विचार

महेन्द्रको शासनकालमा चिनियाँ सहयोगको यथार्थ

विश्व पौडेल |
पुस ४, २०७७ शनिबार २२:९ बजे

बिपी कोइराला प्रधानमन्त्री भएपछि चीनको भ्रमणमा छँदा सन् १९६० मार्चमा हस्ताक्षर गरिएको नेपाल चीनको आर्थिक सहायता सम्बन्धी सम्झौतामा चीनले नेपाललाई  १० करोड रुपैयाँ सहायता दिने उल्लेख छ । यो सम्झौतामा तराइमा एक कागज फ्याक्ट्री, हेटौंडामा एक सिमेन्ट फ्याक्ट्री र एउटा छालाजुत्ता फ्याक्ट्री खोल्ने बुँदा पनि थियो ।

प्रधानमन्त्री कोइरालाको निमन्त्रणमा त्यसको एक महिनापछि चिनियाँ प्रधानमन्त्री चाउ एन लाई नेपालको भ्रमणमा आएका थिए । तर महेन्द्र त्यो बेला नेपाल बसेनन् । चाउले महेन्द्रका भाई हिमालयलाई भेटे । त्यतिबेला राजाको त्यस्तो धेरै काम हुँदैनथ्यो तर पनि उनी ठ्याक्कै त्यहीबेला विदेश भ्रमण हिंड्नुको पछाडि चीनलाई बेवास्ता गर्ने उनको सुरुको चाहना थियो भनेर सबैले बुझे ।


तराईमा खोल्ने भनिएको कागज फ्याक्ट्री सुरुवातमा नेपालगन्जमा स्थापना गर्न खोजिएको थियो । उक्त फ्याक्ट्री भारतको सीमा नजिक खोल्न त्यतिबेलाका शासकहरू डराएको देखिन्छ । सम्झौता भएको धेरै पछि नवलपरासीमा भृकुटी कागज कारखाना खुल्यो । 

चीनले त्यसअघी पनि एकपटक नेपाललाई चार करोड रुपैयाँ दिने प्रतिवध्दता गरिसकेको थियो । त्यसबाहेक तिब्बत लिएपछि नेपाललाई एकमुष्ट तीन करोड बुझाएको थियो किनकी तिब्बतले लामो समयदेखि नेपाललाई वर्षको  १० हजार रुपैयाँ तिरो तिर्ने गरेको थियो र चीन आफू त्यसो गर्न चाहदैंनथ्यो । 

चीनले महेन्द्र बाँचुन्‍जेल नेपाललाई सहयोग गरेको यथार्थ कुल रकम संभवतः त्यही ‘कू’ अघि  प्रतिबद्धता गरेको रकम भन्दा बढी थिएन । फादर स्टिलर र डा. राम प्रकाश यादवद्वारा लिखित ‘प्लानिङ फर पिपुल’ मा त्यसबेलाको वैदेशिक सहायताको रकमबारे उल्लेख गरिएको छ । चीनले आर्थिक वर्ष २०१८-१९ मा एक करोड सत्चालीस लाख रुपैयाँ, २०१९-२० मा एक करोड छ लाख रुपैयाँ, २०२०-२१ मा छपन्‍न लाख रुपैयाँ, २०२१-२२ मा नब्बे लाख रुपैयाँ , २०२२-२३ मा एक करोड उनासी लाख रुपैयाँ सहायता गरेको देखिन्छ ।

‘कू’ पछि अमेरिकी सहयोग भने घट्यो । चीनको सहयोग अस्थिर रह्यो ।

त्यो बेला अमेरिकाले हरेक वर्ष कम्तीमा छ करोडदेखि बढीमा दश करोड रुपैयाँसम्म सहायता गरेको थियो । ‘कू’ पछि अमेरिकी सहयोग भने घट्यो । चीनको सहयोग अस्थिर रह्यो । तर भारतले भने अनुदान बढाएको थियो । उदाहरणको लागि वि.सं. २०१७-१८ मा भारतको सहायता दुई करोड छैसट्ठी लाख रुपैयाँ थियो भने २०१८-१९ मा चार करोड ९ लाख रुपैयाँ, २०१९-२० मा चार करोड बैसट्ठी लाख रुपैयाँ, २०२०-२१ मा पाँच करोड छ लाख रुपैयाँ, २०२१-२२ मा आठ करोड नब्बे लाख रुपैयाँ र २०२२-२३ मा आठ करोड अठासी लाख रुपैयाँ सहयोग गरेको थियो ।  

कतिपयले महेन्द्रले भारतको प्रभाव कम गर्दै भारत र चीनसँग सम्बन्ध सन्तुलित गर्न ‘चिनियाँ कार्ड’ खेलेको व्याख्या गर्छन् । विभिन्‍न विश्लेषकहरूले यस्तो लेखेका पनि छन् । तर ‘कू’ पछि लामो समयसम्म राजाले सुर्यबहादुर थापालाई साथ राखे । थापा सुरुमा अर्थमन्त्री र पछि प्रधानमन्त्री भए । थापा पछिसम्म पनि भारतीय संस्थापनसँग नजिक थिए । महेन्द्रको शासनकालको अन्तिमतिर मात्र चीनको नजिकका भनेर चिनिने किर्तिनिधी विष्ट  प्रधानमन्त्री बनेका थिए । लामो समय महेन्द्रका सत्ता सारथी बनेका तुलसी गिरी, हृषिकेश शाह, सूर्यबहादुर थापा भारतसँगका निकट व्यक्तिहरू नै थिए । 

कोदारी राजमार्ग निर्माण गर्ने समयमा मात्र महेन्द्रले चीनसँग सडक सञ्जाल जोड्ने सम्बन्धमा अडान लिएको भनिन्छ । उनले बाटो निर्माण हुँदैमा ‘कम्युनिष्टहरु ट्रक चढेर आउँदैनन्’ भनेर भारतसँग अडान लिएका थिए भनिन्छ । तर भारतीय संस्थापनले त्यतिबेला नेपाललाई चीनसँग सडक मार्गबाट जोड्न कुनै विरोध गरेको थियो भन्‍ने आधिकारिक अभिव्यक्ति तथा दस्तावेजहरू पाइँदैन । एक त नेपालले सडक मार्गबाट उत्तरी छिमेकीसँग जोडिए पनि तिब्बतबाट मेन ल्याण्ड चीन निकै टाढा छ ।

तिब्बतमा आर्थिक र व्यापारिक गतिविधि कम थियो भने जनसंख्या पनि पातलो थियो । अर्कोतर्फ, चीनको सीमासम्म जोड्ने सडक निर्माण गर्न अहिले पनि भारत डराएको देखिदैन। जबकी अहिले भारत र चीनको आर्थिक स्थिती निकै फरक छ र चीन निकै माथि छ । त्यो बेला त तिनिहरु बराबर जस्तै थिए। त्यसैले, संस्थापन डराउनुपर्ने देखिदैन। चीनका मुख्य भूमि यी सीमानाबाट धेरै टाढा छन।

त्यतिबेलाको जननिर्वाचित सरकारको पालामा चीन, पाकिस्तान र इजरायलसँग परराष्ट्र सम्बन्ध विस्तार भएको देखिन्छ ।

त्यतिबेलाको जननिर्वाचित सरकारको पालामा चीन, पाकिस्तान र इजरायलसँग परराष्ट्र सम्बन्ध विस्तार भएको देखिन्छ । इतिहास शिरोमणी बाबुराम आचार्य लगायतसँग ऐतिहासिक प्रमाणिक दस्तावेजहरू संकलन गरी चीनसँग वार्तामा बीपीले सगरमाथा नेपाल-चीनको सीमा निक्र्यौल गरेको बीपीको आत्मकथामा पढ्न पाइन्छ । भारतले समेत स्वतन्त्र राष्ट्रको मान्यता दिन हिचकिचाइरहेको अवस्थामा नेपालले इजरायललाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो । 

धेरैले बीपी पनि महेन्द्र पनि उत्तिकै राम्रो भन्‍ने गरेको पाइन्छ ।  हामी अर्थशास्त्रीहरुले यसलाई परस्परमा असम्भव (म्युचुअल्ली एक्सक्लुसिभ) भन्छौं । बीपी र महेन्द्रको तुलना गर्दा दुवैलाई सही भन्‍न सकिदैंन । २०१७ सालको ‘कू’लाई आर्थिक पाटोबाट विश्लेषण गर्ने हो भने महेन्द्रका सम्बन्धमा निर्माण गरिएका कथनहरू फिका लाग्छन् ।

(२०१७ को ‘कू’ को सम्बन्धमा  आर्थिक पाटोमा आधारित रहेर अर्थशास्त्री पौडेलद्वारा व्यक्त धारणा) 


Author

थप समाचार
x