विचार

मदन पुरस्कार प्राप्त पुस्तकबारे अर्काइभबाट

‘यो किताब १३ लाख रुपैयाँ खर्च गरेर निकालेँ’

विमल आचार्य |
भदौ २०, २०७८ १६:५८ बजे

‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ (संवत् १७१९—२०२०) पुस्तक १४ सय रुपैयाँ खनखनी गनेर किनियो । साँच्ची भनूँ, मोल हेरेर अनि आफ्ना अनिवार्य आवश्यकताको कैफियत सम्झेर यो किताब किन्दिनँ–किन्दिनँ भएकै हो । सन्दर्भसूची र शब्दार्थसहितका ९१६ पृष्ठको किताब ‘विजय शाही शैली’मा १० मिनेटमै गम्भीर अध्ययन गरेँ । अनि आखिरमा यो किताब किनिछोडेँ । किनिछोडेँ के भन्नु, किनिल्याएँ । 

किताबमा भएको मोबाइल नम्बरमा चार दिनपछि डायल गरेँ । लेखकले नै फोन उठाए । भोलि भेट्ने सहमति भयो । 


ADVERTISEMENT

अनामनगरको उनको घरको भुइँतलामा चिया पसल छ । बाहिरबाटै तेस्रो तला उक्लेपछि भगिराज इङ्नाम मलाई एउटा कोठामा छिराउँछन् । कोठामा उही मोटै किताबको चाङ छ । फोहोर हुन्छ, धुलो टाँसिन्छ भनेर चाङलाई तन्नाले मोडमाड पारेका छन् । सानो नाति खाटमा घोप्टो परेर मोबाइल चलाइरहेछ । घरमै चिया पसल भएपछि अनि बाटो छेउमै घर भएपछि कल्याङमल्याङ आवाज आउने नै भयो । 

पूजा कोठी भनेर छुट्याइने टाइपको सानो कोठामा छिर्छन्, उनी । म पछि लाग्छु । त्यहाँ किताबै किताब छन् । किताबभन्दा बढी पोका–पुन्तुरा छन् । ती पोकालाई कपडाले बेरेर राखेका छन् । उनी पोका–पुन्तुरा खोल्छन्, देखाउँछन्, बन्द गर्छन् । सँगसँगै कुराकानी जारी रहन्छ ।  

भगिराज इङ्नाम ६५ वर्षअघि तेह्रथुममा जन्मे । 

लिम्बुवानमा सुब्बाङ्गी प्रथा थियो । उनका बुवा पनि सुब्बा थिए । सुब्बाङ्गी भनेको के हो ? ‘सुब्बा भनेको निश्चित अधिकार दिइएको पद हो । यस्तो पद पाउने व्यक्तिलाई सुब्बाङ्गी भनिन्छ । लिम्बुवानमा सुब्बाको अधिकार धेरै थियो । पञ्चखतबाहेकको अधिकार पाएका थिए,’ भगिराज सुब्बाङ्गीको पोयो फुकाइदिन्छन्, ‘विसं २०३२ तिर नापी आयो । त्यसअघि तिरो सुब्बाले मात्र उठाउँथे । जग्गाको रेकर्ड सरकारसँग हैन, उनीहरूसँग हुन्थ्यो । जग्गाको प्रमाण भनेको तिरोको कागज मात्र हुन्थ्यो । जसले रसिद देखायो, उसको नापी भयो । रसिद नहुनेको नापी भएन ।’ 

भगिराजले गाउँबाटै एसएलसी पास गरे । धरान आएर २०३२ सालमा आइटेक पढे । पछि जनप्रशासन पनि पढे । उनले पढेको ल्याब टेक्नोलोजी विद्याको निकै खोजी भयो । उनले खानी विभागमा काम गरे । त्रिचन्द्र कलेजमा काम गरे । खाद्य प्रविधि विभागमा जागिरे भए । 

स्कुल–कलेज पढ्दा उनी कविता लेख्थे । कसरी इतिहासतिर मोडिए त ? ‘लोक सेवा पढ्न थालियो । त्यहाँ इतिहासकार योगी नरहरिनाथ, बाबुराम आचार्यहरूका कामबारे पढियो,’ इतिहासतिर मोडिने आफ्नै इतिहास सम्झिन्छन्, ‘ती पढ्दापढ्दै आफ्ना घरमा भएका, समुदायमा भएका कागज पनि काम लाग्ने रहेछन्, तिनलाई जोगाउनुपर्ने रहेछ भन्ने लाग्यो मलाई ।’ 

कागजात हेर्न पाऊँ भनेर मैले निवेदन दिएँ । उनीहरूले यस्ता दस्तावेज दिँदा ‘जातीय सद्भाव बिथोलिन्छ’सम्म भने । मन्त्रालयको स्वीकृति चाहिने बताए । मेरो निवेदनमा ‘पल्लो किरात लिम्बुवानसम्बन्धी दस्तावेज हेर्न, प्रकाशित गर्न पाऊँ’ भन्ने थियो । ‘किरात’ र ‘लिम्बुवान’ शब्द सुन्दैमा एलर्जी हुने रहेछ, कतिलाई ।

इतिहासतिर रुचि भए पनि उनी व्यस्त जागिरे भए । २०४६ सालअघिसम्म जागिरे भएको एक दशक त उनले जागिर पनि थरथर हुँदै खाए । कलेज पढ्दा पञ्चायतविरोधी अभियानमा लागेको हुनाले कुन बेला जागिर जाने हो भन्ने डर लाग्थ्यो, उनलाई । तर, उनको जागिरे जीवन २०७१ सालसम्मै चल्यो । ३४ वर्ष ८ महिना जागिरे भएर उनी सेवाबाट निवृत्त भए । अनि लेखनमा पूरै प्रवृत्त । 

उसो त जागिरे कालमै किताब निकाले उनले नेपाल प्रज्ञा–प्रतिष्ठानबाट । ‘तेह्रथुम जिल्लाको सुब्बांगी प्रथा’ उनको सहलेखन हो । ‘लिम्बू जातिको इतिहास’ आफ्नै खर्चमा निकालेका छन्, तीन वर्षअघि । 

अब उनको उही नयाँ किताबबारे कुुरा गरौँ । साथमै लगेको हजार पृष्ठको किताब देखाउँदै म सोध्छु, ‘कति समय लाग्यो तपाईंलाई यो निकाल्न ?’
उनी पोको खोतल्दै, पोकैतिर घोप्टिएर भन्छन्, ‘यी सब संकलन गर्ने काम त मैले उहिल्यैदेखि सुरु गरेको हुँ । त्यसपछि पनि पूरा सात वर्ष त यो लेख्न, टाइप गर्न, सेटिङ गर्न छाप्न नै लाग्यो ।’ 

यति मोटो किताब निकाल्न खर्चपर्च पनि धेरै लाग्यो होला, भित्र पनि रंगीन छन् पाना ? 

इतिहास संरक्षण गर्नुपर्छ भन्ने लागेपछि म यो निकाल्न जसरी पनि लागिपरेँ । आफूलाई टाइप गर्न नआउने, यसमै मेरो धेरै समय र स्रोत खर्च भयो । तर, म सन्तुष्ट छु । एक हजार प्रति छापेँ । छाप्दा १३ लाख रुपैयाँ खर्च भयो । क्यानडामा बस्ने छोरा–बुहारी अतित र शान्तकलाले मलाई सहयोग गरे । 

किन निकाल्नुभयो यो किताब ? 

इतिहास झल्काउने थुप्रै पुराना कागजपत्र अलपत्र अवस्थामा थिए । एउटै संग्रहमा सक्कल प्रति र नयाँ पुस्ताले बुझ्ने गरी तिनको अनुवाद अथवा सरलीकरण, सार, टिप्पणी थिएन । मैले यसमा आफूले पाएसम्मका सक्कल स्याहामोहर, लालमोहर, कस्यरुक्का, कस्यपत्र, इस्तिहारहरू संकलन गरेको छु । 

दस्तावेज कहाँ–कहाँबाट चहार्नुभयो ?

जागिरे कालमा धेरै डुलेँ । अनि त्यसपछि पनि म बाइक रिजर्भ गरेर डुलेँ । धनकुटा जाँदा चाहिँ झन्नै मरिएन । गाउँगाउँमा बाटो भए पनि गाडी लिन असहज र निक्कै महँगो छ । बाइकलाई तेल हालिदिने, बाइक ड्राइभरलाई खाना दिने अनि केही पैसा दियो भने बाइक भाडामा पाइने रहेछ । यसरी हिँड्दा छिटो र गाडीभन्दा सस्तो पनि पर्ने रहेछ । घना लिम्बू बस्ती भएका ठाउँ तमोर खोला, ताप्लेजुङ, याङरुप, पाँचथर, आठराई, फेदाप, छथर, चौबीस, मिक्लाजुङ थुम सबैतिर पुगेँ । धरान, झापा, काठमाडौँ बस्नेकहाँ पनि पुगेँ । राष्ट्रिय अभिलेखालय, भूमि व्यवस्था तथा अभिलेख शाखा डिल्लीबजार, साबिकको जैसीकोठा (परराष्ट्र मन्त्रालय), त्रिवि पुस्तकालय र त्यहाँको इतिहास विभाग, केशर पुस्तकालय, मदन मेमोरियल पुस्तकालय पनि पुगेँ । पुस्तकमा मैले ७८ वटा सक्कल लालमोहर समावेश गरेको छु । ३९५ वटा अभिलेख छन् यसमा । 

गाउँगाउँ डुब्दा तपाईंले पुराना दस्तावेज कसरी सुरक्षित राखिएको पाउनुभयो ? 

काठको बासकमा, डेली, पेटारो, बाँसका ढुंग्रो, कपडामा पोको पारिएको पाइयो । कति त धमिराले, कीराले खाएर पढ्नै नसकिने अवस्थामा थिए । पानीले भिजेर पढ्नै नसकिने पनि भएका थिए । 

— तपाईंले आफ्नो किताबमा सबै कागजात स्रोतसहित दुरुस्त राखिदिनुभएको छ, पुराना किताबमा भएका सक्कल प्रति भेटिए ? 

योगी नरहरिनाथ, शंकरमान राजवंशी, इमानसिंह चेमजोङ, शिवकुमार श्रेष्ठ आदिले छापेका दस्तावेजको मूल पाठ पाउन सकिएन । राष्ट्रिय अभिलेखालयका दस्तावेजबाहेक अन्त त्यति भरपर्दाे गरी सुरक्षित राखिएको पनि छैन । 

कागजातदाताबाट कस्ता समस्या वा प्रश्न झेल्नुभयो ? संकलन गर्दाका अनुभूति के छन् ? 

आफूसँग भएका कागजात बिक्री हुन्छन् अथवा यी अनमोल छन् भनेर देखाउन–दिन नमान्ने अवस्था पनि भयो । पढेलेखेका, मन्त्री, सांसद भएका, विद्यावारिधि गरेकाले अझ बढी यस्तो असहयोग गरे । नष्ट भएको, केहीले बिक्री गरेको, केहीले अज्ञानतावश भरुवा बन्दुकको लत्ता र छुसी केफ हाल्ने साधनका रुपमा पनि प्रयोग गरेको पाइयो । अनि सरकारी सोच देखेर पनि मलाई उदेक लाग्यो । कागजात हेर्न पाऊँ भनेर मैले निवेदन दिएँ । उनीहरूले यस्ता दस्तावेज दिँदा ‘जातीय सद्भाव बिथोलिन्छ’सम्म भने । मन्त्रालयको स्वीकृति चाहिने बताए । मेरो निवेदनमा ‘पल्लो किरात लिम्बुवानसम्बन्धी दस्तावेज हेर्न, प्रकाशित गर्न पाऊँ’ भन्ने थियो । ‘किरात’ र ‘लिम्बुवान’ शब्द सुन्दैमा एलर्जी हुने रहेछ, कतिलाई । पछि साथी तथा मन्त्रालयका सचिव गोपी मैनालीजीको सहयोगमा मैले हेर्न पाएँ । 


भगिराजले आफ्नो पुस्तकमा विसं १७१९ देखि २०२० सालसम्मका ३०१ वर्षका झन्नै चार सय कागजात संकलन गरेका छन् । कागजताको सक्कल प्रति दिएका छन् । कति त पढ्न सकिने गरी कलरफुल नै दिएका छन् । कागजात दिनेको पूरा नाम, ठेगाना दिएका छन् । अझ दिनेको तस्बिरसमेत दिएका छन् । कागजातको संक्षिप्त विषयसार र टिप्पणी लेखेका छन् । शब्दार्थ दिएका छन् । आफूले हेर्न नपाएका कागजात नयाँ अध्येतालाई काम लाग्ने गरी सूचना पनि दिएका छन् । 

‘लेखक हुन, इतिहासकार हुन मैले यो सब गरेको होइन, मैले भावी पुस्तालाई आफ्नो जरा देखाइदिएको मात्र हुँ,’ भगिराजको सपना छ, ‘यस्ता कागजात मसँग धेरै नै छन्, म फेरि ती बाहिर ल्याउन लागिपरेको छु ।’

 

 



Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार