पर्यटन

किन भएन पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान ?

अतिन आचार्य |
पुस १८, २०७९ सोमबार १६:५० बजे

पोखरा- तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमै सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थलसँगै अर्को नयाँ विमानस्थल पनि थपिएको छ ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विमानस्थल उद्‍घाटन गरेपछि मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल विधिवत् चालू भएको हो । विमानस्थलको उद्घाटन समारोह तोकिएको समयभन्दा केही ढिलो भयो । काठमाडौँबाट यात्रु र विशिष्ट अतिथि लिएर विमान अवतरण गरिएको थियो ।


उद्घाटन बिहान ११ बजे गर्ने भनिए पनि मध्यान्हमा भएको थियो । मौसमको खराबीका कारण प्रमुख अतिथि प्रधानमन्त्री दाहालले मध्यान्हमा मात्र विमानस्थलको उद्घाटन गरे ।

तामझामका साथ उद्घाटन गरिएको विमानस्थलमा अन्तर्राष्ट्रिय एयरलाइन्सको उपस्थिति शून्य थियो । नेपाली एयरलाइन्सका जहाजहरू देखिन्थे । नेपाली एयरलाइन्सका विमानहरू मात्र देख्दा आन्तरिक उडानका लागि बनाइएको विमानस्थल लाग्थ्यो । किनभने पहिलो दिन विमानस्थलबाट कुनै पनि अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान र अवतरण गर्नेको सूचीमा समावेश थिएन ।

तर, भैरहवा विमानस्थलमा पहिलो दिन कुवेतबाट आएको जजिरा एयरले अवतरण गरेको थियो । नेपाल एयरलाइन्सले काठमाडौँबाट भैरहवाको उडान भरेको थियो ।

पोखरेलीको पाँच दशकको पर्खाइपछि निर्माण भएको विमानस्थल भव्यताका साथ उद्घाटन भयो । राष्ट्रकै गौरवको आयोजना महत्त्वपूर्ण विमानस्थल उद्घाटन भयो ।

विमानस्थल परिसरमा हजारौँको संख्यामा स्थानीयको उपस्थिति थियो । अझ उद्घाटन समारोहका दिन पोखरा महानगरपालिकाले सार्वजनिक बिदासमेत दिएको थियो ।

विमानस्थल ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले ५ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । नागरिक उड्डयन प्राधिकरणले २०१६ चिनियाँ कम्पनीसँग अप्रिलमा सम्झौता गरेको थियो ।

विमानस्थलको उद्घाटनसँगै त्यहाँबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान हुन सकेन । यसअघि प्राधिकरणले उद्घाटनको दिन विमानस्थलबाट भारतको बनारसतर्फ उडान भर्ने बताएको थियो ।

नयाँ विमानस्थलबाट पहिलो उडान बुद्ध एयरले बनारसको उडान भर्ने भनिए पनि विमानस्थलबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान भएन । तर, हिमालय एयरलाइन्सले भने साँझ डेमो उडान भरेको थियो ।

बुद्ध एयरले भारततर्फ व्यावसायिक उडान गर्ने अनुमति मागे पनि अनुमति प्राप्त गर्न नसक्दा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन नसकेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला बताउँछन् ।

भारततर्फ सरकारले पनि कूटनीतिक पहल गरे पनि उडान अनुमति पाउन सकेन । परराष्ट्र मन्त्रालयमार्फत भारतस्थित नेपाली दूतावासका राजदूतले उडान अनुमति मागेको भए पनि सफल हुन नसकेको निरौलाको भनाइ छ ।

अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सले विमानस्थलको सम्पूर्ण डाटा प्रकाशन भएपछि मात्र उडान गर्ने गरेको उनले दृष्टान्त सुनाए ।

'विमानस्थलको सम्पूर्ण विवरण वेबसाइटमा जनवरी १२ मा राख्नेछ । करिब २ महिनामा यसले मान्यता पाउँछ,' प्रवक्ता निरौलाले भने, 'फ्लाइट क्यालिब्रेसन गरेको विवरण तथा विमानस्थलको क्षमताहरू सबै राखिन्छ ।'

अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल योग्य छ भन्न साँझ हिमालय एयरलाइन्सको उडान गरिएको निरौलाले जानकारी दिए ।

'हिमालय एयरलाइन्सले चीनको उडान भर्न सक्ने भए पनि यात्रु अभावले उडान गर्न सकेन,' उनले थपे, 'विमानस्थलबाट नियमित उडान भएपछि चीनको ग्वान्जाउ वा छेन्दुमध्ये कुनै एक सहरमा उडान गर्ने भएको छ ।'

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेज, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, बुद्ध एयर र बंगलादेशी एयरवेजले उडान अनुमति मागिरहेको प्रवक्ता निरौलाले जानकारी दिए । ‘पाँच एयरलाइन्स कम्पनीले अध्ययन र चासो गरिरहेका छन्,’ उनले भने ।

पोखरा विमानस्थलबाट उडान भर्ने एयरलाइन्सलाई पार्किङ, ल्याण्डिङ, सुरक्षा र न्याभिगेसन चार्ज शतप्रतिशत चार्ज नि:शुल्क उपलब्ध गराउने उनले जानकारी दिए । पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डिलङ नेपाल एयरलाइन्सले गर्नेछ । ५० प्रतिशत छुट दिने गरी नेपाल वायुसेवा निगमले ग्राउण्ड ह्याण्डिलङ गर्ने भएको छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x