विचार

लोकतन्त्रको सकस र राजसंस्थाको बेतुक बहस

शुसिल थापा |
माघ २, २०८० मंगलबार १७:५३ बजे

नेपाल वैधानिक रुपमा गणतन्त्रमा प्रवेश गरेको डेढ दशक कटिसकेको छ । यो अवधिमा राजनीतिक घटना परिघटनामा धेरै परिवर्तन आएको पाइन्छ । पुराना राजनैतिक दलहरू प्रति नेपाली जनमानसका पलाएको वितृष्णा, नयाँ खुलेका दलहरू र तिनका चटपटे एजेन्डा, तथा देशमा विद्यमान आर्थिक तथा सामाजिक भ्रष्टाचारका कारण आजभोलि केही राजनैतिक चरित्रका दल तथा समूहमा राजा प्रतिको मोह देखिन थालेको छ । देशको आर्थिक तथा सामाजिक परिवर्तनका खास एजेण्डा बिनानै राजसंस्थाको वीणा बजाउनुले केही जाने बुझेका भनिनेहरूमा आफ्नो स्वार्थ सिद्ध गर्ने अभिप्राय देखिन्छ । जसरी हिजो माओवादीहरुले देशमा सयौं वर्ष देखिको उत्पीडनलाई बहुदलले केही समयमै समाधान गर्न नसकेको आरोप लगाएर जनमानसलाई भड्काउन सफल भयो, त्यसै गरी आज राजावादीहरू जनतालाई दिग्भ्रमित गर्न लागि परेका छन । यसको सोझो प्रहार नेपालको लोकतन्त्र र जनताका अधिकार माथि पर्ने खतरा छ । कुनै एउटा वंशको अधीनमा राज्य संचालन गरिने व्यवस्था आजको आवश्यकता हुँदै हैन र त्यसमा पनि धर्मलाई राजासँग जोड्ने र धर्मको आडमा थालिएको राजनीतिक तर्कहरू दुर्भाग्यपूर्ण हुन सक्छ । नेपालको संविधानप्रति आफ्ना-आफ्ना असहमतिहरू रहन सक्लान्, जुन स्वाभाविक हो । तर, संविधानले प्रदत्त गरेका महत्वपूर्ण अधिकार र व्यवस्थाहरुलाई तिरस्कार गरिनुलाई स्वाभाविक मान्न सकिन्न ।

जनतामा हालको राज्य संचालन प्रकृया र व्यवस्थापनप्रति व्यापक वितृष्णा छ । २०४६ सालको राजनैतिक व्यवस्था परिवर्तनपछि नेपाली जनताले प्राप्त गरेको अधिकारले केही मात्रामा भएपनि विश्वलाई कुनै न कुनै रुपमा नियाल्ने अवसर पाएका छन । जसले गर्दा नेपालीहरूले विकसित मुलुकहरूको अवलोकन र अनुभव गर्ने मौका पाए । केही राजावादीहरू भन्ने गर्छन, राजतन्त्र हुँदा नेपालको अवस्था राम्रो थियो, जुन एउटा भ्रम बाहेक केही होइन । राजाहरूको शासनकालमा नेपाली जनताले विश्वलाई नियाल्ने अवसर कुनै पनि तवरले प्राप्त गरेनन् । एउटा वर्ग जो राजा र राज्यसँग नजिक थियो उनीहरूले मात्र त्यतिबेला आफ्ना स्वार्थहरू सिद्ध गर्न सके । अहिले त्यही वर्ग नेपाली जनतालाई भड्काउन उद्धत छन् ।  चाहे रविन्द्र मिश्र हुन या कमल थापा, उनीहरुलाई लोकतन्त्र हुनु या नहुनुले खासै अर्थ हिजोपनि राखेन र आजपनि । किनभने उनीहरू सम्पूर्ण रुपमा पूर्ण छन् । उनीहरूका सन्तानले शिक्षा, स्वास्थ्य, आवास, भ्रमण आदिमा न हिजो दुख पाए न आज नै । तसर्थ उनीहरू लोकतन्त्रमा विश्वास गर्दैनन् । मैले यहाँ जसको नाम लिएँ, ति प्रतिनिधि पात्र मात्र हुन । जो राजाको नाममा भजन गाउँदै छन । 


२०६२/६३ को जनआन्दोलन पछि जन्मिएका बालबालिकाहरू आज आफ्नो मताधिकार प्रयोग गर्न पाउने उमेरमा पुगेका छन् । उनीहरूले राजाको शासन भोगेनन् । राजाका बारेमा बुझ्ने मौका पनि पाएनन् । किन भने प्रमुख राजनैतिक दलहरू जनचेतनाका पाटोमा नराम्रोसँग चुके । राजनैतिक अस्थिरता, चरम आर्थिक तथा सामाजिक अनियमिततामा उनीहरू यसरी रुमल्लिएकी जनताका दिनानुदिनका समस्याहरूका बारेमा सोच्ने समय र सामर्थ्य नै राखेनन् । अर्को तर्फ यही अस्थिरता र अराजकतालाई आधार बनाएर कहिले माओवादीहरुले त अहिले राजावादीहरूले आफ्नो स्वार्थ सिद्धिको बाटो रोजेको प्रष्ट छ ।

राजनैतिक दलहरूको विकल्प राजा हैनन भन्ने विषयमा गहन बहस र विमर्श हुन सकेकै छैन । नेपाली जनतालाई उचित विषयमा जानकारी प्रदान गर्न राज्य, राजनीतिक दल, हाम्रा विश्वविद्यालयहरू तथा नागरिक समूह नराम्रोसँग चुके । राजनैतिक दलहरूको असफलता, दलहरूका बीचमा हुने अस्वस्थ राजनैतिक द्धन्द्ध, आर्थिक विकास तथा विदेश नीतिमा रहेको अस्पष्टता आदि कारणहरूले गर्दा नेपाली जनतामा कतै राजा नै पो ठीक हो की भन्ने भाष्य निर्माण गर्न सहयोग पुगेको छ । के अब नेपालको विकास र समुन्नतिका लागी राजनैतिक दलहरू असफल भएकै हुन त ? के राजतन्त्र नेपालको समय सापेक्षिक बहस हो ? के हामीले गणतन्त्र वा लोकतन्त्रमा नराम्रो मात्र गर्यौ त ? यिनै विषयमा मैले थोरै चर्चा गर्ने प्रयास गरेको छु । यस क्रममा म मेरा पाठकहरूलाई स्पष्ट पार्न चाहन्छु की, मेरो उद्देश्य कुनै अमुक राजनैतिक दलका विषयमा पक्ष वा विपक्षमा तर्क गर्नु हुने छैन । तर लोकतन्त्र र खुला अर्थ व्यवस्था नै अहिलेको समाजको उन्नतिको आधार हुन सक्छ भन्नेमा भने मेरो पूर्ण विश्वस्त छु ।

नेपालका पुराना भनिएका राजनैतिक दलहरू कुनै न कुनै रुपमा आफ्नो दायित्वबाट चुकेकै हुन । पहिलो कुरा लोकतन्त्रको सम्वृद्धिकालागि लोकतान्त्रिक चरित्रका नेताहरू चाहिन्छ । तर नेपालले थोरै संख्यामा मात्र लोकतान्त्रिक चरित्रको नेताहरू पायो । जसले गर्दा राजनैतिक दल भित्रै लोकतन्त्रको अभ्यास हुन सकेन । सर्वोच्च नेतृत्वले चाहेको मात्र हुने राजनैतिक चरित्र हरेक राजनैतिक दलमा विद्यमान थियो र छ । जुन लोकतन्त्रका लागि एउटा ठूलो चुनौती हो । राजनैतिक दलहरूले संस्थागत तथा नेतृत्व विकासमा ध्यान पटक्कै पुर्‍याएनन । राजनैतिक पार्टीभित्र सक्षमलाई भन्दा पनि आफ्ना गुट वा स्वार्थ समूहलाईमात्र प्रोत्साहन गर्ने प्रवृत्ति देखियो । जसले गर्दा सक्षम र समुन्नत संस्कार भएकाहरू कि त राजनीतिबाट टाढिए । कि आफ्नो अस्तित्वको खोजीमै रुमलिए । भलै राजनैतिक दलहरूमा परिवारवादको आरोप पनि चर्चामा आएको पाइन्छ तर, समस्या परिवारवाद भन्दा पनि परको छ । समस्या परिवारवादको हुँदै हैन, समस्या भनेकै दलहरूको निरंकुश चरित्रकाे हो । विश्वको राजनीतिलाई हेर्ने हो भने पनि परिवार भित्रबाटै राजनीतिमा आएका धेरै उदाहरणहरू छन् । तर अपवाद बाहेक उनीहरूको सक्षमतामा प्रश्न गर्ने ठाउँ कमै हुन्छ । तर नेपालमा क्षमता नहुँदा मात्र हैन, ठूला-ठूला कलंकका दाग लाग्दासमेत पटक-पटक राजनीतिमा परिवारका सदस्य, नातागोता वा गुटको भएकै आधारमा स्थान दिइएको छ । जुन लोकतन्त्रको सिद्धान्त भित्र पर्दैन । राजनैतिक दलहरूमा स्वतन्त्र रुपमा राजनैतिक नेतृत्व छनौट गर्ने र सामूहिक नेतृत्वलाई स्विकार गर्ने गुन्जायस अझैसम्म छैन । चुरो कुरो के हो भने, हामीसँग लोकतान्त्रिक चरित्र नै छैन । जहाँ लोकतन्त्रवादीहरु नै छैनन् भने लोकतन्त्र अगाडि बढ्न सक्दैन । लोकतन्त्रको रक्षा र दिगो विकासका लागि अब राजनैतिक दलहरूले र तिनका नेता, कार्यकर्ताले आफूलाई लोकतान्त्रिक बनाउनै पर्छ ।

नेपालका राजनैतिक दलहरुलाई लोकतान्त्रिक बनाउने सवालमा राजनैतिक दलका कार्यकर्ता तथा राज्यको व्यवस्थापिका र कार्यपालिकाको पनि दोष छ भन्ने लाग्छ । राजनैतिक दलहरू भनेका वेलगाम संस्था हुन सक्दैनन्, उनीहरूलाई नियमन गर्ने गरी कानुनहरूको निर्माण र कार्यान्वयन हुनु अत्यन्त जरुरी छ । राजनैतिक दलहरूका विधान कस्तो हुने ? उनीहरूको निर्वाचन प्रणाली कस्तो हुने ? आर्थिक गतिविधिहरूको नियमन कसरी हुने जस्ता आधारभूत विषयहरूमा एकरुपता हुनु लोकतन्त्रको सुदृढीकरणका लागि महत्वपूर्ण विषयहरू हुन सक्छन् । जब राजनैतिक दलहरूको आधारभूत विषयहरूमा नियमन हुन्छ र जनताले उनीहरूका विषयमा जान्ने मौका पाउँछन्, तब राजनैतिक दलहरूको ध्रुवीकरण सुरु हुन्छ । विचार मिल्ने दलहरूमा हुनसक्ने गठजोड वा मिलापले दलहरूको संस्थागत विकास हुन मद्दत पुग्छ । तर हाम्रा राजनैतिक दलहरू वेलगाम छन र सीमित व्यक्तिहरूको स्वार्थ अनुकूल काम गर्छन्। जसले गर्दा राजनैतिक दलहरूप्रति जनताको विश्वास घट्दै गएको छ । 

हामी सबैले भन्ने गरेको विषय हो, भ्रष्टाचार, अनियमितता र कुशासन । ट्रान्सपरेन्सी इन्टरनेशनलको तथ्यांक अनुसार नेपाल भ्रष्टाचारमा निकै अगाडि छ । नेपालको स्कोर ३४/१०० रहेको छ जहाँ १०० को मतलब अत्यन्त सुशासन भएको र शुन्यको मतलब धेरै भ्रष्ट भन्ने बुझिन्छ । नेपालको भ्रष्टाचार इन्डेक्स ३४ रहेको छ जसको मतलब हो नेपालमा भ्रष्टाचार छ । यसका आधारहरूमा ट्रान्सपरेन्सी इन्टरनेशनलले घुसखोरी, आयोजना रकमको हिनामिना, सरकारी अधिकारको दुरुपयोग, झन्झटिलो सरकारी नियमहरू, सरकारी निकायहरूमा आफन्तहरूको नियुक्ति, स्वार्थ बाझिने गरी गरिने काम आदिलाई आधार बनाएको छ । तर उसले यस तथ्याङ्कमा कर छली, गैरकानुनी रुपमा भित्रने तथा बाहिरिने मुद्रा, नागरिकका भ्रष्टाचारका गुनासाहरू आदिलाई समावेश गरेको छैन । यस तथ्याङ्कलाई हेर्ने हो भने हामी विश्वका विकसित समाजका अगाडि आफूलाई देखाउनै नसक्ने गरी लज्जित र अपमानित महसुस गर्नुपर्ने अवस्थामा छौ । अनि यो अनियमितताको जड के हो त ? यसको उत्तर त्यति जटिल छैन । यसको जड राजनैतिक नेतृत्वको असक्षमता नै हो । हिजो राजाका शासनकालमा होस या आज गणतन्त्रमा, भ्रष्टाचार र अनियमितताको कारण भनेकै हाम्रा शासकहरू हुन । लामो समय सरकारी सेवामा रहेका र अर्थव्यवस्थाका विषयमा दक्षता राख्ने पूर्व प्रशासक रामेश्वर खनालले २०८० मंसिर ६ को 'टफ टक'मा प्रष्ट भन्नु भएको छ । राजनैतिक संरक्षणबिना कर्मचारीलेमात्र भ्रष्टाचार गर्न नै सक्दैनन् । केही समय अगाडि मात्र पूर्व सभामुख कृष्ण बहादुर महरा संलग्न भएको भनिएको सुन काण्डको समाचार बन्यो । पूर्व अर्थमन्त्री जनार्दन शर्मा हाकाहाकी रुपमा अनियमिततामा संलग्न भएको पाइयो । केही पूर्व मन्त्रीहरू विभिन्न अभियोगमा थुनामा छन । यसले के प्रष्ट पार्छ भने हाम्रो देशको भ्रष्टाचारको मुल कारण भनेको राजनैतिक नेतृत्व नै हो । चाहे त्यो राजाका पालामा होस या गणतन्त्रमा । एउटा बुझ्नु पर्ने विषय के हो भने, राजाका पालामा सूचनाको अधिकार सर्वसाधारणको पहुँचमा थिएन, र प्रश्न गर्ने अधिकार र क्षमता जनताहरूमा थिएन । तर आज नेपालीहरूमा सुचनाको पहुँच छ । 

आज नेपाली जनताले राजनैतिक नेतृत्वलाई प्रश्न गर्ने अधिकार पाएका छन् । सूचनामा सहज पहुँच छ। जुन लोकतन्त्रमा मात्र सम्भव हुन्छ । हिजो केही राजाका आसेपासेहरूको मात्र राज्यको संयन्त्रमा नियन्त्रण थियो । आज कुनै न कुनै रुपमा नेपाली जनताले आफ्नो उपस्थिति राज्यसँग देख्न सकेका छन । यसको मतलब यो होइन की आजका राजनैतिक नेताहरूले राम्रो गरेका छन् वा जनताका अपेक्षाहरू पुरा भएका छन् । राजनैतिक दलहरूले सुधार्नु पर्ने धेरै छन । महत्वपूर्ण कुरा, लोकतन्त्रमा जनतालाई राजनैतिक नेतृत्व वा जनप्रतिनिधिहरूमाथि नियन्त्रण राख्ने अधिकार छ । हामीले देखेका छौँ  कुनै न कुनै रुपमा राजनैतिक दलहरू जनताद्वारा नियन्त्रित छन । पाँच वर्ष अगाडlको जस्तो राजनैतिक दलको अवस्था आज छैन । जनताले वैकल्पिक बाटो रोज्न सक्छन् है भन्ने डर उनीहरूमा छ । त्यसो भए किन राजनैतिक दलहरू प्रजातान्त्रिक हुन सकेनन र भ्रष्ट भए ? 

भ्रष्टाचार मुलत: राज्यको मनोमानी र राज्य संचालकमा निहित स्वविवेकीय अधिकारसँग जोडिएको हुन्छ । त्यसो भनेर राजनैतिक नेतृत्वविहीन देश त नहोला । अनि तुलनात्मक रुपमा ठूलो सरकारी संरचना भएका केही देशहरू जस्तै क्यानडा, फिनल्यण्ड, स्विडेनलगायतका मुलुकमा भ्रष्टाचार न्यून छ । तसर्थ देशको राजनैतिक संरचना भन्दा पनि महत्वपूर्ण कुरा त राज्यले कसरी काम गर्दछ भन्नेसँग सरोकार राख्ने देखिन्छ । नेपालको सामाजिक चरित्र र राज्यको चरित्रलाई एकपटक हेरौँ । हामी नेपालीहरू अझै पनि आफूलाई आफैंले विश्वास गर्न सक्ने भइसकेका छैनौं । भन्न खोजेको, हामीलाई अरूले के भन्ला, वा अरूले के गर्दैछ भन्ने कुरामा बढी रुची र चासो हुन्छ । छिमेकीले बनाएको ठूलो घर, उसले चढेको गाडी, उसका रवाफ आदिमा हाम्रो ध्यान केन्द्रित हुन्छ । छिमेकीलाई पनि रवाफ देखाउनुमा आनन्द मिल्छ । विवाह, समारोहहरूमा ठूलो धनराशि खर्च गर्नुलाई हामी आफू महान भएको अनुभूत गर्छौ । यो हाम्रो सामाजिक चरित्र हो र यो चरित्र त्यही हिजोको राजामहाराजाहरूबाटआएको हो । अतः हामीलाई पनि महाराज वा महाराज जस्तै हुने लालसा छ । यो घातक मनोविज्ञान हाम्रो समाजको भ्रष्टाचारको एउटा कारण हो । जानी वा नजानी, हाम्रो मानसिकता नै भ्रष्ट छ। र भ्रष्ट मानसिकतामा गुज्रेको समाजले सुशासन प्रदान गर्ने राज्य पाउन समय लाग्छ । त्यसो भए यसको कुनै उपचार छैन त ? पक्कै छ र त्यो हाम्रो नियन्त्रणमा नै छ । केवल हुनु पर्यो आत्मबल र लगनशीलता । मलाई सानो हुँदा मेरो स्कूलको गणित शिक्षक जस्तो हुने रहर थियो । अलि ठूलो भएँ मलाई पुलिस चौकीको असई जस्तो हुने मन भयो । हाइस्कुल सक्दै गर्दा नेता बन्ने रहर जाग्यो । ती सम्पूर्ण रहरहरूलाई मैले अहिले फर्केर हेर्दा लाग्छ, त्यो मेरो भ्रष्ट मानसिकताको उपज थियो । मैले मेरो गणित शिक्षकको रवाफ देखेको थिएँ । असईसापको शक्ति देखेको थिएँ । अनि बहुदल पछिको पहिलो वा दोस्रो चुनाव ताका नेताहरूको रजाई देखेको थिएँ । म आर्थिक रुपमा विपन्न परिवारमा जन्मिएको मान्छे तैपनि मेरो रहर क्षमतामा भन्दा रवाफमा लालायित थिए । भनेको मैले भ्रष्टाचार नगरे पनि मेरो मन भ्रष्ट थियो । त्यो हाम्रो समाजको चरित्र हो । सबै भन्दा पहिले हामी त्यो मानसिकताबाट बाहिर आउनु पर्यो ।

हाम्रा राजनीतिक दलहरू यो चरित्रबाट लत्काल मुक्त हुनै छैनन् । किनभने उनीहरू हाम्रै समाजले उत्पादन गरेका 'फसल' हुन । हामीमध्ये कसैलाई लाग्ला नयाँ राजनैतिक दलले सुधार गर्लान तर समस्या कुनै दल तथा समूहको हैन । यो त हाम्रो समग्र चरित्र र व्यवहारको हो । जबसम्म समाजलाई चेतनशील बनाउनमा हामीले उर्जा खर्च गर्दैनौ तब सम्म समस्या त रहिरहन्छ । एउटा सानो प्रयास मात्र हामीले सामूहिक रुपमा गर्न सक्यौं भने, धेरै हुन सक्छ । उदाहरणका लागी निर्वाचनमा आउने राजनैतिक दलका कार्यकर्ताहरूलाई सोधौँ, तिनीहरूले गर्ने खर्चका आधार के? उम्मेदवारहरूका आर्थिक र सामाजिक हैसियतलाई अध्ययन गरौँ र प्रश्न गरौँ । कुनै राजनैतिक दल विशेषको मान्छे बन्नु भन्दा पनि स्वतन्त्र नागरिक भएर विश्लेषण गरौँ । कुनै पूर्वाग्रह विना प्रश्न गरौँ । अनि सुरुवात हुन्छ वैकल्पिक राजनीतिको । हामीमा के भ्रम छ भने, वैकल्पिक भनेको त नयाँ राजनैतिक दल हो वा राजा हो । यो भाष्य एकदमै गलत छ, वैकल्पिक भनेका राम्रा मान्छेहरूको निर्माण गर्नु हो र त्यो काम नेपाली जनताको हो । धेरैलाई थाहा छैन होला, हिजो राजाका मान्छेसँग वोल्न डराउनु पर्ने अवस्था थियो । कमसेकम आज त त्यो अवस्था छैन । २०६२/६३ मा राजाले शासन हातमा लिँदा हामीलाई पर्चा छरेको आधारमा पक्रने अवस्था थियो । स्वतन्त्र रुपमा आफ्ना धारणा राख्न बन्देज थियो । आज त्यो छैन । हिजो दश वर्ष सम्म देशमा हिंसा सहितको राजनैतिक द्धन्द्ध थियो, कुनै राजनैतिक दलको कार्यकर्ता भएकै आधारमा वा सामान्य समाजिक कार्यकर्ता भएकै आधारमा कुटिनु वा काटिनु पर्ने अवस्था थियो । तर आज त्यो छैन । हामीले गर्न सक्ने धेरै छन । तर हामी मृगले आफ्नै बास्ना थाहा नपाएर भौतारिएको जस्तो भौंतारिरहेका छौं ।

अब चर्चा गरौँ, राजतन्त्रको अन्त्य पछिको आर्थिक तथा सामाजिक चुनौतीहरूको । नेपालले विश्वका अन्य मुलुकका तुलनामा विकासका मार्गमा गति लिन नसकेको विषय पक्का हो । तर यसको मतलब हाम्रो देशमा केही भएकै छैन भन्ने हैन। भौतिक विकासका विषयका कुरा गर्ने हो भने केही महत्वपूर्ण पूर्वाधारहरूको निर्माण भएको छ । बाटाघाटाहरू गाउँघरसम्म पुगेको छ । स्वास्थ्य चौकी, विद्यालय तथा खानेपानीको प्रबन्ध गाउँगाउँमा भएको छ । हिंसात्मक तथा गैरहिंसात्मक राजनीतिक द्धन्द्धका बाबजुत देशको आर्थिक स्थिती जुन अवस्थामा रहेको छ, त्यसलाई नराम्रो भन्न मिल्दैन । मलाई अर्थशास्त्रका विषयमा जानकारी त छैन तर सामान्य रुपमा बुझिने कुरा के हो भने नेपालीले भोकै मर्नुपर्ने अवस्था छैन । हाम्रा महत्वकांक्षा धेरै छन । जसकालागि धेरै युवाहरू विदेशिएका छन । तर काम गर्ने थलो नै नभएर विदेशिएको भन्ने भाष्य सही छैन । गाउँगाउँमा खेतीयोग्य जमिन बाँझो राखेर विदेशिनुलाई रहर भन्न सकिन्छ, तर वाध्यता हैन । हिजो हामी भन्ने गर्दथ्यौ, हामीलाई बाटोघाटो देउ, उत्पादन गरेर बिक्री गर्छौ तर आज बाटो छ तर हामीसँग उत्पादन छैन । सरकार दिर्घकालीन विकासको आयोजना निर्माण गर्ने कार्यमा चुकेको छ । तर, त्यसको मतलब हामी जनता चै चोखा छौ भन्ने हुँदै हैन । सन १९९१ मा नेपालको प्रतिव्यक्ति आय १९४ डलर थियो । आज त्यो बढेर १३३६ डलर भएको छ । सन १९९१ भारतको प्रति व्यक्ति आय ३०३ डलर थियो । आज उनीहरूको प्रतिव्यक्ति आय २४१० डलर छ । तुलना नै गर्ने हो भने जुन अनुपातमा उनीहरूको आय बढेको छ त्यही अनुपातमा हाम्रो पनि बढेकै छ । तर कुरा के हो भने हामीले गर्ने आयको ठूलो हिस्सा वैदेशिक रोजगारीमा आधारित छ । त्यसो भनेर निराश हुनुपर्ने पनि केही छैन । ९० को दशक अघिनै भारतीयहरू पनि वैदेशिक आम्दानीका लागि भौतारिएकै हुन । यदि हामीले नेपालमा लगानीको वातावरण बनाउने हो भने वैदेशिक लगानी वा आन्तरिक लगानीलाई पनि बढावा गर्न सक्छौँ । तर विडम्वना हाम्रो मानसिकता पैसा कमाउनेलाई देखिनसहने र सकेसम्म खेदो खन्ने रहेको छ । यदि पैसा कमाउनेहरू नहुने हो भने देश धनी हुन सक्दैन । वैदेशिक रोजगारीमा गएका युवाहरूले अनुभव गरेका होलान, जहाँ लगानीको वातावरण छ अर्थात भनौँ धनाढ्यहरुको संख्या धेरै छ त्यही देश धनी भएको हो । अर्को कुरा हामी हरेक दिन वैदेशिक रोजगारी तथा बसाईसराइका रुपमा नेपाली युवा विदेशिएको चर्चा गर्छाै तर मान्छेको बसाईसराईको इतिहास हेर्ने हो भने कुनै न कुनै रुपमा नेपालीहरू हिजो देखिनै यो प्रकृयामा सामेल भएको देख्न सक्छौ । भारत, बर्मा, मलेसिया, भुटान, ब्रिटेन, आदि ठाउँमा नेपालीहरू पहिले देखिनै गएका थिए ।  अहिलेको खुला विश्वमा नेपालीहरू विदेशिनुलाई खासै अनौठो मान्नु पर्ने केही देखिँदैन । त्यसो भनेर फेरि नेपालमा केही छैन भनेर भाष्य बनाउनु चाही गलत हो भन्ने लाग्छ ।

अर्कोतर्फ राजावादी भनिनेहरू भन्दैछन् राजा आए पछि देशले काँचुली फेर्छ वा भनौँ देश बिग्रिसकेको छ अब राजा आएपछि सबै सुध्रिन्छ । तर उनीहरू यो भन्दैनन् की राजा त २०६५ सम्मै थिए  । किन नेपालको कायापलट भएन ? किन राजतन्त्रले नेपालमा अस्थिरता मात्र निम्त्याउन मलजलको काम गरिरह्यो । बेलायतमा राजा छ नेपालमा किन हुन्न भन्नेहरुलाई थाहा छ की छैन ? वेलायतको राजतन्त्र अभिभावकीय हुन्छ, नेपालको मालिक । नेपालीलाई मालिक चाहिएको हो पक्कै हैन । नेपाली जनता स्वतन्त्रताका साथ बाँच्न चाहान्छन् । जो लोकतन्त्रमामात्र सम्भव हुन्छ । अनि अर्को कुरा धर्मलाई राजासँग जोडेर देशमा द्धन्द्ध मच्चाउँन खोज्नेको कमी छैन । जब धर्मलाई राजनीतिसँग जोडिन्छ । भारतमा के भयो वा भैराखेको छ ? अरब मुलुकहरुमा के भैरहेको छ ? केही अफ्रिकन देशहरूमा के हुदैछ ? आदि तथ्यहरूमा ध्यान दिनु जरुरी छ भन्ने लाग्छ । हरेक नेपालीलाई आफ्नो धर्म मान्न पाउने स्वतन्त्रता छ । त्यसलाई राजनीतिसँग जोडिरहनु पर्ने कुनै कारण छैन । अनि आफ्नो कुल जोगाउन नसक्नेहरू, देशको ढुकुटीमा मोज गर्नेहरू, र आफैले आफूलाई मृत घोषणा गरेर बाटो लागेको राजतन्त्रको प्रेतात्मा बोकेर आफ्ना कुण्ठित स्वार्थ सिद्ध गर्न लागि परेकाहरूलाई लोकतन्त्रवादीहरुले जवाफ दिनै पर्छ । जो राजा हुने उ आफैं तयार छ कि छैन थाहा छैन तर भाग खाने भन्दा पुरा खानेहरूको चुरीफुरी देख्दा उदेक मान्नै पर्छ ।

राजनैतिक दलहरूकालागि अबको  चुनौती भनेको देशका विद्यमान समस्याहरूलाई गहन अध्ययन गर्ने र समाधानका लागि पहलकदमी गर्दै, नेपाली जनतालाई आशा जगाउनुमा हुनेछ । थाहा छैन दलहरू यो प्रकृयामा कति छिट्टै सफल हुनेछैन । तर विश्वास छ एकदिन पक्कै सफलता मिल्ने छ । असल मान्छेको जन्म हरेक कालखण्डमा भएकै हुन्छ र असल बन्न प्रेरित गरिरहने जिम्मेवारी हामी सबैको हो । यो आशा गर्न सकिन्छ की राजनैतिक दलहरूले राज्यका निकायहरूका साथै दल भित्रै पनि संस्थागत विकास र नेतृत्व विकासमा तत्काल पहलकदमी थाल्ने छन ।

 

 

 

 

 

 

 


Author

थप समाचार
x