विचार

पर्यटन क्षेत्र : रुन मात्र सकेको छैन !

चक्र कार्की |
कात्तिक २१, २०७७ शुक्रबार १६:१४ बजे

विगत वर्षमा यस बेला बोल्ने फुर्सद पनि हुँदैनथ्यो । शरद र हिउँद सिजनमा खाने र बोल्ने समय नै हुँदैनथ्यो । म दुई वर्षदेखि दत्तचित्त भएर पर्यटकहरूको स्वागत सत्कारमा लागेको छु,  यस्तो शून्यता छाएको अहिले जस्तो कहिल्यै देखेको थिइनँ र भोगेको पनि । 

‘गत वर्ष यस बेला मेरो होटल पर्यटकहरूले खचाखच थियो । गत सिजनमा ७० जना पर्यटकलाई मेरो होटलमा राखेको थिएँ,’  सोलुखुम्बुको फाप्लुस्थित ह्याप्पी होम होटलका सञ्चालक आङछिरिङ लामाको भनाइ हो यो । अमेरिकाबाट व्यवस्थापन विषयमा मास्टर्स गरेर पुख्र्यौली व्यवसाय सम्हाल्न सुरु गरेका लामासँग विश्वव्यापी कोरोना महामारीले पर्यटन ठप्प पारेको अनुभव खल्लो छ । फाप्लुको पा“च तारे होटलभन्दा फरक नपर्ने छ, लामाले सञ्चालन गरेको ह्याप्पी होम होटल । विगत दुई वर्षदेखि खचाखच थिए, उनको होटलमा पर्यटक ।


एक वर्षदेखि पर्यटकहरूको आवागमन ठप्प भएपछि होटेलको गार्डेनमा साथीभाइस“ग गफिएर बसेका थिए । हो, यी तन्नेरी पर्यटन व्यवसायी जस्तै एक वर्षदेखि देशभरिका पर्यटन व्यवसायीहरू सुर्ताएर बसेका छन् । कोरोना महामारीको अन्त्य कसरी हुन्छ र पुनः पर्यटकहरूको आगमन हुन्छ वा यस्तै सन्नाटा छाएर केही वर्ष बस्नुपर्ने हो भन्ने गहिरो चिन्ता छ । यस विश्वप्यापी कोरोना महामारीले सबैभन्दा पहिला थला परेको उद्योग हो, पर्यटन । यस बेला पर्यटकीय सिजनमा सबै व्यस्त हुन्थे । साना–ठूला ग्रुप ल्याएर नाफा–घाटा हिसाब गर्दै पर्यटन व्यवसाय निरन्तर अगाडि बढेकै हुन्थ्यो । 

कोरोना महामारीले विश्व नै एक प्रकारको बन्धक जस्तै छ । हामी पनि अछुतो रहने कुरै भएन । इतिहासमै नेपाली पर्यटन करिब एक वर्षदेखि भेन्टिलेरमा गएको छ । बौरिने कुनै छा“टका“ट छैन । सन् १९५० को दशकदेखि नेपाली पर्यटनले जरा गाडेको थियो । पदयात्रा र पर्वतारोहणमा नेपाल अब्बल गन्तव्य मानिन्छ । पर्वतीय पर्यटन नेपालको मेरुदण्ड हो । तर आज त्यो मेरुदण्ड भा“चिएको छ । कोरोना भाइरसको औषधी वा खोपको आविष्कार नहुन्जेल मानिसहरूको आवतजावत सहज बन्नेछैन ।  

नेपालको करिब सात दशकको पर्यटन इतिहासमा यस्तो शून्यता र सन्नाटा सायदै छाएको थियो । त्यो चाहे १२ वर्षे सशस्त्र द्वन्द्व होस् वा सन् २०१५ को महाविनाशकारी भूकम्प । यसरी कोमामा पर्यटन गएको थिएन । सन् २०१५ को महाविनाशकारी भूकम्पले एक सिजन बिथोलिएको थियो । त्यसपछि भने सुस्तरी लयमा फर्केको पर्यटनले गति लिएको थियो । 

भूकम्पपछि नै नेपालमा पर्यटनमा ठूला लगानी भित्रिन सुरु भएको थियो । विश्वस्तरका पा“च तारे चेन होटल धमाधम खुल्न थाले । पछिल्लो समय काठमाडौँ, पोखरा, चितवन,  लुम्बिनी, खुम्बु क्षेत्र, विराटनगरलगायत देशका पर्यटकीय गन्तव्यमा होटल निर्माण हुन थालेका थिए । महाविनाशकारी भूकम्पयता देशमा पर्यटन उद्योगको प्रबल सम्भावना देखेर नया“–नया“ गन्तव्यमा पा“च तारे होटल निर्माणाधीन अवस्थामा छन् । 

पाँच वर्षयता नेपालको पर्यटन क्षेत्रमा करिब एक खर्ब रुपैयाँ लगानी भएको अनुमान गरिएको एक अध्ययनले देखाएको छ । त्यसमध्ये होटल क्षेत्रमा झन्डै ८० अर्ब रुपैयाँ लगानी रहेको छ । एयरलाइन्स,  टे«किङ, ट्राभल्स, लगायत अन्य क्षेत्रमा २० अर्ब रुपैयाँ लगानी रहेको छ । लगभग ५० अर्बको लगानीमा धमाधम होटल बन्दै छन् । कोरोना महामारीका कारणले तिनको लागत बढ्ने र निर्माणाधीन समय पनि लम्बिने निश्चित प्रायः छ । यसरी एकातिर लागत बढ्ने र समय पनि लम्बिने पर्यटन पनि ठप्प हुने भयले व्यवसायीहरू चिन्तित छन् । 

गत आर्थिक वर्षमा देशभित्र झन्डै ८० अर्बको आम्दानी पर्यटनबाट भएको थियो भने यस आर्थिक वर्षमा ठप्पप्रायः हुने भएकाले देशले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने भएको छ । देशको पर्यटकीय सिजन ठप्प भएको एक वर्ष भयो । गत वर्ष शरद ऋतुको पर्यटकीय सिजन सकिएपछि चीनको वुहानबाट फैलिएको कोरोना भाइरस महामारीबाट दुवै पर्यटकीय सिजन ठप्प भयो । वसन्त ऋतु हिमाल आरोहणका लागि मुख्य समय हो र पदयात्रा पनि । यता शरद ऋतु पदयात्रा मुख्य र पर्वतारोहणको समय कम । चिनियाँ पर्यटकहरूको नयाँ वर्ष बिदा मनाउन निस्कने बेलामा वुहानबाट फैलिएको कोरोना महामारी स्प्रिङ सिजनमा युरोप र अमेरिकामा द्रुत गतिमा फैलिएपछि नेपालको दुवै पर्यटकीय  सिजन  शून्यमा झर्‍यो । चिनियाँ पर्यटकहरूको नेपाल आउने सिजनमा वुहानमा कोरोना भाइरस देखिएपछि आगमन बन्द भयो । 

उता युरोपियन र अमेरिकन अन्य एसियन देशबाट नेपाल पर्यटक आउने सिजनमा विश्वभरि कोरोना भाइरस महामारी फैलियो । कोरोना भाइरसले अबको केही दिनपछि प्रथम वर्षगा“ठ मनाउन लाग्दा विश्व पहिलो लहरबाट दोस्रो लहरको महामारीमा प्रवेश गरिसकेको छ । बिस्तारै खुल्न लागेको विश्व बजार फेरि उही पुरानै लयको लकडाउनमा फर्कंदै छ । 

गत वर्ष चैत ११ गतेबाट लागू भएको १ सय २० दिन लामो लकडाउन र अन्तर्राष्ट्रिय उडान र सिमाना बन्दले करिब ६० अर्ब रुपैयाँको क्षति पर्यटन क्षेत्रमा पर्न गएको अनुमान गरिएको छ । यस अनौपचारिक आँकडाले पनि देखाउ“छ कि नेपाली पर्यटन उद्योग कसरी शिथिल भएर कोमामा पुगेको छ । पर्यटन क्षेत्रमा झन्डै ११ लाख मानिसको रोजगारी अन्धकारमा धकेलिएको छ । एक जना पर्यटक बराबर ९ देखि ११ जनाले रोजगारी पाउने अनुमान छ । 

गत आर्थिक वर्षमा देशभित्र झन्डै ८० अब रुपैयाँको आम्दानी पर्यटन क्षेत्रबाट भएको थियो भने यस आर्थिक वर्षमा ठप्पप्रायः ।  

देशको कुल गार्हस्थ उत्पादनमा पर्यटन उद्योगको योगदान करिब ८ प्रतिशत रहेको छ । पर्यटन क्षेत्र देशको अर्थतन्त्र चलायमान मात्र नभएर सामाजिक अर्थतन्त्रलाई टेवा पुर्‍याउने महत्वपूर्ण अंग हो । पर्यटन क्षेत्रबाट देशले राजस्व, रोजगारी र लगानी गुमाएको छ । लाखौँ घरपरिवारको रोजीरोटी पनि गुमेको छ । विश्वविख्यात आरोही कामिरिता शेर्पा भन्छन्, ‘हिमाल आरोहण गर्न आउने विदेशी पर्यटकहरू नआएपछि हाम्रो आरोहण पेसा नै संकटमा छ । सिजनमा कमाएर परिवार पाल्ने क्लाइम्बिङ आबद्ध शेर्पाहरूको दयनीय अवस्था भनेर साध्य छैन । राज्यले आरोहीहरूलाई कहिल्यै पनि सहानुभूति र सुरक्षा दिएन ।’ सगरमाथामा सबैभन्दा बढी २४ पटक पाइला राखेर कीर्तिमान बनाएका शेर्पाको भनाइले बुझाउ“छ, कहालीलाग्दो अवस्था ।

सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई लक्षित गरी देशमा अर्बौंको पूर्वाधार थपिँदै थिए । सन् २०१५ को महाविनाशकारी भूकम्पपछि स्वाभाविक पर्यटन वृद्धि (न्याचुरल ग्रोथ) भएको थियो र सन् २०१८ मा १२ लाख विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । त्यसैबाट उत्साहित भएर साबिकका व्यवसायीहरूले थप लगानी बढाएका थिए भने नया“ व्यवसायीहरूले पनि बलियो सम्भावना देखेर लगानी गरेका थिए । व्यवसायीहरूले भैपरी आउने जोखिमहरूलाई अध्ययन गरेर भन्दा पनि छिटो नाफाको बाटो देखेका थिए र पछिल्ला चार वर्षमा तारे होटल र नयाँ–नयाँ हेलिकप्टर, जहाजहरूमा लगानी बढेको थियो । सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना सुनायो ।

सन् २०१८ मै गर्ने भनेको नेपाल भ्रमण वर्षलाई दुई वर्षपछि  २०२० मा सारियो । नीति निर्माता,  मन्त्री,  व्यवसायीहरूले सन् १९९८ मा भएको पहिलो भ्रमण वर्षबाट देशमा कति पर्यटक आए र गुणस्तर कति बढ्यो भन्ने गहिरो समीक्षा नगरी कर्मकाण्डी पाराको विषयलाई सही छाप ठोकिदिए । सन् २०११ को नेपाल पर्यटन वर्षले कति प्रतिशत पर्यटक बढे भन्ने गम्भीर विश्लेषण गरेनन् । त्यसैले आज पर्यटन व्यवसायीहरू चर्को ब्याजमा ऋण लिएर लगानी गरेकामा पश्चात्ताप गर्दै छन् । नेपाल भ्रमण वर्ष सत्ताका आसेपासे र कार्यकर्ताहरू भर्ती गरेर ‘तर’ मार्नुबाहेक केही नभएको महसुस  व्यवसायीहरूले  गरेका छन् । तालुकदार  संस्कृति,  पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय विगत १५ वर्षदेखि अपवादबाहेक पूर्वएमाले पार्टीको नेतृत्वमा छ । पर्यटनमा सगरमाथाभन्दा अग्ला गफ सुनिन्छ । यथार्थमा सिन्को भाँचिएको छैन । 

महामारीका बेला थला परेको पर्यटन उद्योगलाई कसरी पुरानै लयमा फर्काउन सकिन्छ भन्ने गम्भीर सोच, योजना, नीति निर्माण तहमा बस्नेहरूस“ग छैन । हिमाल आरोहण टोलीमा जाने हजारौँ शेर्पाहरू एक वर्षदेखि बेरोजगार भएर जीवन धान्न सकस भइरहेको छ । सिजनल पेसा भएकाले उनीहरूको बचत खासै हु“दैन । शेर्पाहरू पर्वतीय पर्यटनमा आश्रित र यस उद्योगमा अतुलनीय योगदान रहेको सर्वविदितै छ । कोरोना महामारीले सबै बेरोजगार बनेका छन् । 

यसरी सिंगो पर्यटन क्षेत्र भेन्टिलेरमा पुग्दा सरकारको रिकभरी प्लान आशा लाग्दो छैन । पर्यटन मन्त्रीका सार्वजनिक भनाइ केटौले पाराका छन् । केही समय पहिला भिजिट नेपाल २०२० को प्रचार गर्न अस्ट्रेलिया डढेलोले आक्रान्त भइरहेका बेला पुगेर नेपाल घुम्न निम्ता दिएर होस् वा कोरोनाले विश्व यात्रा गर्दै गर्दा नेपाललाई कोरोना फ्री देश घोषणा गर्नुपर्छ भन्ने जस्ता अभिव्यक्तिले देशको पर्यटनलाई फाइदाभन्दा घाटा गर्‍यो ।

पर्यटन मन्त्री संवेदना र जिम्मेवारपूर्ण सार्वजनिक अभिव्यक्तिहरूबाट चुक्दा गन्तव्य देशहरूमा नेपालको छवि धुमिलिएको पर्यटन व्यवसायीहरूले महसुस गरेका छन् । पर्यटन मन्त्री देशको पर्यटन उद्योगलाई महामारीका बीच र त्यसपछि कसरी साबिककै बाटोमा फर्काउन सकिन्छ भन्दा पनि मन्त्रालय मातहतका निकायबाट कसरी कमिसन असुल्ने भन्नेतर्फ लागेको आरोप छ । 

पशुपतिक्षेत्र विकास कोष, तारा गाउ“ विकास समिति,  लुम्बिनी विकास कोष र नेपाल एयरलाइन्सको अचल सम्पत्तिलाई कौडीको भाउमा लिजमा दिएर कमिसन खाने दाउ पर्यटन मन्त्रीले बनाएको सार्वजनिक आरोप लागेको छ । त्यसको प्रमाण उनले केही समय अघि नेपाल–भारतमैत्री धर्मशालालाई कमिसनको लोभमा होटल खोल्न दिने निर्णयले बताउ“छ । भलै सार्वजनिक विरोधपछि मन्त्रालय पछि हट्यो । पर्यटन ठप्प भएर मजदुर र व्यवसायीहरू छटपटाइरहेका बेला पर्यटन मन्त्री श्रीमती, नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतको टोलीस“गै हेलिकप्टरमा तिलिचो सयरमा मस्त छन् । रिकभरी प्लानमा व्यस्त हुनुपर्ने मन्त्री बेला न कुबेला परिवारसहितको भ्रमणमा मस्त देखिनु लज्जाको विषय हो— पर्यटनका एक जानकारले भने । 

मन्त्रालय र पर्यटनका वास्तविक स्टेक होल्डरहरूस“ग बसेर देशको पर्यटन उद्योगलाई कसरी रिभाइभ गर्ने सकिन्छ भन्ने गम्भीर छलफल गर्न ढिला भइसकेको पर्वतारोहण सञ्चालक संघ नेपालका अध्यक्ष डम्बर पराजुलीले भने । पर्यटन उद्योग यसरी कोमामा छ कि आगामी दिनमा उठ्नलाई पनि लौरो चाहिने भएको छ, उनले भने ।

हो,  पक्कै पनि विश्व महामारीले सबै उद्योग आक्रान्त छ । सबैभन्दा बढी र लामो समयसम्म थला पर्ने उद्योग भनेको पर्यटन हो । बेलायत,  युरोप जस्ता देशबाट नेपाल आउने पर्यटकहरू कोभिडको दोस्रो लकडाउनमा छन् । मध्यपूर्व र खाडी देशहरूमा कोभिडको असर कम परेको देखिन्छ । ती गन्तव्यवाट पर्यटकहरू नेपाल आउन सक्छन् भन्ने देखिएको छ । बहराइनका राजकुमारले सगरमाथा क्षेत्रको लोबुचे पिक र गोरखाको ८ हजार १ सय ६५ मिटर अग्लो मनास्लु हिमाल सफल आरोहण गरेर पर्केका छन् ।

यस आरोहणले नेपालको सन्देश राम्रो गएको छ । महामारीकाबीच पनि स्वास्थ्य मापदण्ड अपनाएर सेभेन समिट ट्रेक्सले नेपालमा स्वास्थ्य र सुरक्षासाथ पर्यटन खुलेको छ भन्ने सन्देश गएको छ । पर्यटन उद्योग मात्र नभएर स्वरोजगार पेसा पनि हो । यसमा ठूलो जनशक्तिभन्दा पनि परिवारका सदस्य संलग्न भएर व्यवसाय सञ्चालन भएका छन् । कोभिडले पर्यटनमा साना र मझौला व्यवसायीहरू पलायन हुने सम्भावना बढेको छ । एक वर्षदेखि पर्यटक आगमन शून्य हँुदा ठमेल, पोखरा, चितवन लगायतका साना होटल तथा रेस्टुरेन्ट व्यवसायीहरू आफ्नो व्यवसाय सदाका लागि बन्द गरेर हिँडेका छन् ।

बीस वर्षदेखि ठमेलमा पर्यटकीय मीठो रेस्टुरेन्ट सञ्चालन गर्दै आएका रामेछापका व्यवसायी केबी थापा रेस्टुरेन्ट बन्द हुने अवस्थामा पुगेको सुनाउ“छन् । मासिक १ लाख ८० घर भाडा तिरेर सञ्चालन गरेको रेस्टुरेन्टमा पर्यटक ठप्प भएपछि भाडा तिर्न र स्टाफ पाल्न नसक्ने अवस्थामा पुगेको बताए । जर्मनीको सरकारले पर्यटन व्यवसाय गर्नेहरूका लागि दुई वर्षसम्म सहुलियत ऋण दिएर व्यवसाय टिकाउने नीति लिएको छ । नेपालमा भने ५० अर्बको पर्यटन क्षेत्रमा ऋण दिने भने पनि सत्तास“ग पहु“चवालाले मात्र पाउने हुन् भन्ने बुझिन्छ । अर्काे सरकारी झन्झट उस्तै । कर्मचारीतन्त्र व्यवसायमैत्री कदापि छैन । सधैँ ङ्याकेर खाने प्रवृत्ति छ । 

नेपाल साहसिक पर्यटनमा संसारमै अब्बल गन्तव्य हो । विश्वका साहसिक र रोमाञ्चकारीहरू सगरमाथा लगायतका हिमाल आरोहण गर्न आउ“छन् । पर्वतारोहण खर्चिलो र समय लाग्ने छ । पदयात्रा कम खर्च र समय पनि कम लाग्ने हुन्छ । संसारभरि नै मानिसहरू कोभिड—१९ का कारण एक देशबाट अर्का देश वा सहरमा आवतजावत बन्द छ । अन्तर्राष्ट्रिय उडान र भौगोलिक सिमानाहरू बन्द प्रायः छन् । नेपाल आउने पर्यटकहरू भनेका मध्यम स्तरका हुन् । उनीहरूको रोजगारी गुमेको अवस्था छ । त्यसैले नेपाल आउने मध्यम खाले पर्यटकहरू अब केही वर्ष नआउन सक्छन् ।

खर्च गर्न सक्ने र स्तरीय पर्यटकहरूलाई कसरी आकर्षित गर्ने भन्ने पनि योजना चाहिन्छ । त्यसका लागि राज्य र निजी क्षेत्रले स्ट्राटेजी बनाउनुपर्छ । सरकार र व्यवसायीहरूले स्वास्थ्य मापदण्ड अपनाएर नेपाल पर्यटनका लागि खुल्ला छ भन्ने सन्देश दिनुपर्छ । सरकारी स्वास्थ्य मापदण्ड केही झन्झिटिला छन् भन्ने पर्यटन व्यवसायीहरूको र नेपाल आउन चाहने पर्यटकहरूको गुनासो सुनिन्छ । त्यसलाई पनि सरकारले सही सम्बोधन गर्नुपर्छ ।

अब केही वर्ष नेपालमा ठूलो समूहमा पर्यटकहरू आउन मुस्किल हुन्छ । सानो–सानो समूहमा पर्यटकहरूलाई ल्याउनुपर्छ । केही गन्तव्यहरूमा स्थानीय सरकारले अझै बन्देज लगाइरहेका छन् र कुनै बेला थप अप्ठयारा बन्देजहरू लगाउने कोसिस पनि हुनेछन्  । त्यसतर्फ पनि ध्यान जानुपर्छ । गएको अक्टोबर १७ देखि सरकारले निश्चित स्वास्थ्य र बिमाका मापदण्ड तोकेर नेपालमा पर्यटक आगमनमा खुला गरेको छ । सगरमाथा लगायत अन्नपूर्ण क्षेत्रमा विदेशी आरोहण टोली गइसकेको छ । 

पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्ड आन्तरिक पर्यटनलाई प्रवर्धन गर्न लागेको छ । कर्मचारीहरूलाई दुई बिदा दिएर भए पनि पर्यटन चलायमान बनाउने मन्त्रीको योजना देखिन्छ । यसलाई व्यावहारिक बनाउन चुनौती छ । सम्बन्धित निकायले कसरी व्यावहारिक बनाउन सक्छन् भन्ने आउने समयले देखाउँछ । विश्व स्वास्थ्य संगठनले बनाएको स्वास्थ्य मापदण्ड पालना गरेर नेपाल स्वास्थ्य र सुरक्षामा गम्भीर छ भन्ने सन्देशका साथ पर्यटकहरूका लागि आगमन खोलिएको जनाउ दिनुपर्छ । यदि पदयात्राका क्रममा कुनै पर्यटकहरूलाई संक्रमण देखिए पर्यटकका लागि अस्पताल तोकिदिएको खण्डमा पर्यटकहरू र व्यवसायीहरूलाई पनि ढुक्क हुन्छ । स्वास्थ्य सुरक्षामा कसैले पनि सम्झौता गर्नु हुन्न ।

(कार्की पर्यटन क्षेत्रको रिपोर्टिङ गर्ने पत्रकार हुन् ।)
 


Author

थप समाचार
x