विचार

आर्काइभबाट

नेपालमा प्रजातन्त्र छ कि छैन ? जवाफ चन्द्रशेखर दिँदैन

चन्द्रशेखर |
माघ ५, २०७८ ८:१८ बजे

मलाई यस कुरामा गौरव छ कि म आज तपाईंहरूका अगाडि छु । तपाईंहरूको भावनाको साथ आफ्‍नो भावना मिलाउन जो मानवताको उच्चतम भावना हो । स्वतन्त्रताका लागि मर्यादित जिन्दगीका लागि सभ्यताको सुरुआतदेखि मानव जाति यसकै लागि संघर्ष गर्दै आएको छ ।

सधैँ मानवको यही भावना रहिआएको छ कि शुभशक्तिको विजय होस् र अशुभ शक्तिको पराजय होस् । यो संघर्ष निरन्तर चलिरहन्‍छ । इतिहासमा अनेक उतार-चढाव आएका छन् । तर संसारको जस्तोसुकै ठूलो शक्तिले पनि मानव चेतनालाई बन्दी बनाउन सकेको छैन ।


जब जब मानिसका भावना दबाउन खोजिन्‍छ, मानिसका भावनारूपी चरो अझ माथि उड्‍दै जान्‍छ । सबै बाधा र कठिनाइलाई पन्‍छाउँदै जान्‍छ । मलाई उस दिनको सम्झना छ, जुन बेला हामी भारतको स्वतन्त्रता संग्राम लडिरहेका थियौँ, गान्धीले हामीलाई निर्भय हुने सन्देश दिनुभयो ।

गान्धीले भन्‍नुभयो, ‘आफ्‍नो मनबाट डरलाई निकाल्नोस्, संसारको कुनै शक्तिले तिमीलाई हल्लाउन सक्दैन ।’आज नेपालका नवजवान जो संघर्षका लागि बलिदान दिन तयार छन्, उनीहरूलाई म यही सन्देशबाहेक अरु केही दिन सक्दिनँ, ‘आफ्‍नो मनबाट डर निकालिदेऊ, संसारको कुनै शक्तिले हल्लाउन सक्दैन ।’

गान्धीले हामीलाई विरासतमा यही सन्देश दिनुभयो । हजारौँ वर्षदेखि एउटा कुरा भनिँदै आएको छ, ‘व्यक्ति असल भए समाज असल हुन्‍छ ।’ ठूला ठूला महात्मा, ऋषि आए धर्म प्रवर्तकहरू आए । तर समाज असल भएन । केही समयसम्म समाज राम्रोसँग चल्यो, तर आपसी कलहपछि विकृतितिर झर्‍यो । जसको विरोधमा संसारमा एउटा दर्शन आयो, ‘समाजलाई कसैगरी फेरिदेऊ व्यक्ति आफैँ फेरिन्‍छ ।’

पचास वर्षको अनुभवपछि हामीले यो देख्यौँ कि दर्शन आफैँमा अपूर्ण छ । त्यसैले महात्मा गान्धीको नेतृत्वमा एउटा लहर चल्यो, आफूलाई बदल साथै समाजलाई पनि बदल्ने कोसिस गर । आज मलाई थाहा छ, (प्रतिबन्धित) नेपाली कांग्रेस र अन्य कार्यकर्ताहरूले धेरै बलिदान दिएका छन् । तर दुःखको कुरा समाज त्यो बाटोमा जान सकेन । जुन अभिलाषा उनीहरूको थियो ।

म चाहन्‍छु, समाज त्यस दिशामा जाओस्, त्यसका लागि प्रयास गरिरहनुपर्छ । प्रयास मेटिँदैन । रोकिँदैन । हरेक अँध्यारो मशाल जलाउन युवाहरू बलिदान दिइरहन्‍छन् । आज सारा विश्व अँध्यारो भागिरहेको छ । तानाशाह ढलिरहेछन् । म बुझ्‍न सकिरहेको छैन, किन हजारौँ वर्ष पुरानो सभ्यता भएको भूखण्डमा जहाँबाट सारा संसारलाई सन्देश फैलिएको छ, यहाँ मानवता दमित छ ।

 

बीपी र गणेशमानजीले पनि बलिदान दिनुभएको छ, जसले हाम्रो हृदय छोएको छ ।

आज मलाई याद आइरहेको छ, बीपी कोइराला र वर्षौंसम्म मेरो (प्रतिबन्धित) नेपाली कांग्रेससँग पुरानो सम्बन्ध रहिआएको छ । आज गणेशमानजी यहीँ हुनुहुन्‍छ । उहाँहरू र नेपालका अनेक बहादुरहरूले हाम्रो स्वाधीनता संग्राममा ठूलो योगदान दिनुभएको छ । म केवल राजनीतिक कर्तव्य होइन, मेरो नैतिक दायित्व पनि ठान्‍छु कि सारा भारतीयले नेपाली जनताको चाहना पूरा गर्न नैतिक समर्थन जुटाउनुपर्छ । यसका लागि हाम्रो कलह बिर्सेर भारतका सम्पूर्ण पार्टीका नेताहरू आज तपाईंहरूसामु एकै मञ्चमा छौँ ।

मलाई आश्चर्य लाग्छ, यहाँ पत्रकार बन्धुहरू सोध्छन्, म पार्टीको व्यक्ति वा व्यक्तिगत हैसियतमा आएको ? म उनीहरूलाई यो भन्‍न चाहन्‍छु, ‘हजारौँ वर्षको इतिहासको भावना व्यक्त गर्न आएको हुँ, जसले नेपाल र भारतको हजारौँ वर्ष पुरानो सम्बन्धलाई पनि जोडेको छ । एक पार्टीको प्रश्न छैन, मैले भनेर कसैको जिज्ञासा पूरा हुन्‍छ भने म जे बोलिरहेको छु, यो जनता दलको भाषा हो । त्यसैले राष्ट्रिय मोर्चाको आवाज हो । यस कुरामा कसैलाई सन्देह भएकाले यसलाई भाषामा व्यक्त गरेको गर्नुपरेको हो ।

हाम्रो स्वतन्त्रता संग्राममा नेपालीहरूले साथ दिएकाले तपाईंहरूलाई छोटो साथ दिन म आएको हुँ । बीपी कोइराला हामीसँग यहाँ हुनुहुन्‍न । तर उहाँको भावना र विचार म यहाँ प्रस्ट देखिरहेको छु । जुन भूमि हिन्दूस्तानमा हामीले स्वतन्त्रता र जनतन्त्रका लागि बलिदान गर्‍यौँ, त्यसमा बीपी र गणेशमानजीले पनि बलिदान दिनुभएको छ, जसले हाम्रो हृदय छोएको छ ।

अग्रपंक्‍ति कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको बीचमा चन्द्रशेखर । तस्बिर : मीन बज्राचार्य

आज हामी जुन जनतन्त्र र स्वतन्त्रतामा गर्व गर्छौँ, त्यसमा ग्रहण लाग्‍न लागेको मैले पनि देखेको छु । मैले पनि केही समय बीपीसँगै जेलभित्र बिताएको छु । मलाई थाहा छ, जलेभित्र गएपछि त्यागको कस्तो भावना आउँछ ।

यहाँ नेपालका युवाहरूले जेलभित्र दसौँ-बीसौँ वर्ष बिताएका छन् । तैपनि मलाई सोधिन्‍छ, ‘यहाँ प्रजातन्त्र छ कि छैन ?’ यसको जवाफ चन्द्रशेखर दिँदैन । यसको जवाफ यहाँकै श्री ५ महाराजाधिराजबाट दिइनुपर्छ । यसको जवाफ नेपालको सरकारले दिनुपर्छ ।

यहाँ मेरा मित्र हृषीकेश शाह पनि हुनुहुन्‍छ । विश्वविद्यालयमा हामी सँगै पढ्यौँ । उहाँ नेपालको उच्च पदमा पनि रहनुभयो । कति पटक म पनि यहाँ आएँ, भेट हुन सकेन । एक पटक भेट भयो, जुन बेला बीपी कोइरालाको लास लिएर सडकमा घुमिरहेका थियौँ । आज अझै मसँग यहाँ प्रजातन्त्र छ कि छैन भनेर सोध्नुहुन्‍छ ? जोसँग मेरो बीसौँ वर्ष पुरानो सम्बन्ध थियो, उसलाई म फेरि गणेशमानजीको चार दिवारभित्रै देख्दैछु । अझै मलाई सोधिन्‍छ, ‘नेपालमा प्रजातन्त्र छ कि छैन ?’ यसभन्दा घीनलाग्दो राजनीतिक षड्यन्त्र के हुन सक्छ ?

यो मेरो काम होइन । नेपालमा प्रजातन्त्र मेरो बलमा वा भारतको सिमानाबाट आउने होइन । प्रजातन्त्र नेपालबाटै आउँछ । जनजवानहरूको आकांक्षाको शक्तिले आउँछ । उनीहरूको मनमा जुन पीडा छ, त्यसको औषधि हुन सकेन भने याद राख्नोस्, ‘मानिसको मनबाट निस्कने चीत्कारले ठूलाभन्दा ठूला तानाशाहलाई पनि धूलोमा मिलाइदिएको छ ।’

 

‘मनबाट डर निकालिदेऊ, संसारको कुनै शक्तिले हल्लाउन सक्दैन ।’

भारत र नेपालको सम्बन्ध सरकार र संसद्को दस्तावेजले बनाएको होइन । हजारौँ वर्षदेखिको ऐतिहासिक सांस्कृतिक परम्पराबाट यो सम्बन्ध बनेको हो । राज सत्ताको अधिकार लिएकाहरू विशेष सम्बन्ध तोड्छौँ भन्‍छन् । चाहे त्यो नेपालका भन्‍नोस् वा भारतमा त्यसले आफ्‍नो सिमाना बुझेको छैन ।

इतिहासले हजारौँ वर्षको जुन सम्बन्ध बनाएको छ, त्यसलाई केही समय पदमा बसेकाहरूले मेटाउन सक्दैनन् । त्यसैले म यो भन्‍न चाहन्‍छु, नेपाली जनताको पीडा भारतीय जनताको पीडा हो । मानव वेदनालाई हामी आफ्‍नो वेदना सम्झन्‍छौँ, जहाँ पीडा छ, त्यहाँ आँसु पुछ्न जान सकौँ ।

इतिहासले हामीलाई यही शिक्षा दिएको छ । सभ्यता र इतिहासको नाममा हुकुमी शासन चलाउनेहरूले आफ्‍नो पुरानो इतिहासलाई हेर । मानवताको दुःख र पीडालाई जसले बुझ्‍दैन, उसको पीडामा रुनु इतिहाससँग कुनै आँसु रहनेछैन ।

आज इतिहासले त्यसै दिशालाई संकेत गरिरहेको छ, यहाँका उत्साही नवजवान देखेपछि मलाई विश्वास भएको छ प्रजातन्त्र प्राप्तिका लागि नेपाललाई भारतको मात्र होइन, कुनै पनि विदेशीको सहयोग चाहिँदैन । तपाईंहरूको विश्वास र दृढतालाई अगाडि बढाएर लैजानुस्, तपार्ईंहरूलाई चाहिएको जुनसुकै सहयोगका लागि सहकर्मीका नाताले, प्रजातन्त्रको सिपाहीका नाताले, एउटा छिमेकीको नाताले हामी सबै सधैँ तपार्इंहरूकै साथ हुनेछौँ ।

 

जब जब मानिसका भावना दबाउन खोजिन्‍छ, मानिसका भावनारूपी चरो अझ माथि उड्‍दै जान्‍छ ।

म त नवजवानहरूको अभिनन्दन गर्दछु, म ती माताहरूको अभिनन्दन गर्दैछु, जसले आफ्‍नो अभिलाषाको मार्गमा जान मशाल जलाएर राखेका छन् । एउटा दुःख पालेर बसेका छन् । त्यो दुःख हराउनेछ, पीडा मेटिनेछ । प्रजातान्त्रिक भविष्य उज्ज्वल हुनेछ र नेपाल एकपटक फेरि उदाहरण बन्‍नेछ, यही मेरो कामना छ ।

(यो मन्तव्य छिमेकी मित्रराष्ट्र भारतका समाजवादी नेता चन्द्रशेखरले गणेशमान सिंहको निवास चाक्सीबारीमा दिएका हुन् । साे मन्तव्य वरिष्ठ पत्रकार किशोर नेपालको प्रधान सम्पादकत्वमा प्रकाशन हुने ‘देशान्तर’ साप्ताहिकबाट साभार गरिएको हो ।)



Author

थप समाचार
ad
x