अर्थात् एकातर्फ सार्वजनिक प्रतिष्ठानहरू बेचिए, अर्कोतर्फ अव्यवहारिक निजीकरण असफल भयो । सार्वजनिक प्रतिष्ठानको बिक्रीमा व्यापक भ्रष्टाचार भयो ।

त्यो सम्पत्ति गरिब ४० प्रतिशत जनसंख्याले १०० वर्षमा पनि कमाउन सम्भव छैन । जमिनको स्वामित्वमा पनि त्यस्तै अवस्था छ । ७ प्रतिशत धनीले सम्पूर्ण जमिनको ३१ प्रतिशत कब्जा गरेको छ, अनेक बहानामा । ८१ प्रतिशत महिलाहरू जमिनको स्वामित्व विहीन छन् । ४४ प्रतिशत दलितहरू सुकुम्बासी छन् । यो तथ्यले राष्ट्रको धन सीमित व्यक्तिबाट लुटिएको पुष्टि हुन्छ । ‘सत्ता र धन तथा श्रमिक जनता’ बीचको अन्तर्विरोध क्रूर बनिरहेको उल्लेखित विवरणहरुले प्रमाणित गर्छन् ।

सन् १९६० देखि १९८६ सम्म नेपालमा ११ वटा औद्योगिक क्षेत्रहरू क्रियाशील थिए । यी औद्योगिक क्षेत्रमा १८ हजार ८७ जना कर्मचारी थिए । यी सबै क्षेत्रमा कुल ६ सय ११ वटा औद्योगिक प्रतिष्ठानहरू संचालनमा रहेका थिए । सन् १९९०–९१ मा औद्योगिक वृद्धिदर १५.०५ प्रतिशत थियो । सन् १९९५ बाट औपचारिक रुपमा नव उदारवाद हुर्किने मौका पाएपछि वृद्धिदर खस्किन थाल्यो र ८.२९ प्रतिशत मा झर्‍यो । सन् २००५/६ मा २ प्रतिशत मा झर्‍यो । २०१५/१६ मा आइपुग्दा माइनस आठ प्रतिशतमा गिर्‍यो । समग्र अर्थतन्त्रमा औद्योगिक क्षेत्रकोकूल राष्ट्रिय गाहस्र्थ उत्पादनको योगदान ६.३६ प्रतिशत रहेबाट औद्योगिक वृद्धिदर ९.१७ प्रतिशत भनिनु झुठ्ठो विवरण हो भन्ने स्वत स्पष्ट हुन्छ ।

आज देशको समग्र अर्थतन्त्र आयातमुखी हुन पुगेको छ । सन् २०२२ मा समग्र व्यापारमा १७ खर्बको आयात हुँदा निर्यात जम्मा २ खर्ब मात्र छ । सन् १९५१ मा जम्मा एक सय ५१ मिलियन (दश करोड एकाउन्न लाख) को निर्यात थियो । सन् १९८८ मा निर्यात २८.३ प्रतिशतले वृद्धि भयो । त्यसको एक वर्षपछि १९८९ मा भारतले लगाएको नाकाबन्दीले १२.३ प्रतिशतले घट्यो । यद्यपि चीनसँग एक सय ५५ मिलियन डलरको निर्यात व्यापार भएको थियो । सन् १९९५ मा आइपुग्दा नवउदारवादको नाममा कार्यान्वयनमा ल्याइएको निजीकरणले औद्योगिक विकास दर ऋणात्मक अवस्थामा झर्‍यो, (–१२.८ प्रतिशत) । सन् १९९६ मा २.९ प्रतिशत रह्यो । सन् १९९७ मा आइपुग्दा राष्ट्रको सार्वजनिक स्वामित्वमा रहेका सम्पूर्ण औद्योगिक प्रतिष्ठान बेचिए । राष्ट्रिय इतिहास बोकेको चिया विकास निगम समेत लिलाम गरियो ।

२०४८ पछि कार्यान्वयनमा ल्याइएको ‘विश्व बैंकको ‘संरचना समायोजन’ नीति र त्यसको कार्यान्वयन गर्न लागू गरिएको सार्वजनिक वित्त तथा औद्योगिक क्षेत्रको निजीकरणको नीति ‘नेपालको अर्थतन्त्रको बन्ध्याकरण गरी’ जहानियाँ वर्ग (सत्ता कब्जा गर्न सफल राजनीतिक दलका नेता र वित्त पूँजीवादीको गठजोड) को उत्थान गर्ने र किसान, साना उद्यमी, मजदुर, देशभक्त उद्यमी तथा साना व्यापारीहरू माथि पूर्ण अधिन कायम गर्ने नियोजित रणनीति अनुसार लागू गर्ने संयन्त्र थियो । तसर्थ के भन्न सकिन्छ भने २०४६ साल पछाडिको ठालुतन्त्रिय बहुदलीय व्यवस्था (वेष्ट मिनिष्ट्रियल पार्लियामेन्ट्री सिस्टम) ले नेपालमा विगतमा रहेको ‘भत्कदो सामन्तवाद र उदाउँदो प्रारम्भिक पूँजीवाद’ बाट ‘नेपाली समाजको अन्तर्विरोधलाई ‘जहानियाँ वर्ग र उद्यमी’ बीचको शोषणयुक्त अन्तर्विरोधमा रूपान्तरण गर्‍यो । यसले नेपाली समाजमा विगतको भन्दा पनि बोझिलो गरी मानिसलाई ‘हुने खाने र हुँदा खाने’ मा विभाजित गरेको छ ।

नवउदारवादको प्रहार सार्वजनिक उद्यमहरूको विनासमा मात्र केन्द्रित रहेन । यसले गरिब तथा मध्यम वर्गीय जनताको प्रत्यक्ष संलग्नता (श्रम र पुँजी दुवै लगानी) रहेको उद्यमक्षेत्रलाई विस्थापित गर्ने नीति ग्रहण गर्‍यो । जस्तो कि नवउदारवाद लागू हुनुभन्दा पहिला समग्र उत्पादनको वृद्धिमा सन् १९९१–९२ मा २६.१ प्रतिशत, सन् १९९३–९७ मा ३२.८ प्रतिशत रहेको तयारी पोशाक सन् १९९८–२००१ मा आइपुग्दा १६.३ प्रतिशत मा झारियो । त्यसैगरी सन् १९९१–९२ मा उत्पादनमा ४२.२ प्रतिशत  दरले वृद्धि भइरहेको गलैंचा उद्योग १९९८/२००१ मा आइपुग्दा ऋणात्मक (घाटा) –५.९ प्रतिशत मा पुर्‍याइयो । यी दुवै उद्योग श्रमिकलाई व्यापक रोजगारीको अवसर दिने क्षेत्र थिए । उत्पादन, व्यवसाय र रोजगारीलाई केही वर्षभित्रै धरासायी पार्ने काम किन भयो त ?

- बङ्गलादेशमा तयारी पोशाकमा निर्वाध लगानी र श्रमिकको शोषण गर्न पाएका ‘युरोपेली–अमेरिकी बहुर्राष्ट्रिय निगम’ का लागि नेपालको तयारी पोशाकको उत्पादन चुनौतीपूर्ण बन्यो । नेपालमा लगानीकर्ता नेपाली उद्यमीहरू थिए र उनीहरूले निर्यातको कोटा प्राप्त गरेका थिए । अतः बहुर्राष्ट्रिय निगमको पक्षमा नियोजित ढंगबाट तयारी पोशाक उद्यम समाप्त पारिएको थियो । यस परिपञ्चमा नेपाली कांग्रेसका समाजवाद विरोधी ‘वित्त पूँजीवाद’ समर्थक अर्थशास्त्री भनिएका नेताहरू संलग्न थिए । यसै समयबाट राजनीतिमा संगठित भ्रष्टाचार स्थापित भयो । 

- गलैंचा उद्योगमा संलग्न ठूलो संख्याका मजदुरहरूलाई ‘अरब र मलेसिया’ मा विक्री गर्न अमेरिकाबाट रगमार्क नामको ‘मापदण्ड प्रमाणित प्रणाली नेपालमा ल्याइयो । त्यसकै माध्यमबाट गलैंचा उद्योगहरूलाई विवादमा ल्याई बन्द गर्नुपर्ने बाध्यता सिर्जना गरियो । यहीबीचमा जनशक्ति, श्रमशक्ति निकास गर्ने सयौं कम्पनीहरू खुले । गलैंचासँगै जुट, उखु, सुर्ती, कपास मजदुरहरूलाई तत्क्षेत्रका कारखानाहरू बन्द गरी रोजगार विहीन बनाइयो र सन् २००२ देखि ठूलो संख्यामा मजदुर निकासी सुरु गरियो । 

परिणामस्वरूप सन् १९७५ मा १.८५ प्रतिशत, १९८० मा २.१० प्रतिशत र १९८५ मा ३.८१ प्रतिशत प्रतिशतका दरले वृद्धि भइरहेको खाद्यान्न निर्यात सन् १९९० मा आइपुग्दा ०.११ प्रतिशत मा झर्‍यो । सन् २००२ मा पहिलोपटक आठ अर्बको खाद्यान्न आयात गरिएकोमा सन् २०१९ मा आइपुग्दा २ खर्ब बढीको खाद्यान्न आयात हुन थाल्यो । त्यसैगरी सन् १९७५ मा १३.५९ प्रतिशत रहेको कृषि कच्चा पदार्थको वृद्धिदर सन् १९९० मा आइपुग्दा १.९७ प्रतिशत मा झर्‍यो ।

सन् १९९० पछाडि नव–उदारवादका पक्षधर राजनीतिक दलहरूले आयातलाई उदार बनाउँदै आयातमाथिका प्रतिबन्धहरू खारेज गर्दै, भरखर उदियमान बन्दै गरेको नेपाली वस्तुहरूको बजारलाई विदेशी वस्तुहरूसँगको प्रतिस्पर्धा थोपरी दिए । कृषिमा दिइएको सहुलियत अनुदान खारेज गरे । देशभक्त उद्यमी विरोधी यी ‘नीतिबाट क्रमशः निर्यात प्रतिस्थापित भई’ आयात मोटाउन थाल्यो । आयात प्रमाणपत्रको व्यवस्था खारेज गरियो । कसैले धेरै खाद्यान्न उत्पादन गरेमा अन्तशुल्क लगाइयो ।

त्यही वस्तु होटलमा विक्री वितरण हुँदा मूल्य अभिवृद्धि कर थोपरियो ।अर्थतन्त्रलाई  विस्तारै वस्तु र सेवा उत्पादन गर्ने उद्यमबाट 'पैसाले पैसा उत्पादन' गर्ने प्रणालीतर्फ मुखरित गरियो । सन् १९९४ मा निजीकरण ऐन पारित गरियो । ऐन पारित भएसँगै ४३ वटा सार्वजनिक प्रतिष्ठान मध्ये थुप्रै प्रतिष्ठानहरू निजीकृत गरिए । सन् १९९७ मा अन्य ६ वटा सार्वजनिक प्रतिष्ठान बिक्री गरियो । तर ‘यस निजीकरणले कुनै उपलब्धि हासिल गरेन’भनेर सन् २००० को डिएफआइडीको प्रतिवेदनले नै बताउँछ । अर्थात् एकातर्फ सार्वजनिक प्रतिष्ठानहरू बेचिए, अर्कातर्फ अव्यवहारिक निजीकरण असफल भयो । सार्वजनिक प्रतिष्ठानको बिक्रीमा व्यापक भ्रष्टाचार भयो ।

विदेशी निहित स्वार्थपूर्ति निजीकरणको प्रेरणास्रोतका रूपमा रह्यो । मजदुरहरूलाई विस्थापित गरी मानिस निकासीको नीति लागू गर्ने विदेशी/स्वदेशी स्वार्थ सानो थिएन । अर्थ मन्त्रालयमा स्थापित गरिएको ‘सार्वजनिक प्रतिष्ठानको व्यवस्थापन तथा पुर्नसंरचनाका लागि परामर्श’ का नाममा गठन गरिएको संयन्त्र पश्चिमी पूँजीवादी देशको वित्तिय–अधिन कायम गर्ने मनसायले खोलिएको थियो । यी निष्कर्षहरू स्वयम् राष्ट्रिय योजना आयोगले निकालेको हो । 

सन् २०१७ को तथ्यांकले देखाएअनुसार ४० प्रतिशत तलका गरिब जनसंख्याको उपभोगमा जम्मा ७.६ प्रतिशत अंश प्राप्त छ भने माथिल्ला १० प्रतिशत धनीले ४५.१ प्रतिशत वस्तुहरू उपभोग गर्दछ । तलका ४० प्रतिशत गरिब जनसंख्याको आय समग्र आयको ४.१ प्रतिशत मात्र छ । जबकी माथिल्लो धनी जनसंख्याले ५६.२ प्रतिशत आय आफ्नो झोलामा हाल्छ । दोस्रो, ४० प्रतिशत पनि गरिबीकै चपेटामा छ । ६० प्रतिशत जनसंख्याले समग्र ३३.३० प्रतिशत अंश मात्र उपभोग गर्छ । तर माथिल्लो २० प्रतिशत ले एक्लै ६६.७० प्रतिशत अंश उपभोग गर्दछ । यसबाट नेपालमा गरिबी घटेको कहानी ‘केवल आँखामा छारो हाल्ने’ कथा मात्र हो ।

माथिल्लो २० प्रतिशत जनसंख्याले ‘राज्य’ आफ्नो अधिनमा राख्दछ, सिद्धान्ततः । तर यस २० प्रतिशतभित्र पनि राजनीतिमा सीमित ‘परिवारहरू’को मात्र एकलौटी अधिकार छ । तिनै सीमित परिवारको राजनीतिमा एकलौटी अधिकार कायम छ, जोसँग अकुत सम्पत्ति छ ।

अर्थात् ‘अकुत सम्पत्ति हुने परिवारको नै राजनीतिमा पकड छ’ वा ‘राजनीतिमा पकड हुनेले नै ‘अकुत सम्पत्ति जम्मा गरिरहेको छ ।’ यस समूहमा परम्परागत राज्य व्यवस्थामा अधिन राखेका केही अभिजात्य परिवार, २००७ सालको परिवर्तनबाट स्थापित नेपाली कांग्रेसको नेतृत्वमा रहेका सीमित परिवार र २०४७ सालदेखि वामपन्थी राजनीतिबाट सत्तामा रहेका सीमित नेताहरूका परिवारबाट नेपालमा ‘जहानियाँ शासक परिवार वा समूह’ को निर्माण भएको छ ।

त्यसैगरी समग्र पुँजीमा अधिन रहेका ‘वित्तपुँजीपति’ को समूह निर्माण भएको छ । यसरी ‘राजनीति सत्ता र पुँजी’ मा यी दुई समूहको घुलन भई ‘जहानियाँ शासक वर्ग र कामदार (किसान, व्यवसायी, देशभक्त उद्यमी, मजदुर) वर्गको बीचमा ठूलो वर्गविभाजन निर्माण भएको छ । यो वर्ग विभाजनले ‘नेपाली राष्ट्र र नेपाली समाज’ बीचको अन्तर्विरोधको प्रतिनिधित्व गर्दछ ।

भट्टराईका अन्य लेख


Author

थप समाचार
x