विचार

पुस्तक समीक्षा

माओवाद र माङवादले फिटान महाभारा

विमल आचार्य |
माघ ९, २०७८ १६:५९ बजे

बसन्त बस्‍नेतको साहित्यिकदार पोस्तक ‘महाभारा’ पढ्ने मनले हैरान खेलाएको थियो । अन्ततः निड टु बेसिसमा पढी पनि हेरेँ । एक सरो पढिल्याएपछि मनमा के–के सोच्नु आइबस्यो । अनि रित्तो गाग्रीझैँ छर्लङछर्लङ छल्किँदै केही लेखिबसेको छु । इहीँनेर निवेदन गरिहेर्छु— लेखन शिविरको काँचो चेलाभुलाबाट प्राडाको जस्तो समालोचना, अध्येताको जस्तो गम्भीरता अनि मर्मज्ञको जस्तो सटीक मन्तव्य अपेक्षा नगरुङ है । 

उपन्यासमा के छ ? डुक्पाको जस्तो सोझो जवाफ— कथा छ । कथालाई लघुकथा बनाएर सुनाउनतिर म लागिनँ । (उसो त पोस्तकको लुगामा कथासार लेखिदिएर अब के होला भन्दै पढ्न चाहने पाठकको प्रश्‍न खारेज गरिएकै छ ।) 


अनि के पनि लाग्छ भने, चियाको स्वादबारेको लेख चिया खाँदै पढ्न मज्जा आउला । जो चियाबारे पूर्णतः बेखबर र बेपरवाह छ, जसलाई चिया सेवन गर्नु मन हुँदैन, उसले चिया–बयान सके त नपढ्ला, पढे पनि उस्तो स्वाद नपाउला । त्यसैले पुस्तक पढिहेरेका वा पढ्ने विचार मनमा खेलाइबस्‍नु भएका तपाईंहरूको सूचना–कुतूहललाई सम्मान गर्दै म चियाको लागेको स्वाद भन्‍नुतिर मात्र लाग्छु । 

‘महाभारा’ आजभन्दा ठीक २० वर्षअघिको दरबार हत्याकाण्डबाट ‘उदाउँदो गणतन्त्रलाई स्वागत’ भन्दै सुरु भएको छ । के कथा हिरो डुक्पा र हिरुनी सुक्मतीको उदाउँदो प्रेमलाई स्वागत गर्दै सकिन्छ ? तामाङ हिरो र लिम्बू हिरुनीको जीवनमा जातभन्दा बढी धर्म र धर्मभन्दा बढी राजनीति प्रधान भएर ल्याइदिन्छ । राजनीति अर्थात् विचार । 

आख्यानको मियोमा प्रेम छ । दैहिक प्रेम । जात प्रेम । भाषा प्रेम । धर्म प्रेम । वर्गीय प्रेम । विचारको प्रेम । अनेक खाले माया–मोह–आकर्षण–सम्मोहन–त्रास–आशको मियोमा पात्रहरू आफ्आफ्नै तालमा दाइँ हालिन्छन् । हिरो नचाँदा नचाहँदै वर्गीय प्रेम र हिरुनी धर्म प्रेममा लागेपछि उनीहरूको प्रेमकथा सर्वहारा सपना जस्तो छाँटको बनेको छ । हिरोको माओवाद र हिरुनीको माङवाद (ईश्वर) ले अनेक बेउरा प्रदर्शन गर्दै उनीहरूको जीवनमा होनी–अनहोनी एटेक गरिबसेको छ । 

पढाइमा रुचि नभएको (रुचि नभएको भन्‍न मिल्दैन, खासमा भाषादिको राजनीतिले रुचि बस्‍न नदिएको) डुक्पा ‘शिक्षक’सँग काँचो रिसाउँदै स्कुल छोडिबस्छ । ड्राइभर बन्‍ने ध्याउन्नमा जीवनको तेर्पायँ–तेर्पायँ बाटो हिन्दै जाँदा डुक्पा कालान्तरमा क्रान्तिकारी कमरेडहरूकै ड्राइभर बन्न पुग्छ । तलब र पेन्सनविना पनि कम्रेटहरू के खान रातिराति जागेका होलान्, देशमा केही समस्या त पक्कै छ, ऊ पक्क पर्दै सोचिबस्छ । 

धेरै पढ्न नपाएको डुक्पा तर्कहरूका सिलसिलामा अलमलियो भने मीठोगरी प्रतिक्रिया गर्छ— ओक्के छ त ! जीवनको पाठशालाबाट शब्द उभाउँदै फारुमै खाँटी कुरा गरिबस्ने डुक्पा स्वयंमा आमगत रूपमा ओक्के छ । ट्रेजेडीमा कमेडी र कमेडीमा ट्रेजेडी दिन सक्ने रमाइलो डुक्पा घरी गोक्ते, घरी कोग्ल्याँटो जस्तो लागे पनि बोलाइलो छ । क्रान्तिका लागि उसमा बलिदानी भाव छ तर चाहिने जति क्रुर र कठोर भने छैन । 

व्यक्ति के नै हो र, ऊ भन्‍नु नै बाँचेको समाज हो । डुक्पा अनिच्छाहरूको बाटोमा लुइँलुइँ हिन्न अभिशप्त–उत्साही दुवै छ, जसरी यो दुनियाँमा जो कोही अरुचिपूर्ण काममा रुचि दिइरहेछ । (जस्तो कि, यो पंक्तिकार जिन्दगीमा ‘समीक्षक’ बन्न चाहँदैन थियो, त्यसका लागि उसमा चाहिने जति अध्ययन र गम्भीरता थोप्पै छैन तर पाठकपत्र लेख्दालेख्दै ऊ पाठकपत्र छपाइबस्छ ।)

यो उपन्यासमा चीजको गम्भीरता राजनीतिक र धार्मिक भुइँकुहिरोले छपक्क छोपिएको महाभारा क्षेत्रको सुखेमदुखेम जिन्दगीतिर छ । महाभाराको उठ्तीपुठ्तीमा छ । नायक र प्रतिनायकको प्रतिमानभन्दा पर हर पात्र औसत मानव हुन्, न ती देवता हुन्, न दानव । मान्छे त अर्कैको स्क्रिप्टमा अभिनयरत पात्र मात्र हो, निर्देशक माङ–माओ–माक्र्स हुन् । यसो नभन्‍नुस्, स्क्रिप्टराइटर बाँचेको समय हो, निर्देशक समाज । उभिएको समय र समाजका दाउ र घाउ, घाउ र दाउमा निरन्तर नहोमिई जोकोहीलाई सुखै छैन । 

जातीय, भाषिक, सांस्कृतिक अन्तर्अनेकता भएको लेकाली महाभारामा प्रेमजोडीका सामु ‘युद्ध र शान्ति’को झुइँको फुसफुस पानीसरी बिरबिराइरहन्छ । माओवाद र माङवाद (ईश्वर) को भट्टीमा पाकेर–थाकेर आखिरमा नायक–नायिका दीर्घ सहवासमा लेटिन्छन् । उनीहरूमा आफू बाँचिआएको जीवनप्रति न त उल्कै रौनक छ, न त रोदन । गर्व र गौरवको अंश–अंशमा जिन्दगी एक वंश विस्तारको ‘बुर्जुवा सम्झौता’ बनेको हो । निम्नवर्गीय परिवारले एकबारको जुनीमा राजनीति फिट्ने सपना देख्‍न त हुन्छ तर घरबार, मायाप्रेम, जागिरसागिर, पेसाधन्धा गर्नु नै पर्छ भन्‍ने व्यावहारिक सन्देश ‘क्रान्तिकारी झुट’ जस्तो सुनिए पनि लास्टाँ हेरिल्याउँदा त आखिर यही नै देखिइरहेछ ।
 
महाभाराका हर मनुवाको संसार झट्ट हेर्दा बेग्लै छ तर तिनको संसार एउटै छ । ती कमरेडगिरी र काम्राङगिरीकै वरिपरि छन्, प्रत्यक्ष–परोक्ष प्रभावित छन् । क्रान्तिकारी हिंसा (हिंसाको विरोध पनि हिंसात्मक तहमै हुन्छ र छ) जति बढ्दै जान्छ, ईश्वरको शरणमा मान्छे उति पर्न थाल्छ भने जस्तो क्रान्ति र भ्रान्तिबीचको भाष्य अध्येय छ । 

भुइँकुहिरो र झुइँकोले ‘महाभारा’ सदाबहार चिइइसो छ तर तातिएको छ । पात्रहरू कठांग्रिएका छन् तर रन्किएका छन् । कोही झ्वाँक पोखिबसेका छन् । कोही पक्क परेर बसेका छन् । कोही परिस्थितिले एक्लो बनाइपठायो भन्दै हप्प परेका छन् । जे छ महाभारामा छ, जीवनका नवै रसको महाभेला छ । न त अतिशय कारुणिकता छ, न त अतिशत विद्रोह । 

उपन्यासकार संवादमा स्वादिला छन् । धर्म र राजनीतिका बहस थप लम्बिए हुन्थ्यो भन्‍ने लाग्छ । 

- ‘धर्मको बाटो एउटा हो, राजनीतिको अर्काे । यसलाई मिसमास पार्यो भने यो पहाड नै डुङडुङती गनाउँछ ।’
- ‘धर्म व्यक्तिको छनोटको कुरा हो । अरुमाथि थोपर्ने कुरा होइन । राजनीति चाहिँ थोपर्ने कुरा पनि हो ।’ 
- ‘बूढो राजनीतिमै ठीक थिएछ, धर्मतिर आएर सप्पै थोक गिजोल्यो ।’

दुर्भाग्यवश यी भनाइ अहिले अझ सान्दर्भिक लागेको हुँदा यहाँ पक्षपोषण गर्दै मैले सारिल्याएँ । 

यथार्थवादी धारमा लेखिएको यो लौकिक आख्यानमा कुनै अलौकिक कथा हुने त कुरै भएन । तर, कथामा अब के हुन्छ भन्‍ने कुतूहल भने उपन्यासले जगाउनै सकेन । माओवादी आन्दोलनले दशकअघि नै सारा सस्पेन्स गुमाएको भएर हो या किन हो उपन्यासमा पनि सस्पेन्स शून्य लाग्यो । कथा के छ भन्दा पनि कथा कसरी बुनिन्छ भन्‍ने चासो र पहिलो पानादेखि नै भाषिक शिल्पले मुहुनी लगाएको हुँदा उपन्यास पूरा पढ्न भने धेरै कष्ट भएन । 

सशस्त्र द्वन्द्व हाम्रो पुस्ताले प्रत्यक्ष–परोक्ष भोगेकै हो । माओवादी विद्रोहको मियोमा लेखिएका केही आख्यान–गैरआख्यान पुस्तक पढिहेरेको नाताले यसमा द्वन्द्वको द्वन्द्व भने फरक पाइयो । महाभारामा राजावादी र माओवादी, कांग्रेस र माओवादी, एमाले र माओवादी, सामन्ती र सर्वहारा, हुनेखाने र हुँदाखानेबीचको संघर्ष छैन, जुन हामीले पढेका यस्ताखाले सबैजसो पुस्तकमा साझा सवाल हो । उसो त महाभारामा राज्य पक्ष र विद्रोही पक्ष सीधासीधा आमन्नेसामन्ने भिडेको सिन पनि छैन । विरामका बेलाको विरामको बेग्लै कुुरा । 

द्वन्द्वका लागि उपन्यासकारले माओवाद भर्सेस माङवाद उभ्याएका छन्, जुन चाखलाग्दो लाग्यो । यो २१औँ शदीको २२औँ सालमा हामी ‘राजनीतिको धर्म’बारे बहसमा हुनुपर्ने हो तर ‘धर्मको राजनीति’मा मतमतिन अभिशप्त छौँ । धर्म र राजनीतिबीच डिभोर्स हुनुपर्छ भन्‍ने नारा बोकेको यो उपन्यास यसअर्थले पनि बेलाको बोली जस्तो लाग्यो मलाई । केही समयअघि पढेको ‘मोक्षभूमि’ उपन्यासमा पनि धर्मबाट माथि उठेर मानव सर्वाेच्चताको गीत गाइनुपर्ने काव्यिक आग्रह पढेको थिएँ । इहीँनेर म एउटा भाषण छाँटिहालूँ— राज्य मात्र हैन, राजनीति पनि धर्म निरपेक्ष हुनैपर्छ । यसका लागि धर्मको श्रेष्ठता–तुच्छताको वकालत गर्ने दल खारेज गरिनुपर्छ ।

उपन्यासमा भाषिक चमत्कार नै छ । मैले जानीबुझी नै चमत्कार शब्द प्रयोग गरेको हुँ । नेपाली भाषामा लेखिएका उपन्यासमा यस प्रकारको बहुल सांस्कृतिक सुगन्ध मैले कमै पढेको छु । लिम्बू–किरात शब्द–संस्कृतिलाई सेक्मुरी फूल जसरी टपक्क टिपेर उपन्यासको शिरमा सजाइएको छ । खस नेपाली भाषा कुनै मान्छे हो भने त्यसको नखशिख पहिरन लिम्बू हो । उपन्यासकारकै क्षेत्रका कुलपति श्री गंगाप्रसाद उप्रेतीले नेपाल एकेडेमीको आफ्नो यो तेस्रो कार्यकालमा नभ्याए पनि पाँचौँ कार्यकालमा यो उपन्यासमा आएका शब्द–शब्दावली नेपाली बृहत् शब्दकोशमा छिराउनेछन् भन्‍ने प्रतिक्रिया गर्न मलाई मन लाग्यो ।

संवादको पदविन्यास–अनुक्रम ठ्याक्कै मुखबाट निस्के जस्तै लाग्छ । यो ९९ प्रतिशत कथ्य र १ प्रतिशत लेख्य भाषामा लेखिएको उपन्यास हो । (प्रतिशत मेरो अतिरञ्जना हो ।) यदि यसमा फिलिम बन्‍ने भयो भने पटकथाकारलाई त दुःख होला तर संवाद लेखकलाई भने हाइसन्चै हुन्छ होला । 

उपन्यासमा आद्योपान्त राजनीति फिटिएको छ । राजनीति र धर्ममा लेख्नु–बोल्नु आफैँमा चुनौतीपूर्ण पिताम हो । राजनीति भन्‍नेबित्तिकै त्यहाँ विचार आउँछ । विचार आफैँमा पक्षधरता हो । तर, उपन्यासमा पनि पत्रकारोचित कर्तव्य निर्वाह गर्न सक्नु बसन्त बस्‍नेतको सबल र दुर्बल दुवै पाटो हो ।
 
राजनीतिबारे लेखिएको उपन्यासमा पनि उनले माओवाद मान्नेदेखि माङवाद मान्नेसम्मका सबै खाले पाठकबाट वाहवाही पाइरहेका छन् । तिनले भन्‍नुपर्छ कि मेरो विश्वास बेठीक कि महाभाराको राजनीति बेठीक । तर, हिरो–हिरुनीले आफूहरू बाटोबाट अलग भए पनि त्यो बाटो प्रस्टरूपमा ठीक–बेठीक नभनेको हुँदा पाठकले आफ्आफ्नै ढंगले अर्थ्याउन सक्छन् । तर, छोडिसकेको बाटोलाई मुखले बेठीक भनिरहन पर्दैन, बलियो जवाफ नै हिरो–हिरुनीको नयाँ बाटो, नयाँ पाइला हो । 

निम्‍नमध्यमवर्गीय चरित्रले देश–दुुनियाँको भारीभर्कम बोक्नुभन्दा लभ खेल्नुको मज्जा लिँदै गुजारा गर्ने हो भन्‍ने तटस्थ शान्ति सन्देश महाभाराको राजनीति हो । पंक्तिकार स्वयं प्रेमवादी र गुजारावादी भएको हुँदा थप टिप्पणी गरिरहन परेन । तर, राजनीति गर्ने जिम्मा दाहाल, देउवा, ओली, मिश्रहरूलाई दिइरहने कि डुक्पा तामाङ, सुक्मती लिम्बूहरू पनि अघि बढ्ने ? नयाँ लोकन्द्र विष्ट मगरहरू राजनीतिमा कसरी अघि बढ्ने ? उपन्यासको प्रधान कथ्यमा थप बौद्धिक कचहरी होस् । 

रिसाउँदा मातृभाषा बोल्ने कुराको विशेष अर्थ छ । ‘प्रत्युत्पन्नमति’ शब्द बहसले भाषाको राजनीति बोल्छ । क्रियाका अनुकरणात्मक शब्दमा दर्जनौँ नयाँ ‘आविष्कार’ छ । सुक्मतीको डायरी च्याप्टर मलाई विशेष र मीठ्ठो लाग्यो । जनवादी पुल, क्रान्तिकारी झुट, तटस्थ शान्तिजस्ता उद्धरण चिह्नभित्र आउने बग्रेल्ती शब्दावली ठोस गरिएको सुन्दर लाग्यो । यिनले उपन्यासकारको व्यंग्यचेत झल्काउँछन् भने ननफिक्सनमा जसरी फिक्सनमा भरमार आउँदा कताकता बिझाउँछन् पनि । ‘घर, सम्पत्ति सप्पै कुरा केटाको हातमा हुन्छ । केटीले केही निर्णय गर्नु पाउँदैन । अनि डराउँछ उनारु,’ यसरी नारीवाद पनि छ, किताबमा । 

‘कस्तो कुरा बुझ्दैनस् तिमी । याँ सप्पैभन्दा सारो भनेको साधारण मान्छे भएर हिन्नु हो । बाँकीलाई त मान्छेपिच्छे एउटा–एउटा छाया छहारी छ ।’ यसरी उपन्यासमा साधारण मान्छेको असाधारण दुःखत अवस्था पनि भनिएको छ । 

किताब सामूहिक कर्म हो । मलाई मन परेको अर्काे पक्ष के पनि छ भने यसको आवरण । सिरिजंगा लिपि अंकित ट्रक सावधान–निर्माणधीन पहेँलो रङसहित उकालो चढेको क्यानभासले उपन्यासको चित्र खिचेको छ । कविता सिंह काले/यगोललाई धन्यवाद भन्‍न मन छ । 

अब उपन्यासमा मलाई लागेका कमजोर पाटोतिर बोल्छु । 

झन्‍नै चार सय पेजको उपन्यासमा पाना पल्टाऊँ पल्टाऊँ लाग्नलाई समाख्याताको भाषा र पात्रका संवाद मात्र योग्य छन् । कथाकारले हर च्याप्टरमा सस्पेन्स लुकाउन नसकेकाले कथावस्तुप्रतिको उत्सुकता भने मरेर जान्छ । कथाको अन्त्यमा त साह्रै नै ड्रामाबाजी छ । युद्ध सकिएको छैन तर पुलिसले फोटो बोकीहिँडेकी सुक्मती र अघोषित आत्मसमर्पण गरेको केटो बाइक लिएर खुलमखुल्ला मेला भर्छन् । संकटकालमै केटीले शिक्षा (शिक्षक ?) सेवा पास गरेर स्थायी जागिर खाइसकी । केटाहरू विदेश गएर घरको छाना जस्ताइसके । शान्ति प्रक्रिया सुरु भयो भनेर यी सब देखाएको भए तैबिसेक हुनसक्थ्यो होला, तर यो एकदमै अनुपयुक्त अन्त्य लाग्यो । 

तर, मूल पात्रबीचको भेटका आधारमा संयोगान्त र दुवैले बीचैमा बाटो छोडिआएको आधारमा उपन्यास वियोगान्त छ । यो सुन्दर पाटो हुँदाहुँदै मेरो पाठक मनले यसको अन्त्य भने फिटिक्कै रुचाएको छैन । (अन्त्य कस्तो हुनुपर्थ्यो भन्‍ने पाठकको औकात र बर्कतको कुरो होइन । यसरी भन्‍नु पाठकको काम पनि होइन । पुस्तक यस्तो भएको भए हुन्थ्यो हैन, यस्तो लाग्यो मात्र भन्‍नुपर्छ होला । नभएका, छुटेका कुरा त कति हुन्छन् हुन्छन् !) 

लिम्बू जिब्रोमा ‘मौबादी’, राई जिब्रोमा ‘माउवादी’, क्षत्री–बाहुन जिब्रोमा ‘माहाँवादी’लाई उनले बडो होसियारीपूर्वक प्रयोग गरेका छन् । तर, लिम्बूले ‘ब’ अनि राई तथा क्षत्री–बाहुनले ‘व’ भन्‍ने कुरा साँच्चै हो वा होइन, मलाई थाहा भएन । सबैमा ‘ब’ हुनुपथ्र्यो कि ? ‘सिक्साम्बा’ एक ठाउँमा ‘सिक्सम्बा’ भएको छ । बिजुले विश्वकर्मालाई बिजुल बनाएको भए हुन्थ्यो कि ? अथवा उपन्यासकारले अरुतिर जस्तै आफू हाबी भएर ऐकारान्तको राजनीतिबारे टुच्च घुमाउरो गरी कुरा घुसाएको भए हुन्थ्यो कि ? (विज्ञापन गरिहेरूँ, दलित समुदायको नामबारे ‘नाममा के छैन ?’ शीर्षकमा शिवहरि ज्ञवाली र म मिलेर लेखेको एउटा लेख कान्तिपुर कोसेलीको कभर स्टोरी बनेर छापिएको थियो ।) 

अग्रवाल साहूलाई शरीरका अघि ‘भद्दा’ र कारबारी माइलीलाई ज्यानका अघि ‘बोधो’ नलेखेको भए पनि हुन्थ्यो होला । यी पात्र हैन, समाख्याताका लाइन हुन् । ‘सेतामगुराली’मा सुरुमा ‘शे’ र अन्तिममा ‘लि’ हुनुपर्थ्यो होला, भन्‍न खोजेको शेर्पा र लिम्बू हो भने । 

र, अन्त्यमा

यो उपन्यासले पाठकमा साहित्यिक चेत मात्र हैन, एक लेभलको राजनीतिक–सांस्कृतिक चेत पनि माग गर्छ । साहित्यशास्त्रभन्दा राजनीतिशास्त्र र समाजशास्त्रका तकनिकीका आधारमा यस उपन्यासको अध्ययन हुनुपर्छ । पत्रकारिताको ननफिक्सनकारितामा समेत फिक्सनकारिता गरेर मनग्य प्रशंसक कमाएका मीठ्ठो भाषाशैलीका सर्जक बस्‍नेतको फिक्सनकारितामा ननफिक्सनकारिताको स्वाद प्रचुर छ । 

उपन्यासको केन्द्रीय कथ्य यही हो, ‘यो युद्धलाई तिमीले बेठीक भन्दैमा बेठीक हुँदैन, सुक्मती । न त यसलाई मैले ठीक भन्दैमा ठीक भइहाल्छ । यो त इतिहासको एउटा यथार्थ हो । मेटाउन नसकिने यथार्थ ।’

अब उपन्यास एउटा यथार्थ हो, मेटाउन नसकिने यथार्थ । न मैले यस्तो छ भन्दै त्यस्तो छ, न अरु कसैले यस्तो छ भन्दैमा त्यस्तो छ । पाठकअनुसार हर टेक्स्टका आफ्आफ्ना टेस्ट छन् । 

लेखक र यो पंक्तिकार सायद पुष्पकमल दाहालले पनि स्वीकार गरेको (दाहालले स्वीकार गर्नुपर्ने) कुरो के हो भने, ‘युद्धलाई जसले बुझेँ भन्छ, त्यसले बाहिरी पत्रमा मात्र बुझेको हुन्छ ।’ 

नोट : यो लेख 'महाभारा' उपन्यासका शब्द-शब्दावली र शैलीअनुसार लेख्ने प्रयास गरिएको छ ।  



Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
ad
x