विचार

श्रध्दाञ्‍जली

रहनुभएन भौतिकशास्त्री–वैज्ञानिक डा. केदारलाल श्रेष्ठ

विनोद सिजापती |
मंसिर १३, २०७७ १५:१० बजे

तीन चार दिन पूर्वसम्म फोन गर्दा अक्सर घन्टी गएको केहीबेरमै उठ्थ्यो । अत्यन्त शालीन स्वरमा सुनिने गर्दथ्यो, ‘विनोदजी सन्चै हुनुहुन्छ ।’ त्यो दिन पनि स्वर सुन्‍न लालयित थिए, तर ४-५ घन्टी बजुन्जेलसम्म फोन उठेन । दुई दिनपछि फेरि प्रयास गर्दा ‘फोन स्वीच अफ’ पाए । सोचे केही महिनाअघि घरको कोठामा लड्नु भएका केदार दाइलाई फोन उठाउन झर्को लाग्यो होला । विगतमा फोन उठाउन भ्याउनु भएन भने केही समयपछि ‘कल ब्याक’ गर्ने उहाँको बानी थियो । अस्ती इमेलमा दिलेन्द्र श्रेष्ठको मेसेज पाए, मंसिर १० का दिन केदार दाइको देहावसान भयो । त्यो समाचारसँगै अत्यन्त दुखी भए, म मर्माहित भएको छु ।

ललितपुर महानगरपालिका मेयर चिरबाबु महर्जनले १२ सदस्यीय सल्लाहकार समूह गठन गर्नुभएको थियो, तीन वर्षअघि । ललितपुर निवासी समावेश उक्त समूहमा प्रवेशपछि केदार दाइसँग परिचित हुने शुभअवसर मिलेको थियो । उहाँसँग नजिकिने अवसर मलाई शुरुकै दिन मिल्यो । अत्यन्त प्रभावशाली ब्यक्तित्व घनिभूत प्राध्यापक डा. केदारलाल श्रेष्ठ धेरै बोल्नु हुँदैनथियो । तर, उहाँको उपस्थिति फरक माहौल सिर्जना गर्थ्यो । एक दिन सागरमाथा टेलिभिजनका एंकरम्यान जीवराम भण्डारीसँग प्रत्यक्ष प्रसारणमा कुराकानीमा थिए । एक घण्टा लामो जीवरामजीसँगको अन्तर्वार्ता समापनपछि फोन स्वीच अन गर्नासाथ घन्टी बज्यो, ‘विनोदजी म केदारलाल बोलेको ।’ उहाँलाई उक्त अन्तर्वार्ता मन परेछ । त्यसपछि मात्र थाहा पाए, उहाँ मेरा लेखहरु नियमित पाठक हुनु हुँदो रहेछ । त्यसदिन शालीन शैलीमा भन्‍नुभयो, ‘तपाईलाई फुर्सत भएमा भेटौन हैँ ।’ उहाँको आग्रहसँगै म भेट गर्न गए ।


उहाँ अष्ट्रेलियाबाट फिजिक्स विषयका पिएचडी गर्ने पहिलो नेपाली नागरिक तथा अन्यन्त अध्ययनशील प्राध्यापक भएको महिमा उहाँबाट उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुबाट सुनेको थिएँ । उहाँ त्रिभुवन विश्‍वविद्यालयले स्थापना गरेको रिसर्च सेन्टर फर एप्लाइड साइन्स एण्ड टेक्नोलोजी ‘रिकाष्ट’का कार्यकारी निर्देशक (१९७९-८६) तथा नेपाल एकाडमी अफ साइन्स एन्ड टेक्नोलजी (नास्ट) को उपकुलपति (१९९२-१९९७) हुँदा उहाँबाट भए/गरिएका कामका बिषयमा पनि धेरै सुनेको थिए । धेरैबाट धेरै सुनिएकै थियो, ‘प्राध्यापक श्रेष्ठ जस्तो वैज्ञानिक किन नेपालमा बसेको होला ? तिनी विकसित मुलुकहरुमा गएका भए विश्‍वले वायुमण्डलीय भौतिकशास्त्र विषयमा अब्बल दर्जाको वैज्ञानिक बन्‍न पाउने थिए ।’ हामीहरू ललितपुर महानगरपालिकामा संलग्‍न भएपछिका दिनमा उहाँका बहुआयामिक ब्यक्तित्वबारे मैले अर्का प्राध्यापक एवं दाजु केदारभक्त माथेमा (पूर्व राजदुत तथा उपकुलपति) तथा मित्र डा. सुमित्रा मानन्धर गुरुङबाट वर्णन पाइसकेको थिए ।

पहिलो टेलिफोन वार्तापछिका दिनमा मेरो लेख प्रकाशित भएपछि केदार दाई फोन गर्नुहुन्थ्यो । लेखमा समावेश विषयमा चर्चा गर्नुहुन्थ्यो । त्यसले मलाई अझ मिहेनत गर्न प्रोत्साहित गर्नुहुन्थ्यो । नेपालमा संस्थागत विकास किन अवरुध्द हुन्छ विषय केन्द्रित रहेर एक पटक मैले मार्टिन चौतारीका निम्ति एउटा  शोधमूलक लेख लेखेको थिए । उक्त लेख उहाँलाई ‘रिभ्यू’ निम्ति अनुरोध गरेको थिएँ । मेरो लेख पढेपछि उहाँले भेट्न चाहनुभयो । हामी ललितपुरको लविङ्‍मलभित्रको हिमालयन जाभामा भेट गर्‍यौ ।

उक्त अवसरमा उहाँले अध्यापन गर्दा त्रिभुवन विश्‍वविद्यालयको भौतिकशास्त्र विभागलाई प्रभावकारी तुल्याउनदेखि रोनाष्ट तथा नाष्ट जस्ता संस्थाहरुको संस्थागत विकास निम्ति गर्नुपरेका संघर्षका गाथा सुनाउनु भयो । नाष्टको उपकुलपति पद अवधि सकिनुपूर्व सहन गर्न नै नसकिने अवस्था सिर्जना भएपछि पद त्याग गर्नुपरेको वर्णन गर्नुभयो । अनि भन्‍नुभयो, ‘मेरो केही पनि लागेन । त्यसकारण वैज्ञानिकले अवैज्ञानिक कार्य गर्दै २०५४ असोज ९ का दिन एउटा प्रेस विज्ञप्ति जारी गरी राजिनामा गरे ।’ उक्त विज्ञप्ति कान्तिपुर दैनिकमा २०५४ असोज १० का दिन प्रकाशित भयो । जसमा माथिल्लो खण्डमा ‘गणेशमान सिंह बलिदान र निरन्तर संघर्षको कथा’ छापिएको थियो भने लगतै दोस्रो खण्डमा ‘सरकारी उदासिनताले रोनाष्ट लथालिङ्ग’ शीर्षकअन्तर्गत उहाँको प्रेस विज्ञप्ती प्रकाशन भएको थियो । जहाँ सर्वमान्य राजनीतिक ब्यक्तित्व तथा प्रथम भौतिकशास्त्रीले भोगेका गाथा थिए ।

एक वर्ष पूर्व उद्यमी तथा प्रांगिक मित्र चिरन्जिबी श्रेष्ठले मुलुकका बैज्ञानिकहरुको योगदानको कदरस्वरुप आफूले केही योगदान गर्ने अठोट गरेको खुलासा गरे । उसलाई मैले केदार दाइसँग भेटाउनु उपयुक्त ठाने । त्यसकारण दाईलाई फोन गरेर अनुरोध गरे चिरन्जिवीसँग भेटका निम्ति आग्रह गरे । उहाँले भन्‍नुभयो, ‘तपाईले भनिसकेको रैछ ठीकै छ ल्याउनुहोस् ।’ अर्को दिन चिरन्जिवीसँगै उहाँको निवासमा पुगे । चिरन्जीवीको धारणा सुनेपछि उहाँ आफूले सक्दो सहयोग गर्न तयार भएको आशय प्रकट गर्नुभयो ।

प्राध्यापक डा. केदारलाल श्रेष्ठको उद्देश्य ‘संस्थागत रुपमा वैज्ञानिक क्षेत्रको विकास गर्ने थियो । त्यस निम्ति ‘अवैज्ञानिक, अनियमित, अपारदर्शी शासकीय प्रणाली’ले सँधैभरि तिनका सत्प्रयासमा हतोत्साहित तुल्याउँदै अबरुध्द गर्न प्रयत्‍नशील रह्यो ।

दोश्रो दिन विहान उहाँले उक्त विषयमा कुरा गर्न आमन्त्रण गर्नुभयो । सदाझैँ उहाँ म संस्थागत विकासका विषयमा रहेका चुनौतीका विषयमा गफिन थाल्यौं । उहाँले चिरन्जिबीको प्रस्ताव स्वीकार गर्नुका कारण उल्लेख गर्दै आफू ‘नोबल पुरस्कार समितिको सद्स्य’ रहेको खुलासा गर्नुभयो । बोल्दा बोल्दै टक्क अड्केर भन्‍नुभयो, ‘मेरो समस्या यही छ, विनोदजी किन हो किन मलाइ तपाईसँग खुलेर कुरा गर्न मन लाग्छ । यो मैले खुलासा गर्न नमिल्नाले विषय थियो, कृपापूर्वक कसैलाई पनि नभन्‍नु होस् है ।’ अत्यन्त खुसी भए दुई कारणहरुले गर्दा स्वीड़ेनको नोबल पुरस्कार समितिले प्रत्येक वर्ष भौतिकशास्त्र बिषयमा चयन गर्ने वैज्ञानिक छनौट समिसति सदस्यमध्ये एक नेपाली भएको हुनाले गर्दा तथा दोश्रो आफूलाई विश्‍वास गरेर गोप्य राख्नु विषय समेत थाहा पाउँदा । उहाँको देहावसानपछि यो वास्तविकताको खुलासा गर्नु आफ्नो कर्तब्य ठानेको छु । 

केदार दाईका अनुसार, उहाँका ‘माता पिता एकै दिन स्वर्गे हुनु भएको थियो । दुवैलाई पशुपति आर्यघाटमा सँग सँगै दुई चित्तामा दाहसंस्कार गरिएको थियो ।’  उहाँले भाउजुका साथै दुई छोरा र दुई छोरीहरुलाई छाड्नु भएको छ । चारै जना डाक्टर उपाधिबाट सम्मानित । कान्छो छोरा पिताको पदचिन्हमै भौतिक विषयको वैज्ञानिक छन् ।

जो कोही सहजै भन्थे, ‘नेपालमा लायक मानिस नै छैनन् ।’ त्यो सुन्‍ने बित्तिकै मेरा पिताजी उत्तेजित हुँदै भन्‍नुहुन्थ्यो, ‘बुध्दको जन्मभूमिमा मानिस नभएका होइन, केवल मानिस चिन्‍ने मानिस नभएका हुन् ।’ उमेर घट्किंदै गर्दा मलाई पनि अग्रज, समकालीन तथा नयाँ पिँढीका स्वदेश तथा विदेशमा केही प्रतिभाशाली नेपालीहरु भेट्ने अवसर मिल्यो । उनीहरुमध्ये कतिलाई आफ्नो क्षमता तथा दक्षता प्रदर्शन गर्ने अवसर मिलेन । त्यसकारण उनीहरु ओझेलमा परे अथवा पारिए ।  कतिले  भने प्रारम्भिक चरणमै प्रदर्शन गरेको क्षमता र दक्षताकै कारणहरुले गर्दा अग्रज तथा समकालीनहरुको कपभोजनमा पर्नुपर्‍यो । 

किनकि अरुले तिनको उपस्थिस्तिद्वारा आफूलाई असुरक्षित महसूस गरे । त्यसकारण अनेक हत्कण्डा अपनाएर तिनलाई पलायन हुन बाध्य तुल्याइयो । कतिले अवसर पाए । तर तिनलाई पनि स्थापित प्रणालीले उनीहरुले गर्न सक्ने योगदानमा अवरोध गर्‍यो । प्राध्यापक डा. केदारलाल श्रेष्ठको उद्देश्य ‘संस्थागत रुपमा वैज्ञानिक क्षेत्रको विकास गर्ने थियो । त्यस निम्ति ‘अवैज्ञानिक, अनियमित, अपारदर्शी शासकीय प्रणाली’ले सँधैभरि तिनका सत्प्रयासमा हतोत्साहित तुल्याउँदै अबरुध्द गर्न प्रयत्‍नशील रह्यो ।
 
वैज्ञानिक केदारलाल श्रेष्ठले आफ्नो जीवन ‘असल कार्यहरु गरेर’ मुलुककै योगदानमै बिताए । ‘मुलुकबाट के पाउन सकिन्छ’ सोचप्रेरितहरु हाबी भएको यो कालखण्डमा राष्ट्रिय हित समर्पित हुँदै काम गर्नेका निम्ति उहाँको जीवन प्रेरणा श्रोत भइ नै रहनेछ ।


Author

विनोद सिजापती

सिजापती संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोगका पूर्ववरिष्ठ आर्थिक सल्लाहकार हुन् ।


थप समाचार
ad
x