विचार

समस्याको चुरो के हो, जरो के हो ?

ईश्वरीप्रसाद पोखरेल |
भदौ २७, २०७८ ११:३९ बजे

एमसीसी होस् वा बीआरआई, जुनसुकै वैदेशिक प्राथमिकताका योजना आयोजनाहरू जतिबेलासम्म नेपाल र नेपाली जनताको सर्वोपरि हित र कल्याण केन्द्रित भएर निर्माण हुँदैनन्, तबसम्म देशको समृद्धि र विकास तथा सुशासनको आशा गर्नु मूर्खता हुन्छ । नेपाली मानसिकता पूर्ण विकृत र घृणित चरित्रमा रूपान्तरित भएको छ।

इतिहासका अनेकन् कालखण्डको समीक्षा गर्दा विद्यमान राजनीतिक तथा प्रशासनिक नैतिकताको ह्रास तथा दुरावस्था अत्यन्त अविस्मरणीय हुँदै गएको छ । सरकार तथा पार्टी तहका नेतृत्वको लोभी पापी चरित्रको लहैलहैमा सार्वजनिक प्रशासन, सरकार पनि छ र ? मुलुकमा भन्ने लाजमर्दो घटनाक्रमहरूको दिन दुई गुणा रात चौगुणाको वृद्धिले संस्कृतको तपसिलको श्लोकको दूरदर्शी भावलाई सम्झाउँछ ।


“निस्वोवष्ठिशतम्, शति दशशतम्, लक्ष्यमा सहस्त्राधिप, लक्षेष क्षितिपालताम् । क्षितिपतिष चक्रेशवद सम्पदम् । 
चके्रशः पुन: इन्द्रताम् सुरपतिम् ,ब्रह्मत्वमाकांक्षति, ब्रह्मा, विष्णु पदम्, हरिर्हर पदम् लोभावधिको गत: ?” ।। 
अर्थात्, ‘गोजीमा कौडी नहुने मानिसको पहिलो चाहना दश रुपैयाँ प्राप्तिको हुन्छ । तर प्रगति र समुन्नतिको चाहनामा दशबाट सय, सयबाट हजार, हजारबाट लाख, लाखबाट करोड, अरब, खरबको असीमित आकांक्षा बढ्दै जान्छ र त्यही अनुरूप कर्म पनि गर्दै जान्छ ।’

श्रमशीलता र कर्मप्रतिको लगाव तथा निष्ठा वा भगवान कृपा मानिसले सोचेका वा देखेका सबै पूरा पनि हुँदै जान्छन् । सडकपति खरबपति बन्छ । तर उसको मन, इन्द्रिय र अतृप्त चाह्नामा कुनै विराम लाग्दैन । अनि धन बल र पहुँच आदिका आधारमा सत्ता, शक्तिको नेता, सबैको मान्य हुने राजनेता हुने सिमागत लालसा बढ्दै जाँदा रहेछन् । मेहनत र भाग्यले साथ दिएमा फलाम छोए पनि सुन हुने शक्ति प्राप्त हुँदो रहेछ । अभाव र दुःख भन्ने शब्द नै डिक्सनरीबाट हट्दो रहेछ तर कहिले पनि सत्ता, शक्ति, भोगविलास र एैश्वर्य नछुट्ने स्थायी राजाको पदवीको चाहना (अहिलेको सन्दर्भमा पार्टी तथा सरकारको मुखिया) हुने भूत चढ्दो रहेछ । 
जहाँ चाहना, त्यहाँ जसरी पनि आपूर्ति प्रकृतिको नियम लागू हुँदो रहेछ । सानोतिनो देशको राजा (राजनीतिक पार्टीका मुखिया) अल्पमतको सरकारको माहुते भएर अधिकार खुम्चिएर सबैतिरको दबाबमा सीमित भएर पनि कसरी बस्नु ? मनमा खस्खस्सी हुँदो हो । 

सर्वशक्तिशाली मनुवामा दर्ज ओलीको हैसियत पहिला जसरी दश रुपैयाँको आकांक्षी सडक मानिस आलीशान महलमा पुगे जस्तै थियो । त्यसरी सग्लो पार्टी झण्डै दुई तिहाइको पार्टीको सर्वोच्च नेताबाट च्युत र राजकीय सत्ताको स्वादको चास्नीबाट विमुख हुनु पुगेको टिठलाग्दो हबिगतमा परिणत भएको छ ।

पृथ्वीकै शक्तिशाली सम्राट् हुने कसको इच्छा हुँदैन र ? विद्यमान राजनीतिक अवस्थामा ठूलो पार्टी, एकमना सरकारको ‘माहुते’ हुने तीव्रताले मनलाई पिरोल्न लाग्छ । जसरी संसारले आफ्ना विचार मानिदेओस्, आफ्नो भाषणमा ताली ठोकून् । (आजका अमेरिका, चीन, बेलायत, रुस, फ्रान्स, जापान  जस्ता) हरेक पक्षमा भनेझैँ, सबल भएका कारण सबैले उनीहरूको वर्चस्व स्वीकारेझैँ देश र राजनीतिमा एकल मियो आफू हुन नेतृत्वलाई मन लाग्दो रहेछ ।

जनताको विश्वास र राजनीतिक पार्टीको बलमा राष्ट्रको सर्वोच्च पदमा आसीन हुँदा पनि लोभी पापी मन आफ्नै अघाउँदैन र आसेपासे, भरौटे, जीहजुरी र देवत्वकरण गर्ने सामथ्र्य राख्ने अन्धभक्त नारावाजहरूलाई सीधै वा बिचौलियाको सहयोगमा थान्को मान्को लगाउँदा पनि । अरु विपक्षी राजनीतिक शक्तिका समर्थकले सुख, शान्ति पाए कि मेरा आफ्नै पार्टीभित्रका विरोधीहरूका शीर पो ठाडो भयो कि ? ठूलो चिन्ता नेतृत्वमा हुँदो रहेछ ।

सत्ता, शक्ति र राज्यसाधन स्रोतमा पहुँच पुग्नासाथ संसारमा पार्टी राजनीतिमा पार्टी र सरकारमा मेरै मात्र एकाधिकार चलोस् भन्ने हुटहुटी पैदा हुँदो रहेछ । यसैले त होला कोही तीन चार दशकदेखि पार्टीको माहुते नै माहुते, कोही माहुते फुत्किएको र आफू मातहतका नेतालाई शीर्षस्थ नेता मान्न परेकामा पार्टी फोरेर भए पनि माहुते हुनैपर्ने ? सबैलाई प्रथम हुन मन लाग्ने तर दोस्रो, तेस्रो हुन कसैलाई मन पर्दो रहेनछ । 

नेतृत्वको इच्छाशक्ति प्रबल हुँदो रहेछ । विधिको विधान पनि नेतृत्वमा मै ठूलो भन्ने भावना उब्जिनासाथ भावीले पनि सहयोग गर्दोरहेछ । राज्यका कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, संवैधानिक आयोग, निकाय तथा सञ्चार जगतमा समेतमा समयक्रममा नेतृत्वले जतासुकै प्रत्यक्ष वा अप्रत्यक्ष वर्चस्व प्राप्त गर्दाे पनि रहेछ । विश्व (पार्टी र सरकार) घुमाउरो पारामा नेतृत्वकै साधन स्रोत र लेनदेनको आडमा मुठ्ठीमा कब्जा हुन पुग्दो रहेछ । 

तर प्राकृतिक मौसम खटनपटन र जीव जगतको चलायमानतामा (पार्टी शीर्षस्थ नेतृत्व, सरकारका अन्य अंग) सबै क्षेत्रका गतिविधिमा आफ्नो कुनै आदेश निर्देषले काम नगर्ने अवस्था पनि सिर्जना हुँदो रहेछ । ‘मै हुँ’ भन्ने आत्माको ठेस नेता र नेतृत्वका लागि देश र जनताभन्दा ठूलो चुनौती बन्दो रहेछ । मलाई चुनौती गर्ने को ? (कुनै न कुनै ) बाधा व्यवधानबाट व्यथित तथा शोक सन्तप्त नेतृत्व प्रायः अन्धो हुँदो रहेछ ।

यसर्थ पार्टीको सर्वोच्च पद तथा सरकारको माहुते भएका बेला जुनसकै पार्टीको नेतत्वले आफँैलाई अधिकार दिने संविधान तथा ऐनकानुन नै आफ्नो स्वेच्छाचारिताको बाधक देखे तोडमरोड गर्न र त्यसका पक्ष र विपक्षमा झ्याली पिट्ने धुपौरेहरूको लाम लगाउन सक्दो रहेछ । राजनीतिक महत्वाकांक्षी मनुवाले पृथ्वीको सम्पूर्ण साधन–स्रोत र सामथ्र्यका बलमा पनि देवलोक इन्द्रासन प्राप्त गरेझैँ अध्यादेश– अधि आदेश, माथिको आदेशको फर्मान गर्न सक्दो र सफल पनि हुँदो रहेछ ।

यसरी सर्वोच्च पदमा पुगेका नेतामा दुनियाँका आवाजको सुनवाइ गर्नु र ऐनकानुनको पालना भए नभएको प्रवाह गर्नु निरीह स्वभावमा पुगेको अनुभव हुँदो रहेछ । नेताले इन्द्रासनको सुखयल र भोगविलासमा पनि अतृप्तताको झोकमा अन्य मनुवाहरूलाई दोस्रो दर्जाको ठान्दोरहेछ । 

गणतन्त्रमा, समाजवादमा, कम्युनिस्ट पार्टीमा साथी सम्बोधन गरेर आत्मतुष्टि लिने भुइँ वर्गको मानिस र उच्च पदासीन नेताको दृष्टिमा समानताको भ्रममा रहेका जनताहरूले थाह पाउने गरी जब शीर्षस्थ नेताले आफूलाई मालिकको दर्जामा राखी सबै दास सरहका नेता, कार्यकर्ताहरूले मलाई झुकेर प्रणाम गरेनन्, शिष्ट, सभ्य र राजकीय भाषामा स्वस्ति गरेनन् भन्ने चाल पाउँछ । अनि मातहतका पदाधिकारी, नेता, कार्यकर्ताहरू आफैँ आफैँ सृष्टि, पालन र मृत्युमा चल्न थाले, यिनलाई दण्डित गर्नुपर्दछ भन्ने सर्वोच्च नेतृत्वमा उन्माद चढ्नु नेपाली लोकतान्त्रिक विशेषता रहेछ ।

आध्यात्मिक चेतनाका ब्रह्मा, विष्णु र महेश्वरको ब्रह्माण्ड सञ्चालनमा मनलाग्दी अधिकारको प्रयोग छ  भन्ने ठान्नु र आफू पनि त्यसरी चल्न पाए हुन्थ्यो भन्ने सोच नै राजनीतिक समस्याको मूल कारण रहेछ । सांसारिक पार्टी राजनीति तथा सरकार सञ्चालनमा पनि आफू खुसी चल्न नपाएको दुःखी मनुवाले आफ्नो समुन्नतिमा सधैँ सधैँ त्रिदेवझैँ– पार्टीभित्रका अन्य शीर्षस्थ नेताहरू नेपाली कांग्रेसमा गिरिजाप्रसादका लागि गणेशमान, कृष्णप्रसाद, कृष्णप्रसादका लागि गिरिजाप्रसाद समूह । अनि शेरबहादुरका लागि रामचन्द्र पौडेल, कृष्ण सिटौला समूह र तिनका लागि देउवा समूह) । 

अझ नेकपा त जन्मकालदेखि पुष्पलाल, केशरजंग रायमाझी जस्ता हुँदै मालेकालदेखि एमाले कालसम्म– सिपी, झलनाथ, मदन भण्डारी, माधव, वामदेव हुँदै पछिल्लो अवस्थामा केपी ओली सम्म आइपुग्दा) पार्टीभित्रैका समकक्षी र प्रतिस्पर्धी नेताहरू आफ्नो मार्गको मुख्य बाधक भएको ठान्न पुग्दो रहेछ । मसाल, मशाल जस्ता पार्टीहरूमा नेता बन्न चाह्नेले मोहनविक्रम सिंह तथा प्रचण्डको एकाधिकारबाट नेतृत्व लिन कि छुट्टै पार्टी खोल्नुपर्छ कि आत्मसमर्पण गरेर जतिसुकै पीडा भए पनि जीवनभर कार्यकर्ता बनेर नेतृत्व स्वीकार्नुपर्छ ।

फेरि पनि सत्ताको लगाममा रामवरण यादव, रुक्मांगत कटुवाल, त्यसबेलाका सबै प्रतिपक्षीका सामू प्रचण्ड भनिने शक्ति पछि धराशयी हुँदो रहेछ । आफ्नै पार्टीभित्र सम्मान र वैचारिक स्थान नपाएकाहरू टुक्रिएर अलग हुँदै जाँदा ठूलो शक्ति माओवादी प्रचण्ड आफैँ सानो समूहको नेतामा खुम्चिएको चाल पाउँदो रहेनछ । 

विचार तथा दृष्टिकोणमा अन्तरको फरकलाई बिर्सिएर सत्ता, शक्ति र अधिकारको मोहमा नेकपामा रूपान्तरण भएर तीन वर्ष दोस्रो दर्जाको अपमानको भारी बोक्दा पनि केही होला कि ? पर्खिएर बस्दा आफ्ना दाहिने हात मानिने हस्तीहरूको सत्ता स्वार्थको राजनीतिक विचलनसाथ झापड खाएर कुनामा थचारिन बाध्य पारिँदो रहेछ । अन्ततः पुनर्मुसीको भवमा प्रचण्डको राजनीति र क्रान्तिकारिता थन्किँदो रहेछ ।

एमालेको अध्यक्षबाट चतुराइपूर्वक नेकपाको शक्तिशाली नेताका रूपमा उदाएका र अनुयायीहरूबाट देवत्वकरण गरिएका ओली पुराणको महिमा र व्याख्या त साक्षात शेषनाग भगवान्ले पनि गर्न सम्भव छैन भने एक साधारण मनुवाको के सामथ्र्य होला ? तापनि विगतकालमा पार्टीभित्र संघर्षका पर्यायको सम्मानित इतिहास बनेका र प्रतिपक्षमाथि कटु प्रहार गर्न सक्ने तीक्ष्ण बुद्धि र प्रतिभाका, तार्किक क्षमता धनी, वाक्पटुताका एक अनुपम शालीन व्यक्तित्वको रूपमा सम्मान गर्न हरेक नेपाली ओलीका पछि थिए । 

तर राज्यसत्ता र शक्तिको महिमा अपरम्पार हुँदोरहेछ । घमण्डले ओलीका खुट्टा भुइँमा भएनन् । सबै समकक्षीको मानमर्दन गर्न थाले । फलतः आस्तिकका लागि विधिको विधान (लौकिक व्यवहारमा पार्टीका शीर्षस्थ नेताहरू र सरकारका संवैधानिक अंगहरू) त्रिदेवहरूले सल्लाह गरेर वा उपायनास्ति (लाचारी, निरीहतासाथ) यो मानिस कहाँसम्म पुग्दो रहेछ ?

हेरौँ । जे जे गर्छ गरोस् ? पार्टी र सरकार दुवैको सिर्जना, संरक्षण र हरणको एकाधिकारको जिम्मा पनि यसैलाई दिऊँ भनी (चाहेर वा नचाहेर विवशतापूर्वक, बलमिच्याइँमा) एकसाथ सबै पार्टी र सरकार सञ्चालनको शक्ति ओलीलाई के दिएका थिए ? मनुवाले के के उपद्रो मच्चाएनन् । 

कर्मचारी समायोजन ऐन २०७४ खारेज गर्दै कर्मचारी समायोजन अध्यादेश २०७५ बाट शासन चलाउन थाले । पंक्तिकारले हिटलरी ग्यास–च्याम्बरको समायोजन अध्यादेश भनी राजनीतिक, प्रशासनिक, सामाजिक क्षेत्रमा एक्लै संघर्ष गर्दा, कोही आँटिलो भएर सामाजिक तथा प्राकृतिक न्यायको पक्षमा बोलेको होइन । सर्वोच्च अदालतले २०७८ मा आएर त्रुटिपूर्ण समायोजन भन्दै एकपछि अर्को आदेश दिएर समायोजन न्यायिक थिएन भन्ने प्रमाणित गरिरहेछ । 

राजनीतिक रूपमा पार्टीभित्र तथा प्रतिपक्षी शक्ति कतैबाट पनि स्वेच्छाचारितामा बाधा अड्चन नभएपछि ओलीवाद राज्यका संविधान, ऐनकानुनमाथि निर्बाध रूपमा हाबी हुँदै गएको थियो । तीन वर्षको राजनीतिक मौनतापछि सबै पक्षमा शेरबहादुरको तुलनामा सर्वशक्तिशाली तथा प्रतिभासम्पन्न हुँदाहुँदै अत्यधिक सत्ता लोभ, सत्ताको सुखशयलको लिप्सा र अहंकारी दम्भका कारण सगरमाथाको शिखरबाट सर्वनाश भएर सडकमा आइपुगेको टिप्पणी गरिन्छ ।

तर भदौँमा आँखा गुमेको गोरुले सधैँ हरियो देखेझैँ ओलीलाई धार्मिक ब्रह्माण्ड सञ्चालनमा विधिमा आफ्नो उत्थान र पतन (सांसारिक व्यवहारमा आफ्नो पार्टी र सरकारको अन्त कसरी अन्त भयो) समीक्षा गर्न फिटिक्कै नचाहेको देख्दा अचम्भ लाग्दछ । 

संघको एकलौटी झण्डै दुईतिहाइको सरकार तथा छ वटा प्रदेश सरकारहरू सबै एकएक गरी सिसाका महलझैँ ढल्दै गएका छन् । तापनि राजनीतिक असफलताको दोष अर्कै नेतातिर तेर्साएर, आफ्नौ वैदेशिक भ्रमण र अध्ययन लाज नभएको मान्छे खोज्नमा लगाएको र आफ्नै पार्टीका हरेक प्रवृत्तिका तथा गोमन सर्पहरूका रूपमा नेताहरू लाजशरम पचेका भेटाएको विद्वता छाटिरहेछन् । पार्टीको मूल नेतृत्वकर्ता आफूलाई पूर्ण निर्दोष सावित गर्न तथा अन्य पार्टी तथा पार्टी विभाजन गरी जाने नेताहरूलाई लालगद्दारको उपमा दिएर चोखिने प्रयास गरिरहेछन् । 

सर्वशक्तिशाली मनुवामा दर्ज ओलीको हैसियत पहिला जसरी दश रुपैयाँको आकांक्षी सडक मानिस आलीशान महलमा पुगे जस्तै थियो । त्यसरी सग्लो पार्टी झण्डै दुई तिहाइको पार्टीको सर्वोच्च नेताबाट च्युत र राजकीय सत्ताको स्वादको चास्नीबाट विमुख हुनु पुगेको टिठ लाग्दो हबिगतमा परिणत भएको छ ।

संवैधानिक, असंवैधानिक, आफ्नै पार्टीकाले वा अर्को पार्टीका नेताहरूले तथा सर्वोच्च अदालत, निर्वाचन आयोग तथा सभामुखले नै सही उनको पार्टीको शक्ति छिन्नभिन्न पारिदिएका छन् । एकल स्पष्ट बहुमतको नेकपा, एमालेको संघीय सरकार ढालिएको छ । छ प्रदेशका आफ्ना भक्त–अनुयायीहरूको राजकीय सुखसयललाई समेत राजनीतिक हैसियतमा दयनीय अवस्थामा पुर्या‍इएको छ । 

तापनि मनुवाको स्वभाववश लोभको भाँडो नेताको भरिएको छैन । आगामी निर्वाचनमा दुई तिहाइ बहुमतको साथ मूल ढोकाबाट छिरेर, राजनीति र सत्तामा विपक्षीहरूलाई सत्यानाश गर्ने महत्वाकांक्षी भाषण घरबाट नै सही गरिरहेका छन् । 

सुनको पलङबाट फलामे त्रिशुलको चौकीमा अवतरण हुनुको परिणतिको आन्तरिक समीक्षा गरिएको छैन र भ्रमको नारा तथा राजनीतिमा विश्वास गर्ने प्रवृत्तिलाई ओलीवाद भनिएको लाग्छ । राजनीतिका नाममा लाजनीतिको कुव्यवहार तथा संस्कृतको लोभको भाँडो कहिल्यै नभरिने तथा समूल नष्ट हुँदा पनि आशाको त्यान्द्रोमा बाँच्ने यो श्लोकको वास्तविक मर्म देशको यथार्थतासित ठाक्कै मिल्न गएको छ ।

मेरो जीवन भाष्य त सामाजिक न्यायको खोजीमा प्रहरी हिरासत, अन्यायको आवाज उठाउँदा सडक–छाप उपसचिवको दर्जाको उपाधि कुनै आश्चर्यको विषय रहेन । किनभने जागिर खानेले सधैँ सत्ता, शक्ति र साधनस्रोतको लालचामा दासको भूमिकामा हुनुपर्छ भन्ने दरिद्र मान्यताबाट मुक्त मनुवा रहेको प्राणी हुँ । सत्य र तथ्यमा हिँड जिते संसार, तिम्रो हारे फगत फलामे जन्जिरको जेलजीवन, ज्यादा भए नश्वर शरीरको असामयिक मृत्यु शहादतता भन्ने माक्र्सवादी असली राजनीतिक चेतनाको धनी एक नेपाली नागरिक आफूलाई ठान्नेहरूले जागीरको त्रासमा विवेक गुमाउनु अपराध ठान्दछु । 

यसर्थ मुलुकसाम उपस्थित सबै समस्या, अन्तर्राष्ट्रिय सन्धि–सम्झौता र सहमतिहरू लोभी–पापीको भरमा होइन, सार्वभौमिकताको पूर्ण सम्मानसाथ हुनुपर्छ । देश र स्व–पहिचान ठूलो कुरा हो । नेता, राजनीतिक पार्टी र सरकार त आउँछन्, जान्छन् । तर सार्वभौमिकता र नागरिक स्वाभिमान एकपटक गएपछि फिर्ता गर्न गाह्रो मात्र होइन, असम्भव हुन्छ, सबै होसियार बनौँ । लोभमा नफसौँ, गरिब सही सम्मानमा बाँचौँ ।
(लेखक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा उपसचिवमा कार्यरत छन् ।)



Author

ईश्वरीप्रसाद पोखरेल

लेखक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय उपसचिव हुन् ।


थप समाचार