विचार

पिकेमा बतास चल्यो अनि काग नाच्यो

चक्र कार्की |
मंसिर २२, २०७७ सोमबार १४:३२ बजे

सुनकोसी तरेर हिलेपानीको उकालोमा जिप गुड्दै थियो । कुकुर तिहारको दिन । बीपी राजमार्गलाई घुर्मी चोक छोडेपछि यातायातका साधनहरूको चाप, हर्नको आवाज स्वाट्टै घट्छ । हिले पानीको उकालो लाग्दै गर्दा मित्र शंकर दाहालको फोन आयो, कता पुग्यौ भन्दै । भैपरी आएन भने तिहारको पर्सिपल्ट पिके पिक जाने पक्का भयो । हामी गाडीमा आउँछौं, तिमी ओखलढुंगामा जोडियौं है भने । पिके पिक जाने योजना शंकरको दसैं छेको थियो । मैले कोरोना महामारी छ अलि पछि जाँदा हुन्छ भने । 

हामी त्यसैमा सहमत भयौं । तिहारको मैजारो मारेर हामी पिके पिक जाने निधो ग-यौं । हामी रमाइलो डाँडामा भेट भयौं । लम्तन्न रुम्जाटारलाई क्यामेरामा कैद गर्दै हामी डाँडेहुँदै धापतर्फ हुइँकियौं । धापबाट पहिलो पटक सर्वोच्च शिखर देख्दा सहयात्री सुबिन गुरुङको खुसी सगरमाथाभन्दा अग्लो भयो । सूर्योस्तको सुनौलो किरण सगरमाथा, लोत्से, नुप्से, नुम्बुर, करेलुङ, गौरीशंकर, आमादाब्लम, थामसेर्कु हिमालमा परेको थियो । 


त्यो क्यामेरामा  कैद गर्नलाई हामी जन्तरधापमा रोकियौं । हिमालको सिरेटोले हान्यो र  पनि हामीले सगरमाथामा परेका सूर्योस्तको सुनौलो किरणलाई कैद गरिरह्यौं । जन्तरधापबाट सगरमाथा, लोत्से, नुप्से, मकालु, गौरी शंकर, नुम्बुर र करेलुङ हिमशृंखलामा परेको सुनौला सूर्यका किरणहरूलाई कैद गर्दै हामी फाप्लुतर्फ लाग्यौं । अघि घाम सगरमाथा शिखरबाटै अस्ताएका थिए । हामी फेदीभन्दा तल झम्के साँझमा मोटरको उज्यालो साथ । सल्लेरी र फाप्लु झिलीमिली देखिन्छन् । तिहारको झिलीमिली नसकिएको भान भयो । 

साँझ ७ बजे हामी फाप्लु पुग्यौं र होटल चेक इन् ग-यौं । जाडो मौसमको ओखती स्थानीय उत्पादन तोङ्वा र सुकुटीले स्यानिटाइज ग¥यौं । शंकरले फाप्लुको रोक्दिङ होटलको तोङबा भेडेटारको भन्दा बेजोड छ भने । उता लमजुङका सुबिनले गुरुङ तातोपानीबाट चियर्स सुरु गरे । उनी बनारसी पण्डितजस्ता हुन् । चिया र कफी पनि नछुने । लमजुङको नारेपा र सोलुखुम्बुको आरकसँग उनको दस हात पर (कोदोको रक्सी) को साइनो छ । 

 मौसम बेहोस हुने गरी खुलेको छ । बिहान होटलको कोठाबाटै फाप्लुबाट नजिकको हिमाल नुम्बुर र करेलुङ छ्याङ देखियो ।  मन पुल्कित भयो । फाप्लुमा खाजा खाएर हामी खोलाघारी हुँदै पिके पिकतर्फ लम्कियौं । द्वन्द्वकालमा सोलुखुम्बुका सबै पाखाभित्ता पैदलै चहारेको थिए । यस बेला पहेंलो गोरु (डोजर) ले पाखाभित्ता सबै चिथोरेर हिजोका ती गोरेटाहरू नामेट भएका छन् । पहेंलो गोरुले खनेको बाटो पछ्याउँदै हामी सोलुखोला तरेर तामाखानी भएर लोदिङतर्फ अगाडि बढ्यौं । लोदिङको शेर्पा होटलमा १२ बजे खाना खानालाई रोकियौं । 

शंकरका पाइला सुस्तरी चलेका छन् । म र सुबिन अघि पुग्यौं । शंकर होटलमा रोकिँदै गर्दा पिके चढ्न झोला बोझिलो भएको महसुस गर्दै थिए । होटलमा हाम्रो झोला बोक्नलाई एक सहयोगी पाइन्छ भनेर साहुनीलाई सोधन थाले । यस बेला कोही पनि पाइँदैन भन्दै थिइन् । उता हाम्रो दालभात पाक्दै थियो । पारिलो घाम आङमा लागेका छन् । खाना पाक्दै गर्दा एक जना लिखुरे कदका शेर्पा भाइ होटलको साहुनीलाई रिचार्ज कार्ड लिएर आए । 

शिखरमा अडिने त केही समय न हो फेरि फर्केर फेदीमै जानु छ । पिकेबाट देखिने हिमाली दृश्यहरू अरू ठाउँबाट देखिँदैनन् ।
 

साहुनीले आरक (कोदोको रक्सी) दिँदै, उनीहरूलाई एक जना सहयोगी चाहियो छ, तपाईं जानु सक्नुहुन्छ भन्दै सोधिन् र ती हँसिला लिखुरे पनि शेर्पा भाषामै हुन्छ भने । अनि पर्वते भाषामा भने सरहरूसँग म जान्छु । ढुंगा खोज्दा देउता मिल्यो, ती मिङमा शेर्पा हामसँग झोला बोकेर हिँडे । हाम्रा अघि सुस्ताएका पाइलाहरू मिङमाकी उरु (काकी) मा स्वादिलो खानापछि लम्किए । स्थानीय अर्गानिक खाना बेजोड स्वादको थियो । पिके खोपबाट बिस्तारै जंगलको बाटो हामी उकालो सोझियौं । जंगलको बीचमा काठमाडौंबाट साइकलमा आएका एक हुल तन्नेरीहरू भेटिए । अघिल्लो दिन राति जसमाने भन्ज्याङ बसेर सबैरै पिके पिकमा साइकल कुदाएर ओरालो झरेका थिए, तन्नेरीहरू । एकछिनको जम्काभेटपछि हामी निरन्तर उकालो लाग्यौं ।

चिसो सिरेटोले हान्दै थियो । हामी बास बस्ने थलो जसमाने भन्ज्याङमा साँझ ५ बजेतिर पुग्यौं । जसमाने भन्ज्याङको हावाले उडाउला जस्तो थियो । पुला शेर्पाको जसमाने भन्ज्याङ पिके याक लजमा हामी रोकियौं । हिमालको हावा मात्र नभएर लिखु र सोलु खोलाको हावा पनि मडारिएर जसमाने भन्ज्याङमै ठोकिन आएपुग्छ । ३४ सय मिटर अग्लो यो भन्ज्याङ पिके पिकको आधार शिविर हो । यी २५ वर्षे तन्नेरी पुला शेर्पाको लजमा छिरेपछि न्यानो अँगेनोमा बसेर हावाको बेग सुन्नुको विकल्प थिएन । राजधानीको एक कलेजबाट होटल व्यवस्थापनमा स्नातक गरेका पुला लकडाउनपछि बाउ आमासँगै यतै होटल तथा चौरी हेर्न व्यस्त छन् । जसमाने भन्ज्याङमा चल्ने हावाको बेगजस्तै पुलाको कोरिया जाने सपनाको बेग छ, कोरोना महामारी साम्य भएपछि । 

होटल र चौरीले आम्दानी गतिलै दिएको छ, तर मलाई यसले पुग्दैन । आधा दशक कोरिया बसेर आएपछि घरजम गर्ने र ठूलो होटल खोल्ने सपना बुनेका पुलाले मिठो खाना पस्केर दिए । चौरीको घिउको स्वाद बेजोड थियो । मकैको आरक (रक्सी) पनि उस्तै । जस्तामा ठोकिएको हावाको बेग सार्वजनिक बसमा बज्ने गीतजस्तै थियो । सहयोगी मिङमा एकैछिन कता हराए र फेरि खाना बेलामा टुप्पलुक झुल्किए । हँसिला मिङमा हाम्रो पिके पिक चढ्नका लागि दरिलो लौरो पनि हुन् । उनी नआएको भए हामी जसमाने भन्ज्याङमा दुई घण्टा ढिलो पुथ्यौं र थाकेर लखतरान हुन्थ्यौं । मिङमालाई भगवान्ले पठाएको जस्तो लाग्छ, शंकरले भने । नत्र म धोक्रो जत्रो झोलाले पिके खोपको उकालोमा लम्तन्न हुन्थे होला । 

अँगेनोको छेउमा बसेर तातो गफ गर्दै बिहान ४ बजे पिके पिक चढ्न सुरु गर्ने निश्चित भयो । हावाको संगीत एकनासको छ । बिहान ४ बजेको अर्लराम बज्यो । पुला र मिङमा अबेरसम्म गफिरहेका थिए । हामीभन्दा अघि नै उठेर चिया पकाइसकेछन् अनि तातोपानी । साँढे ४ बजे चम्पा (सातु) र चिया ब्रेक फास्ट खाएर पिकतर्फ उकालो लाग्यौं । हावाको बेग चलिरहको छ । कठ्याङरिने चिसो छ । जति माथि गयो उति चिसो हिमालको विशेषता हो । 

हाम्रा पर्यटकीय गन्तव्यहरू र प्रकृतिमाथि सरकारले जथाभावी डोजर आंंतक मच्चाएको छ । त्यसले पर्यटनलाई सखाप पार्छ कामी शेर्पाले भने 
 

पिकेबाट देखिने पहिलो घामको झुल्को हेर्ने र क्यामेरामा कैद गर्ने हाम्रो लक्ष्य छ । पाइलाहरू बढाइरहेका छौं । रिमरिम उज्यालो हुँदै छ । रामेछापको क्यामा, बाल्दिङ, बामती भण्डार, देउराली र तल लोदिङ, फाप्लु बजारमा जूनकीरीजस्तै बिजुली बलेको देखिन्छ । हामी भने सगरमाथा देख्न थालेपछि घामको पहिलो किरण कैद गर्न छुट्ला कि भन्ने चिन्तामा छौं । अघि तलै मिङमा सारहरू हिँड्दै गर्नु म भेटिहाल्छ भने । सुबिन गुरुङ क्यामेराको ट्राइपोट उनीसँगै थियो, सुबिन बेचौन भए । नभन्दै मिङमाले हामीलाई बीचैमा भेटे र सुबिन खुसी भए ।

मौसम बेजोड खुलेको छ । हिमाली पदयात्रा गर्दा नीलो आकाश खुलेको देख्दा यात्रा अब्बल भएको महसुस हुन्छ । पिकेको चुचुरो नपुग्दै सूर्य उदाए र सगरमाथालगायतका हिमालय पर्वतहरूमा सिम्रिक छरे जस्तो रातो रङ पोखियो । उडाउला जस्तो हावाको बेग र हातै झर्ला जस्तो चिसो छ । हामी प्रकृतिको रूप देखेर रमाएका छौं । पिके पिक चढ्न अझै बाँकी छ ।

पिकेतर्फ उक्लने अन्तिम उकालोमा हामीलाई हावाले उडाउला झैं लाग्यो । करिब दुई घण्टाको उकालो चढाइपछि हामी बिहानको ६ बजेर ३० मिनेटमा पिकेको शिखरमा पुग्यौं । ४ हजार ७० मिटर अग्लो पिके पिकबाट देखिन हिमालय वर्णमालाको दृश्य मनमोहक र अद्भुत थियो । अघिको थकान र हावाको हिर्का पनि भुलाइदियो पिके पिकको मनोरम हिमालय दृश्यले । संसारकै अग्लो शिखर सगरमाथा सीधा आँखै अगाडि अनवरत उभिएको छ भने पूर्वमा विश्वको तेस्रो अग्लो कञ्चनजंघा, कुम्भकर्ण लमतन्न परेको छ । मकालु सगरमाथाको छेउमै छ । लोत्से, नुप्से सगरमाथासँगै लहरै ठडिएका छन् । अलि पर चोयु हिमाल एक्लै ठिङ्ग उभिएको छ । नाकै अगाडि जुम्ल्या हिमाल नुब्रु र करेलुङ अनि त्यही फेदीमा पवित्र दूधकुण्ड ताल । उता फर्के गौरी र शंकर थप्पक देखिन्छन् । 

पश्चिममा धौलागिरी, अन्नपूर्ण, मनास्लु, लाङटाङ हिमाल, तिब्बतको हिमाल सिसापाङ्मा, दोर्जे लाक्पा, गणेश हिमाल, जुगल हिमालको दन्ते लहर नै देखिन्छ । पिकेबाट संसारका आठ हजार अग्ला ९ वटा हिमालय वर्णमाला देख्न सकिन्छ । ठम्याउनु भने पर्छ । ३ हजार ५ सय मिटर अग्लो लामाजुरा पास तल देखिन्छ । सन् १९५३ मा प्रथम आरोही तेन्जिङ नोर्गे र सर एडमण्ड हिलारीले सगरमाथा आरोहण गर्न जाँदा चढेको पिके पिक सोलु र ओखलढुंगाको पर्यटकीय हब बन्न भने सकेका छ्रन् । तल्लो सगरमाथा भेगको पिके पिक आकर्षण गन्तव्य बन्न सकेको छ्र्रैन् । पिके पिकबाट धानका बाला जस्तो हिमाल हेर्न सकिन्छ बिहान बेलुका । 

मौसम भने सफा हुने बेला पिके पिक पदयात्रा गर्नुपर्छ । चराजस्तै हिमालय पर्वतहरूको दृश्यावलोकन गर्ने हो भने पिके पिक उत्कृष्ट गन्तव्य हो । हामी करिब ४ घण्टा पिके पिकमा अनवरत हिमालय वर्णमाला जस्तो दृश्य हेरेर ११ बजेतिर जसमाने भन्ज्याङतर्फ ओरालो लाग्यौं । सुबिन र शंकर यस्तो स्वर्गीय आनन्दको मनोरम दृश्य छोडेर ओरालो झर्न मनै लागेको छैन भन्दै थिए ।

शिखरमा अडिने त केही समय न हो फेरि फर्केर फेदीमै जानु छ । पिकेबाट देखिने हिमाली दृश्यहरू अरू ठाउँबाट देखिँदैनन् । हामी झर्ने बेला कागले हावाको बेगमा बेजोड नृत्य देखाइदियो । हामी सबै मक्ख भयौं र सुबिनले भिडियो खिचे । हिमालको कागको रंगै फरक देखे । फेरि अर्का पटक जोडी बाँधेर कागले बिदाई नृत्य गरे । संयोग त्यही कागको नृत्य हेर्दै हामी ओरालो झ-यौं ।

जसमाने भन्ज्याङ ओेर्लेपछि न्यानो भयो । हामी खाना खाएर ओरालोतर्फ झ-यौं । मिठो मुस्कान छरेर बोल्ने पुला बिस्तारै ओझेल परे । फेरि भेटने वाचासहित । हामी अब ओरालो बाख्रो झैं फड्को मार्ने छौ । मिङ्मा सारहरू अगाडि हिँड्नुस् आइहाल्छु भन्छन्, उही शेर्पा लवजमा । नेपालको पर्यटन क्षेत्रमा शेर्पा बहादुरी र इमानदारी संसारभरि फैलिएको छ । पाहुनाको स्वागत सत्कारमा सधैं अब्बल शेर्पा समुदाय । तीनैमध्येका यी ३१ वर्षीय मिङमा पनि नम्र र मृदुभाषी छन् । हामीलाई कुनै गाह्रो र दुःख भयो कि भनेर प्रायः सोधिरहन्थे । 

हामी अघिल्लो दिन मिङ्मालाई भेटेकै उरु (काकी) होटलमा आएर रोकियौं । उनले हामीलाई त्यहीबाट बिदाइ गर्ने बताएका थिए । घरमा पाला (बुवा) एक्लै हुनुहुन्छ, नभए त सारहरूसँग फाप्लु गएर रमाइलो गर्नुहुन्थ्यो ।” उनको खातिरदारी स्वीकारेर हामी उरुकोमा बस्यौं । उनले खादा लगाइदिए र आरक खुवाए । शंकर र मैलें आरक खायौं र बनारसी गुरुङ पण्डित उही तातोपानीमै चिर्यस ।

दुई वर्ष कतारमा आप्रवासी कामदार भएर बसेका मिङ्मालाई अब पर्यटन क्षेत्रमै डुब्न मन लागेको छ । गाइड लाइसेन्स लिएर विदेशी पर्यटक घुमाउने । श्रीमती र पालालाई राम्रो गर्ने उनको सपना छ । मिङ्मालाई उनकै गाउँमा छोडेर फाप्लु हिँड्नुपर्दा हामी भावुक भएका छौं । सुबिनले आँसु नै खसाले । जो नम्र थिए र हरेक पटक हामीलाई ख्याल गरेर त्यो बेग हावामा पनि चार घण्टा पिकेमा बसेर र सँगै नाचे अनि त्यो मिठो शेर्पा लबज हामीले छुटाउँदै थियौं । थुच्चे मिङमा (धन्यवाद) त्यो तिम्रो हार्दिकतालाई । 

भ्यु टावर खडा गर्ने ओली सरकारले कुनै दिन सगरमाथा शिखरमा पनि भ्यु टावरको अर्बौ बजेट छुट्ट्याउला तर पिके पिकबाट  लहडी शासकको भ्यु टावर बिना नै संसारका अग्ला हिमालय वर्णमालाहरू देख्न सकिन्छ ।

बेढंगी शासकहरूले प्राकृति सौन्दर्यलाई नबिगारी स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन पूर्वाधार बनाएर आन्तरिक तथा बाह्य पर्यटहरूलाई घुम्ने थलो बनाउने सहयोग गरे भने हुन्छ । शासकहरू बिचौलियाको हितका लागि प्राकृतिक सुन्दरता भत्काउने माहिर छन् नकि जोगाउन । 

पिके पिक जान राजधानीबाट सार्वजनिक वा निजी सवारी साधनमा धाप आएर दुई दिन सुस्तरी हिँडेर आउन सकिन्छ । फाप्लुसम्म आएर लोदिङहुँदै आउने अर्का बाटो पनि छ । यताबाट जसमाने भन्ज्याङ आधार शिविर हो भने धापतिरबाट बुलबुले । बेलबुलेसम्म मात्र सडक विस्तार गर्ने र पिकेलाई साइकल कुदाउने गन्तव्य बनाउने योजना छ, सोलु दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले भने । स्थानीय सरकारले पिके पिकलाई उच्च प्राथमिकताका साथ पर्यटकीय थलो बनाउन लागि परेका छौं, शेर्पाले भने । 

पिके पिकका लागि नेपाल पर्यटन बोर्डले बेवास्ता गरेको छ, सगरमाथाको तल्लो क्षेत्रका लागि नेपाल पर्यटन बोर्डले प्रचारप्रसार र बजारीकरणमा माखो मारेको छैन, मेयर शेर्पाले गुनासो गरे । लिखु पिकेका स्थानीयवासी तथा पर्यटन व्यवसायी कामी शेर्पाले भने स्थानीय उत्पादन र प्राकृतिक संरक्षण गरेर पिके क्षेत्रको पर्यटन विकास गर्न सकिन्छ ।

हाम्रा पर्यटकीय गन्तव्यहरू र प्रकृतिमाथि सरकारले जथाभावी डोजर आंंतक मच्चाएको छ । त्यसले पर्यटनलाई सखाप पार्छ कामी शेर्पाले भने । पिके पिकबाट चराझैं अतुलनीय हिमालय दृश्यावलोकन हेर्ने हो भने छ दिनको समय लिएर जानुस् । जीवनमा एक पटक पुग्नै पर्ने ठाउँ हो पिक पिके । जिरीबाट पनि जान सकिन्छ, समय अलि बढी लाग्छ । 


Author

थप समाचार
x