विचार

विचार

ट्राफिक सचेतनाको साटो ढुकेर चिटको पासो

शुरज थपलिया |
मंसिर ४, २०८० सोमबार १८:३० बजे

विश्वको सबैभन्दा पुरानो सहरहरूमध्ये एक मानिने काठमाडौँ, महत्वपूर्ण पर्यटकीय, धार्मिक, सांस्कृतिक सम्पदा रहेको स्थान हो । नेपालको अर्थतन्त्रको केन्द्रविन्दुको रूपमा रहेको छ काठमाडौँ​ सहर । २०७८ को जनगणनाअनुसार यहाँ करिब ३१ लाख मानिस बसोबास गर्छन् । 

करिब ३१ लाख मानिस बसोबास गर्ने काठमाडौँको ट्राफिक व्यवस्था हेर्ने हो भने निकै उदेक लाग्दो छ । उपत्यकामा दिनप्रतिदिन बढिरहेको जनसंख्या, सवारी चाप, साँघुरो सडकजस्ता विविध कारण ट्राफिक अवस्था अस्तव्यस्त हुने गरेको छ । तर, काठमाडौँका जनतालाई सवारी सचेतना बढाउनुको साटो ट्राफिक प्रहरीले ढुकेर चिट काट्ने गरेको पाइन्छ । उसै त ट्राफिक जाम बढी हुने काठमाडौँ त्यसमाथि एकतर्फी सडकमा ढुकेर चिट काट्नमा ट्राफिक प्रहरी तल्लीन रहेकाे पाइन्छ ।


काठमाडौँको ट्राफिक जाम आम मानिसको टाउको दुखाइको विषय बनेको छ । कार्यालयमा पुग्न जामकै कारण एक घण्टाअघि हिँड्नुपर्ने अवस्था छ । ट्राफिक जाम त काठमाडौँको समस्या भइ नै हाल्यो त्यसमाथि ट्राफिक प्रहरीले सर्वसाधारणमाथि ट्राफिक उल्लंघनको विषयले झन् आक्रान्त पारेको छ । ट्राफिक नियम पालना नगर्नु गलत हो र गल्ती गर्नेलाई सजाय हुनु पर्छ । तर, सजाय भनेको के पैसा दिएर सकिने मात्रै हो त ? सर्वसाधारणलाई सानो गल्ती गर्दा पनि सजाय र पहुँचवालालाई भने कुनै सजाय नहुने समेत हामीले देख्ने गरेका छौं । 

९० मिनेटको फुटबल खेलमा रातो र पहेँलो कार्ड देखाएर खेलाडीलाई सचेत गराइन्छ, गल्ती नगर्न सुझाइन्छ र अन्तिममा कारबाही गरिन्छ । तर, ट्राफिक प्रहरीले भने आम नागरिकको हार-गुहार नसुनी, कुरै नबुझी, सत्य तथ्य छानबिन नगरी कारबाही गरिहाल्छ । कहिलेकाहीँ के कारणले चिट काट्यो भन्नेसम्म सर्वसाधारणलाई थाहै हुन्न । किन र के कारण चिट काटेको भनेर यात्रुले प्रश्न गर्दा उल्टै हप्कीदप्कीको सामना गरिरहेको सडक यात्रामा देख्न सकिन्छ । सर्वसाधारणको करले तलब खाएर सर्वसाधारणमाथि नै यस्तो दुर्व्यवहार गरेको दृश्य निकै भद्दा र असुहाउँदो हाे ।

गल्ती गर्ने सबैलाई कानुनमा तोकिए बमोजिम कारबाही हुनुपर्छ । अपराध गर्नेलाई ट्राफिक नियमको शिक्षा र दीक्षा दिनुपर्छ । पहिलो पटक गल्ती गर्दा ठूला सजायभन्दा पनि सम्झाइ बुझाइ गर्नुपर्छ र भविष्यमा ट्राफिक नियम राम्रोसँग पालना गर्ने र पुन: गल्ती गरे कारबाही गर्नुपर्छ । अहिलेको अवस्थामा सानाले गल्ती गर्दा कारबाही हुने र ठूलाले गल्ती गर्दा ढाकछोप हुने गरेको पाइन्छ । धनीले गल्ती गर्दा पनि सजाय नहुने र गरिबले गल्ती नै नगरेपनि दोषी देखाएर तुरुन्तै कारबाही गर्ने प्रवृत्ति छ । नेपालमा भएका घटनामा छानबिन पनि हुन्छ/हुँदैन आम मानिसलाई कुनै जानकारी नै हुन्न । कतिपय ठूला दुर्घटना ढाकछोप गरेको समेत पाइन्छ । यहाँको कानुन मान्छेको हैसियतअनुसार फरक-फरक हुन्छ । ट्राफिक प्रहरीले सबैलाई समान व्यवहार गरेर ट्राफिक व्यवस्थालाई चुस्त दुरुस्त बनाउनु पर्ने देखिन्छ ।

ट्राफिक कारबाहीमा परेर सर्वसाधारणले पाँच सय, हजार र १५ सय जरिवाना तिरिरहेका हुन्छन् । आफ्नो दैनिकी चलाउन सडक यात्रामा निस्किएका दैनिक ५ सयभन्दा कम आम्दानी हुने जनताले छाक काटेर ट्राफिक जरिवाना तिर्न कहिलेसम्म बाध्य हुने ?

इतिहासको पाना पल्टाउने हो भने, नेपालमा राजा त्रिभुवनको पालामा वि.सं. २००७ सालमा ट्राफिक नियन्त्रण प्रणाली सुरु भएको देखिन्छ । तत्कालीन राजाले सधैं न्याय स्वच्छ, निष्पक्ष र दिगो शान्तिको स्थापना गर्ने, शान्ति प्रकृयालाई सहयोग पुर्‍याउने र सबैमा समान व्यवहार हुनुपर्छ भन्ने दूरदृष्टिले आफ्नो कार्यकालमा नियन्त्रण प्रणाली स्थापनाका लागि ठूलो पहल गरेका थिए । सो पछि कुनै आधुनिकीकरण नगरिएको ट्राफिक व्यवस्था हालसम्म हात हल्लाएकै भरमा रहेको पाइन्छ । प्रहरीले जनशक्ति थपे पनि सरकारले सहरको ट्राफिक लाइट तथा उपकरणलाई प्राथमिकता नदिँदा यसको सही व्यवस्थापन गर्न सकेको छैन । सवारी साधनको चापसँगै सुरु भएको ट्राफिक कार्यालय अहिले सर्वसाधारणको हैरानी दिने कार्यालय बनेको छ ।

हाल उच्च पदस्थ (भीभीआइपी) हरूको सवारी हुनुभन्दा केही समयअघिदेखि रुटको सवारी साधनहरू रोक्न सुरु हुन्छ । जसका कारण हजारौं सर्वसाधारणले ट्राफिक जामका कारण प्रत्येक दिन हैरानी बेहोर्नु परेको छ । जनता मात्रै होइन एम्बुलेन्स, शव वाहन स्कुल बसजस्ता सवारी साधन घण्टौं जाममा पर्छन् । केही समयअघि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी हुँदा सडकमा हिँडेको भन्दै वीर अस्पतालका डाक्टरले कुटाइ समेत खाएका थिए । उनी बिरामीको जाँचका लागि सडक किनारमा हिँडिरहेका थिए । यसरी भीभीआइपीकाे नाममा सडकलाई नियन्त्रणमा लिएर ज्यादती गर्दा बिरामीलाई समेत असर पर्ने र ज्यानै जाने अवस्थासमेत आएको छ । तर, हाम्रो जस्तो देशमा भीभीआइपीहरू (राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र नेता) हरू कानुनभन्दा माथि छन् । सरोकारवालाले मनपरी काम गर्ने र आम नागरिकलाई मात्र कानुन लागू हुनुले स्वेच्छाचारिता समेत बढेको छ । जसले नागरिकको हक अधिकार खतरामा परेकाे छ । तसर्थ सडकमा हिँड्ने हरेक नागरिकलाई सुरक्षाको प्रत्याभूत गराउने जिम्मा ट्राफिक प्रहरीको हो र हुनुपर्दछ ।

ट्राफिक व्यवस्थामा नेपाल र चीनबीच तुलना गर्दा हामीमा धेरै कमजोरी देखिन्छ । छिमेकी राष्ट्र चीनसँग नेपालका ट्राफिक प्रहरीले धेरै कुराहरू सिक्नुपर्ने देखिन्छ । नेपालभन्दा सयौं गुणा जनसंख्या भएको देशमा चुस्तदुरुस्त रूपमा ट्राफिक व्यवस्थापन गर्ने र ट्राफिक लाइटको सही उपयोग गरेर विश्वमा उत्कृष्ट ट्राफिक व्यवस्थापन गरेको पाइन्छ । नेपालको ट्राफिक व्यवस्था हेर्दा दिनभर घाममा बसेर हातको सहाराले व्यवस्थापन गर्नुपर्ने देखिन्छ । सिठी फुकेर कर्तव्य निर्वाह गरिरहेका ट्राफिक प्रहरीलाई तातो घाममा लादेर मात्रै हुन्न आधुनिक उपकरणले सुसज्जित गराउन जरुरी छ । सीसीटीभीको निगरानी, ट्राफिक लाइटको प्रयोग, रात्रि गस्ती गरी व्यवस्थित ढंगले ट्राफिक नियम बलियो बनाएर भावी पुस्तालाई सहज रूपले सडक प्रयोग गर्न दिने वातावरण बनाउन ढिला गर्नुहुन्न ।

नेपाल एसियाकै गरिबी मुलुकमध्ये एक हो । औसत नेपालीको दैनिक कमाइ ५ सयभन्दा पनि कम रहेको विश्व बैंकको सन् २०२२ को रिपोर्टले देखाउँछ । तर, ट्राफिक कारबाहीमा परेर सर्वसाधारणले पाँच सय, हजार र १५ सय गर्दै  जरिवाना तिरिरहेका हुन्छन् । आफ्नो दैनिकी चलाउन सडक यात्रामा निस्किएका दैनिक ५ सयभन्दा कम आम्दानी हुनेले छाक काटेर ट्राफिकको जरिवाना तिर्न बाध्य छन् ।

जस्तै कोही व्यक्ति काठमाडौँमा नयाँ छ उसलाई यहाँको एकतर्फी सडकबारे थाहा नहुन सक्छ । ट्राफिक प्रहरीले राखेका सांकेतिक चिह्नहरू पसलका साइनबोर्ड, विद्युतका पोलले छेकेका छन् । कहिलेकाहीँ त उखेलेर लगेर फालिदिएकाे समेत देखिन्छ । यस्तो अवस्थामा नयाँ व्यक्ति एकतर्फी सडकमा जान्छ र कारबाहीको भागीदर बन्न पुग्छ । केही पर बसेका ट्राफिक प्रहरीले उसलाई समात्छन् र चिट काट्छन् । आफूले एकतर्फीबारे थाहा नपाएको, कुनै सांकेतिक चिह्न पनि नदेखेको भन्दासमेत सुख पाउँदैनन् । ट्राफिकले कुरै नसुनी उसलाई चिट काटिहाल्छ । उसले के कारणले गल्ती गरेको हो त्यसको जानकारी समेत ट्राफिक प्रहरीले सुन्न चाहँदैन ।

ट्राफिक प्रहरी दिउँसो मात्रै सडकमा हुने, मादक पदार्थ सेवनको चेकिङ बेलुका ९ बाट रातिको १२ बजेसम्म गर्ने, एकतर्फ सडकमा लुकेर बस्ने र आएका सवारी साधनलाई कारबाही गर्ने लगायतका काम मात्रै गर्ने गरेको पाइन्छ । ‘प्रहरी मेरो साथी’ यो नारा अहिले कथनमा मात्रै सीमित भएको छ । ट्राफिक प्रहरीले सर्वसाधारणलाई दु:ख दिने काम बन्द गरेर ट्राफिक व्यवस्थाप्रति सचेतना जगाउने कार्य गर्नुपर्दछ । जनताको सुरक्षाकाे लागि सजिलो र सुरक्षित प्रोट्रोकल बनाएर सडक र सडक प्रयोगकर्ता हरेक नागरिकको सुरक्षामा सरकारको ध्यान केन्द्रित हुनुपर्दछ । नीति नियम वैधानिक र मूल्यवान् छन् भन्ने जनतालाई विश्वास दिलाएर सडक सुरक्षा र ट्राफिक प्रहरी सधैं जनताको साथमा भएको आश्वस्त पार्दै यसको पक्षमा थप जनमत सिर्जना गर्नसके सफलताको एउटा अर्को महत्त्वपूर्ण कडी हुनेछ । साथै नेपाल सरकारले सुरक्षा निकायहरू सरकार र आम नागरिकप्रति उत्तरदायी भइ कार्य सम्पादन गरिरहेका छन् कि छैनन् भनी समय समयमा अनुगमन गर्दै नियन्त्रण गर्न आवश्यक छ ।


Author

थप समाचार
x