विचार

अहिलेका विद्यार्थी नेताहरूको ताल !

फर्सुराम पाण्डे |
साउन २६, २०७८ १६:३७ बजे

विश्वेश्वरप्रसादको जस खाएर गिरिजादेखि शेरबहादुरसम्म प्रधानमन्त्री बने । मनमोहन सरकारकै तुरुप फ्याँकेर माधवदेखि केपी ओलीसम्म प्रधानमन्त्री बन्ने अवसर पाए । ऐन महर र राजीव ढुंगानालाई प्रधानमन्त्री बन्ने अवसर केपी ओली र शेरबहादुर देउवाले देलान् र ?

विगत कस्तो थियो ?


संसदीय प्रणालीको लोकतन्त्रले यो देशलाई कहिल्यै फलिफाप भएन । बीपी, मातृका, सुवर्णदेखि कृष्णप्रसाद भट्टराईसम्म संसदीय प्रणालीको दुष्चक्रमा नफसेको कोही भएन । तथापि कहिले पञ्चायत त कहिले राजसंस्थालाई बदनाम देखाएर यी नेतागणहरूको राजनीति स्थापित भयो । तर पनि तत्कालीन नेतागणको सरल जीवनशैलीले बहुसंख्यक नेपालीको मन लोभ्याउँथ्यो । बीपीको अति निम्न वर्गहरूप्रतिको उदारता, मनमोहन अधिकारी सार्वजनिक यातायातमा हिँड्ने गरेको विषय, मदन भण्डारीको साइकल यात्रा, कृष्णप्रसाद भट्टराईको आजीवन ब्रह्मचारीसहित अन्त्यमा राजनीतिक जीवनको सन्यास जस्ता विषयहरूले थोरै भए पनि यी नेतालाई आदर्श मानेर राजनीति गर्न उत्प्रेरित गर्छ । 

अहिले कस्तो छ ?

अहिलेका सत्तापक्षीय नेता कयौँपटक प्रधानमन्त्री बने । उनी प्रधानमन्त्री बन्दा कहिले प्रजातन्त्र राजाकहाँ पुग्यो त कहिले न्यायपालिकाको नेतृत्वकर्ता औचित्यहीन महाभियोगको लागि अग्रसर भए ।
अर्का सत्तापक्षका अध्यक्ष छन् । जसले १० वर्षे राज्यसत्ताविरुद्ध सशस्त्र विद्रोह गरे तर अन्तिममा आफ्नै बुहारी, आफन्तजन र आफ्नै घरबेटीप्र्रतिको मोहबाट मुक्त हुन सकेनन्  । 
अहिलेका केन्द्रविन्दु प्रमुख प्रतिपक्षीय नेता छन्, जो नाकाबन्दीकालीन राष्ट्रवादको जगमा स्थापित भए । प्रधानमन्त्री हुँदा ओम्नी र यती लगायतका व्यापारिक घरानाको एस म्यान बने । बहुमतसहितको जनमतलाई खिस्स पारे ।

अहिलेका विद्यार्थी नेताका कुरा

विद्यार्थी संगठन सधैँ पार्टी वा सरकारको प्रतिपक्षीय भूमिकामा हुनुपर्ने हो । तर पार्टी र सरकारका गलत कर्मले आम मानिसलाई कति फरक पारेको छ ? भन्ने कुरा आफ्ना नेतालाई भनेर सम्झाएर सही दिशानिर्देश गर्नुपर्नेमा वाहीवाहीमा समय खर्चिन्छन् हाम्रा युवाका नेतृत्वकर्ताहरू । सधैँ आफ्ना प्यानलका नेता च्याप्न अभ्यस्त छन् । आफ्ना गुटका नेताको वाहीवाही अन्यको खेदो खन्न लागिपर्छन् । सामाजिक सञ्जालका स्ट्याटसमा आरोप–प्रत्यारोप यसरी गर्छन् कि मानौँ अर्को गुटले सबै बिगा¥यो अब केही बाँकी छैन । विद्यार्थी नेतालाई आफ्नो गुट यति प्यारो छ कि जति आफ्नो माउ पार्टीका नेतृत्वकर्तालाई नहोला । 

यस्तो गुटगत मानसिकता माथिदेखि तलसम्म यसरी गाँजिएको छ कि विपक्षी संगठन स्वीकार्लान् तर अर्को गुट स्वीकार्दैनन् । पहिलेका परिवर्तनका आन्दोलनहरूमा सरिक भएका यी संगठनहरूलाई अब अर्को राजनीतिक परिवर्तनका लागि लड्नुपर्ने छैन । तर यो विवेक कसले दियोस् ? यसले विद्यार्थी संगठनकै औचित्यमा प्रश्न उठ्छ । औचित्य पुष्टि गर्ने हो भने यस आन्दोलनलाई सिर्जनात्मक रूपमा रूपान्तरण गर्नुपर्ने हो तर यहाँ नेताको चाप्लुसीभन्दा माथि उठ्न सकेको यो जमात छैन । 

न यी मान्छेलाई विद्यार्थीका मागमा कुनै सरोकार छ, न केही । बाइकको तेलको भाउ बढ्दा आन्द्रा आउन्जेल कुर्लिनेहरू खाने तेलको भाउ तेब्बर बढ्दा बाल छैन । विश्वविद्यालयको पढाइ अस्तव्यस्त छ । भौतिक पूर्वाधार दयनीय छन् । न जाँचको टुङ्गो छ, न शिक्षकको हाजिरीको । स्ववियु चुनाव नभएको दसकौँ भइसक्यो । स्ववियुका खातिर विश्वविद्यालयले पैसा उठाएको उठायै छ । तर विश्वविद्यालय ऐनले स्पष्ट गरेको विद्यार्थीले आफ्नो नेतृत्व विकास गर्ने, विद्यार्थीको पीरमर्का बुझ्ने यो अवसर छिनिएको छ । तर बाल यिनीहरूलाई ? आफ्ना देवताको आरती उतार्न व्यस्त छन् । कहिले पुग्छन् बालकोटको बार्दली त कहिले बुढानिलकण्ठ र कार्की ब्यान्क्वेट ? एउटा गुटलाई आफ्ना ‘बा’को असंवैधानिक संसद् विघटन जबर्जस्ती संवैधानिक देखाउनु छ त कसैलाई आफ्नै सरकार ढालेर कार्यकर्तामाथि गरेको राजनीतिक बेइमानीलाई उचित ? निधारमा झण्डा लगायो कुद्यो ।

केपी ओली युवा संघबाट उदाए, शेरबहादुर देउवा नेविसंघबाट । यिनीहरूको पालामा पो सिङ्गो व्यवस्थालाई गाली गरेर पुग्यो । अहिलेकालाई राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रपछि अब अर्को कुन तन्त्र खोज्नु ? राजनीतिक परिवर्तनलाई मूर्त रूप दिने कार्यभार पो छ त अहिलेका ऐन महरहरूलाई । 

लाखौँ आफ्नो उमेरका युवाहरू विदेशमा बेल्चा लगाउन बाध्य छन् । तर यिनीहरूलाई बाल ? प्रचण्डलाई ३५ वर्षसम्म एक्लो अध्यक्ष मान्दा, एकोहोरो एक्लो आदर्श मान्दा माओवादी क्षतविक्षत छ । कसैको वैशाखी नटेकी बैतर्नी तर्न गाह्रो छ । कांग्रेसको आन्तरिक लोकतन्त्र ध्वस्त भइसक्यो । माउ पार्टीकै महाधिवेशनको टुङ्गो छैन । नेविसंघमा त हजुरबुबाहरूको टिका मार्फत टिकेहरूकै हालीमुहाली छ । अनेरास्ववियुको गुटको लडाईको त भो कुरा नगरौँ । हैन हो ? चेत कहिले खुल्छ ? 

हामी युवा राजनीतिमा आउनुपर्यो भन्छौँ । युवा आए देशमा केही होला भन्छौँ । तर तपाईंलाई लाग्छ, यी युवा नेताले पढ्ने–लेख्ने काम गर्छन् ? एउटा पत्रिकामा लेख देख्नुभाछ ? कुनै बेला टेलिभिजनमा अन्तर्वार्ता हेर्नुभयो होला नि, क्वालिटी कस्तो छ ? केही फरक छ, केपी र शेरबहादुरहरूभन्दा ? केपी ओली र शेरबहादुरहरूले त कम्तीमा जेल बस्दा पढेका रहिछन् । राम्रै भाषण गर्छन् । मैले त यहीँ वर्तमान नेतृत्वकर्ता लेबलको पनि देख्दिनँ त ? हामीलाई भविष्यमा शासन गर्ने यी भविष्य देख्दा झन् डामाडोल देख्छु त देश ।

क्षणिक लाभका लागि आफ्ना गुटका नेतालाई यसरी देवत्वकरण गरेर उभ्याइरहँदा, माउ पार्टीका नेताको आफ्ना गलत कर्महरूप्रति अझै आत्मविश्वास बढ्दैन होला र ? शेरबहादुर दाइ र केपी बा पूजाले कालान्तरमा पार्टीहरू ध्वस्त हुँदै छन् । आफ्नो खुट्टामा बन्चरो हानिरहेको भान हुन्छ । ऐन महर र राजीव ढुङ्गाना अङ्कलहरूलाई प्रधानमन्त्री बन्नबाट रोक्न यहीँ कामले पनि भूमिका खेल्न सक्छ । सधैँ पार्टीको क्याडर ठप्पा लगाएका उग्रभक्त रहलान् र ? आउने पिँढीले यति पनि नबुझ्ला ? यी र यस्तैको पछिको लागेपछि ऐन महरहरू प्रधानमन्त्री बन्लान् ?

 



Author

फर्सुराम पाण्डे

लेखक पाण्डे नेपाल ल क्याम्पसमा बीए एलएलबी अध्ययनरत छन् ।


थप समाचार