विचार

सन्दर्भ : राजदरबार हत्याकाण्ड

नछापिएको एउटा लेख

लोकरञ्जन पराजुली |
जेठ १९, २०७८ १५:२७ बजे

(यो लेख सन् २००१ जुनमा भएको दरबार हत्याकाण्डको केही हप्ताभित्र लेखिएको हो । यो लेखको पहिलो मस्यौदा अलि ‘कडा’ थियो । तर तात्कालिक अवस्थामा पत्रिकाहरूको सीमा ख्याल गरी अलि ‘टोन डाउन’ गरेर यो लेख एक प्रमुख दैनिक प्रकाशनका लागि पठाएको थिएँ । शीर्षक चाहिँ नराखेको रहेछु क्यारे । तर तात्कालिक सम्पादकले यो छाप्न उपयुक्त ठान्नु भएन । मैले अन्यत्र दिइनँ पनि । २० वर्षपछि फर्केर हेर्दा त्यतिखेरको मेरो विश्लेषण मलाई त ठीकै लाग्यो; पाठकलाई कस्तो लाग्छ कुन्‍नि ।)

एउटा अकल्पनीय र दुर्दान्त घटना घटेको छ, नेपालको इतिहासमा । यस घटनामा नेपाल राष्ट्रले आफ्नो प्रमुखलाई गुमाएको छ । यी राजा भद्र मानिन्थे, शालीनमा गनिएका थिए र उनको प्रजातन्त्रोत्तर कालको भूमिकाको प्रशंसा नै गरिएको थियो । तर, तिनै उदारमना भनिएका राजाको हत्या भएको छ । दरबारमा भएको भनिएको उक्त नृशंस हत्याकाण्डको सत्य-तथ्य बाहिर आउनु अत्यावश्यक भए तापनि आउला नआउला त्यो समयक्रमले नै बताउनेछ । 


ADVERTISEMENT

राजा र राजपरिवारका अन्य सदस्यको हत्या भइसकेको परिप्रेक्ष्यमा नेपाल अधिराज्यको राष्ट्रप्रमुखका रूपमा ज्ञानेन्द्रको चयन हुनु अस्वाभाविक होइन । तर, ‘अब के हुन्छ ?’ भन्‍ने चिन्ताले निकै र विशेष गरी मध्यम वर्गमा जरो गाडेको देखिन्छ । र, यो चिन्ता अकारण उब्जेको पनि होइन, राजा ज्ञानेन्द्रको विगतलाई केलाउने हो भने । अधिराजकुमार ज्ञानेन्द्रलाई एक अनुदारवादी, प्रजातन्त्रलाई नरुचाउने र पर्दाभित्रबाट चलखेल गर्ने, शक्तिलोलुप चित्रित गरिँदै आएको हो । उनीलाई उनका बाबु राजा महेन्द्रको कोटीमा राखेर हेर्ने गरिएको पाइन्छ । यो विगत मात्र हो । आज हाम्रासामु राजा ज्ञानेन्द्र छन् । 

देशलाई प्रमुख चाहिन्छ, चाहे त्यो राजा होस् वा राष्ट्रपति । सदियौँदेखि राजालाई राष्ट्रप्रमुख मान्दै आएको हाम्रो मुलुकले फेरि अर्को राजा पाएको छ । जुन कुनै नौलो कुरा होइन । र, कसैले चाहँदै वा नचाहँदैमा यी राजाको ठाउँमा अर्को कोही आउने खासै सम्भावना पनि देखिँदैन, तत्कालका लागि । यसको मतलब विकल्प नै छैन भन्‍ने कदापि होइन ।

राजपरिवारमा भएको घटनाको अभियन्ता र कथामा सामान्य जनमानसले विश्वास गर्न सकेको पाइँदैन । यसलाई षड्यन्त्रका रूपमा देख्नेहरूको संख्या एकदमै धेरै छ जुन अस्वाभाविक पनि होइन अधिराजकुमार ज्ञानेन्द्र र शाहज्यादा पारसबारे बेला-बखत छापामा आएका समाचार टिप्पणीहरूलाई सही मान्‍ने हो भने । 

ज्ञानेन्द्र राजा बन्‍ने भए भन्‍नेबित्तिकै बहुदलीय प्रजातन्त्र के हुन्छ ? भन्‍ने प्रश्न धेरैको मनमा उब्जेको थियो (र अझै पनि सशंकित नै छन्) । त्यसको उत्तर तत्काल केही हुँदैन भन्‍ने हो । किनकि एक, राजाले वचनबद्धता व्यक्त गरिसकेका छन् यस व्यवस्थाका पक्षमा र दुई, त्यसभन्दा पनि बढी उनीप्रति जनमानसले नारायणहिटी पर्वबारे व्यक्त गरेको आशंका हो जुन आक्रोशमा पनि बदलिन सक्छ ।

तसर्थ यदि राजाले आफ्नो हातमा शक्ति लिन कोसिस गरेका भए, त्यो शंका विश्वासमा बदलिन सक्थ्यो र त्यसको परिणाम अकल्पनीय हुन सक्थ्यो । कल्पना गरौँ यदि कसैले नारायणहिटी पर्वमा वर्तमान राजा वा उनको हात थियो भनेर हल्ला फैलाएको भए के हुन्थ्यो ? यतिमात्र भन्न सकिन्छ हृतिक रोशन काण्डभन्दा सयौँ गुणा बढी विध्वंश हुन्थ्यो त्यो पनि काठमाडाँैमा मात्र होइन देशभरि नै । सौभाग्य देशको कि सुरुमै कसैले त्यस्तो हल्ला फैलाउने कुचेष्टा गरेन (प्रचण्ड एण्ड कम्पनीले हाल गर्दैछन्) । अन्यथा हल्लै हल्लाको देश हो यो । पानी तथा दूधको दृष्टान्त मनग्य छ । 

 

राजा ज्ञानेन्द्र संवैधानिक बनेर लोकप्रिय एवं सम्मानित वीरेन्द्र बन्‍न चाहन्छन् वा शासन सत्ता हातमा लिएर महेन्द्र बन्‍न चाहन्छन् ? राजा ज्ञानेन्द्रको भावी भूमिकाले नै उनी र उनका शाखा सन्तान (पारस) को भविष्य त निर्धारण गर्छ नै, नेपाल र नेपालीको भविष्य पनि सुनिश्चित गर्छ ।

बितेका राजा वीरेन्द्र र दीपेन्द्रको पनि प्रजातन्त्र आउनुभन्दा पहिलेको भूमिका राम्रो वा उचित भनेर भन्न सकिन्न (धेरैलाई यो कुरा यतिखेर अपाच्य र असामयिक लाग्न सक्छ) । राजा वीरेन्द्रले पनि करिब दुई दशक पञ्चायती शासनको नेतृत्व गरेकै हुन् र त्यस बखत भएका सबै खाले कार्यको जिम्मेवारी पनि उनैको हो ।

प्रजातन्त्रोत्तर कालमा संविधानको परिधिभित्र रहेर उन्ले जे जस्तो भूमिका खेले त्यसको प्रशंसा गरिएको हो । यद्यपि उनका कतिपय गतिविधि संवैधानिक राजतन्त्रसम्मत रहेनन् । वीरेन्द्रको त्यो प्रशंसा हाम्रा नेताहरूको विफलताका कारण अत्यधिक हो ।

शाहवंशका राजाहरूमध्ये सम्भवतः राजा वीरेन्द्र नै सबैभन्दा लोकप्रिय भए । यो बुझ्नुपर्ने कुरा हो कि उनी संवैधानिक राजा भएकाले नै उनी त्यति पपुलर भएका हुन् र उनको पञ्चायतकालीन विगतलाई कसैले स्मरण पनि गर्दैन आज । 

गिरिजाप्रसाद कोइरालाको लोकप्रियता अहिले अत्यधिक ऋणात्मक छ । तर पनि उनी शासन सत्ता सम्हालेर बसेका छन् । किनकि उनी प्राविधिक रूपमा बहुमतमा छन् । भन्नाको मतलब के हो भने अलोकप्रिय हुँदैमा शासनसत्ताको बागडोर सञ्चालन गर्न नसक्ने होइन । केही समयपछि, जनआक्रोश थामिएपछि, राजा ज्ञानेन्द्रले शक्ति हातमा लिन सक्ने स्थिति अद्यापि विद्यमान छ । राजा वीरेन्द्रका कोही नबाँच्नु र धीरेन्द्र पनि नरहनुले आर्मीको लोएल्टी चाहेर-नचाहेर राजा ज्ञानेन्द्रतर्फ नै हुनेछ । अतः यस अवस्थामा राजाले ‘कू’ गरेर शासनसत्ता हातमा लिए भने अनौठो मान्नुपर्ने कारण छैन । 

प्रश्न उठ्नु स्वाभाविक छ ‘कू’ भयो भने कोबाट कस्तो खाले विरोध हुन्छ ? गिरिजाप्रसाद वा माधव नेपाल वा शेरबहादुरहरूले खासै विरोध गर्न सक्ने छैनन् सिवाय वक्तब्यबाजी । यिनका सेनामेना, जसको शरीरमा बाक्लो बोसो लागिसकेको छ, बाट केही आश गर्न सकिन्न । यी बोसो लाग्ने नेता-कार्यकर्ता (बेनुप प्रसाईं, अर्जुन नरसिंह, जगत गौचनप्रभृत्ति) पहिले पनि प्रजातन्त्रका लागि लडेका होइनन् र अब पनि लड्दैनन् उल्टै कतिपयले कू को पक्षमा वक्तव्य दिएर प्रजातन्त्रलाई सत्तोसराप गर्नेछन् । प्रजातन्त्रका लागि लडेका यिनका कार्यकर्ता जो अहिले पनि सडकमा नै छन् ती किंकर्तव्यविमूढ हुनेछन् ।

म र म जस्ता हजारौँ मानिस जो ४६ सालको आन्दोलनमा स्वस्फूर्त र निस्फिक्रीका साथ लागेका थिए, सडकमा निस्कनुपूर्व ५० औं पटक सोच्नेछ के हामीले ज्यान जोखिममा तिनै ‘पर्फम’ गर्न नसक्ने नेतालाई सत्तारुढ गर्न हो ? र, केही निस्किए तापनि अलमलमा पर्नेछन् र लाखापाखा लाग्नेछन् । अर्थात् जनमतले कूको समर्थन नगरे तापनि विरोधमा निस्कने आँट गर्दैनन् । अन्तर्राष्ट्रिय जगत्बाट पनि केही वक्तव्य आउनेछन् चिन्ता जताउँदै । दुई तिहाइ बहुमत ल्याएको नवाज शरिफलाई मुसरर्फले ‘कू’ गरेर अन्तर्राष्ट्रिय मान्यता हासिल गरी छाड्छ भने ज्ञानेन्द्रले पनि त्यो भन्दा चाँडै मान्यता प्राप्त गर्नेछन्, अन्तर्राष्ट्रिय जगत्बाट । 

तसर्थ कू हुन सक्ने र त्यो सफल पनि हुन सक्ने सम्भावना छ । तर, जसरी गिरिजाप्रसाद पतनोन्मुख देखिएका छन्, ‘कू’का अभियन्ताको पनि पतन अवश्यम्भावी छ । तानाशाहहरू टिकेका छैनन् कहीँ पनि र टिक्दैनन् पनि । अधिराजकुमार ज्ञानेन्द्रलाई अहिले महाराजाधिराज पदको चिट्ठा परेको छ । र, यदि उनी त्यस पदलाई दीर्घकालीन बनाउन चाहन्छन् भने एक मात्र बाटो जनविश्वास हासिल गर्नु हो । त्यो पनि संवैधानिक राजा भएर मात्र सम्भव देखिन्छ जुन प्रजातान्त्रिक नेपालका लागि उपयुक्त बाटो पनि हो । यदि राजा कू गरेर शासनसत्ता हत्याउन खोज्छन् भने उनको हातमा प्राविधिक रूपमा शासनसत्ता त हुन्छ तर त्यो न त त्यो चिरकालीन हुन्छ न त त्यसले उनका पुत्र पारसलाई नै शासन गर्ने अवसर दिनेछ । 

एक संवैधानिक राजाका रूपमा ज्ञानेन्द्रलाई आफ्ना दाजुको जस्तै जनताको मत जित्ने अवसर हात परेको छ, उनीविरुद्ध चलिरहेका हल्ला निराधार साबित गर्ने अवसर परेको छ, साथसाथै अन्योलग्रस्त मुलुकलाई डोहोर्याउने पनि अवसर प्राप्त भएको छ । अहिले ज्ञानेन्द्रले सम्भवत सोचेको भन्दा निकै बढी अर्थात् नेपाल अधिराज्यको राजा बन्‍न पाएका छन् । अब यो कुरा राजा ज्ञानेन्द्रकै हातमा छ कि उनी संवैधानिक बनेर लोकप्रिय एवं सम्मानित वीरेन्द्र बन्‍न चाहन्छन् वा शासन सत्ता हातमा लिएर महेन्द्र बन्‍न चाहन्छन् । तसर्थ राजा ज्ञानेन्द्रको भावी भूमिकाले नै उनी र उनका शाखा सन्तान (पारस) को भविष्य त निर्धारण गर्छ नै, नेपाल र नेपालीको भविष्य पनि सुनिश्चित गर्छ । 



Author

थप समाचार