विचार

सेयर बजारबारे प्रचण्डको ‘थेसिस’ र ओलीको ‘सिन्थेसिस’

सेयर कारोबारीबाट चन्दा नपाएपछि प्रचण्डले सेयर बजार सखाप पार्न खोजेका हुन् : ओली

इकागज |
मंसिर २९, २०७८ बुधबार १७:५५ बजे

नेपाली राजनीतिका दुई पात्र– केपी शर्मा ओली र प्रचण्ड । नामै काफी छ । 

अहिले उनीहरूको राजनीति सेयर बजारतिर सोझिएको छ । धन्यवाद दिनुपर्छ – कम्तीमा तल्लो स्तरका गाली गलौजबाट माथि उठेर उनीहरू सेयर बजारका, अर्थतन्त्रका कुरा गर्न थालेका छन् । 


हाम्रा नेताहरू पूर्णकालीन राजनीतिमा लागेकाले उनीहरूलाई मुलुकको व्यवहारिकता, अर्थतन्त्र, आर्थिक–सामाजिक विकासबारे धेरै ज्ञान छैन । यिनलाई चन्दा उठाउनुपर्छ, दोहन गर्नुपर्छ, भ्रष्टाचार गर्नुपर्छ भन्ने त थाहा भयो तर त्यसले प्रतिस्पर्धालाई कसरी रोक्छ, जनता कसरी प्रभावित हुन्छन् भन्ने थाहा भएन ।

उत्पादन बढाउने, रोजगारी बढाउने, सुशासन र लगानी प्रवद्र्धन गरेर अर्थतन्त्रको आकार अरबौं रुपैयाँले बढाउन सकिने अवस्थामा नेताहरूले केही लाख र केही करोड भ्रष्टाचारमा त्यसको गति रोकिदिए । फलस्वरूप आज पनि हामी दक्षिण एसियामा दोस्रो गरिब राष्ट्रका रूपमा छौं, अफगानिस्तानपछिको दोस्रो गरिब । 

प्रचण्डले गत साता एउटा कार्यक्रममा सेयर बजारलाई साम्राज्यवादको विकसित रूप भनिदिए । प्रचण्डले सेयर बजारबाट पुँजी बनाएर (पैसा कमाएर) अन्य क्षेत्रमा लगानी गर्नुपर्नेमा सेयर बेचेर पैसा कमाउने र पुनः सेयर बजारमै पुँजी लगाउने प्रवृत्तिले त्यसको उत्पादनमूलक उपयोग भएन भन्न खोजेका थिए । तर यसमा कम्युनिष्ट जार्गन (शब्दजाल) मिसाउन लागेपछि उनी चिप्लिए । उनले सेयर बजारलाई साम्राज्यवादको विकसित रूप भनिदिए । 

आम नेपाली जनतालाई प्रचण्डका जस्ता यस्ता शब्दजालबारे जानकारी छैन । कम्युनिष्टहरूको राजनीति शुरु भएदेखि साम्राज्यवाद, विस्तारवाद, दलाल पुँजीवाद यस्ता शब्दजाल सुन्दै आएपनि यस्ता शब्दजालमा अब कसैलाई लगाव छैन । न कोही अलमलिनेवाला नै छ । राजनीति गर्नलाई एउटा–एउटा विषयवस्तु त समातिरहनुप¥यो । 

अब अहिले सेयर बजार प्रचण्ड र ओलीको राजनीति गर्ने विषय बनेको छ । प्रचण्डको अभिव्यक्तिका कारण सेयर बजार बेस्सरी घट्यो रे भन्ने बुझेका ओलीलाई के चाहियो । प्रचण्डले निर्माण गरेको थेसिस (दर्शन) स्टालिन र लेनिनकोभन्दा एक तह माथिको भनेर उनले व्यंग्य कसे । 

‘हामीले त पुँजीवादको विकसित रूप साम्राज्यवाद भनेर बुझेका थियौं । प्रचण्डले नयाँ थेसिस निर्माण गरेका रहेछन्,’ ओली भन्छन्, ‘प्रचण्ड भनेकै अस्थिरताका सिर्जनाकार हुन् । यता भत्कायो, उता उकास्यो, अर्कोपटी तान्यो ; उनको काम नै अस्थिरता फिजाउँने र गज्याङगुजुङ पारेर खेल्ने ।’ 

ओलीले प्रचण्डलाई कुनै सेयर कारोबारीले चन्दा नदिएका कारण उनले सेयर बजार नै सखाप पार्दिन्छुु भनेर उक्त अभिव्यक्ति दिएको पनि टिप्पणी गरेका छन् । ‘उहाँहरूलाई के थाहा सेयर बजारका कुरा, अर्थतन्त्रका सवाल, विकासबारे केही जानकारी हुनुपरेन ?’ ओलीले भनेका छन् । 

प्रचण्डको सचिवालयले प्रचण्डको अभिव्यक्तिबारे स्पष्ट पारेको छ । प्रचण्डको दर्शनले लाखौं सेयर लगानीकर्ता प्रभावित भएका ओलीले त्यो समूह (मास)लाई प्रचण्डविरुद्ध उनको अभिव्यक्तिको संश्लेषण (सिन्थेसिस) निर्माण गरेका छन् । 

प्रचण्डको थेसिसले प्रभावित भएको सेयर बजार ओलीको सिन्थेसिसले सुध्रिन्छ कि सुध्रिदैंन त्यो भने हेर्न बाँकी नै छ । 

यो पनि पढ्नुहोस्

मंगलबारको ‘डेड क्याट बाउन्स’पछि बुधबार फेरि घट्यो नेप्से

कस्ता (अ)दूरदर्शी लगानीकर्ता !

 


Author

थप समाचार
x