विचार

दार्जीलिङको नेपाल

इकुराका कु

शरद प्रधान |
मंसिर १३, २०७७ शनिबार ८:२४ बजे

संगीत महर्षि अम्बर गुरुङका छोरा किशोर गुरुङ अमेरिकाको हवाईमा संगीत पढ्थे । त्यहाँका एकजना प्राध्यापकले नेपाली साहित्यबारे बुझ्न कुन पुस्तक पढ्ने भनेर जिज्ञासा राखेछन् । किशोरले कुमार प्रधानको ‘अ हिस्ट्री अफ नेपाली लिट्रेचर’ (सन् १९८४ मा भारतीय साहित्य एकाडेमीद्वारा प्रकाशित) पुस्तक दिएछन् । ती प्राध्यापकले कुमार प्रधानको पुस्तक पढेपछि उनको भाषा, शिल्प र लेखनशैलीको खुलेरै प्रशंसा गरेको कुरा किशोर आज पनि सुनाउँछन् । यो थियो, कुमार प्रधानको अङ्ग्रेजी भाषामाथिको कमाल ।

उनले ‘घोडा’ शीर्षकमा पाब्लो नेरुदाको कविता नेपालीमा अनुवाद गरेका थिए । उक्त कविताको उत्कृष्ट अनुवादले मलाई ल्याटिन अमेरिकाको साहित्यमा रुचि जगाएको थियो । उक्त कविता दार्जिलिङबाट प्रकाशित हुने ‘दियालो’मा छापिएको थियो । समसामयिक लेखहरूको सँगालो ‘वार्ताहरू’ मा सन् १९७१ मा प्रकाशित भएको इलियटको काव्यसिध्दान्तमाथि लेखिएको उनको लेख बौध्दिकताको द्योतक थियो । इलियटमाथि लेखिएको त्यति राम्रो लेख सायद नेपाली भाषामा कमै लेखिएको होला । उनको अङ्ग्रेजी भाषामाथिको पकडलाई तारानाथ शर्माले खुलेर प्रशंसा गरेको सुनेको छु । नेपाली र अङ्ग्रेजी दुवै भाषामा निपूणतासाथ कलम चलाउनु चानचुने कुरा  थिएन ।


प्रधानले तारानाथ शर्मासँग भेट्ने इच्छा गरेपछि मेरै पहलमा साहित्यकार नगेन्द्र शर्माको निवासमा भेट भएको थियो । त्यो दिन नेपाली भाषाले भारतमा मान्यता पाएको दिन थियो । त्यतिबेला हामी निकै हर्षित भएका थियौँ । नेपाली भाषाले भारतमा मान्यता पाउनुपर्छ भन्ने भाषा आन्दोलनमा उनको ठूलो योगदान रहेकामा कुनै दुई मत छैन ।  कुमार प्रधान, आईबी राई, प्रेमकुमार आले भाषा आन्दोलनका बौध्दिक व्यक्तित्व थिए ।

आन्दोलनले सोचेजस्तो उचाइ प्राप्त नगरेपछि हतास भएका उनले सिके श्रेष्ठसँग मिलेर यसलाई थप ऊर्जा दिन भारतीय नेपाली राष्ट्रिय परिषद्मार्फत सिक्किमको गान्तोकमा भाषा सम्मेलन आयोजना गरे । त्यो सम्मेलनको प्रथम सत्रमा सभापतिको आसनबाट जुन ११, १९९० मा उनले दिएको सारगर्भित मन्तव्य मननयोग्य छ ।

‘यो नेपाली भाषा मेरो मायाको साउतीको भाषा हो । यो मेरो विषाद्को रोदनको भाषा हो । यो मैले भीमनाद गर्दा अभिव्यक्त हुने भाषा हो । मैले सुखद् सपना देख्दा हाँस्ने भाषा अनि फेरि मलाई जीवनमा ऐँठन पार्दा जब चिच्याउँछु, त्यो चिच्याउने भाषा पनि यही नेपाली भाषा हो । त्यसैले यो भाषा मेरो आत्मा हो,’ (सिके श्रेष्ठले सन् १९९० मा सम्पादन गरेको पत्रिका ‘आधार’बाट ।) उक्त सम्मेलन नेपाली भाषाले भारतीय संविधानमा मान्यता पाउनका निम्ति कोसेढुङ्गा साबित भएको थियो ।

म केही समयका लागि सिलिगुडी जाँदा उनको घरमा नै बसेको थिएँ । त्यहाँ बस्दा उनको सम्पादनमा निस्किने ‘सुनचरी’मा केही लेख र समाचार छाप्ने अवसर पनि पाएँ । उनी सीमान्तीकृत भएको समय समयमा आभास पनि हुन्थ्यो । तर पनि यसले उनको लेखनमा कहिल्यै कमी आएन । उनी भन्दा धेरै कनिष्ठहरूले साहित्य एकाडेमी पुस्कार पाए तापनि उनलाई भने यो अवसर कहिल्यै मिलेन । यद्यपि उनको महत्व काठमाडौंका बौध्दिक जमातले निकै बुझेको प्रतीत हुन्छ ।

दार्जिलिङको साहित्यिक वृत्तमा कुनै समय इकुरा समूहको रजगज थियो । यो समूहले नेपाली साहित्यलाई विदेशी पाठकमाझ पुर्‍याउने कामदेखि लेखनमा नयाँ आयाम दिनेसम्म काम गर्‍यो ।

सोसल साइन्स बहा:द्वारा आयोजित महेशचन्द्र रेग्मी मेमोरियल लेक्चर दिने उनी दोस्रो व्यक्ति थिए । पहिलो थिए, डाक्टर हर्क गुरुङ । त्यो लेक्चरमा उनले ‘दार्जिलिङमा नेपाली जाति र जनजातीय चिनारीका नयाँ अडान’ विषयमा ४० पृष्ठ लामो भाषण दिएका थिए ।

उनका पिता माणिकलाल प्रधान काठमाडौंबाट विरक्तिएर दार्जिलिङ गएको उनकै मुखबाट सुनेको थिएँ । सितार बजाएर बिहानै रियाज गर्नु पिताको नित्यकर्म थियो । सायद त्यसैले होला, उनी पनि आध्यात्मिकतामा चेतनशील थिए । साई बाबाको अनन्य भक्त प्रधानद्वारा अनुवादित हवार्ड मर्फटको पुस्तक ‘औलौकिक पुरुष : साई बाबा’ (श्याम ब्रदर्सले रु. ५ मूल्य राखेर सन् १९७४ मा प्रकाशित) साई साहित्यको इतिहासमा सायद प्रथम अनुवादित पुस्तक हुन सक्छ । यो पुस्तक अति नै लोकप्रिय भए तापनि दोस्रो संस्करण भने निस्कन सकेन ।

उनले सनातन सारथी साई दर्पणमा धेरै आध्यात्मिक लेख लेखे भने ‘शिरडी टु पर्ती’  उनको अप्रकाशित कृति हो । कवि मोहन ठकुरीले साई सान्निध्यका निम्ति लिएको अन्तर्वार्तामा उनले साईप्रति जागेको आस्था, साई संगठनका क्रियाकलाप र साईप्रतिको सद्भाव प्रकट गरेका थिए । मैले पनि उनले दिएको प्रवचन कैयौं पटक सुन्ने अवसर पाएको थिएँ । उनका प्रवचन निकै सारगर्भित र ओजपूर्ण थिए ।

कलकत्ता विश्वविद्यालयबाट ‘पृथ्वीनारायण शाहले नेपाल विजय गरेको हो, एकीकरण होइन’ भन्ने विषयमा विद्यावारिधि गरे । यो भारतस्थित अक्सफोर्ड युनिभर्सिटी प्रेसले छापेको थियो । उनी बेला-बेलामा भन्थे, ‘पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका होइनन् । किनकि कुनै हिसाबले पनि नेपालमा एक जाति, भाषा र संस्कृतिको बाहुल्य थिएन । सबै छुट्टाछुट्टै राज्य थिए ।’

यस पुस्तकले गोरखाको साम्राज्यलाई बढाउँदै आधुनिक नेपाली राज्यको सृष्टि पत्ता लगाएको छ । यसले राष्ट्रिय एकीकरणका रूपमा रहेको प्रमुख धारणालाई चुनौती दिएको छ र लोकप्रिय सामाजिक, सांस्कृतिक एकीकरणको अभावमा राज्यको निर्माणले राष्ट्रिय एकीकरणको अवधारणालाई अवैध बनाएको छ भन्ने मान्यता राखेको छ । धेरै वर्षसम्म यो पुस्तकले नेपाली समाजमा चर्चा पाएन । यो पुस्तकको दोस्रो संस्करण हिमाल बुक्सले प्रकाशित गरेको छ भने नेपाली अनुवाद मञ्जरी प्रकाशनले गर्न लागेको छ भन्ने सुनेको छु ।

‘पहिलो प्रहर’ प्रधानको अर्को मौलिक पुस्तक हो, जसले निकै चर्चा र प्रशंसा पायो । जातीय इतिहास लेखनको दस्तावेजका रूपमा रहेको यो कृति सन् १९८२ मा श्याम प्रकाशनले प्रथम संस्करण प्रकाशित गरेको थियो । पहिलो प्रहरले दार्जिलिङमा नेपाली जाति, भाषा र साहित्यको उद्भव र विकासबारे विमर्श गरेको छ ।

उनले ‘सुनचरी’ दैनिक र ‘हिमालय दर्पण’ सम्पादन गरे भने नेपाली साहित्यको पत्रिका मालिङ्गो र हाम्रो संसारको पनि कुशल सम्पादन गरेका थिए । मालिङ्गोका सम्पादकीयमा उनको सुविचारित, संयमित, स्पष्ट र वस्तुनिष्ठ प्राज्ञिक लेखनशैलीको झलक पाइन्छ । उनका फुटकर कविताको संग्रह उनको निधनपछि रेमिका थापाको सम्पादनमा आस्थातीत नामबाट प्रकाशित भयो ।

प्रधानले तारानाथ शर्मासँग भेट्ने इच्छा गरेपछि मेरै पहलमा साहित्यकार नगेन्द्र शर्माको निवासमा भेट भएको थियो । त्यो दिन नेपाली भाषाले भारतमा मान्यता पाएको दिन थियो । 

रेमिका थापाका कविताहरूको अङ्ग्रेजी अनुवाद गरेर उनले नयाँ पुस्तालाई हौसला प्रदान गरेका थिए । प्रधानको नखुलेको पाटो भने कविता कर्म थियो । सानैदेखि कविता लेख्ने गरे तापनि समालोचना र अनुसन्धान लेखनले कवि पक्षलाई सधैँ ओझेलमा पारे ।

सूधपापछि भारतीय नेपाली साहित्यमा धेरै प्रभाव छोडेको अर्काे समूह हो, इकुरा (इन्द्रबहादुर राई, कुमार प्रधान, राजनारायण प्रधान) । यो समूहले दार्जिलिङबाट सुरु भएको आयामेली आन्दोलनलाई बौध्दिक ऊर्जा दिनेदेखि भानुभक्तको साहित्यिक योगदानको विमर्श गर्न भ्याए । भाषा आन्दोलनलाई तार्किक निष्कर्ष पुर्याउने कामदेखि लिएर नेपाली पाठकलाई विश्व साहित्यमा चिनाउने काम पनि इकुराले नै गरे ।

एउटा साहित्यिक युग सम्झेर इकुरा समूहको योगदानलाई समष्टिगत रूपमा मूल्याङ्कन गर्न जरुरी छ । दार्जिलिङको साहित्यिक वृत्तमा कुनै समय इकुरा समूहको रजगज थियो । यो समूहले नेपाली साहित्यलाई विदेशी पाठकमाझ पुर्याउने कामदेखि लेखनमा नयाँ आयाम दिनेसम्म काम गर्‍यो। साहित्यको वैचारिक धरातललाई निकै माथि उठाउन यो समूहको ठूलो योगदान छ । यही समूहले निकालेको वार्ताहरू ( लेखहरूको संकलन) अहिले पनि मानक लेख संग्रहका रूपमा लिइन्छ ।

इकुराको सक्रियतामा भानुभक्तको शतवार्षिकी २०२६ सालमा बृहत्तर कृति सङ्ग्रह ‘भानुभक्तका कृति : अध्ययनहरू’ प्रकाशित गरे । जसको सम्पादन इन्द्रबहादुर राईले गरेका थिए । सन् १९७१ मा प्रधानको सम्पादकत्वमा निकालेको ‘वार्ताहरू’ अर्को युगीन पुस्तक थियो ।

प्रधानको समालोचनाको उच्चतम लेख ‘अधीति केही’मा सङ्ग्रहित छन् । उक्त पुस्तकमा विभिन्न समयमा लेखिएका फुटकर लेख पढ्न पाइन्छ । लेखहरू निकै गहन र पेचिला छन् । यसमा भानुभक्तको रामायण, सम, देवकोटादेखि सात्र्र र इलियटसम्मको चर्चा गरिएको छ ।

प्रधानको देहान्तपछि उनको व्यक्तित्व र कृतित्वबारे कवि मनप्रसाद सुब्बाको सम्पादनमा निस्केको कुमार कृति पठनयोग्य छ । उक्त कृतिमा प्रधानको साहित्यिक एवं बौध्दिक पाटोको अति सुन्दर तरिकाले विश्लेषण गरिएको छ । कुमार प्रधानले मे ७, १९३७ मा जन्मेर डिसेम्बर २०, २०१३ मा देहत्याग गरेका थिए । (यस लेखका निम्ति स्रोत सामग्री उपलब्ध गराइदिनुहुने कुमार प्रधानकी जेठी छोरी इन्दिरा प्रियदर्शना प्रधानलाई कृतज्ञता प्रकट गर्छु ।)

शरद-शृङ्खला
- प्रतिभाशाली पक्षी अस्थिर राजको दार्जीलिङ-नेपाल उडान
- कार्थक : कोलाहलमा एक्लो मान्छे


Author

थप समाचार
x