विचार

वृद्ध नेताहरुलाई युवाले ‘रिप्लेस’ गर्नुपर्छ

कांग्रेसलाई सक्षम पार्टी बनाउन सक्ने नेतृत्व आवश्यक छ !

करिना पुरी |
मंसिर २३, २०७८ बिहीबार १९:४४ बजे

राजनीतिमा चासो सानैदेखि थियो । विद्यालय पढ्दादेखि नै राजनीतिमा चासो थियो । ११ कक्षामा पढेपछि भने राजनीतिमा चासो बढेको हो । मैले समाचारहरु हेरिरहेको हुन्थे । सामाजिक विषय नै मलाई मन पथ्र्यो । कार्यक्रमहरुमा जान्थें । अहिले स्नातक दोस्रो वर्षमा अध्ययनरत छु । 

पारिवारिक वातावरणसँगै कांग्रेसको विचारधाराले मलाई प्रभावित पारेको छ । मेरो घर, टोल र चिनेका सबै जना ‘डेमोक्र्याट’ हुनुहुन्छ । पछि बुझ्दै गएँ । वीपी कोइरालाका किताबहरु धेरै पढेकाले पनि म कांग्रेसको विचारधाराबाट प्रभावित छु । पढ्दै जाँदा, बुझ्दै जाँदा, साथीसंगतहरु सबै ‘डेमोक्र्याट’ भएकाले म यतै (कांग्रेस) लागें । 


मभन्दा ठूलाहरु नै महाधिवेशन प्रतिनिधि बन्न इच्छुक हुनुहुन्थ्यो । सानैबाट राजनीतिमा चासो भएकाले क्षेत्रीय प्रतिनिधि छानिने बेला म गाउँ (सिन्धुपाल्चोक मेलम्ची) गएँ । त्यहाँ पुग्दा गाउँको वातावरण निकै भिन्न थियो । गाउँलेहरु एउटा सशक्त महिला नेतृत्वमा आउनुपर्छ भन्ने भावनाका साथ आउनु भएको रहेछ । त्यही विचारलाई मध्यनजर गर्दै म क्षेत्रीय प्रतिनिधि बन्नुपर्छ भनेर लागें । क्षेत्रीय प्रतिनिधि भएर आएपछि ‘अँ यत्तिको मान्छे महाधिवेशन प्रतिनिधि बन्नसक्छ’ भनेर भन्नुभयो । मलाई अरु नेताहरुको साथ पनि रह्यो । खुला महिलामा सात महिला लडेका थियौं । चार जना चुनिनेमा म दोस्रो धेरै मत पाएँ । आठ सय मतमा मैले चार सय नौं मत पाएँ । 

म ‘करिअर’ बनाउन राजनीतिमा आएको होइन । म भित्र राजनीतिमा केही गर्न सक्ने देखेर नै म राजनीतिमा लागें । भविष्य राजनीतिले बनाउँछु भनेर लागेको कदापि होइन । म राजनीतिलाई बनाउँछु भनेर लागेको हुँ । जीवनको दौड लामो भएकाले अहिले युवाहरु आइरहनु भएको छ । युवा साथीहरुले पनि मलाई साथ दिनुुहुन्छ । पद नै चाहिन्छ भनेर आएको होइन । अब नेतृत्व परिवर्तनको आवश्यक छ । शेरबहादुर देउवा, रामचन्द्र पौडेल जस्ता शीर्ष नेताले अब विश्राम लिने बेला आएको छ । अब उहाँहरुलाई युवाहरुले ‘रिप्लेस’ गर्नुपर्छ । वृद्ध नेताहरु अझै पार्टीमा हुनुहुन्छ, अझै पनि हामी युवाहरुले पालो कुरेर बसे नेतृत्व राम्रोसँग चल्न सक्दैन । 

नेपाली कांग्रेसलाई सक्षम पार्टी बनाउन सक्ने नेतृत्व अब आवश्यक छ । भोलि देशकै सत्ताको बागडोर पनि सक्षम रुपले चलाउन सक्ने नेतालाई अघि सार्नुपर्छ । नेपालका सबै जनताको समस्या बुझ्ने, नेपाल सुहाउँदो नीति कार्यक्रम ल्याउन सक्ने नेताहरुलाई हामी युवाहरुको साथ, समर्थन चाहिएको छ । मैले यस्तै गुण बोकेको नेतालाई साथ दिन्छु । 

पार्टीमा अहिले आदर्शवान नेताको खडेरी छ । तर तुलनात्मक रुपमा मलाई शेखर दा आदर्शवान लाग्नुुहुन्छ । पार्टीमा गुटउपगुट भन्ने नै नहुनु पर्ने हो । यो गुट उपगुटले आफ्नै पार्टीमा मानिसहरुलाई द्वन्द्वमा पारिरहेको छ । स्थानीय चुनावदेखि प्रतिनिधिसभा निर्वाचनमा असर पारिरहेको छ । गुटबन्दीका कारण सक्षम मानिसहरु पछि परिरहनु भएको अवस्था छ । यो परिवेशलाई बदलेर गुट उपगुट हटाउनु पर्छ । तबमात्र कांग्रेस बलियो पार्टी बन्छ, देशको नेतृत्व गर्न सक्ने पार्टी बन्छ । 
                                                                                     (नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि पुरीसँग अनिष भट्टराईले गरेको कुराकानीमा आधारित) 


Author

करिना पुरी

पुरी नेपाली कांग्रेसकी सबैभन्दा कान्छी महासमिति सदस्य हुन् ।


थप समाचार
x